अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा
काठमाडौंः भेनेजुएलालाई सजिलै पराजित गर्दै अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
कप्तान लियोनेल मेसीलाई शुरुबाटै उतारेको अर्जेन्टिनाले भेनेजुएलालाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
अर्जेन्टिनाको सहज जितका क्रममा कप्तान मेसीले लामो भली पासलाई सदुपयोग गर्दै गोन्जालो हिगुइनले खेलको आठौं मिनेटमा उत्कृष्ट गोल गर्दै अग्रता दिलाए ।
त्यसपछि खेलको २८ औं मिनेटमा भेनेजुएलाको डिफेन्स लाइन अगाडि बढेको अवस्थामा हिगुइनले नै अर्को गोल थप्दै २–० को अग्रता दिलाए ।
पहिलो हाफको ४४ औं मिनेटमा पाएको पेनाल्टीमा चुक्दा भेनेजुएलाले गोल गर्ने अवसर चुकायो । लुइस सृेइजसले हानेको पेनाल्टी अर्जेन्टिनाका किपर सर्जियो रोमारियोको हातमा पुगेको थियो ।
पहिलो हाफमा २–० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल थप्यो । खेलको ६० औं मिनेटमा निकोलस गाइटनले मिलाएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै मेसीले जाली चुमाए ।
त्यसपछि काउन्टर एट्याकका क्रममा भेनेजुएलाका रोनडोनले खेलको ७० मिनेटमा गोल गरे । अलेजेन्ड्रोले दिएको पासलाई सदुपयोग गर्दै उनले हानेको हेडबल पोस्टबारमा ठोक्किँदै जाली चुम्न पुगेको थियो ।
भेनेजुएलाले अग्रता छोट्याएको एक मिनेट नबित्दै ६७ औं मिनेटमा मैदान छिरेका एरिक लमेलाले मेसीको पासमा गोल गरे ।
अर्जेन्टिनाले अब फाइनल यात्रा तय गर्नका लागि आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । अर्को सेमिफाइनल भिडन्त चिली र मेक्सिकोको खेलमा बिजेता हुने टीमले कोलम्बियासँग गर्नेछ ।