अब सम्पत्तिको लडाइँ : इरानको सम्पतिमाथि अमेरिकाको नजर
अमेरिका : अमेरिका र इरानबीच युद्धविराम लागू भएको केही दिन मात्रै भएको छ, तर नयाँ विवाद उत्पन्न भएको छ । अमेरिका अब इरानको अरबौं डलर बराबरको रोक्का (फ्रिज) गरिएको सम्पत्ति कुवेत र बहराइनलाई भएको क्षतिको मर्मत तथा पुनर्निर्माणका लागि प्रयोग गर्ने योजनामा रहेको बताइएको छ ।
युद्धविराम लागू भए पनि अमेरिका र इरानबीचको तनाव घट्नुको सट्टा बढिरहेको छ । स्रोतहरूका अनुसार, इरानले कुवेत र बहराइनमाथि ड्रोन तथा मिसाइल आक्रमण गरेपछि वासिङ्टनले यो कदमलाई गम्भीर रूपमा विचार गरिरहेको छ । रोयटर्सका अनुसार अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले विशेष टोलीलाई इरानका कारण खाडी क्षेत्रका अमेरिकी सहयोगी मुलुकहरूलाई पुगेको क्षतिको विस्तृत मूल्याङ्कन गर्न निर्देशन दिएका छन् ।
उक्त टोलीले भविष्यमा हुने सम्भावित आक्रमण वा विनाशको मर्मतका लागि इरानी सम्पत्ति प्रयोग गर्न सकिने विषयमा पनि अध्ययन गर्नेछ । यो विषय इरानका सर्वोच्च नेताका सल्लाहकार मोहसेन रेजाईले तीन महिनादेखि जारी युद्ध अन्त्य गर्न अमेरिकाले रोक्का गरेको २४ अर्ब डलर बराबरको इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने बताएको भोलिपल्ट सार्वजनिक भएको हो ।
वार्ता ठप्प, नयाँ तनावको आशंका
स्रोतहरूले अमेरिकी अर्थ मन्त्रालयले कुन प्रकारका इरानी सम्पत्तिको अध्ययन गरिरहेको हो भन्ने स्पष्ट पारेका छैनन् । तर प्रयोग गरिएको भाषाबाट यो केवल रोक्का गरिएका सम्पत्तिमा मात्र सीमित नहुने संकेत मिल्छ । इरानी सम्पत्तिलाई अन्य प्रयोजनमा प्रयोग गर्ने अमेरिकी योजनाले अहिलेको संवेदनशील युद्धविरामलाई नयाँ झट्का दिन सक्छ ।
यसै साता दुवै पक्षका आक्रमणहरूले युद्धविरामको परीक्षा लिइसकेका छन् र शान्ति वार्ता पनि ठप्प जस्तै देखिएको छ । यद्यपि मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानका एक मन्त्री सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीका लागि पत्र लिएर तेहरान पुगेका छन् । यो जानकारी इरानको अर्ध–सरकारी समाचार संस्था आईएसएनएले दिएको छ ।
होर्मुज जलडमरूमध्यमा तनाव, आक्रमण जारी
अर्कोतर्फ अमेरिकी सेनाले शनिबार बिहान होर्मुज जलडमरूमध्यस्थित गोरुक र केश्म द्वीपका इरानी तटीय रडार केन्द्रहरूमा आक्रमण गरेको जनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार इरानी ड्रोनहरूले समुद्री यातायातलाई जोखिममा पारेका थिए । त्यसपछि अमेरिकी सेनाले थप दुई इरानी आक्रमणकारी ड्रोन पनि खसालेको दाबी गरेको छ ।
इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्सले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामाथि जवाफी आक्रमण गरेको बताइएको छ । कुवेती सेनाले आवासीय क्षेत्रमाथिबाट गुज्रिरहेका सात वटा ब्यालिस्टिक मिसाइल नष्ट गरेको जनाएको छ । ती आक्रमणबाट भौतिक क्षति भए पनि मानवीय क्षति भएको छैन । बहराइनमा साइरन बजाएर नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो । इरानले पछि कुवेत र बहराइनस्थित अमेरिकी अड्डामाथि ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गर्यो । तर अमेरिकी सेनाका अनुसार छवटा मिसाइल अवरोध गरिएको थियो भने सातौँ मिसाइल लक्ष्यसम्म पुग्न सकेन ।
तेल उत्पादनमा असर
यसैबीच, ओपेकले लगातार चौथो महिनासम्म तेल उत्पादन लक्ष्य बढाउने निर्णय गर्न लागेको बताइएको छ । तर युद्धका कारण धेरै सदस्य राष्ट्रहरू पूर्ण क्षमतामा उत्पादन गर्न नसकिरहेको अवस्था छ । युद्धले विश्वव्यापी तेल आपूर्तिमा अवरोध ल्याएको छ र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
अमेरिका र इरान तीन महिनादेखि जारी युद्ध अन्त्य गर्न अप्रत्यक्ष वार्तामा संलग्न छन् । अन्तरिम समझदारीमा इरानको आणविक कार्यक्रमसहितका विषयहरूलाई भविष्यको छलफलका लागि खुला राखिएको छ । तर बारम्बार हुने झडपका कारण वार्ता प्रक्रिया प्रभावित भइरहेको छ ।
ट्रम्पमाथि बढ्दो दबाब
बढ्दो पेट्रोल मूल्य र मुद्रास्फीतिका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि युद्ध अन्त्य गर्न घरेलु राजनीतिक दबाब बढ्दै गएको छ । एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले इरानका अधिकांश ड्रोन र मिसाइल उत्पादन केन्द्रहरू ध्वस्त भइसकेको स्वीकार गर्दै पनि इरानसँग अझै करिब २१–२२ प्रतिशत मिसाइल क्षमता बाँकी रहेको बताएका छन् ।
इजरायल–लेबनान सीमामा नयाँ तनाव
यसैबीच, इजरायली सेनाले आइतबार लेबनानबाट प्रहार गरिएका दुईवटा मिसाइल इजरायली भूभागमा प्रवेश गर्नुअघि नै अवरोध गरिएको जनाएको छ । यो घटना लेबनानमा भएको इजरायली आक्रमणमा दुई अधिकारी र एक सैनिक मारिएको भोलिपल्ट भएको हो ।
प्रतिक्रिया दिनुहोस !