जुम्लाले पहिलोपटक दोहोर्‍यायो सांसद

जुम्लाले पहिलोपटक दोहोर्‍यायो सांसद
सुन्नुहोस्

जुम्लाले पहिलोपटक सांसद दोहोर्‍याएको छ। यहाँ कुनैपनि उम्मेदवारले हालसम्म दोहोरिएर जित्न सकेका थिएनन्। हरेक निर्वाचनमा नयाँ उम्मेदवारलाई जिताउँदै आएको जुम्लाले यसपाली भने सांसद  दोहोर्‍याएको हो। विसं २०४८ सालयता भएका कुनैपनि निर्वाचनमा यहाँका मतदाताले एउटै उम्मेदवारलाई  दोहोर्‍याएर जिताएका थिएनन् । तर जुम्ली मतदाताले पहिलोपटक यसपाली राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई दोस्रोपटक पनि जिताएका छन् ।

हरेक निर्वाचनमा उम्मेदवारहरु दोहोरिएता पनि यहाँका मतदाताले नयाँ अनुहारलाई मात्र मत दिदै आएका थिए। यहीकारण जुम्लाबाट कुनैपनि उम्मेदवारले हालसम्म दोहोरिएर संसदमा प्रवेश गर्न सकेका थिएनन् । तर योपटक भने जुम्लाको संसदीय राजनीतिमा नयाँ रेकर्ड कायम भएको हो । हरेक निर्वाचनमा नयाँ अनुहारलाई मतदान गर्दै आएका यहाँका मतदाताले पहिलोपटक मत परिवर्तन गरेनन् । अर्थात देशभर नयाँ अनुहारले जित्दै गर्दा र रास्वपाको पक्षमा लहर चल्दासमेत जुम्लाका मतदाताले राप्रपाका उम्मेदवार शाहीलाई दोस्रोपटक पनि जिताएका हुन् ।

हाल राप्रपाका प्रवक्ता समेत रहेका शाही यसअघि २०७९ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपटक विजयी भएका थिए । त्यसबेला उनले काँग्रेस, माओवादी र समाजवादीको संयुक्त गठबन्धनलाई पराजित गरेका थिए। यसपाली देशभर रास्वपाको पक्षमा नतिजा आइरहँदा पनि यहाँका मतदाताले शाहीलाई दोस्रो पटकका लागि संसदमा पठाएका छन्। शनिबार सम्पन्न मतगणना अनुसार शाहीले १४ हजार ८१६ मत ल्याउँदै विजयी भएका हुन् । यस्तै उनका निकटतम प्रतिद्धन्द्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत मात्र प्राप्त गरे । यो विजयसँगै शाही जुम्लाबाट दोहोरिएर संसद छिर्ने पहिलो सांसद बनेका छन् ।

जुम्ली मतदाताले २०४८ सालको संसदीय निर्वाचनमा डिल्लीबहादुर महत, २०५१ मा भक्तबहादुर रोकाया, २०५६ मा देवीलाल थापा, २०६४ मा नरेश भण्डारी, २०७० मा ललितजंग शाही, २०७४ मा गजेन्द्रबहादुर महत र २०७९ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा ज्ञानबहादुर शाहीलाई जिताएका थिए । हरेक निर्वाचनमा मत परिवर्तन गर्दै आएका जुम्ली मतदाताले योपटक भने मत बदलेनन् । यसपाली मत परिवर्तन नगर्नुको मुख्य कारण शाहीले यसअघि संसदमा निर्वाह गरेको प्रभावकारी भूमिका नै हो । सांसद भएपछि शाहीले संसदमा जुम्लाको मात्र होइन, समग्र कर्णालीको विषयमा बोल्थे । जुम्लामा उत्पादित स्याउको बजारिकरणमा पहल गरे ।

जिल्लाको समस्या र मतदाताका सवालहरुलाई संसदमा चर्को रुपमा उठाए । यसअघि जितेका सांसदको तुलनामा आफ्ना एजेण्डा र जुम्लाको आवाजलाई संसदमा प्रभावकारी रुपमा उठाएकै कारण शाहीलाई यसपटक पनि मत दिएको यहाँका मतदाता बताउँछन् । जुम्लाको पहिचान र सम्भावनाहरुको उजागर गरेको, जिल्लाको विकासका सवालमा संसदमा निरन्तर खबरदारी गरेको र अब पनि थप प्रभावकारी भुमिका खेल्ने क्षमता भएकै कारण शाहीलाई यसपटक पनि जिताएको यहाँका मतदाता बताउँछन् । दोस्रोपटक निर्वाचित भएपछि शाहीले जुम्लाको सवाललाई संसद र सिंहदरबारमा थप प्रभावकारी रुपमा उठाउने प्रतिबद्धता जनाएका छन् । 

कर्णालीमा जित्ने एक्ली महिला उम्मेदवार

कर्णालीमा नेपाली काँग्रेसकी बासना थापा चुनाव जित्ने एक्ली महिला उम्मेदवार बनेकी छन् । उनी दैलेखको निर्वाचन क्षेत्र नं १ बाट १२ हजार ३७२ मतसहित विजयी भएकी हुन् । थापाको निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ प्राप्त गरे ।
यो क्षेत्रमा विगतदेखि नै मुख्यगरी नेपाली काँग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदै आएको छ ।

 २०७० को दोस्रो संविधानसभा निर्वाचन यता काँग्रेसको निर्वाचन चिन्ह्मा भोट हाल्न नपाएका काँग्रेस कार्यकर्ताहरुले यसपालिको निर्वाचनमा बासना थापालाई विजयी बनाएका छन् । जीतसँगै उनी कर्णालीबाट प्रत्यक्षतर्फ निर्वाचन जित्ने एक्ली महिला नेतृ बनेकी छन् । 

रास्वपाको पक्षमा देशभर जनलहर चलेका बेला थापा उनै महिला नेतृ हुन्, जसले अनुभवी र स्थापित नेताहरूलाई पराजित गरिन् । ४५ वर्षिया बासना काठमाडौं महानगरपालिका–९, मा जन्मिएकी हुन् । उनी पहिलोपटक संसदीय प्रतिस्पर्धामा उत्रिएकी थिइन् । बासना यसअघि २०७४ मा भएको स्थानीय तह निर्वाचनमा दैलेखको नारायण नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी थिइन् । तर त्यसबेला एमालेकी सावित्री मल्लसँग पाँचसय ७७ मतले पराजित भएकी थिइन् ।

भाईले जोगाए पूर्णबहादुरको विरासत

सुर्खेतको क्षेत्र नं १ मा काँग्रेसका विष्णुबहादुर खड्का विजयी भएका छन् । उनी काँग्रेस नेता पूर्णबहादुर खड्काका साइँला भाई हुन् । काँग्रेसका पूर्वकार्यबहाक सभापति पूर्णबहादुर यसपाली चुनावी मैदानमा थिएनन् । उनी चुनाव नलडेपछि काँग्रेसले उनका भाई विष्णुलाई उम्मेदवार बनाएको थियो । पूर्णबहादुर उम्मेदवार नबन्दा उनले जित्दै आएको क्षेत्र गुम्ने त्रास काँग्रेसमा थियो । तर काँग्रेस सुर्खेतका उपसभापतिसमेत रहेका विष्णुले चुनाव जितेर आफ्नै दाई पूर्णबहादुरको विरासत जोगाएका हुन् । शनिबार सम्पन्न मतगणना अनुसार विष्णुले ८ हजार मतान्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवकुमार शाहीलाई पराजित गरे । खड्काले २६ हजार ८९५ मत पाउँदा एमालेका शाहीले १८ हजार ८९० मत पाएका छन् । २०४८ सालदेखि सुर्खेत–१ मा पूर्णबहादुर चुनाव लड्दै आएका थिए । 

प्रदेश राजधानीमा रास्वपा विजयी

कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतमा रास्वपा विजयी भएको छ । सुर्खेतको क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार रमेश सापकोटा विजयी भएका छन् । नेपाली कांग्रेस र एमालेको प्रभावक्षेत्र मानिने यो क्षेत्रमा सापकोटाले जित निकालेका हुन् । उनले ३० हजार ३८७ मत प्राप्त गरेका छन् ।  यस्तै उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका नारायण कोइरालाले १६ हजार १९६ मत पाएका छन् । यस्तै एमाले उम्मेदवार कुलमणि देवकोटाले १२ हजार ८९१ मत प्राप्त गरे । यातायात व्यवसायीसमेत रहेका सापकोटा यसअघि काँग्रेसमा आवद्ध थिए । तर उनले काँग्रेस त्यागेर रास्वपामा प्रवेश गरेका थिए । उनी हाल रास्वपा सुर्खेतको सभापतिसमेत रहेका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.