वर्षाले तराईमा बाढी, मुख्य सहर डुबानमा

वर्षाले तराईमा बाढी, मुख्य सहर डुबानमा

विराटनगर: मनसुन सक्रिय भएपछि मंगलबार देशभर वर्षा हुँदा तराईका धेरै जिल्ला डुबानमा परेका छन्। पूर्वी नेपालमा बाढीका कारण जनजीवन प्रभावित भएको छ।

वर्षाका कारण सुनसरीको इटहरीमा दुईजनाको ज्यान गएको छ। वर्षाले सुदूरपश्चिम पनि प्रभावित भएको छ। कैलालीमा एकजनाको ज्यान गएको छ।
विराटनगर, इटहरी, भद्रपुरलगायतका पूर्वी तराईका मुख्य सहर जलमग्न भएका छन्।

झापा, मोरङ, सुनसरी र धनकुटा पनि वर्षाबाट प्रभावित छन्। बाढी आएको पैनीमा डुबेर इटहरी-४ का ६६ वर्षीय रामबहादुर बराइलीको मृत्यु भएको हो। मंगलबार घरबाट बाहिर निस्कन खोज्दा उनलाई पैनीले बगाएको थियो।

बस्ती डुबानमा परेको दृश्य हेर्न घरको छतमा चढेका इटहरी-२२ लबिपुरका ५० वर्षीय भानुभक्त तिम्सिनाको करेन्ट लागेर मृत्यु भयो। सुनसरी प्रहरी प्रमुख पोषराज पोख्रेलका अनुसार हाइटेन्सन लाइनको तारबाट चुहिएको करेन्टले तिम्सिनाको शरीर जल्दा घटनास्थलमै मृत्यु भएको हो।

ट्यांग्रा खोलामा आएको बाढीले पश्चिम तटबन्ध भत्काएको छ। खोलाको बाढी इटहरीतर्फ पस्दा ६ सय घर डुबानमा परेका छन्। स्थानीय साथी पेट्रोल पम्प नजिकैबाट खोलाले धार परिवर्तन गरेको छ।

बाढी इटहरीको वडा नम्बर ७, ८ र ९ मा पसेको छ। ती वडाका सबै बस्ती जलमग्न छन्। स्थानीय चेतनाथ आचार्यले भने, 'खोलै बस्तीतिर पसेपछि सर्वसाधारण घरबाहिर निस्किएका छन्। धेरैले अन्नपात र लत्ताकपडा पनि झिक्न पाएनन्।'

खोलाको धार साविककै स्थानमा फर्काउन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी खटिएका छन्। इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले जोखिम घटाउन ढल निकास र ट्यांग्रा खोलाको व्यवस्थापनमा ध्यान दिइने बताए।

 

विराटनगरका पनि अधिकांश भाग जलमग्न भएका छन्। कोसी राजमार्गको बिजुली अफिसचोक नजिकै पानी जमेपछि यातायातका साधन आउनजान समस्या भएको छ। रानी क्षेत्र पनि जलमग्न भएको छ।

पूर्वी पहाडी जिल्लामा वर्षा भएपछि सप्तकोसी नदीमा पानीको बहाव बढेको छ। मंगलबार सप्तकोसीमा मापन गरिएको पानीको बहाव प्रतिसेकेन्ड एक लाख ४० हजार ७० पुगेको छ। सप्तकोसीमा पानीको बहाव बढे पनि कोसी ब्यारेजका ५६ ढोकामध्ये २१ वटामात्र खोलिएका छन्।

वर्षाका कारण सुनसरीको इटहरीमा दुईजनाको ज्यान गएको छ। वर्षाले सुदूरपश्चिम पनि प्रभावित भएको छ। कैलालीमा एकजनाको ज्यान गएको छ।विराटनगर, इटहरी, भद्रपुरलगायतका पूर्वी तराईका मुख्य सहर जलमग्न भएका छन्।

झापाका मुख्य नदी रतुवा, माई, बिरिङ, हँडिया, निन्दा, देउनिया, झिल्मिलिया तथा मेचीमा पानीको बहाव बढेपछि जिल्लाका अधिकांश भाग डुबानमा परेका छन्। भद्रपुर नगरपालिकाका अधिकांश क्षेत्र जलमग्न छन्। नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले डुबान क्षेत्रका पीडितलाई प्रहरी र नगरपालिकाका कर्मचारीले नजिकैका विद्यालयमा सारेको बताए।

घिमिरेले भने, 'सर्वसाधारणलाई हामीले तोकेका सुरक्षित स्थानमा आउन आग्रह गर्दै माइकिङ गरिरहेका छौं।'बाढीले देउनिया खोलामाथिको पुल बगाउँदा हल्दीबारी र भद्रपुरबासीको आउजाउ बन्द भएको छ। रेडक्रस झापाका अनुसार भद्रपुर ५ र १० मा ३५ घर डुबानमा परेका छन्।

गरामनी बजार पश्चिमपट्टि १० घर डुबेका छन्। दक्षिणी गाविस राजगढको जनताचोकमा चार घर डुबानमा परेका छन्। सुरुंगा उत्तरपट्टिको बस्तीका २५ घर डुबानमा परेका छन्।

बाढीका कारण झापाको महाभरास्थित बालकल्याण उच्चमाविमा त्रैमासिक परीक्षा स्थगित गरिएको प्राचार्य भोलाप्रसाद खतिवडाले बताए। कमलबनियानीको भाटेपुल बाढीले बगाएपछि पारिपट्टिबाट विद्यार्थी आउन नसक्दा परीक्षा स्थगन गरिएको हो। शरणामतीको भृकुटी निमावि र जनता उच्चमाविमा मंगलबारको परीक्षामा धेरै विद्यार्थी अनुपस्थित भए।

धनकुटाको गर्जुवाखोलामा आएको बाढीले कोसी राजमार्ग १० घन्टा अवरुद्ध भएको छ। बाढीले महाभारत-२ स्थित गर्जुवाखोलाको पक्की पुल पुर्दा सडक अवरुद्ध भएको हो। डिभिजन सडक कार्यालय धनकुटाकी सुपरभाइजर अमृता राईले भनिन्, 'बाढीले पटकपटक सडक अवरुद्ध पारिरहेको छ।

धरानबाट भोजपुर, संखुवासभा, तेह्रथुम र धनकुटातर्फ आउने सवारीसाधान गर्जुवाखोला आसपासमै अलपत्र पर्ने गरेका छन्।' अपराह्नपछि माटो पन्छाएर एकतर्फी सडक खुला गरिएको छ। पुल आसपासका घर जोखिममा परेका छन्।

वर्षासँगै पहिरो जाँदा इलाम र पाँचथरका अधिकांश गाउँका ग्रामीण सडक बन्द भएका छन्। पूर्वेली ट्याक्सी व्यवसायी संघ इलामका अध्यक्ष गृष्म सुब्बाले ग्रामीण सडक बन्द भएको बताए। इलाममा ४९ वटा कच्ची सडक छन्।
०००
धनगढी समाचारदाताका अनुसार वर्षाले सुदूरपश्चिमलाई पनि प्रभावित बनाएको छ। कैलालीको टीकापुरमा नालामा बगेर सन्तु चौधरीका १४ महिने छोरा सौरभ चौधरीको मृत्यु भएको छ। उनको शव घरबाट तीन सय मिटर तल फेला परेको प्रहरीले जनायो।

कैलालीको उदासीपुर-१ की २५ वर्षीया राधा चौधरी र भजनी त्रिशक्ति नगरपालिका-२ की ७ वर्षीया करुणा बुढाको चट्याङ लागेर ज्यान गएको छ। चट्याङ लागेर विमला धामी, शर्मिला चौधरी र गौरीलाल चौधरी घाइते भएका छन्। खेतमा रोपाइँ गरिरहेका बेला चट्याङ परेको हो।

झरीले धनगढी नगर क्षेत्र जलमग्न भएपछि नगरबासी डुबान हुने चिन्ताले पिरोएिका छन्। पानीको निकास नभएका कारण धनगढी बजार क्षेत्र सबैभन्दा बढी जलमग्न भएको छ।

धनगढी उपमहानगरपालिका क्षेत्रका कतिपय बस्ती र मुख्य सडकमा दुईतीन फिटसम्म पानी जमेको थियो। धनगढीको क्याम्पसचोक र चटकपुर-शिवनगर सडक खण्डअन्तर्गत चकमेलीचोक नजिक पानी जमेर आवतजावत बन्द भएको थियो।

डोटीको तिलतालीमा अविरल वर्षासँगै आएको बाढीका कारण ३५ घरपरिवार विस्थापित भएका छन्। बाढी बस्तीमा छिरेपछि मानिसको भागाभाग भएको स्थानीय नीलम विकले बताए। बाढी बस्तीमा पसेलगत्तै ३५ घरपरिवारलाई अन्यत्र सारिएको छ। पानी पर्न थालेपछि बाजुराको रुगिनका एक सय परिवार पहिरो आउने चिन्तामा छन्।

मनसुन देशभरि सक्रिय भएपछि अधिकांश नदीमा पानीको बहाब बढेको जलवायु तथा मौसम विज्ञान विभाग नदी अनुगमन महाशाखाले जनाएको छ। बाढीका दृष्टिबाट खतरा ठानेका नदीमा पानीको बहाब बढ्दो गतिमा देखिएपछि सरकारले अनुगमन थालेको छ। तर मंगलबार साँझसम्म कुनै पनि नदी खतराको स्तरमा भने पुगेका छैनन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.