साकेला संरक्षणमा युवा पुस्ता
दिक्तेल: किरात समुदायको महान् चाड साकेला संस्कृति लोप हुन नदिन युवा पुस्ता यसको संरक्षणमा जुटेका छन्।
आफ्नो भाषा, धर्म, संस्कृति र परम्परा लोप हुने अवस्थामा पुगेपछि किरातीहरू साकेला शिली जोगाउन लागेका हुन्। संस्कृति बचाउन भन्दै जिल्लाका युवादेखि बुज्रुकसम्मले भव्य रुपमा साकेला मनाएका छन्।
जिल्लाका किरात, हिन्दु, बौद्धलगायतका समुदाय साकेला शिलीमा रमाइरहेका छन्।किरात राई यायोख्खा जिल्ला कार्यसमितिका सदस्य मिलन राईका अनुसार किरातीहरूको भाषा, संस्कृति र किराती इतिहास लोप हुन लागेको भन्दै लोप हुन नदिन बर्सेनि साकेला मनाउन थालिएको हो।
किरात संस्कृति जगेर्नाका लागि जिल्लामा विभिन्न संघसंस्था गठन भई संस्कृति जगेर्नामा लागिपरेका छन्। वैशाखे पूर्णिमादेखि सुरु भएको उभौली चाड चण्डीनाचको रौनक जिल्लामा अझै कम भएको छैन। जिल्लाभरि र गाउँगाउँमा चण्डी नाच्ने क्रम चलिरहेको राईले बताए।
किरात संस्कृति जगेर्नाका लागि जिल्लामा विभिन्न संघसंस्था संगठित रुपमा साकेला संस्कृति जगेर्नामा लागिपरेका छन्।
‘अहिले हरेक किरातीलाई साकेलाको रौनकले छोएको छ, यो रौनक जिल्लामा असार ४ सम्म चल्छ। असार ४ गते सदरमुकामस्थित माटिकोरे खेलमैदानमा विभिन्न शिलीको प्रदर्शन गरेर समापन गरिनेछ', उनले भने।
साकेला किरात राईहरूको मुख्य पर्व हो। उभौली र उधौलीको नामले वर्षमा दुई पटक यो पर्व मनाउने गरिन्छ। साकेला उभौली वैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन पूर्ण चन्द्रमा उदाउने बेलामा मनाइन्छ।
किरात धर्मअनुसार नेप्चाङले चेलाको पूजाबाट सुरु गर्ने यस चाडमा धर्मगुरुले साकेला थानमा कुखुराको बलि दिने गर्छन्। धर्मगुरुको आदेशबाट साकेला नाच सुरु गरिने प्रचलन रहिआएको छ। यो पर्वको बेला किरात समुदायका अधिकांश बालबालिका, युवकयुवती, वृद्धवृद्धा गोलोघेरा लगाएर नाच्ने गर्छन्।
युवा नेता भीम राई भन्छन्, ‘मंसिरे पूर्णिमाको दिन किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याख्खाले चासुवा, सुनुवारले फेल्स्यादर, राईले उधौली साकेला र लिम्बूले चासोक ताङनाम भनेर मान्ने गर्छ।'
बाली लगाउने बेला भने किरात उभौली अर्थात् यावापर्व मनाउने गरिन्छ। वैशाखे पूर्णिमाका दिनदेखि एक महिनासम्म नाचिएको शिलीको समापन गर्दा बालीनाली सप्रियोस्, भलपहिरो नलागोस्लगायतका कामनाका साथ प्रकृतिको पूजा आराधना गरी उभौली मनाउने गरिन्छ।