अनलाइन एप एसएमसी ठगी प्रकरण : १२०० बैंक खाता रोक्का
काठमाडौं : अनलाइन एप एसएमसी ठगीमा प्रयोग भएका करिब १ हजार २ सय बैंक खाता रोक्का भएका छन् । विद्युतीय अनलाइन ठगी कारोबारमा संलग्नहरूले विभिन्न बैंकका हजारौं खाता प्रयोग गरेका थिए । तीमध्ये करिब १ हजार २ सय खाता रोक्का गरिएको साइबर ब्युरो काठमाडौंका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए ।
‘एप प्रयोगकर्ताको उजुरीपछि सम्बन्धित खाताहरू रोक्का गरिएका छन् । ब्युरोले अनुसन्धानलाई तीव्र बनाएको छ,’ अवस्थीले अन्नपूर्णसँग भने । अन्नपूर्ण पोस्ट्ले मंसिर १ गते ‘होसियार ! गाउँसम्म फैलिँदैछ एसएमसी ठगीको जालो’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
यही कात्तिक ५ गतेबाट ब्युरोमा एसएमसी एपबाट ठगी भएको भन्दै उजुरी दर्ता हुन थालेका थिए । उक्त एपमार्फत ठगी भएको भन्दै ब्युरोमा ५ सयभन्दा बढी उजुरी दर्ता भएको प्रवक्ता अवस्थीले जानकारी दिए । हालसम्म करिब ९ करोड रुपैयाँ ठगिएको भन्दै विभिन्न उजुरी प्राप्त भएको ब्युरोले जनाएको छ । उजुरी बढिरहेकाले ठगिएको रकम पनि बढ्न सक्ने ब्युरोले जानकारी दिएको छ । कम्तीमा ५० हजारदेखि ६४ लाखसम्म उक्त अनलाइनबाट ठगिएको भन्दै ब्युरोमा उजुरी परेका छन् । देशभित्र मात्र नभई देशबाहिर रहेका नेपालीले पनि उक्त एपमा पैसा लगानी गरेका छन् ।
इलाममा बाढीबाट क्षति पुगेपछि राहत बाँड्न ब्यानरसहित एसएमसी समूह पुगेको थियो । प्रहरीले उक्त समूहबारे सोधखोज गर्यो । तर, इलाममा दर्ता भएको पाइएन । त्यसपछि उक्त समूहले बनाएको एसएमसी एप फेक हुनसक्ने भन्दै साइबर ब्युरो काठमाडौंले तिहार अघिबाट अनुसन्धान सुरु गरेको थियो । साइबर ब्युरोलाई ‘स्क्याम’ हो भन्ने थाहा हुँदाहुँदै पनि कतैबाट एपबारे उजुरी परेको थिएन । नोभेम्बर ११ अर्थात् कात्तिक २५ गतेबाट भने यो एपबाट ठगिएको र स्क्याम भएको भन्दै ब्युरोमा उजुरी पर्न थालेका थिए ।
यो पनि पढ्नुहोस
ब्युरोमा उजुरीकर्तामध्यकी एक काठमाडौंकी सिता ढुंगाना (नाम परिवर्तन) फसेको आफ्नो पैसा फिर्ता हुनेमा भने ससंकित देखिन्छिन् । खाता रोक्का गरेर मात्र पैसा फिर्ता हुन नसक्ने उनले भनिन् । अहिलेको प्रविधिको जमानामा यस्ता अनलाइन ठगीहरूलाई समाउन प्रविधिकै प्रयोग हुनुपर्ने उनको भनाइ छ । ‘ब्युरोले काम गरिरहेको छ । बैंक खाता पनि रोक्का गरेको छ ।
हाम्रो रकम कुन खाताबाट कहाँसम्म पुगेको छ भन्ने पनि हेर्नुपर्यो । कही न कहीँ त कारोबार भएको देखिन्छ होला नि ! ,’ उनले भनिन् । व्युरोले अनुसन्धान गरिरहेको भएर नतिजा नदेखिएको होला भन्दै ढुंगानाले सजिलै पैसाको आशा मार्न नसकिने बताइन । उनको ४ लाख रुपैयाँ ठगी भएको छ ।
एसएमसी एपको लोभलाग्दा अफरबाट तानिएका सज्जन (नाम परिवर्तन) ले ५ वटा एकाउन्ट बनाएर करिब ६४ लाख रुपैयाँ लगानी गरे । सुरुमा करिब साढे २ लाख कमाएको पनि उनि बताउँछन् । उनले ७५ बैंक खातामा रकम बुझाएका थिए । सबै बैंक खाता रोक्का भएका छन् । ब्युरोले अहिले निवेदनमा मात्र लिइरहेको भन्दै यसरी डुबेको रकम उठ्नेमा विश्वास गर्न नसकिने उनी बताउँछन् । खातावालाको नाम दिँदा पनि ब्युरोले अनुसन्धान थालेन भन्ने उजुरीकर्ताहरूले गुनासो छ । तर, ब्युरो भने उजुरीकर्ताले कम्पनीको खातामा नभई व्यक्तिको खातामा रकम बुझाएको हुँदा कसलाई कारबाही गर्ने भन्ने अन्योलमा छ । फेरि एउटा ठगिएको व्यक्तिले अर्को ठगिएको व्यक्तिलाई रकम पठाउने गरी च्यानल बनाएको हुँदा कारबाही कसलाई गर्ने भन्ने अन्योलता रहेको ब्युरोको भनाइ छ । ब्युरोले अहिले यसका बारेमा मिहिन रूपमा अध्ययन गरिरहेको प्रवक्ता अवस्थीले जानकारी दिए ।
एसएमसी नेपाल एड्भरटाइजिङ मिडिया कम्पनी अमेरिकामा दर्ता भएको प्रमाण एप्समा राखिएको छ । अमेरिकाको न्युयोर्क राज्यमा बिजनेस कानुनअनुसार कम्पनी दर्ता भएको दाबी गरिएको छ । नेपालमा भने एसएमसीएन एड्भरटाइजिङ सर्भिस सेन्टरको नाममा उद्योग मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रार कार्यालय काठमाडौंमा २०८२ जेठ २९ गते दर्ता भएको देखिएको छ ।
कम्पनी ऐन, २०६३ को दफा ५ को उपदफा (१) बमोजिम उक्त कम्पनी दर्ता भएको दाबी गरिएको छ । यस्तै उक्त कम्पनीको स्थायी लेखा नम्बर र कार्यालय दिएको छ । खैरहनी नगरपालिका–६ चितवनका सोनम खातुनका नाममा कम्पनी दर्ता भएको छ ।
प्रतिक्रिया दिनुहोस !
