प्रत्येक कवि इतिहासको आलोचक हो

प्रत्येक कवि इतिहासको आलोचक हो

कवि श्रवण मुकारुङसँग कवि प्रकाश थाम्सुहाङले गरेको कुराकानी यहाँ प्रस्तुत छ। कवि मुकारुङका 'बिसे नगर्चीको बयान', 'जीवनको लय'लगायत कवितासंग्रह प्रकाशित छन्।

तपाईं सोसियल एक्टिभिस्ट त होइन। तर, सोसियल इस्युजमा कविता लेख्नुहुन्छ नि?
-पीवी सेलीले कविहरूलाई विधायक भनेका छन्। त्यसैले एउटा जिम्मेवार कवि एक्टिभिस्ट नै हो भन्ने अर्थ पनि निस्कन्छ। मेरो बुझाइमा हाम्रो देशको ठूलो समस्या नै सामाजिक समस्या हुन्। हुन त समाज, अर्थ, राजनीति एकअर्कासित जोडिएका हुन्छन्।

यद्यपि, यो देशको राजनीति र अर्थव्यवस्थासमेतलाई सामाजिक एवं सांस्कृतिक विश्वास वा परम्पराले चल्नै दिएन। उदाहरणको रूपमा हेरौं न, प्रजातन्त्र त सात सालमै आएको हो नि, भूमिसुधार र विकेन्द्रीकरण त पञ्चायतले पनि लागू गरेको थियो नि। तर, अहिले पनि देशको शासन सिंहदरबारले गर्छ। जहाँ सामान्य जनता अछूतजस्तो छन्, गेटभित्र पस्नै पाउँदैनन्।

सेवा गर्न बसेको कर्मचारी सेवाग्राहीसित सामन्तजस्तो नमस्कार खोज्छ। अझै पनि त्यस्ता जमिनदारहरू छन्, जसले आफ्नो जमिन देखेकै छैनन् तर त्यहीँको चामल खान्छन्। बैंकहरू नयाँ सामन्त हुन्, आफू सस्तो ब्याज दिन्छन्, जनताबाट चर्को असुल्छन्।

अर्को कुरा, यति धेरै वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, सामुदायिक विभेद भएको अर्कोमुलुक सायदै होला। यही विभेदबाट मुक्ति नपाइन्जेल यो राष्ट्र बन्दैन अर्थात् विभेदको अन्त्यबिना मानवीय मूल्यको रक्षा हुन सक्दैन भन्ने निष्कर्षले मेरो लेखन यस्तो भएको हो। विचारधाराले पनि म समाजवादमा विश्वास गर्छु।

आजकल कविताको स्तर खस्कियो भन्ने गम्भीर आरोप छ। एकथरी कवितामा फगत आक्रोश लेखिरहेको गुनासो गर्छन्। अर्कोथरी कस्मेटिक कविताको विरोध गर्छन्। समकालीन नेपाली कविताको स्तर खस्किएकै हो?

-कविताको स्तर खस्किएको होइन। कविताको स्वरूप परिवर्तन भएका कारण परम्परा वा शास्त्रीयतामा रमाउनेहरूलाई त्यस्तो लागेको हो। कतिपयको आरोपचाहिँ पूर्वाग्रह हो भने कतिको चाहिँ अज्ञानता। होइन भने अहिलेको समय भनेको नेपाली कविताको पुनर्जागरण (रेनेसाँ) काल नै हो।

लामो समय अभिव्यक्ति स्वतन्त्रता नहुँदा नेपाली कविता टाक्सिएकै हो। कवितामात्रै किन? अरू विधा पनि त्यस्तै छन्। नेपालको इतिहासमै चेतनाका दृष्टिले २००७ सालको परिवर्तन महत्वपूर्ण थियो तर दुर्भाग्यवश पञ्चायत सुरु भयो।

कवि÷लेखकले केवल अभिव्यक्ति स्वतन्त्रता र एउटा निश्चित राजनैतिक व्यवस्थाविरुद्ध मात्रै ३०-३० वर्ष संघर्ष गर्नुपर्यो। यसले गर्दा नेपाली साहित्यमा विषयगत विविधता देखिएन। यतिका धेरै सामाजिक समस्या अलपत्रै रहे। २०४६ पछि न हो लेखकहरूले आफूलाई पूर्ण रूपमा अभिव्यक्त गर्न सकेको।

नत्र त हामीले खालि स्तुति, भजन-कीर्तन, गनगन, कनकन, दुःखेसो, गुनासो, आलाप-विलाप, कुण्ठा न पढ्यौं। हो, विभिन्न कालखण्डमा यो देशमा राजनैतिक, सामाजिक आन्दोलन र परिवर्तन भए। त्यतिबेला केही लेखिए। तर, त्यो पर्याप्त थिएन। किनभने अहिलेजस्तो इतिहास, समय, समाज र राजनीतिमाथि गम्भीर विमर्श नै हुन पाएन। तर, आज त्यो भइरहेछ। त्यसैले आज नयाँ लेखिँदैछ।

मेरो विचारमा पूर्ण लेखन (कम्प्लिट राइटिङ)को समय हो यो। आजको लेखनको टे«न्ड नै आफ्नो इतिहासको पुनर्लेखनमा छ। ३० वर्षभित्र लेखिएको तपार्इं मलाई एउटा त्यस्तो साहित्यिक कृतिको उदाहरण दिनुहोस्, जसले यो देशको वास्तविक इतिहास भनेको होस्। छ त? छैन नि।

गलत इतिहासको जगमा उभिएको साहित्यलाई मैले स्तुति, भजन-कीर्तन, गनगन, कनकन, भनेको हुँ। इतिहास सही भयो भने न त्यसलाई टेकेर भविष्य पहिल्याउने हो। यसको अर्थ प्रत्येक स्रष्टा वा कवि इतिहासको आलोचक हो भन्न खोजेको हो मैले।

जबसम्म कवितामा 'आक्रोश' या कस्मेटिक भन्ने कुरा छ, त्यो त रस सिद्धान्त र एस्थेटिक्सको कुरा हो। समालोचकले, शास्त्रकारले भन्छन्। उनीहरूको कामै त्यही हो। त्यसैले त्यस्तो भनाइले कवितालाई हानि गर्दैन। आवश्यकताअनुसार नवै रसमा लेख्छन् नि कविले। काव्य आफैंमा सर्वोत्तम कला हो। त्यसैले सौन्दर्य त झन् अपरिहार्य भइहाल्यो। 

 

प्रायः स्थापित कविहरू आख्यान लेखनतर्फ आकर्षित भइरहेछन्, तपाईंले पनि आख्यान लेख्ने भनेर साहित्यिक माहोलमा हल्ला चलेको निकै भयो। आख्यानको आकर्षणको पछिल्तिर कुन मनोविज्ञान खेलिरहेछ, कि कविताको अभिव्यक्तिले पुग्न छोड्यो?
-राम्रो कवितामा आख्यान, गीत, नाटक, चित्रकला, संगीत अनेकौं विधाका तत्व हुन्छन्। विशिष्ट कविले झन् एउटै कवितामा थुप्रै आख्यान पो राखेको हुन्छ त। वैरागी काइँलाको 'अस्तित्वको दाबीमा सावातको वैला उत्सव' भन्ने कवितामा पाँच, छवटै आख्यान पढ्छु म।

एउटा मिथलाई फुकाउनुस् त त्यहाँ कतिवटा आख्यान हुन्छन्? तपाईंको प्रश्नलाई विषयान्तर गर्न खोजेको होइन मैले। कविताको शक्तिको कुरा गरेको। त्यसैले त भनाइ चलेको होला-'कविको सालिक बन्छ। आख्यानकारको बन्दैन।' तर, मैले चीन जाँदा देखेँ, आख्यानकारहरूको पनि सालिक छ त्यहाँ।

'पाचिन' भन्ने त हाम्रो लैनसिं वाङ्देल, दौतलविक्रम विष्ट, गोविन्दबहादुर मल्ल 'गोठाले', विजय मल्ल, पारिजात, रमेश विकल, इन्द्रबहादुर राईजस्तै ठूला आख्यानकार रहेछन्। तिनी त चीनको हेरिटेज नै रहेछन्। अब, मैले लेख्ने भन्ने कुरा त छँदैछ नि। रुचि, समय र संयोगले निर्धारण गर्ने कुरा हो।

समय छुट्याउन सकेँ भने लेखुँला। तर एउटा सिद्धहस्त वा उच्चकोटिको कविले कथा, उपन्यास लेख्यो भने अझ राम्रो लेख्छ भन्ने विश्वास मलाई छ। अहिले, नेपाली साहित्यको बजारमा आएको आख्यानको आकर्षणको बहस त सबैलाई थाहै छ, राम्रा आख्यान आउन थाले नि त।

नारायण वाग्ले, नयनराज पाण्डे, राजन मुकारुङ, बुद्धिसागर, उपेन्द्र सुब्बाहरूले आख्यानमा क्रान्ति नै ल्याए। अर्कोतिर हाम्रा प्रकाशकहरू आख्यानको बजारीकरण गर्न सिपालु भइसके। काव्यलाई कसरी बिक्री गर्ने भन्ने पनि जुक्ति निकाल्लान्। त्यस्तो जुक्ति निकाले भने मनु मञ्जिल, आहुति, विप्लव ढकाल, हाङयुग अज्ञात, स्वरस्वती प्रतीक्षा, स्वप्नील स्मृति, अभय श्रेष्ठ, भूपिन व्याकुल, रावत, विनोदविक्रम केसी, नवराज पराजुलीहरूका कवितालाई बिक्री हुन भेट्ला कुनै गन्थने उपन्यासले?

देश अझै संक्रमणमा छ। समाजको विविधतालाई सम्बोधन गर्ने एउटा साझा संस्कृतिको निर्माण अझै पूरा भएको छैन। यस्तो बेला एउटा कविको रचनाधर्मिता कस्तो हुनुपर्छ?
-केही दिनअघि नेपाली लेखक संघले राखेको विमर्श कार्यक्रममा चिन्तक प्रदीप गिरीले नयाँ लेखकहरूलाई केही टिप्सहरू दिनुभएको थियो। खासगरी, माक्र्सवादी लेखन र डेमोक्र्याटिक लेखनको दार्शनिक एवं तत्वगत भिन्नताबारे अति सूक्ष्मतम् विश्लेषण गर्नुभएको थियो।

बीपीको 'मोदिआइन्' र मेरै 'बिसे नगर्चीको बयान'को उदाहरण दिँदै उहाँले, अबको लेखनले एक पक्षलाई लाञ्छित गरेर आफ्नो कुरो ठीक भन्ने लेखनले उच्च मानवीय मूल्यको वकालत गर्न सक्दैन र त्यस्तो लेखनले कुनै पनि समाजलाई अग्रगति दिन सक्दैन भन्नुभयो। तर उहाँले ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको विरोध पनि गर्नु भएन।

मैले यहाँ भन्न खोजेको के हो भने सहअस्तित्व बोधले नै साझा संस्कृति निर्माण हुने हो। सहअस्तित्वको बोध समानताले गराउँछ। समानता पुरानो जार्गन भयो, सामाजिक न्यायले गराउँछ। यसरी एकअर्काको अस्तित्व स्वीकारेपछि स्वतः अर्कोसंस्कृतिको निर्माणको जग तयार हुन्छ।

तब त्यो उच्च मानवीय मूल्यमा आधारित संस्कृति हुन्छ। मैले यहाँ उच्च मानवीय मूल्यबोधको कुरा कुन अर्थमा गरेको हुँ भने 'जनयुद्ध'मा दुवै पक्षका मारिए, घाइते, अपांग भए। हाम्रो कविताले ती दुवै पक्षका पीडितहरूको पीडालाई आत्मसात् गर्न सक्नु पर्यो। अपांगलाई अपांगै देख्न सक्नु पर्यो।

विचारधाराले त शत्रु नै देखाउँला तर कविताको सत्य त्यो होइन। नेपालको सन्दर्भमा त झन् यो अति आवश्यक छ। हाम्रो भूगोल, संस्कृति, परम्परा र जीवन दर्शनले पनि यही सिकाउँछ। हामीले अघिदेखि नै यो अभ्यास पनि गर्दै आएका छौं। पूर्वका क्षेत्री, बाहुनहरू, राई, लिम्बूका देवीदेउता पनि पुज्छन्।

साकेला नाच्छन्। पालाम गाउँछन्। राई-लिम्बूहरू पनि मठमन्दिर, देवाली गएकै छन्। यहीँबाट उन्नत साझा संस्कृतिको निर्माणतिर लाग्नु उचित हुन्छ भन्ने मलाई लाग्छ।

तर प्रत्येक समुदायका कवि लेखकले पहिले आफ्नै परम्परा, संस्कृतिभित्र रहेका जडता उखेल्नुपर्यो। त्यसपछि आफ्नो वैयक्तिक कुरा भन्दा अर्कोमानिस, समुदाय वा जातिको दुःख, संघर्ष र स्वप्नलाई देख्नुपर्छ होला। तर कविता सिकाएर, पढाएर लेखिन्न। कस्तो लेख्ने ? कवि पूर्ण स्वतन्त्र छ।

ऐतिहासिक घटनाक्रमहरूले कविता लेखनमा उल्लेख्य प्रभाव पारेको अरूतिर थुप्रै उदाहरण छन्। जस्तो भारतमै पनि नक्सलिस्ट मुभमेन्ट र अम्बेडकरका साथै उनका अनुयायीहरूको हिन्दु धर्म परित्याग गरेको र बौद्ध धर्ममा प्रवेश गरेको इस्यूले कविता लेखनमा उल्लेख्य प्रभाव पारेको थियो। पछिल्लो अढाइ दशकको अवधिमा नेपालले पनि धेरै ऐतिहासिक उथलपुथल भोग्यो। जस्तो दसवर्षे 'जनयुद्ध', २०६२-६३ को दोस्रो जनआन्दोलन, राजतन्त्रको अन्त्य र मधेस आन्दोलन आदिआदि। यी ऐतिहासिक घटनाक्रमहरूले नेपाली कविता लेखनमा के-कस्तो प्रभाव पारेको छ?

-धर्म परिवर्तन गर्ने कुरा अथवा राष्ट्रको डोमिनेन्ट संस्कार, संस्कृति र परम्परालाई बहिष्कारै गर्नुपर्छ भन्ने तथाकथित क्रान्तिकारी भन्नुस् वा अतिवादी धारणाको पक्षमा छैन म। भारतको नक्सलिस्ट मुभमेन्ट एउटा समाजवादीले सोच्नेजस्तो विशुद्ध सांस्कृतिक रूपान्तरणको मुभमेन्टमात्र होइन, त्यसको सम्बन्ध माओको सांस्कृतिक क्रान्तिको प्रभाव वा अपव्याख्या पनि त हो।

अम्बेडकरको अभियान अर्कै हो। तर संसारकै हरेक क्रान्ति, परिवर्तन वा ऐतिहासिक घटनाहरूले सम्बन्धित देशको साहित्य रचनालाई मात्र होइन, विश्व साहित्यलाई नै नयाँ मोड दिएको इतिहास हामीले पढेकै हो नि। यो स्वाभाविक अर्थात् प्राकृतिक कुरा नै हो।

नेपालको सन्दर्भमा पनि यो नहुने कुरै भएन। तर, जसरी हाम्रो राजनैतिक, सामाजिक क्रान्ति वा आन्दोलनका उपलब्धिहरू संस्थागत भइसकेका छैनन्, त्यसरी नै तत् विषय वा इतिहाससित जोडिएका हाम्रा साहित्यहरूको वस्तुगत विश्लेषण हुन बाँकी नै छ जसले नेपाली समाजको आजको समग्र चेतनाको प्रतिनिधित्व गर्छ।

मैले अघि नै भनेँ, नेपाली कविता (साहित्य) विनिर्माणको फेजमा आइपुग्यो। यो मैले शास्त्रीय कुरा गरेको होइन। ज्याक डेरिडा चिन्दिनँ म। कमसेकम अहिले नेपाली कवितालाई समाजले आफ्नो सम्पत्तिको रूपमा ग्रहण गर्दैछ। नत्र त कविता एलिटहरूको सीमित घेराभित्र 'पिँजडाको सुगा' न भएको थियो।

अहिले त अर्काको घरमा भाँडा माझ्न बसेकी कमलरीले पनि अहो ! मेरो संघर्षको पनि मेरै भाषामा कविता हुँदो रहेछ ! भन्न थालिन् त। कम्तीमा आजको कविता समाजसित संवाद गर्न जमिनमा ओर्लेको छ।

एकपटक तपाईंले कवि स्वप्नील स्मृति र मलाई 'दुःखलाई नजिकबाट भोग्नेले मात्र सशक्त कविता लेख्छ' भन्नुभएको थियो नि?
-काव्यको भाषामा दुःखलाई मैले मेटाफोरको रूपमा प्रयोग गरेको थिएँ हुँला। दुःख भोग्नु भनेको मैले बेरोजगार बस्नू ! रक्सी खानु ! भारी बोक्नु ! हली हुनु ! भोकभोकै कविता सुनाउनु भनेको होइन। समाजको नजिक जानु ! मानिसको नजिक जानु ! भनेको हुँ। एउटा स्रष्टाभन्दा समाज दुःखमा हुन्छ।

समाज त्यो स्रष्टाभन्दा चेतनाले दुःखी हुन्छ र त अनेकौं सास्ती, घटना दुघर्टना समाजमा घट्छ। हो त्यो चेतनालाई पर्गेल्नु भनेको हो मैले। राम्रो कविता लेख्न आफ्नो देशको समाजशास्त्र पढ्नु भनेको थिएँ हुँला मैले। नत्र दुःख त कसलाई छैन र? प्रधानमन्त्रीलाई कुर्सी गइहाल्ला कि भन्ने दुःख होला।

बिल गेट्सलाई माइकल ज्याक्सन वा ओबामाजस्तो नभएकोमा दुःख होला। वसन्त चौधरीलाई भूपि वा हरिभक्त हुने भूत चढेको देख्नुभएकै छ, त्यो सम्भव छ ? त्यसैले उनलाई झन् दुःख होला। अनन्त रहस्य र भ्रमहरू हुन्छन् समाजसित। त्यही रहस्यलाई पर्गेल्दै सत्यको खोजी गर्नु भनेको हुँला मैले। जति सत्यको नजिक पुग्न सक्यो त्यति राम्रो हुने न हो कविता। फेरि मैले अन्तिम वा परम सत्यको ढोंगी कुरा गरेको पनि होइन। त्यो बेला मैले रवीन्द्रनाथ टैंगोरले भने जस्तो मानवीय सत्यको कुरा गरेको हो।

अचेल सरकारकै लग्जरियस मोटर चढ्नुहुन्छ (कवि सधैं पैदलै हिँड्नुपर्छ भनेको होइन)। लोकप्रिय कवि श्रवण मुकारुङ प्राज्ञ भएपछि नयाँ कविता पढ्न नपाएको पाठकहरूको गुनासो छ। सरकारी सुखभोगले कविता अल्मलिएकै हो त?

-अहिले म लामो शृंखलाको रेडियो नाटक लेखिरहेको छु। देशभरिका ५५-५६ सामुदायिक रेडियोहरूबाट एकसाथ बजिरहेको छ र कविता नलेखेकै भन्ने पनि होइन, कम भएको मात्र हो। तर, गीतहरू त लेखिरहेकै छु। अलिकति एकेडेमीले पनि व्यस्तता बढाएको छ। म त्यहाँ मातृभाषाको साहित्य हेर्छु।

अनुसन्धानात्मक कामहरू धेरै हेर्नुपर्ने भएकोले सिर्जनात्मक लेखन केही कम भएको हो। जिम्मेवारी संवेदनशील भएर पनि कवितालाई ढुक्कैले समय दिन नपाएको साँचो हो। तर म बेत बसेको गाई भइसकेको छैन। गाडीको कुरा गर्नु भो, यो त एउटा प्राज्ञलाई दिइएको सामान्य सुविधा हो। रचनामा यसको कुनै अर्थ रहँदैन।

कविहरूबीच चरम गुटबन्दी छ। गुट किन र के-का लागि निर्माण हुन्छ ?
-गुट मूलतः दुई प्रकारले बन्छन्। पहिलो, विचार, दर्शन वा चिन्तनको तह मिल्नेहरूको बन्छ। अर्कोउमेर, विधा र समकालले पनि गुट बनाइदिन्छ। तर, साहित्यमा हुने गुटबन्दीले राजनैतिक गुटबन्दीले जस्तो समाज वा राष्ट्रलाई हानि गर्दैन।

साहित्यकारहरूको गुटबन्दीले सिर्जनशीलतालाई अझ मजबुतै बनाउँछ। बेफाइदा छैन। फेरि, धर्म र राजनीतिमा जस्तो साम्प्रदायिक गुटबन्दी साहित्यमा हुँदैन। तर, पार्टी छिरेर बनेको साहित्यकारहरूको गुटले चाहिँ कहिलेकाहीँ वितण्डै मचाउँदो रहेछ। नियुक्तिहरूमा देखिन्छ त्यो। अरू बेफाइदा त के छ र?

आफ्नो साथीलाई महान् कवि लेखक देख्नु नराम्रो होइन क्यारे। धर्म, दर्शन, राजनीति, व्यापार केमा छैन गुट? यति धेरै सम्प्रदाय छन् धर्मका। इसाई, मुस्लिम, बौद्ध धर्ममा भन्दा हिन्दु धर्मको गुट धेरै छ। राजनीतिमा कम्युनिस्टहरूको गुट त गनिसक्नु छैन। तर, गुट कमजोरहरूले आफूलाई बलियो छु भन्ने भ्रम दिन बनाउने न हो।

कि अति प्रशंसा, कि अति पूर्वाग्रह। यसले समालोचना विधा बागमतीको दलदलमा भासियो भन्ने सुनिन्छ। सत्य हो?
-समालोचना गर्ने भनेको तत्विषयका प्राध्यापक, डाक्टरहरूले नै हो। तर, हाम्रा डा., प्राध्यापकहरूको हामीमाथिको अध्ययन कमजोर भयो। हुन पनि, विचराहरू कतिबेला पढ्ने? बिहानदेखि दिनभरि ५-७ वटा कलेज धाउनुपर्यो। नत्र खान पुग्दैन। परिवार, छोराछोरी, दालचामलमै हाम्रा विद्वानहरू अझिल्नुपर्ने नियति छ।

कतिबेला पढ्नु? नून तेल किन्नु कि नयाँ पुस्तक किन्नु? बेलुकी घर पुग्यो। बुढेसकालले जीउ थाक्छ। निद्राले छोप्छ। समय नै छैन विचराहरूलाई। अनि, त्यही पुरानो नोटबुक झिक्यो, पढायो। जहाँ आधुनिक कवि लेखनाथ पौड्याल, समकालीन निबन्धकार लक्ष्मीप्रसाद देवकोटा लेखिएको हुन्छ।

अलिक अप्डेट प्राध्यापक रहेछन् भने समकालीन कवि भनेर आफ्नो विद्यार्थीहरूको, आफू संगठित भएको विचारसित मिल्ने कुनै कविको, श्रीमती या सालाहरूको नाम पनि थपेका हुन सक्छन्। यस्तो अवस्था छ। विप्लव ढकालजीले त्यसै 'प्रोफेसर शर्माको डायरी' लेखेका हुन् र?

समालोचना पनि सिर्जनशील विधा हो नि। तर यहाँ शास्त्रीय समालोचना हुन्छ, जो विद्यार्थीलाई पढाउनुमात्र काम लाग्छ। कि त तपाईंले भनेझैं प्रभाववादी समालोचना। वस्तुपरक समालोचना गर्न सक्ने केही बूढाहरू थिए तर तिनलाई पनि सुगर, दम, प्रेसर आदिले निष्क्रिय बनाइदियो। अभि सुवेदी, मोहनराज शर्मा आफैं कवि, कथाकार, नाटककार हुन दौडेका छन्। कसले गर्नु समालोचना ?

भर्खरै नेपाली लेखक संघमा चुनाव जित्नभयो। एउटा सफल कविलाई किन संगठनको आवश्यकता पर्यो?
-जीवनको सम्पूर्ण समय साहित्यलाई दिएको मान्छेले स्पेस खोज्ने भनेको पनि साहित्यिक संघ, संगठन मै हो। त्यसैले, म नेपाली लेखक संघको वरिष्ठ उपाध्यक्ष भएको हो।

यसको उद्देश्य प्रस्टै छ, लेखकहरूको हकहितका लागि लड्ने, बुद्धि-विलास र विमर्शहरू गर्दै साझा चिन्तनको विकास गर्ने। लोकतान्त्रिक चिन्तन प्रणालीलाई सिर्जनशील ढंगले परिपक्व बनाउने।

'राम भरोस' हरू अझै अनुहार खोजिरहेछन्, सिमान्तकृतहरूले यो देशमा आफ्नो अनुहार खोजिरहनुपर्ने दिनको अन्त्य कहिले होला?
-सबै खाले विभेदहरूको अन्त्य र न्यायपूर्ण, उन्नत लोकतान्त्रिक समाजको परिकल्पना आजको नयाँ नेपालको राष्ट्रिय एजेन्डा बनिसकेको छ। लेखक, बुद्धिजीवी, वा सम्बन्धित क्षेत्र, समुदाय, वर्गका संस्कृतिकर्मीहरूको मात्रै यो चिन्ताको विषय रहेन।

हाम्रो राष्ट्रिय राजनीति एवं विश्व दर्शन नै आज यो ठाउँमा छ भने निश्चित रूपमै एक दिन त्यो आउनेछ। कवि गोपालप्रसाद रिमालको आमाको सपना अवश्यै पूरा हुनेछ। तर जीवन त कविता होइन नि, कविताजस्तो मात्रै हो, त्यसैले समय लाग्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.