सिजेरियन र हिस्टेरेक्टोमी शल्यक्रिया गरेकाको पीडा : खाटा बस्नु साटो किन चहराइरहन्छ घाउ ?
काठमाडौं : बाजुराकी कविता धामी (नाम परिवर्तन) को प्रसव अवस्थामा शल्यक्रिया गरियो। धनगढीको एक अस्पतालमा छोरा जन्माएको एक महिना भयो। यो अवधिमा उनको घाउ दुईपटक पाकेको छ। पहिलोपटक घाउ पाकेको बेला धनगढीमै उपचार गराइन्। दोस्रोपटक पनि घाउ पाकेपछि प्लेन चढेर काठमाडौं आएकी छिन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको महिला शल्यचिकित्सा वार्डमा भर्ना भएकी धामी भन्छिन्, ‘एक महिनाको अवधिमा दुई पटक घाउ पाक्यो। पहिलोपटक घाउ पाक्दा पाँच दिन अस्पतालमा बसेँ। अब कतिञ्जेल बस्नुपर्ने हो थाहा छैन।’
७२ वर्षीया पूर्णिमा अधिकारीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पाठेघरको शल्यक्रिया (हिस्टेरेक्टोमी) गरिन्। असार ४ गते शल्यक्रिया गरेकी अधिकारी पाँच दिनपछि नै डिस्चार्ज भइन्। सातौं दिन ड्रेसिङ गर्न अस्पतालमा पुग्दा घाउबाट तरल पदार्थ निस्कियो। डाक्टरले भर्ना भएर दैनिक दुईपटक ड्रेसिङ गर्न सुझाए। हिस्टेरेक्टोमी गरेको घाउ निको पार्न उनी पुनः अस्पताल भर्ना भएकी छिन्। सिजेरियन गरेकी धामी र हिस्टेरेक्टोमी (पाठेघर फाल्ने शल्यक्रिया) गरेकी अधिकारीको घाउ अहिले चहराइरहन्छ।
शल्यक्रियापछि घाउको पीडा सहन बाध्य यी दुई महिला उदाहरण मात्र हुन्। यतिबेला विभिन्न अस्पतालमा सिजेरियन र हिस्टेरेक्टोमी गरेका महिलाहरू शल्यक्रियापछिको घाउ पाकेर हैरान छन्। घाउ पाकेका कतिपय पीडितहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको महिला शल्यचिकित्सा वार्डमा भर्ना भएका छन्। अस्पतालका एक कुरुवा भन्छन्, ‘खोइ, के कारणले हो ? महिलाहरू घाउ पाकेर भर्ना भइरहेका छन्।’
अप्रेसनपछि घाउ किन पाक्छ ?
बिरामीको सामान्य बेवास्ताले पनि घाउ जटिल बन्न सक्छ। सुत्केरी हुनु महिलाको जीवनको अत्यन्त संवेदनशील चरण हो। शिशु जन्मिएपछि आमाको शरीर बिस्तारै पुरानै अवस्थामा फर्किने प्रक्रियामा हुन्छ। तर, यही समयमा हुने एउटा सामान्य तर गम्भीर समस्या हो– प्रसवपछि घाउ पाक्नु।
वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा. जागेश्वर गौतमका अनुसार, सामान्यतया तीन मुख्य कारणले घाउ पाक्ने हुन्छ। जाडोभन्दा गर्मीयाममा घाउ पाक्ने जोखिम बढी हुन्छ। प्रा.डा. गौतम भन्छन्, ‘अप्रेसनका लागि प्रयोग हुने सामानहरू निर्मलीकरण गरिएको, सफा र गुणस्तरीय भएको खण्डमा संक्रमण हुने जोखिम कम हुन्छ। त्यस्तै जति लामो शल्यक्रिया भयो, त्यति संक्रमण हुने जोखिम हुन्छ। अप्रेसनमा कुन तौरतरिका अपनाइएको छ र कसरी गरिएको छ भन्ने कुराले पनि संक्रमणको जोखिममा प्रभाव पार्छ।’ त्यस्तै शल्यक्रिया गर्न लागिएको व्यक्तिको रोगप्रतिरोधात्मक क्षमता न्यून छ वा कुपोषण भएको छ भने पनि संक्रमणको जोखिम उच्च हुन्छ।
सामान्य प्रसूति हुँदा योनिद्वार नजिकको चिरा (एपिसियोटोमी) वा च्यातिएको भागमा टाँका लगाइएको हुन्छ। शल्यक्रियाबाट बच्चा जन्माउँदा पेट र पाठेघरमा घाउ हुन्छ। यी घाउहरूमा संक्रमण भएमा घाउ पाक्ने, दुख्ने, सुन्निने र कहिलेकाहीँ ज्यानै जोखिममा पर्ने अवस्था समेत आउन सक्ने स्त्री तथा प्रसूति रोग विशेषज्ञहरू बताउँछन्। विशेषज्ञहरूका अनुसार अधिकांश अवस्थामा उचित सरसफाइ, पोषण र नियमित स्वास्थ्य निगरानीको अभावले यस्तो समस्या देखिने गर्छ।
घाउ पाकेको कसरी थाहा पाउने ?
घाउमा ब्याक्टेरिया वा अन्य जीवाणु प्रवेश गरी संक्रमण हुनु नै घाउ पाक्नु हो। संक्रमण भएपछि घाउ रातो हुने, सुन्निने, दुख्ने, पीपजस्तो तरल पदार्थ आउने वा दुर्गन्ध फैलिने लक्षण देखा पर्छन्। सुत्केरीपछिको संक्रमणलाई चिकित्सा भाषामा ‘पोस्टपार्टम वाउन्ड इन्फेक्सन’ भनिन्छ। यो सामान्य प्रसूति र सिजेरियन दुवै अवस्थामा हुन सक्छ।
किन पाक्छ घाउ ?
सरसफाइमा कमीः घाउ भएको स्थानलाई सफा नराख्दा जीवाणुले सजिलै संक्रमण गर्न सक्छन्। विशेषगरी सुत्केरीपछि रगत तथा अन्य तरल पदार्थ निस्किरहने भएकाले संक्रमणको जोखिम बढी हुन्छ।
मधुमेह र अन्य दीर्घरोगः मधुमेह भएका महिलामा घाउ ढिलो निको हुने भएकाले संक्रमणको सम्भावना बढी हुन्छ। रक्तअल्पता, उच्च रक्तचाप तथा प्रतिरक्षा प्रणाली कमजोर भएका महिलाहरू पनि जोखिममा हुन्छन्।
पोषणको कमीः प्रोटिनयुक्त खानेकुरा, फलफूल, हरियो सागसब्जी र आवश्यक भिटामिनको नियमित सेवन नगर्दा पनि समस्या उत्पन्न हुन सक्छ। प्रोटिनयुक्त खानेकुराको कमी हुँदा शरीरको घाउ निको पार्ने क्षमता कमजोर हुन्छ।
लामो प्रसूतिः घन्टौंसम्म प्रसूति प्रक्रिया लम्बिँदा संक्रमणको जोखिम बढ्छ। पटक–पटक योनीमार्ग परीक्षण गरिनु पनि संक्रमणको एउटा कारण
बन्न सक्छ।
मोटोपनः अधिक तौल भएका महिलामा विशेषगरी सिजेरियनको घाउमा पसिना जम्ने र घाउ सुक्न ढिलाइ हुने भएकाले संक्रमण बढी देखिन्छ। त्रिवि शिक्षण अस्पतालमा पाठेघरको शल्यक्रिया गराएकी ७४ वर्षीया महिलाको हेरचाहमा खटिएकी कुरुवा भन्छिन्, ‘आमाको मोटो शरीरलाई उठाउन, हिँडाउन, बसाउनै समस्या भो।’ अस्पताल वा स्वास्थ्य संस्थामा रहेका जीवाणुबाट संक्रमण हुन सक्छ। डा. गौतम भन्छन्, ‘जति लामो शल्यक्रिया भयो, त्यति संक्रमण हुने जोखिम हुन्छ। अप्रेसनमा कुन तौरतरिका अपनाइएको छ र कसरी गरिएको छ भन्ने कुराले पनि संक्रमणको जोखिममा प्रभाव पार्छ। अप्रेसन कक्ष कस्तो छ, त्यसको पनि महत्त्ववपूर्ण भूमिका हुन्छ।’
संक्रमण भएको कसरी थाहा पाउने ?
शल्यक्रियापछिको घाउ पाक्न थालेपछि शरीरले विभिन्न संकेत दिन्छ। लक्षणहरूमा घाउ वरिपरि रातोपन बढ्ने, असामान्य सुन्निने, अत्यधिक दुखाइ हुने, घाउबाट पहेंलो वा हरियो पीप निस्किने, दुर्गन्ध आउने हुनसक्छ। कसैकसैलाई ज्वरो आउँछ, शरीर काँप्ने हुन सक्छ र घाउ खुल्न थाल्ने हुन सक्छ। यस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ।
सिजेरियनको घाउमा बढी जोखिम
पछिल्ला वर्षहरूमा सिजेरियन प्रसूति बढ्दै गएको छ। सिजेरियन आफैंमा ठूलो शल्यक्रिया भएकाले संक्रमणको जोखिम पनि सामान्य प्रसूतिभन्दा बढी हुन्छ। विशेषगरी पेटको तल्लो भागमा लगाइएको टाँकाको स्थानमा पसिना, धुलो वा फोहोर जम्दा जीवाणु बढ्न सक्छन्। कतिपय महिलाले घाउ निको नहुँदै भारी सामान उठाउने वा अत्यधिक शारीरिक श्रम गर्ने गरेका कारण पनि समस्या बढ्ने गरेको चिकित्सकहरू बताउँछन्।
सुत्केरीपछिको घाउमा घरेलु उपचारको नाममा विभिन्न पदार्थ लगाउने प्रवृत्ति अझै कतिपय ठाउँमा छ, जुन प्रवृत्ति गलत भएको चिकित्सकहरू बताउँछन्। कसैले तेल, बेसार, जडीबुटी, खरानी वा अन्य पदार्थ लगाउने गरेको पाइएको छ। यस्ता अभ्यासले संक्रमण झन् बढाउन सक्छ। घाउमा चिकित्सकले सिफारिस नगरेको कुनै पनि वस्तु प्रयोग गर्नु हुँदैन। शल्यक्रियापछि शरीरलाई पर्याप्त आराम आवश्यक हुन्छ।
शल्यक्रिया गरेको केही दिनपछि नै अत्यधिक श्रम गर्दा घाउमा दबाब पर्न सक्छ। त्यसैले चिकित्सकको सल्लाह पालना गर्नुपर्छ। तोकिएको औषधि पूरा सेवन गर्नुपर्छ। फलोअप जाँच छुटाउनु हुँदैन। यदि ज्वरो १००.४ डिग्री फरेनहाइटभन्दा बढी आयो, घाउबाट पीप बग्न थाल्यो, घाउ खुल्न थाल्यो, पेट अत्यधिक दुख्यो वा दुर्गन्धयुक्त स्राव आयो भने तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ। उपचारमा ढिलाइ गर्दा संक्रमण रगतमा फैलिन सक्छ, जसले सेप्सिसजस्तो जटिल अवस्था निम्त्याउन सक्छ।
मातृ स्वास्थ्यको उपेक्षा नगरौं
नेपालमा मातृ मृत्युदर घटेको भए पनि सुत्केरीपछिको स्वास्थ्य हेरचाह अझै चुनौतीपूर्ण छ। अधिकांश ध्यान सुरक्षित प्रसूति गराउनेतर्फ केन्द्रित हुन्छ, तर प्रसूतिपछिको केही साताको अवधि पनि उत्तिकै महत्त्ववपूर्ण हुन्छ। विशेषज्ञहरूका अनुसार, बच्चा जन्मिनु मात्र सुरक्षित मातृत्वको अन्तिम लक्ष्य होइन। आमा पूर्ण रूपमा स्वस्थ हुनु पनि उत्तिकै महत्त्ववपूर्ण हो। त्यसैले सुत्केरीपछिको घाउलाई सामान्य समस्या ठानेर बेवास्ता गर्नु हुँदैन। समयमै सावधानी अपनाउन सके अधिकांश संक्रमण रोक्न र जटिलता टार्न सकिन्छ।
ल्याप्रोस्कोपिक सर्जरीमा संक्रमणको जोखिम न्यून हुन्छ
प्रा.डा. जागेश्वर गौतम
वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
सन्तान जन्माउँदा अप्रेसन गरेका र पाठेघरको शल्यक्रिया (हिस्टेरेक्टोमी) पछि कतिपय महिलाको घाउ पाक्ने गरेको छ, किन ?
शल्यक्रियापछि घाउ पाक्नुका कारणमा सामान्यतया तीन÷चार मुख्य कारण छन्। अप्रेसनका लागि प्रयोग हुने सामानहरू निर्मलीकरण गरिएको, सफा र गुणस्तरीय भएको खण्डमा संक्रमण हुने जोखिम कम हुन्छ। त्यस्तै शल्यक्रिया गर्न लागिएको व्यक्तिको रोगप्रतिरोधात्मक क्षमता न्यून छ वा कुपोषण भएको छ भने पनि संक्रमणको जोखिम उच्च हुन्छ। तेस्रो कारण शल्यक्रियाको अवधि पनि हो। जति लामो शल्यक्रिया भयो, त्यति संक्रमण हुने जोखिम हुन्छ। अप्रेसनमा कुन तौरतरिका अपनाइएको छ र कसरी गरिएको छ भन्ने कुराले पनि संक्रमणको जोखिममा प्रभाव पार्छ। अप्रेसन कक्ष कस्तो छ, त्यसको पनि महत्त्ववपूर्ण भूमिका हुन्छ।
शल्यक्रिया गरेको एक सातापछि बढी पाक्ने गरेको महिलाको दुखेसो छ नि ?
संक्रमण धेरैजसो ७ देखि १० दिनभित्र हुने गरेको सुनिन्छ। मैले हजारौं महिलाको शल्यक्रिया गरेको छु। अहिलेसम्म कसैले पनि संक्रमण भएको, घाउ पाकेको भनेर दुखेसो सुनाएका छैनन्। मुख्य कुरा त अप्रेसनको तौरतरिका हो। अप्रेसनमा प्रयोग गरिने सरसामान नै हो। अप्रेसन थियटर
पनि सफा हुनुपर्छ।
गर्मी मौसममा बढी संक्रमण हुने र घाउ पाक्ने गरेको बताइन्छ नि ?
जाडो मौसममा भन्दा गर्मीमा संक्रमणको जोखिम थोरै बढी हुन्छ। बढ्दो तापक्रममा ब्याक्टेरिया, भाइरसहरूको वृद्धि हुने हुन्छ। त्यसैले पनि गर्मी मौसममा घाउ बढी पाक्ने गरेको हो। घामकै कारणले घाउ पाक्ने भन्नेचाहिँ होइन।
संक्रमणबाट घाउ पाक्ने समस्या हुन नदिनका लागि के गर्न उपयुक्त हुन्छ ?
ओपन सर्जरीभन्दा ल्याप्रोस्कोपिक सर्जरी (दूरबिनबाट गरिने शल्यक्रिया) मा संक्रमण हुने र घाउ पाक्ने समस्या न्यून हुन्छ। बिरामीले पनि शल्यक्रियापछि सामान्य हिँडडुल सुरु गर्नुपर्छ। सरसफाइमा ध्यान दिनुपर्छ। शरीर सफा राख्नुपर्छ। अप्रेसनपछि खानपानमा ध्यान दिनुपर्छ। सम्बन्धित विज्ञ चिकित्सकको परामर्शअनुसार औषधि नियमित सेवन गर्नुपर्छ।
संक्रमणबाट कसरी जोगिने ?
- पर्याप्त आराम गर्ने।
- दिनहुँ दुई लिटर पानी पिउने।
- नियमित सरसफाइ गर्ने।
- हात राम्ररी धोएर मात्र घाउ छुने।
- भरपर्दो स्वास्थ्य संस्थामा मात्र घाउ सफा गर्ने।
- प्याड समय–समयमा परिवर्तन गर्ने।
- सुत्केरी कोठा सफा राख्ने।
- पौस्टिक आहार खाने।
- मासु, अण्डा, दूध, दाल, गेडागुडी पर्याप्त खाने।
- हरियो सागसब्जी र फलफूल सेवन गर्ने।
प्रतिक्रिया दिनुहोस !