कार्यक्रमस्थलको भिडमा कार जोतिँदा एकको मृत्यु, १६ जना घाइते
जर्मनी : जर्मनीको राजधानी बर्लिनमा आयोजित ‘एलजीबीटीक्यु’ प्राइड परेडका क्रममा एउटा कार भिडमा जोतिँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जर्मन प्रहरीले यस घटनाको पुष्टि गरेको छ । शनिबार राति स्थानीय समयअनुसार करिब १० बजे भएको घटनापछि प्रहरीले कार्यक्रम तत्काल स्थगित गरेको थियो ।
कार्यक्रम सुरु भएको केही घण्टामै यो घटना भएको हो । प्रारम्भिक अनुसन्धानअनुसार, सेतो रंगको एउटा कार बर्लिनको केन्द्रस्थित टियरगार्टेन पार्कमा, प्राइड मार्चको मार्ग नजिकै, धेरै मानिसमाथि जोतिएको थियो । त्यसपछि कार एउटा रूखमा ठोक्किएर रोकिएको प्रहरी प्रवक्ता फ्लोरियन नाथले बताएका छन् ।
प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार, कम्तीमा १६ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर तथा जीवन जोखिमपूर्ण रहेको छ । प्रहरीले कार्यक्रममा सहभागी सबैलाई तत्काल स्थल खाली गर्न आग्रह गरेको छ । घटनास्थलमा एउटा कार बेवारिसे अवस्थामा फेला परेको र घटनामा संलग्न व्यक्तिको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।
टियरगार्टेन पार्कको आसपास, विशेष गरी पोट्सडामर प्लाट्जदेखि टियरगार्टेन सुरुङको दक्षिणी भागसम्म प्रहरी अधिकारीहरूले प्रमाण संकलनका लागि व्यापक खोजी अभियान चलाएका थिए । यसैबीच, आपतकालीन सेवाका टोलीहरूले घाइतेहरूको उपचार गरेका थिए । आइतबार बिहान प्रहरीले एक जना शंकास्पद व्यक्तिको पहिचान भएको तर अझै पक्राउ नगरिएको जनाएको छ ।
प्रहरीका अनुसार ती व्यक्ति पहिलेदेखि नै प्रहरीको निगरानीमा रहेका थिए र उनको बर्लिनका इस्लामिक समूहहरूसँग सम्बन्ध रहेको आशंका गरिएको छ । प्रहरी प्रवक्ता नाथले भने, ‘हामी ती व्यक्तिको खोजी तीव्र गतिमा गरिरहेका छौं ।’ तर उनले शंकास्पद व्यक्तिको नाम सार्वजनिक गरेका छैनन् । उनले थपे, ‘हालसम्म घटनाको वास्तविक उद्देश्य, घटनाक्रम कसरी भयो, वा ती व्यक्तिको प्रत्यक्ष संलग्नताबारे कुनै स्पष्ट जानकारी प्राप्त भएको छैन ।’
प्रतिक्रिया दिनुहोस !