सीमित विकल्पमा रहेका ट्रम्प युद्ध अन्त्य गर्न खोज्दै, इरान किन छैन झुक्न तयार ?
इरान : अमेरिका र इरान दुवैले अप्रिल ८ मा घोषणा गरिएको युद्धविरामपछि रोकिएको युद्ध फेरि सुरु गर्न नचाहेको संकेत दिएका छन् । यसबीच, दुवै पक्षबीच बेला–बेलामा सैन्य झडप भए पनि पाकिस्तान, कतार तथा अन्य केही देशहरूको मध्यस्थतामा जारी वार्ता भने रोकिएको छैन ।
अमेरिकासँग अझै पनि इरानमाथि आक्रमण गर्न सक्ने शक्तिशाली नौसेना र वायुसेना तैनाथ छन् । त्यसैले इरानी नेतृत्वले आफ्ना सैन्य बललाई पूर्ण सतर्क अवस्थामा राखेको र युद्धविरामको अवधिलाई अमेरिकी तथा इजरायली आक्रमणबाट भएको क्षतिको पूर्ति गर्न प्रयोग गरिरहेको अनुमान गरिन्छ। यस अवधिमा उसले आफ्नो सैन्य संरचनालाई पुनः सुदृढ बनाउने प्रयास पनि गरिरहेको हुन सक्छ ।
खाडी क्षेत्र र त्यस वरपरको सैन्य तनावले दुवै पक्षका लागि गलत आकलन र जोखिम बढाएको छ । अमेरिका इरानमाथि दबाब कायम राख्न चाहन्छ ताकि उसलाई सम्झौता र छुट दिन बाध्य पार्न सकियोस् । त्यसका लागि उसले आफ्नो सैन्य शक्ति र आक्रमण क्षमताको प्रदर्शन गरिरहेको छ ।
सीमित हुँदै ट्रम्पका विकल्प
यता इरानले भने अमेरिकालाई आफ्नो प्रतिरोध क्षमता कमजोर नभएको सन्देश दिइरहेको छ । आवश्यकता परे अरब मुलुकहरूमा रहेका अमेरिकी सैन्य अड्डा र पूर्वाधारलाई निशाना बनाउन सक्ने चेतावनी पनि उसले दिइरहेको छ । यस्तो अवस्थामा अमेरिका र इरानबीच हुन सक्ने कुनै पनि व्यापक सम्झौताको पहिलो लक्ष्य युद्धविरामलाई कायम राख्नु र आगामी वार्ताको कार्यसूचीबारे सहमतिपत्र तयार गर्नु हुनेछ । तर त्यो लक्ष्य हासिल गर्न सहज देखिएको छैन ।
इजरायलले आफ्ना बमवर्षक विमानले फेरि बेरुतमा आक्रमण गर्ने घोषणा गरिसकेको छ । यसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विकल्पहरू अझ सीमित बनाएको छ । बेन्जामिन नेतन्याहुलाई लेबनानमा नयाँ सैन्य अभियानले अमेरिका–इरान समझदारीलाई थप जटिल बनाउन सक्छ भन्ने चिन्ता खासै नहुन सक्छ । उनी सुरुदेखि नै इरानसँगको युद्धविरामप्रति उत्साहित थिएनन् ।
उनको दृष्टिमा अमेरिका र इरानबीच हुने कुनै पनि सम्झौता राम्रो सम्झौता होइन । इरानले अझै पनि लेबनानस्थित आफ्नो सहयोगी संगठन हिज्बुल्लाहलाई समर्थन गरिरहेको छ । इरानले अमेरिकासँग हुने कुनै पनि ठूलो सम्झौतामा इजरायली सैन्य अभियान अन्त्य हुनु पनि समावेश हुनुपर्ने संकेत दिएको छ । यसैबीच राष्ट्रपति ट्रम्पले इजरायललाई संयम अपनाउन आग्रह गरेका छन् ।
होर्मुज जलडमरूमध्यको प्रश्न
स्ट्रिट अफ होर्मुज पुनः खोल्ने विषयमा इरानले केही प्रतिफल चाहने सम्भावना छ । त्यो प्रतिफल प्रतिबन्धहरूमा राहत वा रोक्का गरिएका सम्पत्ति फुकुवाका रूपमा हुन सक्छ । गम्भीर वार्ता सुरु गर्न होर्मुज जलडमरूमध्य खुल्नु अत्यन्त महत्वपूर्ण मानिएको छ ।
अमेरिका र इजरायलका आक्रमणपछि इरानले उक्त महत्वपूर्ण समुद्री मार्ग बन्द गरेको थियो, जसका कारण अहिले त्यहाँबाट निकै कम जहाज आवतजावत गरिरहेका छन् । साउदी अरेबियाले केही तेल पाइपलाइनमार्फत लाल सागरका बन्दरगाहसम्म पुर्याइरहेको छ । त्यस्तै युनाइटेड अरब इमिरेट्ससँग पनि ओमानको खाडी किनारसम्म तेल ढुवानी गर्ने वैकल्पिक पाइपलाइन छ ।
तर पनि विश्व बजारमा सामान्य आपूर्तिको तुलनामा करिब २० प्रतिशत तेल तथा ग्यासको कमी महसुस भइरहेको छ । अन्य महत्वपूर्ण निर्यातहरू पनि प्रभावित भएका छन् । यदि होर्मुज जलडमरूमध्य लामो समयसम्म बन्द रह्यो भने यसको असर सम्पूर्ण विश्व अर्थतन्त्रमा पर्नेछ ।
गलत साबित भयो अनुमान
अमेरिका अहिले खाडी क्षेत्रको तेलमा पहिले जति निर्भर नभए पनि पेट्रोलियम पदार्थको मूल्य अझै अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्छ । राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा फसेका छन् ।
उनले युद्ध सुरु गर्दा विजय सजिलै हासिल हुने अनुमान गरेका थिए, तर अहिले त्यसका परिणामहरू सामना गर्नुपरेको छ । ट्रम्प र उनका निकट सहयोगी नेतन्याहुले आफ्नो वायुसेनाको शक्तिले इरानको इस्लामिक शासनलाई कमजोर पार्न वा ढाल्न पर्याप्त हुनेछ भन्ने विश्वास गरेका थिए । तर घटनाक्रमले त्यो आकलन सही नभएको देखाएको छ ।
प्रतिक्रिया दिनुहोस !