'अम्बर सरलाई फूल चढाउन गइनँ, धुप बालेर रोएँ
सबैले सोध्छन्, 'अम्बर को हुन्?' मलाई निकै अप्ठेरो लाग्छ। खै के भनेर चिनाऊँ ? उहाँलाई चिनाउने मसँग पर्याप्त शब्द नै छैन। मेरो लागि उहाँ असल गुरु, मिल्ने साथी र सधैं ख्याल गर्ने अभिभावक हुनहुन्थ्यो।
म संगीतको कारणले मात्र उहाँसँग नजिक थिइनँ, पारिवारिक हिसाबले पनि नजिक थिएँ। लामो समयको संगतले उहाँसँग निकै नजिकको सम्बन्ध बन्यो। व्यक्तिगत र पारिवारिक विषयहरू पनि उहाँसँग भन्थेँ। संगीतको विषयमा मात्र नभई हरेक विषयमा अप्ठेरो पर्दा उहाँसँग सल्लाह माग्थेँ। मान्छेको जिन्दगी त हो, सधैं एकनासको हुँदैन नि। कहिले अभाव हुन्छ, कहिले कस्तो समस्याले घेर्छ। उहाँ भने 'छोड्देऊ आज छ, भोलि छैन' भनेर जहिल्यै हौसला दिइरहनुहुन्थ्यो। आपत्विपत् आइलाग्दा मलाई जहिल्यै 'अम्बर सर छँदैछ नि' भन्ने भइरह्यो। खासमा उहाँले मलाई छोरी नै ठान्नुहुन्थ्यो।
हस्पिटलमा बस्दा पनि उहाँ मसँग निकै नजिक हुनुभयो। हुन त उहाँ दुईतीन वर्षदेखि नै कमजोर हुनुभएको थियो तर पनि मलाई सर हुनुहुन्छ नि क्यारे भन्ने भइरह्यो। उहाँ गएपछि लौ सबै सक्कियोजस्तो लागिरहेछ। एकदमै रित्तोपनाको महसुस भइरहेछ। मनमस्तिष्कमा केवल उहाँसँग संगीत सिक्दाका दिनहरू दृश्य बनी घुमिरहेछन्।
मेरो एल्बम विमोचन हुँदा पहिलोपटक अम्बर गुरुङलाई सुन्न पाएँ। उहाँको विचारले निकै मन छोयो। यस्तो मान्छेसँग सिक्न पाए हुन्थ्यो भन्ने भइरह्यो। यताउता भनसुन गरेर उहाँसँग सिक्ने चाँजोपाँजो मिलाएँ। त्योभन्दा पहिला म चन्दन श्रेष्ठसँग संगीत सिक्थेँ।
चन्दन सरसँग मैले क्लासिकल संगीत सिकेँ। उहाँ निकै राम्रो र कडा गुरु हो। तर, मैले अम्बर सरसँग संगीतमात्र सिकिनँ; संस्कार पनि सिकेँ। हुन त संगीत आफैंमा संस्कार हो। संगीतमै भने मैले अम्बर सरसँग भारतीय क्लासिकलदेखि पश्चिमा संगीतसम्म सिकेँ। १० वर्ष पछिलादेखि सुरु भएको यो क्रम उहाँको शरीरले साथ दिँदासम्म चलिरह्यो।
मलाई संगीतमै प्रतिबद्ध हुन अम्बर सरले नै हौस्याउनुभएको हो। उहाँले कहिल्यै पनि बजारिया आँखाले संगीतलाई हेर्नुभएन। कलाकै आँखाले हेर्नुभयो। यसो गर्दा राम्रो हुन्छ, यसो गर्दा सही हुन्छ भनेर काम गर्नुहुनथ्यो। यसो गरे बजारमा चल्छ भन्ने तरिकाले कहिल्यै सोच्नुभएन। उहाँ गुणमै बढी ध्यान दिनुहुन्थ्यो।
अम्बरले नेपाली संगीतको आधुनिकीकरणका लागि निकै काम गर्नुभयो। 'नौलाख तारा'बाट कोरस भित्र्याउनुभयो। अनि पश्चिमा बाजा भित्र्याउनुभयो। नेपाली संगीतमा पियानो र भ्वाइलिन उहाँले नै भित्र्याउनुभएको हो। पियानो त उहाँ आफैं बजाउनुहुन्थ्यो।
“मलाई संगीतमै प्रतिबद्ध हुन अम्बर सरले नै हौस्याउनुभएको हो। उहाँले कहिल्यै पनि बजारिया आँखाले संगीतलाई हेर्नुभएन। कलाकै आँखाले हेर्नुभयो। यसो गर्दा राम्रो हुन्छ, यसो गर्दा सही हुन्छ भनेर काम गर्नुहुन्थ्यो। ”
उहाँले दार्जिलिङबाट धेरै राम्रा कलाकार ल्याएर स्थापित पनि गराउनुभयो। त्यस्तै डिजिटल रेकर्डिङ पनि उहाँबाट नै सुरु भएको हो। त्यसमा खासगरी उहाँको जेठो छोराको भूमिका छ। उहाँले अर्केस्टा पनि थाल्नुभयो तर उहाँले सोचेजस्तो भएन।
अहिले उहाँकै शिष्य राजकुमार श्रेष्ठहरूले नारायणगोपाल संगीत कोषमार्फत अर्केस्टामा केही काम गरिरहनुभएको छ। हुन त त्यो अपुग छ। तर केही त भइरहेको छ।
अम्बर सर नहुनेबित्तिकै म्युजिकमा हुनुपर्ने कला मर्छ कि भन्ने लाग्छ। हुन त अम्बरजस्तो मान्छे जन्मिसकेका पनि होलान्। हामीले थाहा नपाएको पनि होला। तर, हामीलाई दुईचारवटा अम्बर चाहिन्छ।
मेरो मुन्धुम संगीतको खोज र अम्बर सरको कक्षासँगको सम्बन्धबारे पनि मलाई सोध्ने गरिन्छ। खासमा म मुन्धुम संगीतमा लाग्नुमा सिंगै नेपाली संगीतकै भूमिका छ। यहाँनेर अम्बर सरहरूको र मेरो बुझाइमा केही फरक पनि भेटिन्छ।
अम्बर गुरुङहरूको पीडा अर्कै थियो। हाम्रो अर्कै। उहाँहरू दार्जिलिङमा नेपाली जाति भएर बस्नुभयो। दार्जिलिङमा नेपाली भाषाले बाँधेर उहाँहरूलाई एक बनाएको छ। त्यसो हुनाले उहाँहरूले नेपाली भाषालाई बढी जोड दिनु स्वाभाविक पनि हो।
उहाँहरूलाई सधैंभरि नेपाली भाषाको गीत, संगीत कसरी माथि ल्याउने भन्ने नै बढी चिन्ता भयो। हामी भने नेपालमा हेपिएका जाती भएर बस्यौं। यहाँनेर उहाँहरूको पीडा र हाम्रो पीडा मिल्दैन। त्यसो त उहाँहरूले नेपाली संगीतमा चलिरहेको एकोहोरो शैलीलाई फेर्दै नयाँपन दिनुभयो।
उहाँले नेपाली संगीतको आधुनिकीकरण गर्नुभयो। संगीतलाई विश्वव्यापी भाषा भनिन्छ। उहाँले त्यसैअनुसार कुनै सीमा नराखी नेपाली संगीतमा पश्चिमा संगीत पनि भित्र्याउनुभयो। तर, जराको कुरा त त्यहाँ आएन। फराकिलो त भयो। यहाँको जरा अर्थात् मौलिक संगीत, कला खोज्ने काम त भएन।
सबै काम अम्बरले गर्नुपर्ने पनि त होइन। त्यसो त उहाँ भन्नुहुन्थ्यो, 'मान्छेले जीवनमा एउटै काम गर्छ। त्यो पनि पूरा गर्न नपाई मर्छ।' उहाँ भन्नुहुन्थ्यो, “मैले मेरो काम गरेँ, तैंले सुरु गरेको काम नछोड।'
सुरुमा उहाँको बुझाइमा केही समस्या थियो। पहिचानको विषयलाई जातिवादी भनेर बुझ्नुहुन्थ्यो। आखिर उहाँ पनि यही समाजको बुझाइ नै बुझ्ने हो। मलाई गाली पनि गर्नुहुन्थ्यो जातीय कुरा नगर भनेर। म भन्थेँ, 'कुरा त्यसो होइन सर, यो पहिचानको कुरा हो।'
मैले त्यसो भनेपछि पनि उहाँ खासै कन्भिन्स हुनुभएन। म भने उहाँसँग सिक्दै गर्दा पनि फिल्ड जान्थेँ तर उहाँलाई भन्दिनथेँ। मैले काम सकिएपछि मात्र देखाउने सोचेँ।
मुन्धुम संगीतको सीडी र त्यसमा भएको लिम्बू भाषाको गीतको नेपाली र अंग्रेजी अनुवादसहितको बुकलेट तयार भएपछि म उहाँकहाँ गएँ। सीडी र बुकलेट दिँदै भनेँ, 'सर यस्तो गरेकी छु। यो सीडी सुन्नुस्, यसको अनुवाद नेपाली र अंग्रेजी दुवैमा छ, त्यो पनि हेर्नुस्।'
मैले कुनै काम गरे पनि कस्तो लाग्यो भनेर सोधिनँ। उहाँले पनि कहिल्यै केही भन्नुभएन। बानी नै त्यस्तो। कहिल्यै केही नभन्ने। मिडियामा म उहाँबारे पनि बोल्थेँ। तर, चुपचाप लागेर बस्ने।
कहिलेकाहीँ उहाँहरूको आलोचना पनि गर्थें म। अनि उहाँले केही नभनी त्यो पत्रिका बाजामाथि राखेर बस्ने। तेरो भनाइ पढेँ भनेको होला नि। तर मुखले केही नभन्ने। चित्त बुझे त चित्त बुझ्यो भन्नुहुन्थ्यो होला, नबुझेर चुप लागेर बस्ने। म भने सर गीत प्राक्टिस गरौं भनेर तर्काउँथे।
त्यो सीडी सुनेपछि भने निकै खुसी हुनुभयो। उहाँले मैले पनि यस्तो सोचेको हो भनेर आफ्नो अनुभाव सुनाउनुभयो। उहाँ दार्जिलिङबाट आउँदा हेप्थे रे उताबाट आएको भनेर। अनि यहाँ प्रायः नेवारहरू सबै नेवारी भाषामा कुरा गर्ने, काम गर्ने, उहाँले नबुझ्ने।
त्यसपछि उहाँले नेवारी संगीतबारे काम गर्न थाल्नुभएछ। तर भाषाको कठिनाइले सक्नुभएनछ। मेरो सीडी सुनेर उहाँ खुसी हुनुभयो। मैले गर्न नसकेको काम गरिस् भन्नुभयो। 'थाहा पाइस् होला नि एउटा काम गर्दा पनि कति थाकिन्छ', टिप्पणी पनि गर्नुभयो।
हो, मैले मौलिक आदिवासी संस्कृतिमा काम सुरु गरेँ। तर, यही मुन्धुम संगीतमा मात्रै काम गरिनभ्याउनु छ। एउटै गीतमा काम गर्न पनि वर्षौं लाग्छ। त्यसमा रिसर्च पनि भएको छैन।
फेरि त्यसका लागि कम्तीमा लिम्बू भाषा जानेको, लिम्बू संस्कृति बुझेको हुनैपर्छ। त्यो कसले गर्ने ? कोही छैन। त्यही लिम्बू समुदायमा कति धेरै बाजा छन्। एउटा-एउटा बाजामा पीएचडी हुन्छ। त्यस्तो समुदाय त नेपालमा अरू पनि छन्।
त्यसरी हेर्दा इथ्नोम्युजिकका लागि बेग्लै विश्वविद्यालय चाहिन्छ। अनि सरकारले त्यस्तो विश्वविद्यालयका लागि पर्याप्त बजेट छुट्ट्याउनुपर्छ। अनुसन्धानका लागि बजेट छुट्टाउनुपर्छ। खालि अरूको संगीतमात्रै रटेर, बजाएर पनि हुँदैन। अरूले त आफ्नो भनिहाल्छ नि। त्यसलाई नेपाली भन्न मिल्दैन। अनि हाम्रो संगीतको अस्तित्व खोइ ?
संगीतका विविध पक्षबारे घोत्लिँदा फेरि पनि अम्बर सर मेरो सम्झनामा आइहाल्नुहुन्छ। उहाँ मेरो असल साथी। निकै रमाइलो मान्छे। नजिक भएपछि झन् रमाइलो। आफ्नो एकदमै व्यक्तिगत कुरा, आफ्नो जवानीका अफेयरका कुरा पनि केही नछुटाई भन्ने।
आज यस्तो खान मन लाग्यो जाऊँ भनेर भन्ने। उहाँ अभिभावक पनि हुनुहन्थ्यो। 'तिम्रो बुवा हुनुहुन्न भनेर चिन्ता नगर, म छु नि' भन्नुहुन्थ्यो। मेरो बुवा सानैमा बित्नुभएको।
कहिलेकाहीँ अलि बढी रात पर्यो भने तिमीसँग पैसा छ ? रात पर्यो ट्याक्सीमा जाऊ है भनेर पैसा दिन खोज्नुहुन्थ्यो। अब उहाँ रिटायर्ड मान्छेसँग के नै पैसा हुन्थ्यो र ? मैले लिन्थिनँ। तर उहाँको भने त्यस्तो हेरविचार गर्ने स्वभाव थियो।
तर, अब त उहाँ हुनुहुन्न। आउने दिनहरूमा उहाँलाई कति मिस गर्नेछु कल्पना पनि गर्न सकेको छैन। उहाँको निधन मेरोनिम्ति सबैभन्दा ठूलो विषाद हो। म उहाँको शवसँग पनि पुगिनँ।
सक्दै सकिनँ। उहाँको सम्झना टार्न यताउता मन बहलाउने कोसिस गरेँ। पशुपति गएँ। एउटा फूल चढाऊँला भनेको थिएँ तर आफैंलाई सम्हाल्न सक्छुजस्तै लागेन। क्यामेराहरूका अगाडि नाटकजस्तो हुन्छ लाग्यो।
पुलको छेउमा पुगेर फर्केर आएँ। फूल पनि चढाइनँ। घरमा आएर उहाँको ठूलो फोटो छ, त्यसैमा फूल चढाएँ। धूप बालेर रोएँ। नजिकको मान्छे गुज्रिसकेपछि निकै गाह्रो हुँदो रैछ।
हुन त उहाँ पहिल्यैदेखि कमजोर हुँदै जानुभएको थियो। आज कि भोलि भन्ने थियो। तर, पनि मान्छेलाई मृत्यु स्वीकार्न गाह्रो हुँदो रैछ।