स्याबास ! क्यान्सर विजेता  साइक्लिस्ट

साइकल राइडर, क्यान्सरसँग टक्कर

साइकल राइडर, क्यान्सरसँग टक्कर

काठमाडौं : बिहानको चिसो हावा। लामो सडक यात्रा। बाहिरबाट हेर्दा सामान्य साइकल यात्री (साइक्लिस्ट)। तर, भित्री कथा असामान्य। साइकलको पाइडल घुमाउनु उनीहरूका लागि खेल होइन। सक्रिय जीवनमा फर्किएको प्रमाण हो।

अरू बेडमै सुतिरहँदा एकाबिहानै पाइडल घुमाउँदै निस्किन्छन्, ‘क्यान्सर सर्भाइभर्स।’ त्यही हुलमा मिसिन्छिन्, ४८ वर्षीया कविता चित्रकार। स्तन क्यान्सर तेस्रो चरणमा पुग्दा पनि उनले हरेश खाइनन्।  साइक्लिस्ट चित्रकार भन्छिन्, ‘क्यान्सर लागेको थाहा पाएपछि डिप्रेसनमा पुगेकी थिएँ। डिप्रेसनबाट मुक्त हुन साइकल चलाउन सुरु गरे। साइकलको पाइडल घुमाउन थालेपछि बिस्तारै डिप्रेसन पनि भाग्यो।’ क्यान्सरसँग टक्कर गरी नयाँ जीवन पाएकी कविताको भित्री कथा बेग्लै छ। उनकी आमाको पाठेघरको मुखको क्यान्सरबाट निधन गयो। एकमात्र दिदी पनि स्तन क्यान्सरकै कारणले अल्पायुमै अस्ताइन्। तर, क्यान्सर फाइटर कविताले मुकाबिला गरिन्। अहिले शरीरबाट क्यान्सर गायब छ।null

क्यान्सर साइक्लिस्ट कविता चित्रकार

काठमाडौंकी कविता फुर्तिली छिन्। विगत दुःखद र संघर्षमय रह्यो। अहिले ऊर्जाशील जीवन बिताइरहेकी छिन्। ‘आमा र दिदीलाई क्यान्सरले जित्यो। अल्पायुमै ज्यान लियो,’ कविता आत्मविश्वासका साथ  भन्छिन्, ‘अन्ततः मैले क्यान्सरलाई  जितें।’  समयमा नै पहिचान भएर यथाशीघ्र उपचार गर्न सकेमा पुनः सामान्य जीवनमा फर्कन सकिन्छ भन्ने उदाहरण हुन्, कविता। स्तन क्यान्सर विजेता कविताको सुखदुःखको सहयात्री हो, साइकल। जुन साइकललाई एक लाख २० हजारमा किनेर छोरी एजुले उनलाई उपहार दिएकी हुन्। एजु अहिले दुबईमा व्यस्त छिन्।

शरीरमा कोषहरूको असमान्य वृद्धि हो, क्यान्सर। कोषहरूले नै  शरीरको संरचना बनेको छ।  जब कोषहरू अनियन्त्रित वृद्धि हुन्छ तब क्यान्सरले आक्रमण गर्न सुरु गर्छ।  क्यान्सर भएको सुन्नेबित्तिकै चिन्ता लाग्नु स्वाभाविकै हो। क्यान्सरले छुँदा हेलाहोंचो सहेका सर्भाइभरहरू अहिले जनचेतना जगाउन गाउँबस्ती पुगिरहेका छन्। क्यान्सरविरुद्धको अभियानलाई तीव्रता दिइरहेका छन्।  

पूर्व चिवाभञ्ज्याङदेखि पश्चिम झुलाघाटसम्म साइक्लिङ 

झट्ट  हेर्दा हर्क लामा क्यान्सर सर्भाइभर झैं देखिँंदैनन्। ५० वर्षीय उनी ऊर्जाशील देखिन्छन्। उनी साइकलबाट पूर्व पश्चिम १८ सय किलोमिटर यात्रा गर्ने क्यान्सर विजेता साइक्लिस्ट हुन्। लामाले  गत  पुस १७ ( जनवरी १)देखि  पूर्वको चिवाभञ्ज्याङबाट साइकल यात्रा  सुरु गरे। पश्चिम झुलाघाट पुगेर वि श्राम लिए। साइकल यात्रामा हर्कलाई साथ दिने अर्की  क्यान्सर विजेता हुन्, कविता।

लामा पिसाब थैलीको क्यान्सर विजेता हुन्।  लामालाई सन् २०२० मा पिसाबको थैलीको क्यान्सर पत्ता लागेको थियो। क्यान्सरको उपचार धुलिखेल अस्पतालमै गरिएको हो। उपचारका  क्रममा  अन्य क्यान्सर प्रभावितहरूलाई पर्न गएको आर्थिक र मानसिक समस्यालाई नजिकबाट नियाल्न पाए। मन द्रवित भयो। क्यान्सर प्रभावितहरूका लागि उपचार कोष खडा गर्ने योजना बुने। योजना पूरा गर्न  एक महिना लामो साइकल यात्रा अभियान आफैंमा जोखिम थियो। लामालाई पिसाबको थैलीको क्यान्सर भएका कारण लामो यात्राको क्रममा जल वियोजन ( डिहाइड्रेसन ) ले  मिर्गौलामा  नकारात्मक असर पुग्न सक्थ्यो। त्यसैगरी महिना दिनसम्मको निरन्तर साइकल यात्राले कविताको स्तन क्यान्सरको दौरान गरिएको शल्यक्रिया गरेको छातीको घाउ एवं वरिपरिका मांसपेसीमा पीडा हुने, जलन हुने समस्या हुन सक्थ्यो। तर, पनि हर्क र कविताले हिम्मत हारेनन्। जोखिम उठाए। 

विश्व क्यान्सर दिवसका अवसरमा ‘मध्यपहाडी लोकमार्ग साइकल अभियान यात्रा’ को एक साताअघि समापन भयो।  १८ सय किमी यात्रा गर्ने क्यान्सर विजेता साइक्लिस्टलाई सम्मान गर्दै धुलिखेल अस्पतालमा सम्मानसहित क्यान्सर प्रभावितको उपचारका लागि कोष पनि स्थापना गरिएको छ।  अस्पतालका प्रशासकीय प्रमुख डा. विराजमान कर्माचार्यले कोषमा संकलन भएको पैसा बराबरै रकम थपेर कोष स्थापनामा अस्पतालले सहयोग गर्ने बताए। क्यान्सर भएर उपचारार्थ अस्पताल भर्ना हुँदा बिरामी र आफन्तले रकम अभावका कारण बेहोर्नुपरेको सास्ती न्यूनीकरण गर्न कोष स्थापनाको नवीन काम गर्न पाउँदा खुसी छन्।
साइकल यात्रामा सहभागी भए धुलिखेल अस्पतालमा कार्यरत प्रा.डा. सुमनराज ताम्राकार र डा. विकास पराजुली। चिकित्सकद्वयले यात्रामा १५ स्थानमा २ हजारभन्दा धेरैलाई क्यान्सरसम्बन्धी सचेतना फैलाए। डा. ताम्राकार भन्छन्,‘ साइकल यात्रामा क्यान्सर विजेता हर्क लामा र कविता चित्रकारले क्यान्सर जित्ने साहस सुनाए। धेरैलाई हौसला बाँडे।’ यात्राका क्रममा संकलित सहयोग रकम २० लाख  २५ हजार २ सय २५ रुपैयाँ सहयोग रकम क्यान्सर विजेता साइक्लिस्टद्वय हर्क लामा, कविता चित्रकारसहित तारालाल    श्रेष्ठ, ज्ञानेन्द्र स्थापित ले संयुक्त रूपमा धुलिखेल अस्पताललाई हस्तान्तरण गरेका छन्। साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा एक महिना लामो साइकल यात्रा सम्भव भएको हो।

विश्व क्यान्सर दिवसको अवसरमा गरिएको  ‘मध्यपहाडी लोकमार्ग साइकल अभियान यात्रा’मा संकलित सहयोग रकमले भविष्यमा विपन्न वर्गका क्यान्सरका बिरामीलाई सहयोग पु¥याउने अपेक्ष साइक्लिस्टहरूको छ। धुलिखेल अस्पतालका प्रशासकीय प्रमुख डा. विराजमान कर्माचार्यले साइकल यात्रा पूरा गर्ने क्यान्सर विजेता साइक्लिस्टलाई सम्मान गर्दै कोषमा संकलन भएको पैसा बराबरै रकम थपेर कोष स्थापनामा अस्पतालले सहयोग गर्ने बताए। लामा भन्छन्, ‘क्यान्सरको उपचारकै  क्रममा साइकल यात्राको परिकल्पना गरेको थिएँ। अहिले सफल हुँदा खुसी लागेको छ।’ गत बुधबार आयोजित सम्मान कार्यक्रममा धुलिखेल अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक डा.रामकण्ठ माकजुले क्यान्सर विजेता साइकल यात्रीलाई बधाई र धन्यवाद व्यक्त गरेका थिए।

क्यान्सरले रोकिँदैन जीवन
‘अब तपाईंको श्रीमान् लामो समय बाँच्न मुस्किल छ। राम्रोसँग स्याहार गर्नुभयो भने ६ महिनासम्म बाँच्नुहोला,’ क्यान्सर बिरामी धु्रवप्रसाद हुमागाईंकी पत्नीलाई अस्पतालमा यही सुनाईएको थियो। तर, हुमागाईं क्यान्सरसँग टक्कर गर्न तम्सिए। त्यस्तो सुनाउने विशेषज्ञ र निजी अस्पतालमा पुनः फर्केर गएनन्। बरु सरकारी अस्पताल रोजे। क्यान्सरले जीवन रोकिँदैन भन्दै  आत्मविश्वास बढाए। फोक्सोको क्यान्सर, पछाडि हड्डी (ब्याक बोन) र प्लाज्मा कोषबाट उत्पन्न हुने रक्तक्यान्सर (मल्टिपल माइलोमा) जित्ने पहिलो नेपाली साइक्लिस्ट भएकामा  गर्व गर्छन्, हुमागाईं ।


nullरक्तक्यान्सर विजेता ध्रुवप्रसाद हुँमागाईं  ।  तस्बिर : सुनिता डंगोल

क्यान्सर उपचारका क्रममा गरिने केमोथेरापी, रेडियोथेरापी एवं सर्जरीबाट शरीर कमजोर भएको हुन्छ। साइक्लिङले फोक्सो र मुटुको क्षमता बढ्ने, थकान घटाउने, तनाव, चिन्ता घटाउने अनुभव सर्भाइभर्सहरूको छ। अहिले क्यान्सरका विज्ञ चिकित्सक, उपकरण स्वदेशमै उपलब्ध छन्। उपचारका लागि विदेश गइरहनु पर्दैन।कथा सुनाउँछन्, प्रेरणा बाँड्छन् अमेरिकाका संस्थापक पिता एवं कूटनीतिज्ञ थोमस जेफर्सनले भनेका छन्, ‘मलाई विगतको इतिहासभन्दा भविष्यको सपना प्रिय लाग्छ।’

पूर्वराष्ट्रपति जेफर्सनको भनाइ झैं स्तन क्यान्सर विजेता प्रमिता खनाललाई भविष्यको सपना प्यारो लाग्छ।  उनको सपना र लक्ष्य हो, क्यान्सरविरुद्ध जनचेतना जगाउने र क्यान्सर प्रभावितलाई हौसला, सहयोग गर्ने। क्यान्सरलाई पराजित गर्न  सबैको स्नेह, विज्ञको उपचार र उच्च आत्मबल मुख्य भएको खनालको धारणा छ। समयमै पहिचान, विज्ञ डाक्टरको परामर्श र उपचारका साथै परिवार र आफन्तको मायाप्रेमले गर्दा कतिपय क्यान्सर प्रभावितहरू निको हुनेमा ढुक्क छन्। आपसमा एकअर्काको केयरिङ गर्छन्। दुःखसुख बाँड्छन्।

नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीकी अध्यक्षसमेत रहेकी खनालका अनुसार क्यान्सर सभाईभर्सहरू आफ्नो कथा सुनाउने र प्रेरणा बाँडिरहेका छन्। ‘क्यान्सर सर्भाभर्सलाई तिमी बाँच्छौं है भन्दै माया गर्दा पनि मनोबल उच्च हुन्छ,’ खनाल भन्छिन्,‘ आफ्नो उपचारकै क्रममा अन्य क्यान्सर सर्भाइभर्सका लागि केही गर्छु भन्ने प्रण गरिसकेकी थिएँ। क्यान्सर सर्भाइभर्सको मनोबल बढाउने क्रममा हामी काठमाडौं वा सहरी क्षेत्रमा मात्र सीमित छैनौं। पूर्वदेखि पश्चिमका विभिन्न जिल्लामा पुगेर विद्यालय, कलेजहरूमा पनि सचेतनामूलक कार्यक्रम गरिरहेका छौं।’

विकसित मुलुकहरूले क्यान्सर नियन्त्रणको लागि हिँड्डुललाई प्राथमिकतामा राखेका छन्। शारीरिक तन्दुरुस्तीमा जोड दिएका छन्। खर्चिलो, भडकलो र प्रदूषित जीवनशैली बदल्ने उपायको खोजी गरिरहेका छन्। क्यान्सरसँग लडाइँ गरिरहेकाहरू मात्र होइन, क्यान्सर हुनै नदिन पनि नियमित व्यायाम गर्नुपर्ने क्यान्सर रोग विशेषज्ञहरूको सुझाव छ। ‘जहिले पनि, जहाँ पनि र जुनसुकै व्यक्तिलाई लाग्न सक्ने रोग हो, क्यान्सर,’ वरिष्ठ क्यान्सर  रोग विशेषत्र डा. राजेन्द्र बराल भन्छन्, ‘पहिला क्यान्सर ह्याभ नो एन्सर भन्ने थियो। अहिले  यो विल्कुलै गलत र मिथ्या सावित हुन पुगेको छ। गुरुमन्त्र नै छ, सुरुमा उपचार गरे क्यान्सर निको हुन्छ।’

क्यान्सर हुँदा डिप्रेसन महसुस भयो। मुड अफ हुन्थ्यो। साइकल चलाउन थालेपछि जीवनप्रतिको माया बढ्यो। मानसिक तनाबबाट मुक्त भएँ। साइकलले बाँच्न र जीवन जिउन सिकायो।
कविता चित्रकार, क्यान्सर सर्भाइभर साइक्लिस्ट

पूर्वको चिवाभञ्ज्याङबाट साइकल यात्रा सुरु गरी झुलाघाट पुगियो। १८ सय किलोमिटरको यात्रामा सहयोग रकम संकलन भयो। विपन्न क्यान्सर बिरामीको उपचारका लागि संकलित २० लाख  २५ हजार २ सय २५ रुपैयाँ सहयोग रकम धुलिखेल अस्पतालमा बुझाउन पाउँदा खुसी छु।
हर्क लामा, क्यान्सर सर्भाइभर साइक्लिस्ट           


तीन किसिमका क्यान्सर विजेता साइक्लिस्ट हुँ भन्दा गर्व महसुस हुन्छ। मेरो लक्ष्य क्यान्सरविरुद्ध जनचेतना फैलाउने, बिरामीको हौसला बढाउने र सहयोग गर्नमै केन्द्रित छ।
ध्रुव हुमागाईं, क्यान्सर सर्भाइभर साइक्लिस्ट

क्यान्सरसँग जुधिरहेकाहरूलाई  तिमी बाँच्छौं है भन्दै ढाडस दिँदै माया गर्दा मनोबल उच्च हुन्छ। आफ्नो उपचारकै क्रममा अन्य क्यान्सर सर्भाइभर्सका लागि केही गर्छु भन्ने प्रण गरिसकेकी थिएँ।
 प्रमिता खनाल - अध्यक्ष, नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी

क्यान्सर हुन नदिन नियमित व्यायाम जरुरी छ। हिँड्डुल तथा साइकल चलाउनु सबैभन्दा सहज व्यायाम मानिन्छ। हिँड्डुल गर्नका लागि काठमाडौंलगायत सहरी क्षेत्रका कतिपय स्थानका सडक पेटी मासिएका छन्। भएका सडक पेटी पनि साँघुरिएका छन्। बचेखुचेका सडक पेटी पनि सडक विस्तारमा मेटिएका छन् । विगत एक दशकयताको सरकारी तथ्यांकअनुसार सडक दुर्घटनामा  दैनिक ७ जनाको ज्यान जाने गरेको छ। पैदलयात्री मात्र होइन, साइकल यात्री पनि हेपिएका छन्। सहरका अध्येता एवं अमेरिकी इतिहासकार लेविस मुम्मफर्डले लेखेका छन, सवारीसाधानका रूपमा मानव खुट्टालाई पुनः स्थापित गरौं। पैदलवालाहरूले आफ्नो खानालाई इन्धनकारूपमा खपत गर्छन्। उनीहरूलाई कुनै विशेष पार्किङको सुविधा उपलब्ध गराउनु पनि पर्दैन।’

विश्व भर नसर्ने रोगहरूको रोगभार बढ्दै गइरहेको छ। विश्वमा हुने मृत्युमध्ये क्यान्सरको कारण हुने  मृत्यु दोस्रो उच्च रहेको छ। सन् २०२२ मा विश्वभर करिब दुई करोड क्यान्सरका नयाँ बिरामी देखा  परेका थिए। क्यान्सरको कारण ९७ लाखभन्दा बढीले ज्यान गुमाएका थिए। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण पूर्वी एसियाली क्षेत्र क्यान्सरका नयाँ बिरामीहरूको भारका आधारमा चौथो उच्च बिरामी भएको क्षेत्रमा पर्दछ ।

त्यस्तै, क्यान्सरको कारण हुने मृत्युका आधारमा तेस्रो उच्च मृत्यु हुने क्षेत्रमा पर्दछ।  विश्वव्यापीकरणसँगै तीव्र रूपमा परिवर्तन हँुदै गएको जीवनशैली (खानपान र रहनसहन) ले क्यान्सरका बिरामी बढ्दै गएका छन्।  खानपान र जीवनशैलीमा भएको परिवर्तनका साथै शारीरिक क्रियाकलापमा आएको कमीले क्यान्सर जस्ता नसर्ने रोगहरू बढेको वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. एम के पिया बताउँछन्। विगत एक दशकको अवधिमा क्यान्सर रोगीहरू १३ प्रतिशतले वृद्धि भएका छन्। नेपालमा हुने मृत्युमध्ये दुईतिहाइभन्दा बढी हिस्सा (७१ प्रतिशत) नसर्ने रोगहरूको कारणले हुने गर्दछ। जसमध्ये ११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरको कारण हुने गरेको छ।

नेपालमा सन् २०२२ मा क्यान्सरका २२ हजार जना नयाँ  बिरामीहरू देखा परेका थिए भने १४ हजार भन्दा बढीले क्यान्सरकै कारण ज्यान गुमाएका थिए। नेपालमा फोक्सो, स्तन, पाठेघरको मुखको क्यान्सर बढी देखिएको छ। राष्ट्रिय स्वास्थ्य लेखा प्रतिवेदनका अनुसार नेपालले नसर्ने रोगहरूको स्वास्थ्य उपचारमा सबैभन्दा उच्च ६४.४ अर्ब रुपैयाँ खर्च गर्ने गर्दछ जुन स्वास्थ्य खर्चको ३१ दशमलव ८ प्रतिशत हो।

त्यसैगरी स्वास्थ्य उपचारमा हुने व्यक्तिगत खर्चको ४०.३ प्रतिशत नसर्ने रोगहरूको उपचारमा खर्च हुने गरेको तथ्यांक  छ। नसर्ने रोगहरूको स्वास्थ्य उपचारमा हुने चालु खर्चमध्ये क्यान्सरको उपचारमा हुने खर्च मात्र ४.२ प्रतिशत अर्थात् ८.५ अर्ब रहेको छ। ‘सहरीयाहरू लक्षण देखिनेबित्तिकै जँचाउन आउँछन्। तर, गाउँमा रहेका बिरामीहरू रोग छिप्पिएपछि ढिलो उपचार खोज्दै आइपुग्छन्,’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही भन्छन्, ‘क्यान्सर रोगबारे   विद्यालय तहको पाठ्यक्रममै समावेश गर्नु जरुरी छ। ’

क्यान्सर जित्न सक्रिय जीवनशैली र व्यायामको उत्तिकै जरुरी छ। नेपालमा गाडी केन्द्रित विकासको अवधारणाले छुट्टै साइकल लेनको बेवास्ता गरिएको छ। पैदल हिँड्ने ठाउँ मोटर गुड्ने सडक बनेका छन्। पैदलवाला कदर छैन। गाडीवालाको सर्वत्र कदर छ। विकसित मुलुकहरू प्राकृतिक सन्तुलन खोज्दै प्रकृतितर्फ फर्किन खोजिरहेका छन्। ‘सडकमा छुट्टै साइकल लेन भए ढुक्कसँग चलाउन हुन्थ्यो,’ क्यान्सर विजेता साइक्लिस्ट कविता भन्छिन्, ‘साइकलले मलाई बाँच्न सिकायो। जिउन सिकायो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.