सीआईबीबाट अपेक्षा
अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) नक्कली चिकित्सक छानबिनमा लागेको छ र सय जनाजति चिकित्सक छानबिनको घेरामा रहेका र त्यसमध्ये करिब दुई दर्जनलाई अनुसन्धानको लागि उसले हिरासतमा लिएको छ। एमबीबीएसमा भर्ना हुन'प्लस टु' या आईएस्सीमा बढी अंकसहितको नक्कली'मार्कसिट' बनाएर चिकित्सक बनेकाहरू अहिले त्यस्तो छानबिनको दायरामा छन्।
प्रहरीले शंका गरेजस्तै मुलुकमा यदि त्यस्ता चिकित्सकको संख्या एक सय या केही बढी भएमा सम्भवतः त्यसले उनीहरू कार्यरत निजी र सरकारी अस्पतालका सेवामा प्रतिकूल प्रभाव नपर्ला, तर संख्या त्योभन्दा ठूलो भयो भने? यद्यपि'सीआईबी' को कार्यशैली अमानवीय भएको भन्दै केही ठाउँमा नेपाल चिकित्सक संघले आन्दोलन आह्वान गरी अर्को किसिमले सेवा प्रभावित हुने खतरा बढेको छ।
आश्चर्य केमा छ भने यसरी छानबिनमा परेकाहरू सबैले एमबीबीएस या त्योभन्दा माथिल्लो डिग्री मेहनत गरेरै लिएका छन्। तर चिकित्सा पेसा या डिग्री जरुरी र जुनसुकै आधारमा भए पनि लिइने'सीप' हैन। त्यो योग्यताबाट त कमाइएको हुनैपर्छ, त्योसँगै सेवा, समर्पण र प्रतिबद्धताको लगानी पनि हुनैपर्छ त्यसमा।
जुनसुकै सर्तमा पनि र'आईएस्सी' को मार्कसिट किनेरै भए पनि चिकित्सक बन्नेहरूमा पक्कै पनि पेसाप्रतिको निष्ठाभाव अत्यन्तै न्यून रहेको देखाउँछ। सीआईबीद्वारा भएको छानबिनलाई सघाएर यो पेसाको गरिमा बचाउनु नेपाल चिकित्सक संघलगायत अन्य बढी संख्यामा जन्मेका चिकित्सा संस्थाहरूको जिम्मेवारी बन्न पुगेको छ। चाहे पत्रकारिता होस् या चिकित्सा पेसा, हरेकको लागि आन्तरिक तहबाट आउने खतराले नै ठूला क्षति पुर्याउनेछ।
वास्तवमा त्यस्ता नक्कली चिकित्सकहरू कार्यरत संस्थाहरूले सीआईबीको छानबिन र कार्यमा अपेक्षित सहयोग पुर्याएका छन्, तर यो प्रक्रियामा सीआईबी त्यस्ता संस्थाहरूको छवि र निर्दोषिताबारे संवेदनशील बन्नैपर्छ। अन्तर्राष्ट्रिय जगत्मै उत्कृष्ट र महत्वपूर्ण सेवा पुर्याउन सफल तिलगंगा आँखा अस्पतालमा कार्यरत उच्च माध्यमिक तहको मार्कसिटका आधारमा एमबीबीएस र उच्च डिग्री लिन सफल एकजना'इन्टर्न' लाई समेत प्रहरीले गिरफ्तार गरेको छ।
प्रतिष्ठित संस्थाहरूमा योग्यता पुगेका 'इन्टर्न' हरू उनीहरू अध्ययनरत संस्थाहरूको सिफारिसमा लिइन्छ। सञ्चार, शिक्षण या स्वास्थ्य सेवासँग सरोकार राख्ने संस्थाहरू सबैमा त्यही नियम हुन्छ।
त्यसैले त्यस्ता प्रतिष्ठित संस्थाहरूले त्यो परम्पराअनुरूप नक्कली सर्टिफिकेटका आधारमा इन्टर्नसिपको अवसर दिएकै आधारमा उनीहरूले लामो संघर्षबाट आर्जेको छवि र उत्कृष्टतामा चोट नपुर्याउन सीआईबी संवेदनशील हुनैपर्छ, अन्यथा त्यो छानबिनले दोषी, गिरफ्तारी र पेसाको मर्यादा कायम गर्नुभन्दा राष्ट्रिय संस्थाहरूलाई धराशयी बनाउन सहयोग पुर्याउनेछ। ती राष्ट्रिय संस्थाहरूको छवि संवद्र्धनप्रति सीआईबी उदासीन हुन सक्तैन, मिल्दैन।
तर यो छानबिनमा चिकित्सा संघदेखि शिक्षण संस्था र निजी अस्पतालहरूले सहयोग पुर्याए भने यो'भ्रष्टाचार' तत्काल समाप्त हुनेछ। यसलाई तत्काल निराकरण गर्न जरुरी किन पनि छ भने यसले बिरामी र चिकित्सकबीचको विश्वास र सद्भावमा कमी ल्याउनेछ भने औषधोपचारको लागि बिदेसिने प्रवृत्ति पनि बढाउनेछ।