जेनजी आन्दोलन : कोशीमा १० जनाको मृत्यु, ५ जनाको मात्रै सनाखत

जेनजी आन्दोलन : कोशीमा १० जनाको मृत्यु, ५ जनाको मात्रै सनाखत

विराटनगर : जेनजी आन्दोलनपछि कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १० पुगेको छ। भदौ २३ र २४ गतेको झडप र आगजनीमा ज्यान गुमाउनेमध्ये ५ जनाको मात्रै सनाखत भएको छ।

मृतक ५ जनाको पहिचान खुल्न बाँकी रहेको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले बताए। उनका अनुसार पहिचान नखुलेका शवलाई हालसम्म कसैले पनि दाबी गरेका छैनन्। उनले भने, ‘मृतकको संख्या १० पुगेको छ। ५ जनाको पहिचान भएको छ। ५ जनाको हुन बाँकी छ। आफन्त वा परिवारका सदस्य सम्पर्कमा आएका छैनन्।’ 

पोखरेलका अनुसार पहिचान भइसकेकामा झापाको अर्जुनधारा नगरपालिका–८ का ३० वर्षीय गोपाल सेढाईं, अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशी, पाँचथरको हिलिहाङ गाउँपालिका–२ घर भई बिर्तामोडमा बस्दै आएका ३५ वर्षीय कमल भण्डारी, सुनसरी इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी–१४ का मोहन सरदार (चंखे) रहेका छन्। 

राजवंशीबाहेक अन्य ४ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको हो। प्रदर्शनकारीहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडलाई कब्जामा लिएर आगजनी गरेका थिए। आगजनीका क्रममा ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका राजवंशीको भने उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 
अराजक समूहले आगजनी गरेको धरानस्थित भाटभटेनी सुपर मार्केटमा जलेको अवस्थामा ४ जनाको शव फेला परेको थियो। 

शुक्रबार भेटिएका शवहरु नचिनिने अवस्थामा रहेको र अहिलेसम्म कसैले आफन्त हराएको भनेर दाबी नगरेको एसएसपी पोखरेलले बताए। आगजनीपछि लुटपाट गर्न प्रवेश गरेका व्यक्तिहरूको आगोले जलेर मृत्यु भएको प्रहरीको अनुमान छ। शवहरुलाई पोस्टमार्टम गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ। 

विराटनगरको भाटभटेनीमा पनि सोमबार मानव कंकाल फेला परेको छ। आगजनी र तोडफोड गरिएको भाटभटेनीमा लुटपाट एवं चोरी गर्ने क्रममा जलेर मृत्यु भएकाको कंकाल फेला परेको हुनसक्ने प्रहरीको भनाइ छ। विराटनगरकै कोशी अस्पतालमा लगेर राखिएको शवको पनि पहिचान हुन सकेको छैन।

एसएसपी पोखरेलका अनुसार झडपका क्रममा कोशी प्रदेशभर १ सय १४ जना प्रहरी घाइते भएका छन्। तीमध्ये ५ जनाको अवस्था गम्भीर र ५७ जनाको अवस्था मध्यम रहेको उनले बताए। बाँकी उपचारपछि ड्युटीमा फर्किसकेको प्रवक्ता पोखरेलको भनाइ छ। आन्दोलनकारीतर्फ ४६ जना घाइते भएको तथ्यांक प्रहरीले उपलब्ध गराएको छ। 

आन्दोलनका क्रममा कोशी प्रदेशका विभिन्न सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाटका कारण ठूलो क्षति पुगेको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार क्षतिको विस्तृत विवरण संकलन भइरहेको र सम्पूर्ण विवरण संकलन एवं सार्वजनिक गर्न अझै केही समय लाग्ने छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.