बदलिनुपर्छ गैरआवासीय नेपाली पनि
भदौको जेन–जी आन्दोलन नेपालका राजनीतिक दलहरूको सत्ता स्वार्थको लडाइँविरुद्ध थियो। सुशासन र भ्रष्टाचारविरुद्ध पनि। खासमा नेपालका दलहरूमात्रै नभई स्वार्थको लडाइँ हरेकजसो संघसंस्थामा पनि रह्यो। त्यतिमात्रै नभई विदेशमै रहेका नेपालीमा पनि दलीय टुटफुट र शक्ति केन्द्रित झगडा झ्याँगियो। त्यसैको एउटा उदाहरण थियो, गैरआवासीय नेपाली संघ (एनआरएनए)। यो संस्था विश्वभरका नेपालीको एकताका लागि चालिएको एउटा अभियान थियो। तर, पछिल्लो समय दुई चिरा भएर अभियान लडखडायो। सुखद कुरा के भने जेन–जी आन्दोलनको प्रभाव र दबाब अनि सर्वोच्च अदालतको मार्गदर्शन स्वरूप यो संस्थामा फेरि एकता देखिएको छ। विवादलाई सहमतिमा टुंग्याउँदै एकता महाधिवेशन देशको राजधानी काठमाडौंमा सुरु भएको छ।
अब काठमाडौंमा सुरु १२औं अन्तर्राष्ट्रिय महाधिवेशन साँच्चिकै एकताको महाधिवेशन हुँदैछ। किनभने, महेश श्रेष्ठ र बद्री केसी नेतृत्वका दुई अलग समिति एक भएरै नयाँ नेतृत्वका लागि यो महाधिवेशन गरेका हुन्। तर, अहिलेको एकता दीर्घकालीन भइदिओस् भन्ने सबैको शुभेच्छा छ। महाधिवेशन प्रतिनिधिहरूले त्यही शुभेच्छालाई मनन र शिरोधार्य गर्नुपर्छ। एनआरएनएका संस्थापकहरूले खासमा यसलाई संसारभरका नेपालीलाई जोड्ने र मातृभूमिसँगको साइनो प्रगाढ बढाउने परिकल्पना गरेका थिए। न कि राजनीतिक विचारका आधारमा नेपालका संघसंस्थाजस्तै विदेशमा पनि विभाजन होस्। सरकारसमेत लागेर अहिलेको एकता महाधिवेशनको वातावरण मिलाइदिनुपर्ने अवस्था आउनु नै दुर्भाग्य हो। आउँदा दिनमा गैरआवासीय नेपाली स्वयं सधैं एकताबद्ध हुन जरुरी छ। पदीय भागबन्डा गरिने एकता टिकाउ हुँदैन। पद लोलुपताकै कारण हिजोका ठूला दल जनमतबाट बढारिए, त्यो पाठ एनआरएनएले पनि लिन सक्नुपर्छ। निकट विगतको आमनिर्वाचनको सन्देश सबैका लागि हो न कि पुराना पार्टी र दलका नेतालाई मात्रै।
एनआरएनए संस्थापकहरू उपेन्द्र महतो, जीवा लामिछाने र शेष घलेहरूले संस्थाको साख निकै उँचो बनाएका थिए। तर, पछिल्ला वर्षहरूमा भने यो संस्था केवल चुनाव र गुटबन्दीको केन्द्र बन्यो। विवाद सरकार र अदालतसम्मै पुग्ने अवस्था ठूलो विडम्बना हो। नेताहरू खराब भए, नेताहरू सत्ता आशक्त भए भन्ने आलोचना भइरहँदा विदेशका नेपालीमा पनि उही रोग देखिनु हुँदैनथ्यो। बरु पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको विधि बसाउनुपथ्र्यो। अब विगतलाई अपवाद बनाउने गरी एनआरएनएले नयाँ इतिहास लेख्नुपर्छ। नेपालीहरू पद र प्रतिष्ठाका लागि होइन, जहाँ भए पनि देश र जनताका लागि उत्तरदायी भएर लाग्छन् भन्ने सन्देश व्यवहारबाटै दिनुपर्छ। दिगो एकताका लागि त्यागको नमुना प्रस्तुत गर्न सक्नुपर्छ। ‘राजनीतिभन्दा माथि उठेर सेवा’ भन्ने नारालाई व्यवहारमा उतार्नुपर्छ। एनआरएनए अभियन्ताहरूले सधैंका लागि एकजुट हुन प्रतिबद्ध हुनुपर्छ। नेपाल र नेपालीको भावनामा चोट पुर्याउने कुनै पनि विकृति तथा विसंगति संस्थामा भित्रन दिनुहुँदैन। एकपटकको नेपाली सधैंको नेपाली भन्ने नारालाई साकार पार्दै मातृभूमिका लागि समर्पित हुनुपर्छ।
अहिले नेपालमा भइरहेको परिवर्तन गैरआवासीय नेपालीहरूका लागि पनि सन्देश हो। र, त्यो केही हदसम्म एनआरएनएमा पनि देखिएको छ। गफ होइन, कामका लागि नेपाली जहाँ भए पनि नेपालका लागि जुट्ने अभियान सार्थकताका लागि काम देखाउने बेला हो यो। इमानदारीसाथ सबै अभियन्ता जुटे यो अभियानले सफलता पनि पाउने पक्का छ।
प्रतिक्रिया दिनुहोस !