धुलाम्य पृथ्वी राजमार्ग, जनस्वास्थ्यमा जोखिम
धादिङ : धादिङको गजुरी गाउँपालिका अन्तर्गत पर्ने पृथ्वी राजमार्ग खण्डमा सडक निर्माणमा भएको ढिलाइका कारण धुलोको समस्या चर्किएको छ । विशेष गरी गजुरी–५ को घाटबेसी क्षेत्रमा सवारी आवागमनले उडाउने धुलोले स्थानीय बासिन्दाको दैनिक जीवन प्रभावित बनेको छ ।
स्थानीयका अनुसार बिहानदेखि बेलुकासम्म चल्ने सवारी साधनले उडाउने धुलो घरभित्रसम्म पस्ने गरेको छ । यसले बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या बढाएको उनीहरूको भनाइ छ । ‘झ्याल–ढोका बन्द गर्दा पनि धुलो रोकिन्न, बस्नै गाह्रो भयो’, स्थानीय बिस्मिल्ला मियाँले बताए ।
सडक निर्माणको जिम्मा लिएको सगुन कन्स्ट्रक्सनमाथि काममा ढिलाइ गर्नुका साथै धुलो नियन्त्रणमा आवश्यक उपाय नअपनाएको आरोप लागेको छ । निर्माणस्थलमा नियमित पानी छर्कने, सडक सम्याउने जस्ता आधारभूत व्यवस्था समेत नदेखिएको स्थानीयको गुनासो छ ।
यता गजुरी गाउँपालिका कार्यालय तथा सम्बन्धित वडा कार्यालयले समस्या समाधानमा प्रभावकारी पहल नगरेको भन्दै स्थानीय असन्तुष्ट छन् । यद्यपि, सरोकारवाला निकायले भने निर्माण कार्यलाई चरणबद्ध रूपमा अघि बढाइने र समस्या समाधानका लागि आवश्यक समन्वय भइरहेको बताउने गरेका छन् ।
स्थानीय बासिन्दाले तत्काल धुलो नियन्त्रणका उपाय लागू गर्न, निर्माण कार्यमा तीव्रता ल्याउन र ठेकेदार कम्पनीलाई जवाफदेही बनाउन माग गरेका छन्। गजुरीको घाटबेसी क्षेत्रमा देखिएको अवस्था विकास आयोजनामा ढिलासुस्ती र व्यवस्थापनको कमजोरीको उदाहरणका रूपमा देखिएको छ । जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस समस्यामा सम्बन्धित निकायले समयमै ठोस कदम चाल्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !