क्यान्सर औषधि आपूर्ति सुरु, बंगलादेशबाट आयात गरिँदै
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर चासो देखाउँदै क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको आपूर्तिलाई अघि बढाएका छन्।
अन्नपूर्ण पोस्ट् दैनिकमा आइतबार ‘क्यान्सर औषधि र स्लाइनको अभाव’ शीर्षकमा समाचार प्रकाशित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गम्भीर चासो जनाएको थियो। त्यसलगत्तै स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाको अग्रसरतामा औषधि व्यवस्था विभाग र औषधि आयातकर्तालगायत सरोकारवालाबीच आइतबार दिउँसो मन्त्रालयमा बैठक बसेको थियो।
जीवनरक्षक औषधि आपूर्तिमा सहजता तुल्याउँदै तत्काल औषधि वितरण प्रणाली मिलाउने निर्णय भएको छ। औषधि आयातकर्ता संघ र आयातकर्ताले पनि तत्काल औषधि आपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्,’ बैठकपछि स्वास्थ्य सचिव डा. देवकोटाले अन्नपूर्णसँग भने, दीर्घकालीन रूपमा समस्या समाधानकालागि आयातकर्ताहरूको माग मूल्य समायोजन रहेको छ। त्यसतर्फ स्वास्थ्यमन्त्रीज्यू स्वदेश फर्के लगत्तै के गर्न सकिन्छ भन्नेतर्फ गृहकार्य र प्रक्रिया अघि बढ्छ।’
मन्त्रालयमा बसेको बैठकमा स्वास्थ्य सचिव डा. देवकोटा, औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गी, नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य, स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी र आयातकर्ता प्रतिनिधिहरूबीच औषधि आपूर्तिलाई सहज बनाउने सहमति भएको छ।
मुलुकभर कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिनका साथै स्लाइन औषधिको समेत अभाव देखिएको छ। जसका कारण औषधि अभावले मुलुकभरका सयौं क्यान्सर बिरामीहरूको नियमित उपचार प्रक्रिया (केमोथेरापी साइकल) रोकिएको क्यान्सर रोग विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका थिए।
स्वास्थ्य सचिव डा. देवकोटाले अत्यावश्यक औषधिको अभाव हुन नदिन र औषधि प्रणालीलाई सुदृढ गर्न औषधि व्यवस्था विभाग, नेपाल औषधि उत्पादक, नेपाल औषधि आयातकर्ता संघलगायतका सरोकारवालाबीच पनि छलफल गरि रणनीतिक हिसाबले अघि बढ्ने बताए। सचिव डा. देवकोटाले भने, ‘अब अत्यावश्यक औषधिको अभाव हुन नदिने र खरिद प्रणालीलाई पनि व्यवस्थित बनाउँदै छौं। स्वदेशि औषधि उत्पादकलाई प्रोत्साहन र औषधि आयातलाई सहजिकरण गर्ने तिर ध्यान दिनुपर्ने छ।’
औषधि वितरण प्रक्रिया सुरु
नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यका अनुसार, आइतबार दिउँसो विभिन्न क्यान्सरका बिरामी उपचाररत अस्पतालहरूमा औषधि वितरण गरिएको छ। वीर अस्पताल, वीरेन्द्र अस्पताल, त्रिभुवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगन्ज, भक्तपुर क्यान्सर अस्पताल, निजामती (सिभिल) अस्पताल र पाटन अस्पताललगायतका स्वास्थ्य संस्थामा औषधि वितरण गरिएको गरिएको छ।
संघका अध्यक्ष आचार्यले भने, ‘क्यान्सर रोग विशेषज्ञको प्रेसक्रिप्सनका आधारमा बिरामीलाई औषधि वितरण गरिएको छ। बिरामीका आफन्तहरूले आयातकर्ताहरूसँग भेटेर प्रेसक्रिप्सनका आधारमा अत्यावश्यक क्यान्सर औषधि लगेका छन्।’
काठमाडौं बाहिर मणिपाल अस्पताल पोखरा, चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा पनि औषधि उपलब्ध गराइएको उनले जानकारी दिए। औषधि वितरण भए÷नभएको अनुगमन स्वास्थ्य सचिव देवकोटा र औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक खड्गीले गरेकी छिन्। संघका अध्यक्ष आचार्यले बिरामीका आफन्तले सम्पर्क गरेमा औषधि उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए।
बंगलादेशबाट औषधि ल्याइयो
नेपाल औषधि आयातकर्ता संघको पहलमा औषधि अभावको संकट व्यवस्थापनमा बंगलादेशबाट कार्बोप्लाटिन औषधि आयात गरिएको छ। बंगलादेशबाट आइतबार साँझ आयात गरिएको क्यान्सर औषधि कार्बोप्लाटिन, सिस्प्लाटिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा झारिएको छ। १ सय ५० एमजीको ३ सय ५० भायल र ४ सय ५० एमजीको ४ सय ५० भायल कार्बोप्लाटिन औषधि आयात गरिएको छ। आयान हेल्थ केयरले बंगलादेशबाट औषधि आयात गरेको हो।
नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष आचार्यले अहिले तत्कालका लागि औषधि अभाव अन्त्य भए पनि दीर्घकालीन समस्या समाधानका लागि स्वचालित मूल्य प्रणाली अपनाउनुपर्ने बताए।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
