श्रीकृष्ण बिक मृत्यु प्रकरण छानविन गर्न प्रहरीले बनायो समिति
काठमाडौं : सिन्धुलीस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएका सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको घटना छानविनका लागि चार सदस्यीय समिति गठन भएको छ ।
जबरजस्ती करणीको मुद्दा अनुसन्धानको सिलसिलामा पक्राउ परी हिरासतमा रहेका बेला बैसाख ७ गते शौचालयमा मृत भेटिएका विकको मृत्यु घटनाको सत्य तथ्य छानविन गर्न नेपाल प्रहरीले चार सदस्यीय छानविन समिति गठन गरेको हो । छानविन समितिमा प्रहरी अधिकृतहरु नेपाल प्रहरीको युएन शाखाका रविन्द्रप्रसाद पौडेल, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोका इन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रेम रेग्मी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका राजेश्वर सापकोटा सदस्य रहेका छन् ।
प्रहरी प्रधान कार्यालयले समितिलाई तोकिएको जिम्मेवारी सात दिनभित्र पुरा गरी घटनाबारे सत्य–तथ्य प्रतिवेदन पेस गर्न भनेको छ । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका विकलाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।
अनुसन्धानका क्रममा रहेका विकले हिरासतको शौचालयमै सर्टको पासो घाँटीमा लगाई झुण्डिएर घाइते भएको अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो । तर उनको उपचारकै क्रममा मृत्यु भएको थियो । उनलाई तत्काल उद्धार गरी सुनकोशी अस्पताल खुर्कोट लगिएको र पछि सिन्धुली अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
श्रीकृष्ण विकको मृत्यु शंकास्पद भन्दै परिवार आन्दोलित भएका छन् । घटनाको निष्पक्ष छाबिनको माग गर्दै पीडितका आफन्तसहित सांसदहरु जिल्ला प्रशासन कार्यालयको मुल गेटमा धर्नामा बसेका छन् । बिकको मृत्यु प्रकरणलाई लिएर सांसद, दलित अधिकारकर्मी, मृतकका आफन्त र स्थानीयवासीहरू बिहीबार राति ८ बजेदेखि अनिश्चितकालीन धर्नामा बसेका हुन् ।
विकको हिरासत कक्षभित्रै भएको मृत्युको विषयमा स्थानीय प्रशासन र प्रहरीबाट निष्पक्ष छानबिन हुने कुरामा शंका रहेको भन्दै पीडितहरु पाँचदिनदेखि जिल्ला सदरमुकाम माढीमा आन्दोलित थिए । बिहीबारको घटनाकाबारेमा सत्य तथ्य बुझ्न काठमाडौंबाट सिन्धुलीमाढी आइपुगेका सांसदहरु खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा, आशिष गजुरेल, दलित अधिकारकर्मी बाबुराम विक, प्रदिप परियारलगायत पीडित परिवार र आफन्त रातभर जिल्ला प्रशासन कार्यालयको मुलगेटमा धर्नामा बसेका छन् ।
अनुसन्धानकै क्रममा विकले बैशाख ७ गते साँझ करिब ५ बजे शौचालयको झ्यालको डण्डीमा सर्टको पासो लगाएर आत्महत्या गरेको प्रहरीले दावी गरेको छ । मृतक विककी आमा विन्दामाया विकले छोराले आत्महत्या नगरी प्रहरीले शारीरिक र मानसिक दवाव दिएर कुटपिट समेत गरेको दावी गर्दै न्यायको माग गरेकी छिन् ।
यसअघि उक्त घटनालाई लिएर छानविन गर्न भन्दै सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरिएको थियो । विकले खोटाङ निवासी मगर थरकी १८ बर्षीया किशोरीसँग प्रेम विवाह गरेको र विवाह सम्बन्ध छुटाउनका लागि बालिका पक्षले बलत्कारको मुद्दा दर्ता गरेको बताइएको छ । बालिका पक्षले सातदोवाटो प्रहरी वृत्त काठमाडौंमा दिएको उजुरीपछि प्रहरीले पक्राउ गरी खुर्कोट प्रहरीको जिम्मा लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस !