‘चपली गर्ल' बिनिताको प्रेमको ‘जुइनो'

‘चपली गर्ल' बिनिताको प्रेमको ‘जुइनो'

फिल्म

– कला अनुरागी

‘नेपालीहरू बाटामा बत्तीसी देखाएर एकअर्कालाई नमस्ते गर्दै थिए। बाटाहरू सफा थिए, बाटावरिपरि हरिया रूख। परराष्ट्र मन्त्रालयमा भीड थिएन। पुलिसहरू जनताको सेवामा लागेका थिए। पर्यटकहरू दौरा-सुरुवाल लगाएर फोटो खिचिरहेका थिए। माइती नेपालकी अनुराधा कोइराला मस्त कुर्चीमा घुर्दै सुतिराखेकी। त्यसमुनि क्याप्सन थियो: चेलीबेटी बेचबिखन पटक्कै छैन, बल्ल आराम गर्न पाएँ।'

विनीता बराललिखित ‘जुइनो' उपन्यासकी पात्र ‘कथा' यस्तो काठमाडौंको सपना देख्छिन्। त्यसलाई स्केचमा उतार्छिन् र कम्युटरमा ‘सेभ' गर्छिन्। उनी आफैं पनि त्यो सपनालाई विपनामा परिणत गर्ने अभियानमा लागेकी छन्। त्यसको सुरुआत कृषि क्षेत्रको विकासबाट गर्नुपर्छ भन्ने उनको मत छ। त्यसका लागि शिक्षाबाटै कृषिलाई प्राथमिकता दिन थालिनुपर्छ भन्ने अवधारणा उनले अघि सारेकी छन्। उपन्यासभर ‘कथा' त्यही त्यही अवधारणालाई साकार पार्ने सपना पछ्याइरहन्छिन्।

त्यसो त ‘जुइनो'मा ‘कथा'मार्फत व्यक्त गरेको सपना विनीताको आफ्नै हो। पछिल्लो समय उनी कृषिकर्ममा संलग्न भइन्। काठमाडौंको टोखामा खोलिएको अग्र्यानिक कृषि फार्ममा काम गर्दागर्दै त्यहाँ हल्किएका तरकारीसँगै उनको मनमा कृषि क्रान्तिको सपना पन्पिएको हो। त्यही सपनालाई उनले उपन्यासमा अनुवाद गरेकी हुन्।

विनीताको स्वप्नयात्रा भने सिनेमाबाट सुरु भएको थियो। चितवनबाट एसएलसी परीक्षा पास गरेर काठमाडौं उक्लँदा उनको मनमस्तिष्कमा ‘हिरोइन' बन्ने सपना हुर्किरहेको थियो। नारायणी कला मन्दिरमा लिएको नृत्यकक्षाको ऊर्जा थियो, अनेक प्रतियोगितामा नृत्य प्रस्तुत गरेर प्रथम भएको प्रमाणपत्रको उत्साह थियो। तर त्यतिले मात्रै उनको सिनेनगरीको यात्रा सहज हुन सकेन।

काठमाडौं आउँनेबित्तिकै ‘म्युजिक भिडियो'मा ‘मोडलिङ' अवसर त पाइन्, त्यहाँ उनलाई ‘क्युट' मानियो। तर, सिनेमामा चाहिँ ‘अनुहार साधारण रहेछ' भनियो। आम कद र अनुहारलाई नायिकाका रूपमा नस्वीकार्ने मानसिकताको सिकार भइरहिन् केही वर्ष। उनी आफूलाई चाहिँ आफ्नो क्षमतामा विश्वास थियो, हिम्मत हारिनन्। अनुप बराल नेतृत्वको एक्टर्स स्टुडियोको पाँचौं ब्याचका रूपमा अभिनय कक्षा लिँदै उनले सोचिन्, ‘जीवनमा कुनै दिन यस्तो काम गरेर देखाउँछु, दुनियाँले मेरो क्षमता परख गर्नेछन्।'

केही वर्षको दौडधुपपछि उनी एउटा सिनेमामा अनुबन्धित् भइन् तर उनलाई थाहै नदिई कलाकार परिवर्तन गरिएछ। त्यसले विचलित बनायो। आफू विचलित र निराश भएको कुरा उनले सार्वजनिक नै गरिन्।

त्यसैछेका जापानबाट सिनेमासमेत अध्ययन गरेर फर्केका युवा निर्देशक दीपेन्द्र के खनालले उनलाई आफ्नो तेस्रो सिनेमा ‘चपली हाइट'मा ‘बे्रक' दिए। सिनेमालाई नयाँ ढंगले बुझेर आएका दीपेन्द्र पुरानै ढर्रामा काम गरिरहनुपर्दा दिक्क थिए। त्यसैले ‘चपली हाइट'बाट केही नयाँ दिन चाहन्थे। त्यसका लागि आफ्नो सपनाका लागि संघर्ष गरिरहेकी विनीतालाई अवसर दिन उनी हिच्किचाएनन्।

जुइनो अर्थात् भारी बाँध्नका लागि पराल, धुस्नु, खर, बाबियो आदिको एक पयो मात्र बटारी बनाइएको डोरी। यसलाई उपन्यासमा प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ। कथा कृषिको भए पनि त्यसलाई मुठो पार्ने जुइनो प्रेमकै हो।


जेजस्ता प्रतिक्रिया आए पनि ‘चपली हाइट'ले आफ्नो ‘हाइट' लियो र विनीताको चर्चा चुलियो। उनले नामै पाइन्- चपली गर्ल। हुन त त्यसपछि पनि रिलिज भइसकेका दुई र हुन बाँकी एक सिनेमामा उनले अभिनय गरेकी छन्। तर पनि उनको ‘चपली गर्ल' पहिचान छायामा परेको छैन। त्यसमा उनलाई गर्व पनि छ। भन्छिन्, ‘पहिलो कामबाटै पाएको परिचय र प्रतिक्रियामा गर्व लाग्छ। कतिले चपली हाइटमा मेरो चर्चा नकारात्मक रूपमा भएको ठान्छन्। तर म त्यो मान्दिनँ। सिनेमामा मैले जुन अभिनय क्षमता देखाएकी छु, त्यो म आफैंलाई पनि चित्त बुझेको थियो।'

‘चपली हाइट'को चर्चाले विनीतालाई उत्साहित त बनायो। तर, सिनेमानगरीको स्वप्नयात्रामा भने त्यो उत्साहले खासै ‘जादु' चलाएन। ‘चपली हाइट'मा जस्तो भूमिकामा उनी देखिएकी थिइन्, त्यस्तै भूमिका भएका सिनेमा बन्ने क्रम बढ्यो र उनलाई काम गर्ने प्रस्तावको बाढी आउन थाल्यो। तर, उनी त्यस्तो चाहन्नथिन्।

‘चपली हाइटको कथा चलिआएका सिनेमाभन्दा फरक थियो। त्यसैले मैले त्यसमा निर्वाह गरेको भूमिका सन्तुलित र उपयुक्त थियो। तर, त्यसपछि यौनसम्बन्धित दृश्य राखेपछि चल्दो रहेछ भन्ने मानसिकताले घर गर्‍यो र त्यस्तै सिनेमा बनाउने होड चल्न थाल्यो। मलाई पनि त्यस्तैमात्रै सिनेमाको अफर बढी आउन थाल्यो। म फेरि त्यस्तै भूमिकामा देखिन चाहन्नथेँ, फरक काम गर्न मन थियो। त्यसैले सबै प्रस्ताव अस्वीकार गरेँ', उनले सम्झिन्।

आएका प्रस्ताव अस्वीकार गर्न थालेपछि स्वभावतः उनको हातमा सिनेमा कम हुन थाल्यो। त्यसैले खाली हुने अवधिलाई उपयोग गर्ने उपाय रच्न थालिन्। त्यसको लागि कृषिकर्म उपयुक्त देखिन्। कृषिकर्म गरिरहेको पारिवारिक पृष्ठभूमि छँदै थियो, केही अनुभव त्यतैबाट प्राप्त थियो।

केही आधुनिक प्रविधिको प्रशिक्षण लिएर उनले साथीहरूसँग मिलेर अग्र्यानिक तरकारी खेती सुरु गरिन्। कृषिप्रधान देशका युवा कृषिबाट टाढिँदै गइरहेकोमा उनलाई चित्त बुझेको थिएन। त्यसैले सोचिन्, ‘यस्तो बेला कृषिकर्म गर्नु काम वा व्यवसायमात्रै हुँदैन, सन्देश पनि त हुन्छ।' नभन्दै उनले थालेको कामको चर्चा भयो।

उनले कृषिकर्म थालेपछि उपन्यासको पनि पृष्ठकथा सुरु हुन्छ। उनी धुलोमैलोबाट अजग रहनुपर्ने ‘ग्ल्यामर फिल्ड'बाट माटोमा लुट्पुटिनुपर्ने ‘डी-ग्ल्यामर फिल्ड'मा पुगेकी थिइन्। बाहिरबाट हेर्दा ‘ग्ल्यामर' क्षेत्रमा आनन्दै-आनन्दको तिरिमिरी देखिन्छ, कृषिमा दुःखैदुःखको।

‘तर मैले त कृषि गर्दा पो आफूलाई ताजा पाएँ, स्वच्छ र सुन्दर पाएँ। यहाँ पो ग्ल्यामर अनुभूति गरेँ', उनले सुनाइन्, ‘कृषिमा सुखैसुख हुन्छ भन्ने होइन। तर, दुःखसँगै प्राप्त हुने अनेकौं सुखको पहेली नै यहाँ भेटिन्छ। कृषिलाई व्यावसायिक बनाउनेबित्तिकै आम्दानीले पनि त सुखलाई सघाउँछ।'

‘कृषि पनि एउटा नशा हो। संगीत बजेपछि नृत्य गर्न मन लागेजस्तै बाँझो जग्गा देखेपछि डाहा हुन्छ, केही रोपूँरोपूँ, फलाऊँफलाऊँझैं लाग्छ', उपन्यासकी पात्र कथा भन्छिन्। त्यो विनीताकै खाँटी अनुभव हो। उनलाई लाग्यो- यो अनुभूति अरूलाई बाँड्नसक्ने हो भने कृषिमा आकर्षित नहुने कुरै छैन। तर मुखैमुखले भनेर त कतिलाई पो सुनाउन सकिएला र ! त्यसैले उनले आफ्नो अनुभव लेख्ने सुर कसिन्। त्यसअघि पनि सिनेमा क्षेत्रका अनुभवबारे पत्रपत्रिकामा लेखिरहेको अनुभव थियो, त्यसलाई उपयोग गर्दै कापीका पाना भर्दै गइन्। केही थान कापी भरिसकेपछि केही साथीभाइलाई पढ्न दिइन्। उनीहरूले भने, ‘कुरा त ठीकै हो। तर यस्तै स्वरूपमा पढ्दा चैं कुनै आनन्द आएन।' त्यसपछि उनलाई चिन्ता पर्‍यो- के गर्ने होला त ?

चिन्तालाई चिन्तनमा बदल्दै गर्दा उनको दिमागमा फ्याट्टै उपन्यासको अवधारणा आयो। लाग्यो- आफ्ना अनुभूतिलाई प्रेमकथाको धागोमा उन्दै लैजाने हो भने कसो चखिलो नहोला र ?

त्यसपछि आफ्नो अनुभूति अभिव्यक्त गर्ने पात्र खोज्न थालिन्। सिनेमामा काम गरिरहेको अनुभवले पात्र छनोटमा सघाउ पुग्यो। केही पात्र भेला पारेर उनी उपन्यास लेख्न थालिन्।

केही महिना काम गर्दै, लेख्दै गरिन्। केही समयपछि आफैंले पढ्दा पनि मन बसेन। ‘एउटै अवस्थामा पनि पात्रको मनोदशा फरकफरक भएको रहेछ। मेरो मनोदशाले पात्रलाई पनि प्रभावित पार्दो रहेछ। त्यसैले मैले एकैपटकमा लेखिसक्ने योजना बनाएँ', उनले सुनाइन्।

त्यसपछि ‘फार्म' साथीहरूलाई जिम्मा लगाएर उनी झन्डै तीन हप्ता घरमै बसिन् र लेख्न थालिन्। ‘मलाई अचम्म के लाग्यो भने मेरो ढाड निकै दुख्थ्यो, तर लेखनको अवधिमा कहिल्यै ढाड दुखेको अनुभूति भएन', उनले लेखन अनुभव सुनाउँदै भनिन्, ‘त्यस क्रममा पात्रहरूले मैले सोचेभन्दा धेरै फरक भएर निस्किए। उनीहरूले कहाँ मेरो कथामात्रै भने र ? आफ्नो कथा पनि लेख्न लगाए। मैले त्यसलाई पनि समेट्दै गएँ। कति दिन उनीहरूका कुरामा आफैं ठुस्किएर बसेँ। कति दिन त पत्तै नपाई हाँस्दै पनि हिँडेछु। कति ठाउँमा पीडाले रोएँ।'

०००

अमेरिकाको हरजिंग विश्वविद्यालयमा एग्रो बिजनेसमा स्नातकोत्तर गरिरहेकी विनीता भन्छिन्, ‘कृषिकर्मप्रति युवाको आकर्षण बढाउनु जुइनोको मूल उद्देश्य हो। मैले आफ्नो जीवनमा कृषिलाई जसरी सिनेमासरह रोमाञ्चक पाएको छु। त्यही रोमाञ्च सबैले महसुस गर्ने हो भने अवश्य नै कृषिमा आकर्षण बढ्छ।'

‘कृषिकर्म आफैंमा त्यति सजिलो छैन। अर्कातिर युवापुस्ता कृषिबाट विमुख छ। यस्तो परिस्थितिमा कृषिकर्मको महिमागान गरेरमात्रै आकर्षण बढ्ला र ? ' उनलाई सोध्न मन लाथ्यो।

‘मेरो उपन्यासमा कृषिको महिमागानमात्रै छैन। कृषिलाई सम्मानित कर्म बनाउन राख्नुपर्ने जगको पहिचान गरेकी छु। त्यसपछिका योजनाको डिजाइन पनि दिएको छु। स्वाभाविक रूपमा कृषि धेरै नेपालीको जीवनशैली हो, संस्कृति पनि हो। मात्रै त्यसलाई आफ्नो जीवन उन्नत बनाउने साधनका रूपमा प्रयोग गर्न चुकिरहेका छौं। मैले हामी कहाँकहाँ चुकिरहेका छौं भन्ने पनि देखाउने प्रयत्न गरेकी छु। त्यसैले मलाई विश्वास छ', उनले उत्तर दिइन्।

कृषिको कुरा गर्दागर्दै जोडिएर आइहाल्छ वैदेशिक रोजगारी। उपन्यासमा पनि त्यसरी नै आउँछ यो प्रसंग। भन्नलाई त सजिलो छ– नेपालमै केही गरे भइहाल्यो नि, विदेश किन जानुपर्‍यो ? तर त्यसो गर्न आधार दिनचाहिँ गाह्रो छ। ‘उपन्यासमा मैले त्यो आधारको खोजी गरेकी छु। काठमाडौंमै पनि कृषिको ठूलो सम्भावना छ। त्यसलाई प्रस्तुत गरेर समग्र नेपालको स्थिति संकेत गरेकी छु', उनले भनिन्। त्यसो त उनका पात्र त यतिसम्म कल्पना गर्छन् कि बिरामी नपाएर डाक्टरहरू नै भैंसीपालनमा लागिरहेको समाचार अखबारमा आउँछ। उपन्यासलाई यस्ता कल्पना र घटनाले रोमाञ्चकमात्रै बनाएको होइन, आफ्नो तर्क र उद्देश्यलाई पुष्टि गर्ने आधार पनि खोजेको उनको दाबी छ।

०००
‘न उनले प्रेमको घोषणा गरिन् न मैले। समयले हामीलाई प्रेमीप्रेमिका भनेर घोषणा गरिदियो। व्यावहारिक कृषि शिक्षा बन्यो जुइनो, हामीलाई प्रेममा बाँध्ने जुइनो', उपन्यासको पात्र अशोकको अभिव्यक्ति हो यो।

जुइनो अर्थात् भारी बाँध्नका लागि पराल, धुस्नु, खर, बाबियो आदिको एक पयोमात्र बटारी बनाइएको डोरी। यसलाई उपन्यासमा प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ। कथा कृषिको भए पनि त्यसलाई मुठो पार्ने जुइनो प्रेमकै हो। उपन्यासमा भने प्रेमलाई बाँध्ने जुइनो कृषि शिक्षा बनेको छ। ‘त्यसैले यसमा प्रेमकथा ठाडो रूपमा आउँदैन। जीवनका प्रक्रियासँग सेती नदीझैं कहिले देखिने गरी कहिले नदेखिने गरी प्रेम अघि बढिरहन्छ। र, उपन्यासभर प्रेमको आभास भइरहन्छ। प्रेमको रोमाञ्च, बिछोडको पीडा र मिलनको खुसी सबै अनुभूति हुन्छ। तर ती निरपेक्ष छैनन्, जीवन र यससँग जोडिएका सपनाको सापेक्षमा छन्', विनीता दाबी प्रस्तुत गर्छिन्।

‘आफ्नै प्रेम अनुभवले पनि काम गर्‍यो होला है त्यसमा चाहिँ ?', सोध्छु।

‘निश्चय नै गर्‍यो। प्रेम सम्बन्धमा हुँदाका हरेक अनुभूतिले प्रेमकथा जीवन्त बनाउन मद्दत गरेको छ', उनको जवाफमा मुस्कान मिसिएको थियो। मुस्कान बढ्दै गएर हाँसो बन्यो र सँगै भनिन्, ‘तर अहिलेचाहिँ म सम्बन्धमा छैन है। सिंगल छु।' यसलाई विज्ञापन मान्ने कि नमान्ने ? सोच्दै थिएँ।

उनले भने यसै साता सार्वजनिक हुने तयारीमा रहेको उपन्यासलाई आफूले पहिलोचोटि स्पर्श गर्दाको अनुभूति ‘सेयर' गरिन्, ‘नौ महिना पेटमा राखेको बच्चालाई काखमा लिन पाउँदा यस्तै अनुभूति हुँदो होलाझैं लाग्यो। अब पाठकको प्रतिक्रियाका लागि आतुर छु।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.