उम्मेदवारकै मुख कहिल्यै नदेख्ने गाउँ

दुर्गम गाउँमा उम्मेदवार जाँदैनन्, खेतालामात्र पठाउँछन्

दुर्गम गाउँमा उम्मेदवार जाँदैनन्, खेतालामात्र पठाउँछन्

गोरखा  : चुमनुब्री–६ ताजुका दावा लामा जब मोबाइलमा डाटा अन गरेर फेसबुक खोल्छन्, तब कतै मतदाताले नेतालाई माला लगाएका, कतै नेताले मतदातालाई अँगालो हालेका, कतै नेता र मतदाता मिलेर नाचेका दृश्य देखेर मुसुमुसु हाँस्छन्। जब आफूले भोट हाल्ने नेताको मुख देख्ने रहर उनमा जाग्छ, मुहारमा अँध्यारो छाउँछ। उनी आफ्नो गाउँमा त भोट माग्न कुनै उम्मेदवार पनि नआउने गरेको कुरा सम्झन्छन्।

चुम्लिङ आधारभूत विद्यालय चुम्चेत मतदान केन्द्रमा १ सय ७५ मतदाता छन्। तर, भोट माग्न कुनै चुनावमा पनि कुनै नेता नआउने गरेको उनको गुनासो छ। ‘स्थानीय चुनावमा वडाध्यक्ष, गाउँपालिका अध्यक्षको उम्मेदवारचाहिँ भोट माग्न आउँछन्, तर संसद्को चुनावमा भोट माग्न आएको आजसम्म थाहा पाएको छैन’, उनी भन्छन्, ‘गाउँलेहरूको पनि नेतालाई सुनाउनुपर्ने आफ्नै समस्याहरू हुन्छन्, माग गर्नुपर्ने कुराहरू हुन्छन्, तर कहिल्यै पनि कुनै नेता गाउँमा आउँदैनन्।’ अहिले पनि फिलिमसम्म नेताहरू आएर फर्केको फेसबुकमै देखेको उनको भनाइ छ।

गोरखा–१ मा कांग्रेसका प्रेम खत्री, नेकपाका हरिराज अधिकारी, एमालेका आरसी लामिछाने र रास्वपाका सुदन गुरुङ उम्मेदवार छन्। चुनावको दिन आउन अब ठ्याक्कै २० दिन बाँकी छ। तर, अहिलेसम्म कुनै पनि नेता गाउँमा नआएको भन्दै हिमाली भेगका बासिन्दा निराश छन्। मुख्य दलका नेताहरू चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिमसम्म आएर भोट मागेर फर्केका छन्। काठमाडौं, चितवन, गोरखा बजारमा बस्ने यस भेगका मतदातासँग भेटघाट गरी भोट मागेका छन्।

यसअघिका कैयौं चुनावमा मुखै नेदेखेका नेतालाई भोट दिएका चुमनुब्री–४ क्वाक, छाकका मतदातालाई यसपटकको चुनावमा त भोट दिने नेताको मुख हेर्न पाइन्छ कि भन्ने आशा थियो तर, चुनाव आइसक्यो, अब नेता पक्कै आउने छैनन् भनेर निराश छन्। ‘यो चुनावमा मात्र होइन, हाम्रो गाउँमा भोट माग्न कुनै चुनावमा पनि उम्मेदवारहरू आएको अहिलेसम्म थाहा पाएको छैन’, चुमनुब्री गाउँपालिका—४ छाकका लाक्पा लामा भन्छन्, ‘नेताहरू फिलिमतिर भोट माग्न आएको देखेको थिएँ। यता त कहिल्यै पनि आइपुग्दैनन्। बरु भनिदिनुस् न भोट कसलाई दिँदा राम्रो हुन्छ होला है ?’

अहिले देश चुनावमय छ। गाउँघर, सहरबजार, चोक, चौतारी, चियापसल चुनावी प्रचारप्रसारले चुर्लुम्म छ। उम्मेदवार र मतदाता आमनेसामने भएका छन्। सबै उम्मेदवारहरू आलोपालो गरी गाउँमा आउने जाने गरिरहेका छन्। मतदाताहरूले गाउँबस्तीका समस्या र आवश्यकताहरू नेतासामु राखेका छन्। सबैभन्दा धेरै चुनाव त सामाजिक सञ्जालमा लागेको छ। प्रचारप्रसारको लावालस्करले वास्तविक जगतभन्दा सामाजिक सञ्जाल धेरै रंगिएको छ। ‘हाम्रो गाउँमा त कुनै पार्टीका उम्मेदवार कहिल्यै पुग्दैनन्, उम्मेदवारका खेताला मात्र पुग्छन्’, चुमनुब्री–३ न्याकका रिदम गुरुङ भन्छन्, ‘खेतालाकै मुख हेरेर भोट दिनुपर्छ। चुनावमा भोट माग्न त नआएका नेता, चुनाव जितेपछि पुग्ने त झन् कुरै भएन।’

चुमनुब्रीमात्र होइन, धार्चे गाउँपालिकाका कैयौं गाउँबस्ती यस्ता छन्, जहाँ उम्मेदवार र मतदाताको भेट कहिल्यै हुँदैन। ‘हाम्रो गाउँमा गाउँपालिकाको चुनावमा चाहिँ नेताहरू आउनुहुन्थ्यो। संसद्को चुनावमा त कहिल्यै आएको थाहा पाएको छैन’, धार्चे—७ ठाँटीकी विनिता गुरुङ भन्छिन्,  ‘नेतासँग भेटघाट गर्ने, दुःख, समस्याका कुरा राख्ने, विकास माग गर्ने अवसर गाउँलेले कहिल्यै पाएका छैनन्।’ ठाँटीबाट मतदान गर्न चार–पाँच घण्टाको बाटो पर रहेको भिरकुना मतदान केन्द्रमा भोट हाल्न जानुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.