षडानन्द क्रान्तिपुरुष

षडानन्द क्रान्तिपुरुष

काठमाडौं: वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले प्रचारबिना कुनै पनि विद्वान्को जति नै ठूलो गुण पनि हराएर जाने बताएका छन्। ठूला विद्वान्, वैभवशाली व्यक्तित्व र महापुरुषहरूबारे खोज, अनुसन्धान र प्रचारले मात्रै संस्कार र संस्कृतिको परम्परा जोगाउन सकिने उनले बताए।

आबाल ब्रह्मचारी षडानन्दको १००औं स्मृति दिवसका आवसरमा बोल्दै उनले आदिकवि भानुभक्तको अद्वितीय प्रतिभालाई मोतीराम भट्टले चिनाइदिएको स्मरण गरे। उनले भने, ‘भानुभक्त अद्वितीय प्रतिभा थिए, उनको रामायण संस्कृतबाट नेपालीमा मोतीराम भट्टले उल्था नगरेको भए आज अमेरिकामा एउटा धिमालले गुरुङलाई भेट्दा नेपालीमै संवाद गर्ने अवसर जुर्ने थिएन।'

भानुभक्तलाई उचाल्ने मोतीरामहरूको कमीलाई आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले थोरै भए पनि पूरा गरेकोमा सराहना गर्दै उनले बेलामौकामा जन्मने वैभवशाली व्यक्तित्वको गुणगानले आगामी पुस्तालाई मार्गदर्शन गर्ने बताए।विक्रम संवत् १८९२ मा भोजपुरको दिङ्लामा जन्मिएका आबाल ब्रह्मचारी षडानन्द अधिकारीको व्यक्तित्व, कृतित्व र योगदानबारे प्रतिष्ठानले ‘आबाल ब्रह्मचारी षडानन्द: बहुआयामिक व्यक्तित्व' ग्रन्थ सार्वजनिक गरेको छ।

लोकार्पण कार्यक्रमका विशिष्ट अतिथि तथा इतिहासविद् एवं संस्कृतिविद् डा. जगमान गुरुङले नेपाल राष्ट्र र आर्यसंस्कृतिको इज्जत यस्तै महापुरुषहरूले धानेको विचार व्यक्त गरे। ‘विडम्बना ! सात्विक ऋषिमुनि, ब्राह्मण विद्वान्हरूबारे सरकारले वास्ता गर्दैन, हामी जनता पनि गर्दैनौं', गुरुङले भने, ‘महापुरुषको सम्झनामा प्रतिष्ठान परिवारले खोल्नुपर्छ, सरकारले सम्झँदैन।'

 

उनले वैदिक र पौराणिक संस्कृतिमा फरक छ भन्ने कुरा बुझ्न जरुरी भएको बताए। उहिले सिद्धपुरुषहरूको सम्बन्ध र समन्वय आमजातजातिसँग भएको स्मरण गर्दै उनले भने, ‘अहिले त्यो समन्वय टुट्यो, समर्पण टुट्यो।'

नेपाल राष्ट्रको वैभव त्यही पौराणिक परम्परासँग जोडिएको भए पनि समन्वय र समर्पणमा देखिएको उदासीनताले मुलुकले समस्या झेल्दै गएको उनले बताए। नयाँ पुस्तामा ऋषिआत्मा, ज्ञानी र वैभवशाली पुरुषका विचार र आचरणबारे ज्ञान दिन आवश्यक रहेको उनले औंल्याए। प्रतिष्ठानले आबाल ब्रह्मचारी षडानन्दबारे करिब पाँच सय पृष्ठको सांगोपांगो कृति सात वर्ष लगाएर प्रकाशन गरेको हो।

आज सरकारकै संग्रहमा पनि १८ पुराण नभएको दयालाग्दो अवस्थामा वैदिक कृति र व्यक्तित्वको सम्वद्र्धन हुनु जरुरी रहेको कार्यक्रमका वक्ताहरूले औंल्याए। प्रतिष्ठानका अध्यक्ष विष्णुराज कुसुमको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा कृतिमाथि विश्लेषक सुरेन्द्र केसीले टिप्पणी गरेका थिए।

उनले आबाल ब्रह्मचारी षडानन्दले राजधानीभन्दा पहिला भोजपुरको दिङ्लामा विक्रम संवत् १९३२ चैत शुक्ल रामनवमीको दिन शिक्षालय स्थापना गर्नु, १० रोपनी जमिनमा उद्यान बनाउनु र सन् १९२० मा नेपालबाट सतीप्रथा उन्मूलन हुनु ३७ वर्षपूर्व षडानन्दले एक पुरुषको निधनमा सती जान लागेका ७० र २० वर्षका दुई पत्नीलाई आमसमुदायको विचार जितेर रोक्नु, त्यति बेलै योगको परम्परा सुरु गर्नुजस्ता प्रसंगले उनी विचारका क्रान्तिनायक रहेको टिप्पणी गरे।

आठ अध्यायमा विभाजित ८५ वटा आलेख समेटिएको ग्रन्थमाथि बोल्दै अनुसन्धाता डा. गोविन्दमानसिंह कार्कीले षडानन्दसम्बन्धी इतिहासलाई ग्रन्थले न्यायिक ढंगले केलाएको बताए। उनले यो पुस्तक षडानन्दबारे मात्रै नभएर वैदिक पुरुषबारे एक माइलस्टोन भएको दाबी गरे।

लोकार्पण कार्यक्रममा वरिष्ठ इतिहासविद् प्राज्ञ ज्ञानमणि नेपाल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतको उपस्थिति थियो। ग्रन्थको सम्पादन मण्डलको संयोजन प्रा. चेतोनाथ गौतमले गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.