भोटखोलामा भोटै नमागी चुनाव

भोटखोलामा भोटै नमागी चुनाव

गोरखा : ‘हाम्रो भोटखोलाका मान्छेलाई त चुनाव आएन, आएको थाहा पत्तै छैन’, चुमनुब्री-४ गापाका थार्पा ग्याल्जेन भन्छन्, ‘देशभर चुनाव लागेको छ। हाम्रो ठाउँमा चुनावको अत्तोपत्तो छैन। साँच्चै भन्नुपर्दा, यो ठाउँ त नेपालै होइन कि के हो ? जस्तो लागेको छ।’

देशभर चुनावी वातावरण भए पनि भोटखोलामा अहिलेसम्म चुनाव नआएको उनको गुनासो छ। ‘बिहान होटलमा चिया खान गाउँलेहरू भेला भएका थिए। चुनाव आयो नि भनेर मैले कुरा झिकेँ। के को चुनाव ? पाँच वर्ष पुग्यो र ? बल्ल त तीन वर्ष पुग्दैछ। अझै दुई वर्ष बाँकी छ हैन र ? भनेर सोध्दै थिए बुढाहरू’, थार्पा भन्छन्, ‘अहिलेसम्म कोही पनि भोट माग्न आएका छैनन्। अब चुनावको दिनमा कुन पार्टीलाई भोट दिने ? भोट कसरी हाल्ने ? न पार्टीका मान्छेहरू सिकाउन आएका छन्, न निर्वाचन आयोगका मान्छे सिकाउन आएका छन्। चुनावको दिनमा गाउँलेहरू मतपत्र हातमा लिएर अलमल पर्ने अवस्था छ।’

गोरखा क्षेत्र नं. १ को चुमनुब्री गाउँपालिका भोटखोलामा अवस्थित छ। सात वटा वडा रहेको यहाँ गाउँपालिकाको केन्द्र फिलिमसम्म मात्र सडक सञ्जालले जोडेको छ। वडा नं. ३ मा पर्ने फिलिमसम्म सडक सञ्जालले जोडेको छ। बाँकी ६ वटा वडामा अहिलेसम्म कुनै पनि पार्टीका न उम्मेदवार पुगेका छन्, न नेता, न कार्यकर्ता भोट माग्न पुगेका छन्। भोटै नमागी भोट हाल्नुपर्ने अवस्था आएको स्थानीयवासीको दुःखेसो छ।

सबै पार्टीका उम्मेदवार र नेताहरूले जाडो छल्न काठमाडौं पुगेकाहरूसँग मात्र भोट मागेका छन्। ‘काठमाडौं बस्नेहरूले मेरो हातमा यति भोट छ भनेर ठेक्का लिएका होलान्। यति भोट म जिम्मा लिन्छु भन्ने ग्यारेन्टी गरेर पैसा पनि खाएका होलान्’, नाम गोप्य राख्न चाहने भोटखोलाका एक स्थानीयवासी भन्छन्, ‘त्यस्ता मान्छेले सबै पार्टीसँग पैसा कुम्ल्याउँछन् अनि गाउँमा आएर सबैको मन राख्न भोट बाँडेर हाल्छन्। यसरी नै वर्षौं बितेको छ।’ जाडो छल्न काठमाडौं झरेकाहरू अधिकांश त चुनावसम्म गाउँ नफर्कने उनको दाबी छ।

आफूहरू दुःखी ठाउँका दुःख पाउने मान्छे भनेर कोही पनि भोट माग्न नआएको हुनसक्ने चुमनुब्री-५ की निमा डिकी बताउँछिन्। ‘भोट माग्न पनि कोही आएनन्। भोट हाल्ने कहिले हो भन्ने पनि थाहा छैन’, उनी भन्छिन्, ‘हामी दुःख पाउने मान्छेसँग के माग्ने भनेर नआएका होलान्।’ गाउँपालिकाको केन्द्र फिलिमसम्म सडक सञ्जालले जोडेको छ। त्यसैले सबै पार्टीका उम्मेदवार, नेता, कार्यकर्ता फिलिमसम्ममात्र भोट मागेर फर्कने गरेका छन्। सिर्दिबासभन्दा पर ६ वटा वडाहरू छन्। त्यहाँसम्म पुग्न दुई, तीन दिनसम्म पैदल यात्रा गर्नुपर्छ तर, ती गाउँबस्तीमा कुनै पार्टीका नेता, कार्यकर्ता, उम्मेदवार भोट माग्न पुगेका छैनन्। अब पुगेर फर्कने कार्यक्रम पनि बनाएका छैनन्।

तराई र पहाडी क्षेत्रमा चुनावी माहोल सामाजिक सञ्जालमा देखेको तर आफ्नो गाउँमा कोही पनि भोट माग्न नआएको स्थानीय युवाको गुनासो छ। ‘तल्लो भेगतिर उम्मेदवारले मतदातासँग हात जोडेर, ढोगेर, बिन्तीभाउ गरेर भोट मागेका छन्’, चुमनुब्री-४ का फुर्बु ठिले भन्छन्, ‘हाम्रोतिर त भोटै नमागी जनताहरू भोट हाल्न बाध्य छन्। नमागीकन भोट दिन पर्नु त जनताको मतको अपमान हो।’null

सहरका मान्छेको पनि एक व्यक्ति एक भोट हो। गाउँका मान्छेको पनि एक व्यक्ति एक भोट हो। तर सहरमा एक भोट पाउन मतदातालाई त्यति मान सम्मान गर्नुपर्ने, तर भोटखोलाका बासिन्दाहरू माग्दै नमागेकालाई, चिन्दै नचिनेकालाई भोट हाल्न बाध्य हुनु दुःखको कुरा भएको उनको भनाइ छ।

‘चुनावका बेला भोट माग्नु भनेको जनताको भोटको सम्मान गर्नु हो। तर माग्दै नमागी भोट हाल्न बाध्य हुनु भनेको जनमतको अपमान हो’, स्थानीय युवा फुर्बु ठिले भन्छन्, ‘उनीहरूलाई चाहिएका बेला भोट माग्न त आउँदैनन् भने जितेर गएपछि यहाँको समस्या समाधान गर्न फर्केर आउलान् भनेर कसरी पत्याउनु ? योभन्दा पहिले पनि जितेर गएकाहरू को फर्केर आए र ? त्यसैले हाम्रो गाउँलाई सबै पार्टीका नेता, कार्यकर्ताले साह्रै हेपेका छन् भन्ने हामी सबैलाई लागेको छ।’ भोट माग्न कोही पनि नआएकाले गाउँलेहरू भोट हाल्न पनि नजान सक्ने सम्भावना रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.