नयाँ शक्ति नेपाल जन्मियो, भट्टराई नेता

नयाँ शक्ति नेपाल जन्मियो, भट्टराई नेता

काठमाडौं: डा. बाबुराम भट्टराईले एमाओवादी परित्याग गरेको सात महिनापछि आइतबार नयाँ शक्ति नेपाल पार्टी घोषणा गरी औपचारिक रूपमा नेतृत्व समालेका छन्।


मुलुकभरबाट माक्र्सवादी र गैरमाक्र्सवादी पृष्ठभूमिका नेताकार्यकर्तालाई राजधानीको दशरथ रंगशालामा भेला गरेर भट्टराईले नयाँ शैलीमा पार्टी घोषणा गरेका हुन्।

भट्टराईले गत असोज ९ गते एमाओवादी पार्टी र सांसद पद परित्याग गरी नयाँ शक्ति अभियान सञ्चालन गर्दै आएका थिए। यसअघि भट्टराई सम्मिलित हुने सबै राजनीतिक भेलाहरूमा देखिँदै आएका माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओत्सेतुङ कसैको पनि तस्बिर नहुनु, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत नगाइनु र कम्युनिस्टका जटिल शब्दावली प्रयोग नगर्नुले उनले औपचारिक रूपमा पुरानो सम्बन्ध तोडेको सन्देश दिए। तर, समग्र प्रकरणमा संगठनको शक्तिभन्दा भट्टराईको एकल व्यक्तित्व नै हाबी देखियो।

आइतबारका सबैजसो ब्रोडसिट दैनिकहरूमा ज्याकेट विज्ञापन दिएर नयाँ शक्तिले भट्टराईको पूर्णकदको तस्बिरसहित'अबको निकास आर्थिक विकास' लाई आफ्नो नाराका रुपमा प्रस्तुत गरेको थियो।'न हामी खुला बजारलाई छोड्न सक्छौं, न राज्यको नियन्त्रण रोज्न सक्छौं।

निजी लगानी प्रवद्र्धन गर्ने, सामाजिक सुरक्षालाई ध्यान दिने, राज्यको सहयोगी भूमिका रहने र निजी क्षेत्रलाई मुख्य भूमिका दिने नीतिमा जोड दिनेछौं', आफ्नो नयाँ वैचारिक धार प्रस्ट्याउँदै भट्टराईले भने,'विचार र दर्शन जडतामा टाँसिएर बस्ने होइन। विकास र समृद्धिलाई सहयोग पुर्याउने विचार र दर्शन अवलम्बन गर्छौं। आगामी महाधिवेशनसम्म छलफल गरेर वैचारिक दर्शन प्रस्ट पार्छौं।'

आफूलाई आर्किटेक्टका रूपमा प्रस्तुत गर्दै भट्टराईले भने,'मैले थुप्रै घरको नक्सा बनाउन सहयोग गरेको छु। म अरूको घर बनाउन नक्सा बनाउनेछु। आफ्नो घरको नक्सा बनाउँदिनँ। सबैको घर नबनेसम्म निजी स्वार्थमा लाग्नेछैन। भारत र चीनको बीचमा रहेको नेपालले जटिल राजनीति व्यवथापन गर्न सकेन भने अस्थिरता भइराख्छ।'

पाँच मिनेटसम्म बाजागाजा र तालीले दशरथ रंगशालालाई संगीतमय बनाएर भट्टराईले नयाँ पार्टी घोषणा गरेका थिए। कार्यक्रममा भारतीय राजदूत रञ्जित रे, युरोपेली संघकी राजदूत रेन्स्जे तिरिन्क, जापानका राजदूत मासासी ओगावा, बंगलादेशका राजदूत मास्फिविन्ते साम्स र ब्राजिलका राजदूत, भारतको नेसनालिस्ट कांग्रेसका महासचिव डीपी त्रिपाठी, जनता दल युनाइटेडका केसी त्यागी र बहुजन समाजवादी पार्टीका नेता सुधिन्द्र भदौरिया सहभागी थिए। तर निम्तो पठाए पनि भारतीय सत्ताधारी भारतीय जनता पार्टीले कुनै पनि प्रतिनिधि कार्यक्रममा पठाएन।

चीन र अमेरिकी दूतावासले भने आफ्ना प्रतिनिधि पठाएका थिए।'सबै नेपाली जनताको समान पहिचान र स्वामित्वसहितको स्वाधीन, समानुपातिक, समावेशी, सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद निर्माणका लागि क्रियाशील रहनेछु।

जीवनभर सुशासन, सदाचार, मानवीय मूल्य र गरिमा वृद्धिका लागि लागिरहनेछु। कहिल्यै सार्वजनिक हितलाई कुण्ठित गर्नेछैन र निजी स्वार्थका लागि राजनीति गर्नेछैन। जे बोल्छु, त्यही गर्नेछु र सधैं सकारात्मक सोचाइ राख्नेछु', भट्टराईले पार्टीका सदस्यलाई यसरी शपथ गराएका थिए।

पार्टीका तर्फबाट कार्यक्रम सञ्चालन गर्न पासाङ शेर्पा र करिस्मा मानन्धर मञ्चमा देखिएका थिए भने सहभागीलाई स्वागत गर्न मधेसी नेता रामचन्द्र झालाई प्रस्तुत गरिएको थियो। कार्यक्रममा हिमाल, पहाड र तराईको सहभागितामूलक प्रतिनिधित्व झल्काउने नृत्य प्रस्तुत गरिएको थियो।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक विकासका लागि स्वदेशी तथा विदेशी लगानी भित्र्याउने वातावरण बनाउनुपर्ने बताए।'राजनीतिक स्थायित्व र शान्ति कायम गर्दा मात्रै लगानीको वातावरण बनाउन सकिन्छ', देउवाले भने,'संघीय संविधान बनिसकेको छ। आर्थिक समृद्धिको आवश्यकता छ। नयाँ शक्ति नेपालले त्यो अठोट गरेको छ। त्यो पूरा गर्न लागोस्।'

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले राजनीतिक कमान्डबिना आर्थिक विकास सम्भव नहुने बताए। उनले भने,'राजनीतिक स्थिरता र सन्तुलनबिना आर्थिक विकास सम्भव छैन। आर्थिक विकासका लागि राजनीतिक अठोट हुनुपर्छ। त्यसका लागि निजी स्वार्थभन्दा माथि उठ्नुपर्छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.