पुरानाको जरा दर्बिलो र मत बदल्ने नयाँको जोडले गोरखाको चुनाव पेचिलो

पुरानाको जरा दर्बिलो र मत बदल्ने नयाँको जोडले गोरखाको चुनाव पेचिलो
सुन्नुहोस्

गोरखा : फागुनको घामसँगै ऐतिहासिक जिल्ला गोरखामा चुनावी राप पनि  निकै बढेको छ। जिल्लाका दुवै निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले, नेकपा र रास्वपा बीच कडा टक्कर हुने देखिएको छ। पुराना पार्टीको ‘दर्बिलो विरासत’ र रास्वपाको ‘पुरानालाई फेर्ने, नयाँलाई हेर्ने’ अभियानले यहाँ कसको पल्ला भारी होला भन्ने सवाल पेचिलो बनेको छ ।

सबै उम्मेद्वार, तिनका माउ पार्टीका नेता, कार्यकर्ताहरु अहिले गाउँबस्तीका घरदैलोमा व्यस्त छन्। जिल्लाभित्र र जिल्लाबाहिरका सहरी क्षेत्रमा रहेका मतदातासम्म पनि उनीहरु पुगिसकेका छन् । विशेषगरी मुख्य चार दलका उम्मेद्वार, तिनका प्रभावशाली नेता र कार्यकर्ताहरू यतिबेला मतदातालाई आफ्नो पक्षमा पार्न हदैसम्मको मेहेनत गरिरहेका छन् ।

यसअघिको निर्वाचनमा खसेको मत विश्लेषण गर्दा कांग्रेस र नेकपा बीच सन्तुलित (समान) मत छ। दुईमध्य तेस्रोसंग तालमेल गर्नेले चुनाव जित्ने अभ्यास यहाँ थियो। अहिले देशभर रास्वपाले ल्याएको ‘नयाँलाई हेर्ने’ अभियानले कांग्रेस, नेकपाको मतदाता घटाएर आफ्नो तिर पल्ला भारी हुने रास्वपाको तर्क छ।

अहिले गोरखा–१ मा कांग्रेसका प्रेमकुमार खत्री, एमालेका आरसी लामिछाने,नेकपाका हरिराज अधिकारी र रास्वपाका सुधन गुरुङ बीचको भिडन्तलाई रोचक रूपमा हेरिएको छ। गोरखा २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडी, एमालेका मिलन गुरुङ, नेकपाका लेखनाथ न्यौपाने र रास्वपाका कविन्द्र बुर्लाकोर्टीको भिडन्त सनसनीपूर्ण छ।

पहिलो पटक चुनावी मैदानमा उत्रिएका ४१ बर्षीय कांग्रेसका उम्मेदवार खत्री दशकौँदेखि गाउँबस्ती चाहारेर समाजसेवा गरेकाले आफूले लोकप्रिय मत पाउने विश्वास गर्छन्।

दशौं हजार विद्यार्थीलाई न्यानो पोशाकदेखि पालिकाहरुलाई एम्बुलेन्स दिएको विगत उनीसंग छ। जनप्रतिनिधि बनेपछि सेवामा बढोत्तरी गर्ने उनको घोषणा छ । सो क्षेत्रमा अघिल्लो चुनावमा माओवादीसंग गठबन्धन गरी कांग्रेसका राजेन्द्र बजगाईँले ३३,४२८ प्राप्त गरी विजयी भएका थिए।

नेकपाका उम्मेद्वार अधिकारी यसअघि पनि सांसद हुँदा सो भेगमा गरेको योगदानको चर्चा गर्छन्। पार्टीको केन्द्रीय सदस्य र गण्डकी प्रदेशको प्रमुखसम्म रहेकाले संसदमा आफ्नो उपस्थिति गहकिलो रहने र थप विकास निर्माणमा जोड दिने उनको प्रतिवद्धता छ।

पुरानो लोकप्रिय अनुभव, भुगोल र त्यहाँको आवश्यकता चिनेकाले आफु दर्बिलो उम्मेद्वार रहेको तर्क उनले गरेका छन्। यसअघि २०७४ को निर्वाचनमा अधिकारीले २९,८६० मत प्राप्त गरी विजयी भएका थिए । उनी विरासत जोगिनेमा विश्वस्त छन् ।

त्यस्तै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा निर्णायक भुमिकामा रहेको भन्दै रास्वपाबाट उम्मेदवार बनेका सुधन गुरुङ पनि चुनाव जित्न सकेमा यसअघि हुन नसकेका काम आफ्नो क्षेत्रमा गर्ने बचन दिइरहेका छन्। साथै देशमा नयाँको माहोल बनिरहेकाले र जेनजी आन्दोलनपछिको माहोल आफूले नेतृत्व गरेकाले आफूलाई मतदाताले पूर्ण विश्वासका साथ मतदान गर्ने उनको जिकिर छ। चुनाव जितेमा चाहेको मन्त्रालयको नेतृत्व गर्न सक्ने दावी गर्दै रास्वपाका कार्यकर्ताले उनका लागि मत मागिरहेका छन् । 

लामो समय विद्यार्थी राजनीतिबाट पहिलोपल्ट संसदीय चुनावको अभ्यास गर्न मैदानमा आएका एमालेका उम्मेद्वार लामिछाने भने कांग्रेस, नेकपा, रास्वपाको मत तानातान भइरहेका बेला आफ्नो पल्ला भारी हुनेमा विश्वस्त छन् । ‘मेरो जित्ने आधार नै त्यही हो’, उनी भन्छन्, ‘अरु पार्टीको मत डगमगाएको छ, एमालेको स्थिर छ ।’

क्षेत्र नं. २ मा कांग्रेसका प्रकास दवाडी लोकप्रिय उम्मेदवार हुन्। बिगत १२ बर्षदेखि आफ्नै चुनाव चिन्हमा भोट हाल्न नपाएका यस क्षेत्रका कांग्रेसले मन फुकाएर भोट दिएर जिताउने दवाडीको विश्वास छ।

साथै दशकौंदेखि गाउँका महिला समुह, युवाक्लव, आमा समुहहरुलाई सहयोग गरेको, प्रदेश सांसद हुँदा पाएको सरकारी सेवा सुविधा पनि समाजसेवामा खर्चेर यस क्षेत्रका मतदाताको मन जितेकाले आफुलाई मतदाताले मन खोलेर भोट दिने उनको विश्वास छ । समाजसेवी र बेदाग अनुभवी उम्मेद्वार भएकाले जितको उच्च मनोबलमा रहेको उनी बताउँछन् ।

नेकपाबाट उम्मेद्वार बनेका न्यौपाने वौद्धिक जगतका नेता मानिन्छन् । संसदलाई चाहिने व्यक्तित्वका रुपमा उनलाई राष्ट्रिय रुपमा हेरिएको छ । व्यक्तित्व चिनेर मतदाताले मत दिनेमा उनी ढुक्क देखिन्छन् । साथै यसअघिका तीनवटै चुनावमा माओवादीले जितेकाले आफ्नो जित पक्का रहेकामा उनी ढुक्क छन्।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी यस क्षेत्रका अर्का उम्मेदवार हुन्। अहिले देशभरि नयाँलाई रोज्ने माहोल भएकाले आफूले जित हातपार्नेमा बुर्लाकोटी विश्वस्त छन् । यसअघि कांग्रेससंगको गठबन्धनमा उठेका प्रचण्डसंग प्रतिस्पर्धा गर्दा १२ हजार मत प्राप्त गरी टक्कर दिएका उनले बदलिएको यो परिवेशमा झन् बढि मत प्राप्त गरी जित हात पार्ने दावी गरेका छन्। 

सिरानचोक घर भई लामो समय काठमाडौंमा व्यवसाय गरी बसेका एमालेका उम्मेदवार मिलन गुरुङ पनि देशव्यापी परिचित नाम हो । युवाशक्तिलाई परिचालन गर्ने सामर्थ्य भएका उनी पनि सिरानचोक, अजिरकोट, बारपाक सुलिकोट गाउँपालिकाका गुरुङ समुदायको साम्प्रदायिक मत प्राप्त गरी जित्ने होडमा छन् । साथै उनले पनि कांग्रेस, नेकपाको मत रास्वपाले तान्ने हुँदा त्यसको लाभमतले जित्ने जिकिर गर्दछन् ।

एकातिर बाँसका जराझैं फिँजिएका संगठित (क्रियाशील) कार्यकर्ताको भोट बैंकको आशामा कांग्रेस, नेकपा, एमालेका उम्मेद्वार जित्नेमा ढुक्क छन्, अर्कातिर नयाँलाई जिताउने नयाँ पुस्ताको हुटहुटीको माहोलमा रास्वपा विश्वस्त छ । गोरखाको अवस्था अत्यन्त तरल अवस्थामा रहेकाले वास्तविक फैसला फागुन २१ गतेको मतदानले नै गर्नेछ ।

गोरखा जिल्लामा कुल दुई लाख ३० हजार ४५४ मतदाता रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एक लाख २० हजार ५ सय २५ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ मा एक लाख ८ हजार ५ सय ३३ मतदाता रहेका छन्।

तथ्यांक अनुसार क्षेत्र नम्बर १ मा क्षेत्र नम्बर २ भन्दा एघार हजार ९ सय ९० मतदाता बढी रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.