रविन्द्रको उत्साह
मकाउ : नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा प्रवेश गरेका छन्। मकाउस्थित ग्यालेक्सी एरिनामा बिहीबार भएको प्रतिस्पर्धामा जित निकाल्दै ढाँट सेमिफाइनलमा पुगेका हुन्।
फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा नकआउट गर्दै रविन्द्रले ऐतिहासिक जित निकालेका हुन्। क्वाटरफाइनलको भिडन्तमा मैदानमा उत्रिएका रविन्द्रलाई हौसला बढाउन हङकङ र मकाउबाट सयौं नेपाली एरिनामा पुगेका थिए। ‘बझाङको बाघ’ उपनाम पाएका रवीन्द्र रोड टु यूएफसी फाइट जित्ने पहिलो नेपाली हुन्।
जितपछि आयोजना गरिएको प्रेस कन्फरेन्समा रविन्द्रले सोच्दै नसोचेको नेपाली खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थितिले भावुक भएको बताए। यो ऐतिहासिक जित निकाल्न कतिको गाह्रो भयो भन्ने प्रश्नमा रविन्द्रले भने, ‘एकसमय अलिकति गाह्रो भएको थियो। अब सक्दिन कि क्या होजस्तो पनि भयो। तर असंख्य नेपाली दर्शकहरूको हुटिङ र आवाजले थप प्रेरणा दियो, जुन जितको आधार पनि बन्यो। संसारभरिका नेपाली, विशेषतः हङकङ र मकाउमा बस्ने सम्पूर्ण खेलप्रेमी नेपालीहरूलाई धन्यवाद।’
रविन्द्रले सेमिफाइनलमा अब जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिव मुर्डोकबीच हुने भिडन्तको विजेतासँग खेल्नेछन्। नेपाली एमएमएमा चर्चित फाइटरको परिचय बनाएका रविन्द्रले गत वर्ष आयोजना गरिएको मेट्रिक्स फाइट–१७ मा भारतका चुङरेन कवरेनलाई हराउँदै उपाधि जितेका थिए।
प्रतिक्रिया दिनुहोस !