भूकम्पको धक्काले धकेलिएका महिला

  भूकम्पको धक्काले धकेलिएका महिला

शारदा घिमिरे कतार जाने अन्तिम तयारीमा छिन्। श्रीमान् अनिलराज घिमिरेलाई मलेसियाबाट फिर्ता ल्याउँदा र पुनः वैदेशिक रोजगारीमा पठाउँदा लागेको ६ लाख रुपैयाँ ऋणको बोझ उनीमाथि छ।

०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले थिलथिलो बनाइदिएको घर पुनर्निर्माण गर्नुपर्ने दायित्व पनि उनीसँग छ।हेटाँडा हर्नामाडीमा उनको दुई तलाको घर पूरै ढलेको छैन तर बस्नलायक पनि छैन। 'हावा आउँदा पनि घर हल्लिन्छ।

आकाशबाट पानी पर्दा घरमा बस्न डर लाग्छ', शारदा भन्छिन्, 'सरकारका मान्छेहरूले हाम्रो घरलाई आंशिक क्षति भनिदिएका छन्।' वृद्धावस्थाका सासूससुरा र नाबालक छोराछोरीलाई ऐलानी जग्गामा बनेको त्यही हल्लिने घरमा राखिएको छ। शारदाले घर पुनर्निर्माण गर्ने पैसा कमाएरमात्रै पुग्ने छैन, घर बनाउने जमिन पनि खरिद गर्नुपर्नेछ।

'घरमा दुईवटा गाई छन्। दुई लिटर दूध बेचेर घरखर्च टर्दैन। ऋण तिर्ने, नयाँ घडेरी किन्ने र नयाँ घर बनाउने पैसा दुई वर्षमा दुईजनाले ल्याउन सक्छौं कि?' शारदाले भनिन्, 'छोराछोरी र सासूससुराले मलाई खुसीले विदेश पठाउन लागेका होइनन्। उहाँहरूका लागि खर्च पनि पठाउनुपर्छ।'

शारदासहित भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये मकवानपुरबाट मात्रै एक वर्षको अवधिमा आठ सय १८ जना महिला १२ वटा मुलुक पुगेका छन्। भूकम्पबाट अतिप्रभावित १४ जिल्लाबाट ६ हजार एक सय १४ जना महिला वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका छन्। अघिल्लो वर्ष ती जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या आठ हजार तीन सय ४६ थियो।

 

नेपाल सरकारका सहसचिवसमेत रहेका वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका प्रमुख शत्रुघ्नप्रसाद पुडासैनीका अनुसार भूकम्पपछि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ। 'स्वदेशमै रोजगारीका अवसर बढ्नुको सूचकका रूपमा पनि वैदेशिक रोजगारीमा जाने क्रम घटनुलाई लिन सकिन्छ', पुडासैनीको दाबी छ।

आफ्नो घरपरिवारको अवस्था नै अस्तव्यस्त भएका कारण वैदेशिक रोजगारीमा जान राहदानी बनाएकाहरू पनि गाउँमै बसेका छन्। 'पहिला त आफ्नो छाप्रो बनाएर त्यसलाई व्यवस्थित बनाउनुपर्यो भन्ने मानसिकताले पनि काम गरेको हुनसक्छ', वैदेशिक रोजगारीमा जाने महिला घट्नुको कारण प्रस्टयाउँदै पुडासैनीले भने।
परराष्ट्र मन्त्रालयको राहदानी विभागका अनुसार भूकम्पपछिको एक वर्षको अवधिमा एक लाख ७७ हजार सात सय ७५ महिलाले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिएका छन्। एमआरपी बनाउने अधिकांश महिलाको लक्ष्य वैदेशिक रोजगारीमा जानु नै हो।

श्रीमान् अनीलराज तीन वर्ष कतारमा काम गरेर स्वदेश फर्किंदा शारदाको परिवारमा खासै प्रगति हुन सकेन। केही समय घरमा बसेर फेरि उनी रोजगारीका लागि मलेसिया गए। मलेसिया गएको केही महिनामै अनीलराजलाई स्वदेश फर्काउनुपर्ने बाध्यता आइलाग्यो। 'त्यहाँ उहाँलाई कुटपिट पनि भएछ।

त्यस्तो थाहा पाएपछि ६५ हजार रुपैयाँ खर्च गरेर घरमै फर्कायौं', शारदाले भनिन्। मलेसिया जाँदा लिएको डेढ लाख रुपैयाँ ऋण तिर्न सकिएको थिएन। ऋणबाट मुक्ति पाउन फेरि अनीलराज तीन महिनाअघि कतार गए।

सरकारले आंशिक क्षति भएका घरलाई मर्मतका लागि तीन हजार रुपैयाँँ दिने घोषणा गरेको भए पनि शारदाले त्यो रकम पनि पाइनन्। शारदाले भनिन्, 'हामीले एउटा त्रिपालबाहेक केही पनि पाएनौं। हामीलाई सोध्न कुनै एनजीओ आइएनजीओ पनि आएनन्। अन्यत्र १० हजार र १५ हजार पाएको रेडियोमा सुन्यौं, हामीले त त्यो पनि पाएनौं।'

अनीलराज कतारको फर्निचर कम्पनीमा सिकर्मी काम गर्छन्। अनीलराजले मासिक एक हजार दुई सय कतारी रियाल कमाउँछन्। श्रीमान्सँगको परामर्शमा आफू कतार जान लागेको शारदाले बताइन्। श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागमा पेस भएका कागजातअनुसार प्रतिदिन आठ घन्टा सरसफाइसम्बन्धी काम गरेबापत शारदाले मासिक नौ सय रियाल पाउनेछिन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य विष्णुबहादुर भण्डारीका अनुसार भूकम्पप्रभावित समुदायलाई वैदेशिक रोजगारीमा प्राथमिकता दिइनेछ। सहरी विकास मन्त्रालयले बनाइदिएका भूकम्पप्रतिरोधी घरका डिजाइनअनुसार सामान्य घर बनाउन कम्तीमा १० देखि २० लाख रुपैयाँ खर्च हुन्छ।

सरकारले तीन चरणमा गरी दुई लाख रुपैयाँ अनुदान दिने प्रक्रिया अगाडि बढाएको छ। सरकारले थप तीन लाख रुपैयाँ सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने घोषणा गरेको छ। दुई लाख रुपैयाँ पाउनयोग्य नठहर्याइदिएपछि शारदाले तीन लाख रुपैयाँ ऋण पनि पाउनेछैनन्।

भूकम्पले करिब नौ हजारजनाको ज्यान लिएको थियो भने करिब २२ हजार तीन सयजनालाई घाइते बनाएको थियो। भूकम्पले करिब ८० लाख मानिसलाई प्रभावित पारेको थियो। भूकम्पले क्षतविक्षत बनाएका घर पुनर्निर्माण गर्न पनि शारदाजस्ता महिला वैदेशिक रोजगारीमा प्रोत्साहित भएका छन्।

यूएई, कुवेत, हङकङ, मलेसिया, बहराइन, कतार, साइप्रस, ओमान, माल्दिभ्स, मकाउ, चीन, जापान, रोमानिया, जोर्डन, तुर्की, साउदी अरब, पोर्चुगललगायतका मुलुकमा रोजगारीका लागि महिला पुगेका छन्।

वैदेशिक रोजगार व्यवसायी रविन गुरुङका अनुसार महिलालाई वैदेशिक रोजगारीमा पठाउन पुरुषलाई जति सजिलो छैन। 'महिलालाई वैदेशिक रोजगारीमा पठाउने विषय अत्यन्तै संवेदनशील हुन्छ।

अलिकति गल्ती भयो र महिलाहरू समस्यामा परे भने दोषजति हामीले सहनुपर्छ', उनले भने, 'रोजगारदाता असल परेमा समस्या आउँदैन, उनीहरू छुट्टीमा आउने र फेरि जाने पनि गर्छन्, रोजगारदाता खराब पर्यो भने उनीहरू समस्यामा पर्ने गर्छन्।' उनका अनुसार महिलालाई वैदेशिक रोजगारीमा पठाउँदा व्यवसायी र महिलाहरू स्वयं पनि सचेत बन्न आवश्यक छ।

पुडासैनीका अनुसार घरेलु कामदारका रूपमा महिलालाई वैदेशिक रोजगारीमा पठाउँदा खाडी मुलुकका उनीहरूका रोजगारदाताले सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतावासको सिफारिसलाई अनिवार्य गरिएको छ।

'यसो गर्दा घरेलु कामदारहरू स्वयं पनि सम्बन्धित मुलुकका नेपाली दूतावासको नोटिसमा हुन्छन्', पुडासैनीले भने, 'विदेशमा नेपालीको संख्या बढ्दै जानुले पनि महिलाको सामाजिक सुरक्षाको सुनिश्चितता वृद्धि भएको छ।

त्यसैले अहिले घरेलु कामदारका समस्या पहिलेभन्दा न्यूनीकरण भएका छन।' तर शारदाजस्ता महिलाका लागि आफ्नो नजिकमा रोजगारीका अवसर नभएपछि उनीहरूका लागि वैदेशिक रोजगारमा जानुको विकल्प रहेन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.