ग्लोबल स्मार्ट सेवा अब आईओएस भर्सनमा पनि
काठमाडौं: ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी प्रदान गरिरहेको ग्लोबल स्मार्ट मोबाइल बैंकिङ सेवा अब आईओएस भर्सनमा पनि उपलब्ध भएको छ।
यसअघि एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध ग्लोबल स्मार्ट मोबाइल बैंकिङ सेवा ग्राहकको मागलाई मध्यनजर गर्दै बैंकले आईओएस भर्सनमा पनि निर्माण गरेको हो।
बैंकका अनुसार यस मोबाइल बैंकिङ सेवामार्फत ग्राहकले सहज रूपमा मोबाइलबाट नै बैंकिङ कारोबार गर्न सक्नेछन्।
ग्राहकले एनड्रोइड फोनका लागि गुगल प्ले स्टोर्स र आईफोनका लागि एप्पल एप स्टोर्समा गएर ग्लोबल स्मार्ट एप्लिकेसन डाउनलोड गरी सेवा उपभोग गर्न सक्नेछन्।
यस एपमार्फत बैंकका ग्राहकले खाताको स्टेटमेन्ट हेर्न, रकम ट्रान्सफर गर्न, क्रेडिट कार्डको शुल्क तिर्न, मोबाइल, इनटरनेटजस्ता सेवाको बिल भुक्तानी गर्न, आफ्नो नजिकमा रहेको शाखा तथा एटीएम पत्ता लगाउनलगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ।
यो सेवा सुचारु गर्न ग्राहकले बैंकमा खाता खोल्दा रजिस्टर गरेको मोबाइल नम्बर नै प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ।