जर्मनी र स्पेन धेरै राम्रा
हरि खड्का
युरोकपका सबै खेल राम्रोसँग हेर्न पाएको छैन।तर पनि राम्रा टोलीको खेल मिलेसम्म हेर्ने गरेको छु। बिहान राष्ट्रिय युथ टोलीको प्रशिक्षण गराउनुपर्ने भएकाले रातिका खेल चाहेर पनि हेर्न पाउँदिनँ।अहिलेसम्म खेल हेर्दा बलिया राष्ट्रकै दबदबा देखिन्छ।
पहिलो चरणको खेल जारी रहेकाले अहिल्यै युरोकप विजेताको अनुमान लगाउन हतार हुन्छजस्तो लाग्छ।जर्मनी, स्पेन, फ्रान्स, इङ्ल्यान्डले राम्रो खेलिरहेका छन्।
म युरोकपमा यही टोलीको समर्थक भन्ने छैन। तर पनि हामीजस्तो प्रशिक्षक र खेलाडीका लागि विश्वकप र युरोकप फुटबलको खेल्ने र खेलाउने कला सिक्ने अवसर हो। खेल हेरेर पनि आफ्नो प्रदर्शनमा धेरै सुधार ल्याउन सकिन्छ।हामीले सिक्ने भनेको टेक्निक नै हो।
युरोकपमा मलाई सबैभन्दा मन पर्ने टोली स्पेन हो। स्पेनप्रति सद्भाव भए पनि यसपटकको युरोकप जर्मनीले जित्छजस्तो लाग्छ।जर्मनी सदाबहार र सन्तुलित टोली हो। जर्मन टोलीका खेलाडीमा टिम स्पिरिट बलियो छ।
व्यक्तिगत रूपमा सबै खेलाडी राम्रा छन्। युवा र अनुभवी खेलाडीको सम्मि श्रण भएकाले पनि जर्मन टोलीको प्रदर्शन उत्कृष्ट रहने गरेको छ।यसपटक पनि जर्मनीलाई हराउन गाह्रो छ। जर्मनीको आक्रामक खेल्ने शैलीलाई माथ दिने अर्को टोली छैन। जर्मनीले आकर्षक फुटबल खेलिरहेकाले उसको क्षमता पुष्टि हुन्छ।
मलाई स्पेनको प्रदर्शन पनि उत्तिकै मन पर्छ।साविक विजेता भएकाले स्पेनको पनि मनोबल उच्च रहनु स्वाभाविक हो।आयोजक राष्ट्र भएकाले फ्रान्सको पनि सम्भावना छ।फ्रान्स टोलीको खेल पनि सशक्त देखिएको छ।
विश्वकप होस् वा युरोकप, बलिया टोली सधैं माथि हुन्छन्।इङ्ल्यान्डको प्रदर्शन पनि अहिले लोभलाग्दो छ।प्रिमियर लिगका कारण पनि इङ्ल्यान्डको खेल धेरै माथि पुगेको छ ।
(राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्कासँगको कुराकानीका आधारित)