'मुलुकले संघीयता थेग्न सक्दैन'

  'मुलुकले संघीयता थेग्न सक्दैन'

विसं. १९८५ वैशाखमा पाल्पाको तानसेनमा जन्मिएकी कमल राणाका भीरकोटे राजा तारकबहादुर शाहकी छोरी हुन् । २००२ सालमा श्री ३ जुद्धशमशेरका छोरा उपरथी मीनशम्शेर जवरासँग कमलको विवाह भएको थियो।  २००९ देखि २०१७ सालसम्म महिला स्वयंसेवीका संघ (डब्लूभीएस) को महामन्त्री, प्रिन्सेप शाहको अध्यक्षतामा रहेको रेडक्रसको आजीवन सदस्य, विश्व स्वास्थ्य संगठनलगायतमा कार्यरत रहेकी राणा २०१५ सालको माथिल्लो सभामा उपाध्यक्ष थिइन्। पञ्चायतकालको राजनीतिमा सक्रिय ८८ वर्षीया राणा अहिले पनि आफूलाई राजनीतिक कार्यकर्ता भन्न रुचाउँछिन् । वर्तमान राजनीतिक अवस्थाबारे राणासँग अन्नपूर्णकर्मी चिरञ्जीवी ढुंगानाले लिएको अन्तर्वार्ताः

देशमा छिटोछिटो भएका राजनीतिक परिवर्तनबारे तपाईंको दृष्टिकोण के छ?
हो, हाम्रो जीवनकालमा जति परिवर्तन कहिल्यै भएन। ती सबैको उद्देश्य देशको सार्वभौमिकताको रक्षा र नेपालीको आर्थिक विकाससहितको जीवनशैलीलाई सम्मानजनक बनाउनु थियो। तर कुनै परिवर्तनले पनि त्यो कुरा स्थापित गर्न सकेन।

जति पछिपछि परिवर्तन हुँदै गए, तिनको परिणाम र गुणमा ह्रास आउँदै गयो। २००७, ०१७ ,०३६, ०४६ र ०६३ को परिवर्तनले पनि आम जनताको इच्छा र अकांक्षा पूरा गर्न नसकेको महसुस गरिहेको छु।

राणा परिवारको मान्छे, राजनीतिक घटनाक्रम स्विकार्नुपर्दा असहजजस्तो लाग्छ होला नि?
लाग्दैन। राणा मेरो कर्मघर हो, जन्मघर शाह परिवार हो। मेरो जन्मघरको पारिवारिक पृष्ठभूमि नै प्रजातान्त्रिक आचारण र व्यवहार थियो। मैले राणा, पञ्चायत र बहुदलीय व्यवस्थामा आफ्नो सक्रिय राजनीति अगाडि बढाउन सफल भएँ। श्री ३ जुद्ध शमशेरको बुहारीमात्र होइन, राणाशासन कायमै रहेको भए रोलक्रमकी श्री ३ महारानी पनि हुन्थेँ। म भिर्कोटे राजा तारकबहादुर शाहकी छोरी हुँ। राजनीतिक स्थिरता र मुलुकको समृद्धि मेरो कामना हो।

२०१५ सालमा भएको संसदीय निर्वाचनपछि संसद्को माथिल्लो सदन (महासभा) को उपाध्यक्षमा कसरी निर्वाचित हुनुभयो?
माइतीघरबाट पाएको प्रजातान्त्रिक संस्कार, शिक्षा र संस्कृतिको उपज हो त्यो। नेपाली कांग्रेसका उम्मेदवार डीके शाहीलाई पराजित गरेर उपाध्यक्ष निर्वाचित भएको थिएँ।

विश्वबन्धु थापा र डा. तुलसी गिरीले कांग्रेसको सदस्यता लिएमा निर्वाचन जिताउने आश्वासन दिएका थिए, तर मैले आफ्नो निष्ठा र आस्थासँग सम्झौता गरिनँ। डा. गिरी र थापाले पछि पनि कांग्रेसमा आउन आग्रह गरेका थिए।

प्रजातन्त्रप्रतिको आस्थाकै कारण संयुक्त राष्ट्रसंघीय महिला आयोगको सदस्यमा पहिलो निर्वाचित नेपाली महिला हुने मौकासमेत प्राप्त भएको थियो। २०१६ सालमा संसद्मा महिलाको तर्फबाट गैरसरकारी विशेष विधेयक पारित गराएँ।

बीपी कोइरालाले मलाई बधाई दिँदै उपाध्यक्षमा राणको विजयी हाम्रो संसदीय प्रजातन्त्र सफल भएको नमुना भन्दै आफ्नो सहयोग र समर्थन निरन्तर रहने उद्घोषसमेत गरेका थिए।

प्रजातान्त्रिक संस्कारको कुरा गर्नुभयो, तपाईंले सोचेजस्तो प्रजातन्त्र छ त नेपालमा ?
छैन। हुने आशा र विश्वास पनि छैन। ०१५ सालमा आम जनतमा पर्याप्त ज्ञान थिएन। यद्यपि राजनीतिक दल र नेतृत्वमा रहेको नैतिकता, इमानदारी र जिम्मेवारी बोध थियो त्यतिबेला।

०४६ सालदेखि अहिलेसम्म प्रजातन्त्रको ज्ञान पर्याप्त भयो, तर राजनीतिक दल र नेतृत्वमा नैतिकता, इमानदारी र जिम्मेवारी बोधको खडेरी भएकाले ०१५ सालमा भएजति पनि उपलब्धि हुन सकेको छैन। मैले मात्र होइन, अहिलेकै नेतृत्वले सोचेजस्तो प्रजातन्त्र छैन मुलुकमा।

०१५ सालमा प्रजातन्त्रले 'टेक अफ' गर्नै पाएन। त्यतिबेलाको संसद्मा सबै कुरा खुला मतदान (उठेको हातको गन्तीका आधारमा) बाट हुन्थो, तर ०४६ यताको संसद्मा आफूअनुकुलका विषय हात उठाएर र प्रतिकुल विषय गोप्य मतदानबाट हुन्छ। प्रजातन्त्र भनेकै खुला कार्य र प्रक्रिया हो भन्ने अहिलेको नेतृत्वले बुझ्नै चाहेन।

अहिले प्रजातन्त्रले 'टेक अफ' गर्न सक्ला ?
०१५ मा सत्तापक्षका बीपी कोइराला र विपक्षी दलका नेता भरतशमशेरको जस्तो सम्बन्ध अहिलेका केपी ओली र शेरबहादुर देउवाबीच हुनुपर्छ। त्यतिबेला नेतृत्व आम जनताप्रति जवाफदेही हुन्थ्यो, तर अहिले पार्टी र पार्टीभित्र पनि आफ्नो गुटगत भ्रष्टाचार र अनियमितताले प्रोत्साहन पाइरहेको अवस्था छ।

त्यसैको परिणाम सत्ता र प्रतिपक्षीबीच राष्ट्रिय एजेन्डामा समेत एकता हुन सकेन। सुरक्षा, आर्थिक र विदेश नीतिमा विश्वका कुनै पनि राष्ट्रमा सत्ता र प्रतिपक्ष भन्ने हुँदैन, तर हाम्रो नेतृत्वले यो विषयलाई किन बुझ्दैन ?

सत्तामा साझेदारीबाहेक अन्य कुनै पनि विषयमा पनि एकता हुँदैन। सत्ता ढाल्न र नेतृत्व लिने परम्परा कायम रहेसम्म प्रजातन्त्रले 'टेक अफ' होइन, ग्राउन्डमै जान सक्दैन। त्यसैले प्रजातन्त्र ग्राउन्डमा गएको पनि छैन।

तपाईंले सोचेजस्तो राजनीतिक परिवर्तन सम्भव छ?
अहिलेको अवस्थाले देखिन्न। त्यस्तो परिवर्तनको लागि नेतृत्वबाट राज्यका हरेक अंग र निकायमा राजनीतिक हस्तक्षेप अन्त्य हुनुपर्छ। आम जनतामा शिक्षा, स्वास्थ्य र सुरक्षाको प्रत्याभूति हुन सक्नुपर्छ।

अहिलेको विकास र प्रगतिको आधार नेतृत्वको सोच र योजनाभन्दा पनि समयको माग बाध्यताको उपज मात्र हो। हाम्रो नेतृत्वले आर्थिक विकासका चर्का कुरा गरे पनि उनीहरूसँग विकासका कुनै योजना नै छैनन्।

राजनीतिक व्यक्तित्वका रूपमा आफूलाई कहाँ देख्नुहुन्छ ?
माथिल्लो सदनमा उपाध्यक्ष रहँदा बीपी कोइरालाको आफूप्रतिको स्नेह र पूर्ण सहयोग, राजा वीरेन्द्रको कार्यकालमा उहाँबाट भएको विश्वास र समयसमयमा भएको परामर्शको कार्यान्वयन, पञ्चायतकालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादर थापाले गरेको विश्वासले आफूलाई राजनीतिक व्यक्तित्वको रूपमा पाएको छु।

मैले पटकपटक राजा वीरेन्द्र र प्रधानमन्त्री थापालाई पञ्चायती व्यवस्थालाई अघि बढाउन भूमिगत गिरोहको छायाबाट बचाउनुपर्ने सुझाव दिइरहन्थेँ। यद्यपि भूमिगत गिरोह सक्रिय भइछोड्यो र पञ्चायत पनि ढल्यो। ०१५ सालको संसद्को कार्यकाल नै मजस्ता राजनीतिकर्मीको लागि सफल रहेको मान्नुपर्छ।

 

यो देशको राष्ट्रिय नेताको स्थान कसलाई दिनुहुन्छ?
संस्थाका रूपमा राजा महेन्द्र र दलगत रूपमा बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, अहिलेका समकालीनमा सूर्यबहादुर थापा नै हुन्। उनीहरूमा दलगत, गुटगत र परिवारभन्दा माथि राष्ट्रिय सोच र जनताप्रतिको उत्तरदायित्व थियो। वर्तमानमा मैले मान्नैपर्ने खालको कुनै त्यस्तो राजनेता छैन, म कसैलाई मान्दिन पनि।

बीपी कोइराला र राजा महेन्द्रको मूल्यांकन कसरी गर्नु हुन्छ ?
बीपी र महेन्द्र देश, जनता र कार्यकर्ताप्रति बफादार नेता हुन्। ती दुई नेताले नेपाली भूमिलाई अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउन कुनै कसर बाँकी राखेनन्। महेन्द्र र बीपी जसले आफ्नो राजनीतिका आधार निर्वाचनमा प्राप्त मतलाई जनताको सम्मान र राष्ट्रको उत्थानको लागि समर्पण गर्न सफल भए। 

संघीयता जति छिटो स्वीकार गर्यो त्यति चाँडो मुलुक विभाजन हुन्छ। यो बाह्य शक्तिको आडमा केही नेताको लोभ र लालचमा भएको राष्ट्रघाती षड्यन्त्रबाहेक केही पनि होइन।


जनमतको उद्देश्य, आफ्नो राजनीति र राज्य सञ्चालनको आधार जनता हो भन्नेमा उनीहरू प्रतिबद्ध रहेकाले आज पनि बीपी र महेन्द्र सच्चा नेताका रूपमा स्थापित छन्। निर्वासन र बन्दी जीवनमा पनि बीपीले राजालाई दिएको सम्मान, सल्लाह र सुझावलाई विश्व राजनीतिमा उदाहरणकै रूपमा लिनुपर्छ।

१९९७ सालमा चार होनाहार युवालाई फाँसी दिइयो, त्यो निर्णय तपाईंकै ससुराबाट भएको थियो। प्रजातान्त्रिक परिवारबाट आएकी बुहारीले त्यो घटनालाई कसरी हेर्नुभएको छ?
त्यतिबेला मेरो विवाह भएको थिएन। श्री ३ जुद्ध शमशेरका छोरा मीनशमशेरसँग मेरो विवाह २००२ सालमा भएको हो। म निर्णयकर्ता हुन्थें भने प्रजातन्त्रको लागि लडेका ती चार योद्धाले फासी पाउने थिएनन्।

नरशमशेरले चार युवालाई गोली ठोक्दा किन आम जनताले बोलेनन् त ? भन्ने प्रश्न मभित्र आज पनि विद्रोहको प्रश्नको रूपमा उठिरहेको छ। त्यो निर्णयले राणाशासन कमजोर मात्र बनेन, अन्त्यको संकेत पनि गरेको थियो।

फासी दिने कायर थिए भने पाउनेवाला बलवान्। उनीहरूले माफीसम्म मागेनन्। एकपटक होइन, पटकपटक फाँसी पाएको कुरा धर्मभक्त माथेमा इतिहासका साक्षी छन्। गंगालाल श्रेष्ठ त १६ वर्ष पनि पुगेका थिए कि थिएनन्।

देश संघीयतामा गएको छ। यसबारे तपाईंको दृष्टिकोण के हो ?
संघीयता जति छिटो स्वीकार गर्यो त्यति चाँडो मुलुक विभाजन हुन्छ। यो बाह्य शक्तिको आडमा केही नेताको लोभ र लालचमा भएको राष्ट्रघाती षड्यन्त्रबाहेक केही पनि होइन।

हाम्रोजस्तो बहुभाषिक, जातजातीय, धर्म, संस्कृति र संस्कार भएको मलुकले संघीयता धान्न र थेग्नै सक्दैन। संघीयतालाई आफूले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रतिको अवमूल्यनका रूपमा लिएकी छु।

धर्म निरपेक्षताबारे कुनै टीकाटिप्पणी छ ?
सृष्टिदेखि अहिलेसम्म चलिआएको हिन्दु धर्मको विकल्प धर्म निरपेक्षता हुनै सक्दैन। हिन्दु धर्मकै बीचमा क्रिश्चियन, बौद्ध, मुस्लिमलगायतका धर्मले पनि उच्च स्थान पाएकै थिए। गणतन्त्रका नाममा हिन्दुविरुद्ध धर्म निरपेक्षता र संघीयता जसरी आयो, त्यसको उद्देश्य यो राष्ट्रको विभाजनभन्दा अरू केही होइन।

संसारमा सूर्य नअस्ताउने राष्ट्र बेलायत हुँदा पनि उसको साम्राज्य नेपालमा रहेन। सायद आजको परिवर्तनको बाहक भन्नेहरूले यो सार्वभौम मुलुकको विभाजनको हिमायती बन्न धर्म निरपेक्षता र संघीयताको समर्थक बन्न पुगे कि ? त्यसैले त्यतिबेला बीपी, पुष्पलाल र राजा महेन्द्रबीच एकता हुन्थ्यो भने आज प्रजातन्त्रका नाममा देश बर्बाद हुँदैनथ्यो। मुलुकले नुनदेखि सुनसम्मको आयात होइन, निर्यात गथ्यो।

राजतन्त्र पुनर्बहालीको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चलेका प्रयास कत्तिको सार्थक हुन सक्ला ?
जनताको विद्रोहमा गएको राजतन्त्र फर्केलाजस्तो लग्दैन। राजतन्त्र पुनर्बहाली हुनुपर्छ भन्ने मेरो धारणा पनि छैन। बेलायतमा राजतन्त्र फर्केको उदाहरण यहाँं मिल्दैन।

बेलायतको राजतन्त्रमा अनुशासन थियो। राजा वीरेन्द्रको वंश विनाशकै प्रतिफल राजसंस्था अन्त्य भएकाले राजतन्त्रको पुनर्बहाली ज्ञानेन्द्रबाट सम्भव छैन। अब राष्ट्र प्रमुख जनताका छोराछोरी नै हुने हो। जनताको शासन जनताले नै गर्नु प्रजातन्त्रको मूल मर्म र भावना पनि हो।

तपाईंलाई पञ्चायतकालमा मण्डले सञ्चालन गरेको आरोप छ नि ?
यो पूर्ण असत्य कुरा हो। म पञ्चायतकालमा महिला संगठनबाट प्रतिस्पर्धा गरेर राष्ट्रिय पञ्चायत सदस्य भएको थिएँ।

मैले मण्डले सञ्चालन गरेको होइन, राजा वीरेन्द्र विश्वकै भलाद्मी र अरूको कुरालाई राज्य सञ्चालनको मापदण्ड बनाउने व्यक्तित्व भएकाले मैले पटकपटकको दर्शन भेटमा भन्थें, 'सरकार, पञ्चायतमा भूमिगत गिरोहको छाया परे यसको अन्त्य हुन्छ।'

आखिर मैले जे भनें, त्यही भयो। त्यसैले न म मण्डले भएँ न मण्डले सञ्चालक नै। पञ्चायतपछि म सूर्यबहादर थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीमा सहभागी भएँ।

राणाकालदेखिको संघर्षशील महिला नेतृका रूपमा आफूलाई पाउँदा कत्तिको गौरव महसुस गर्नुभएको छ ?
राणाकालदेखिको संघर्षशील महिला नेतृमा पुण्यप्रभा ढुंगाना, मंगलादेवी सिंह, साधना अधिकारी, साहना प्रधानपछि आफू रहेकोमा गौरव महसुस भएको छ।

विद्यमान नेतृत्वले के भन्छ भन्दा पनि मेरो समकालीन नेतृत्व र इतिहासले मलाई नेतृ बनाएकोमा म गौरव गर्छु। त्यसैले प्रजातन्त्रको लागि मेरो भूमिका कम छैन र रहँदैन।

तपाईं राजा वीरेन्द्रबाट बढी प्रभावित हुनुको कारण ?
उनी जनताका राजा थिए, अन्तर्राष्ट्रिय जगत्को राजा थिए। नेपालको कूटनीतिक सम्बन्ध विस्तार, शान्ति क्षेत्रको प्रस्ताव विश्वकै लागि अनुकरणीय रहेको छ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन गठनको लागि उनले खेलेको भूमिका र अन्तर्राष्ट्रिय मञ्चमा उनको सहभागिता नेपालको कूटनीतिक विस्तारको लागि महत्वपूर्ण उपलब्धि हो। शान्ति क्षेत्रको प्रस्तावलाई नरुचाउनेले विनाशकारी भूकम्पको मारमा परेको बेला भारतले थोपरेको सातमहिने नाकाबन्दीबाट त पाठ सिके, पढे होलान्।

अन्त्यमा केही भन्नु छ कि?
एउटा राजनीतिक कार्यकर्ताको सन्देश हुँदैन, उद्देश्य हुन्छ। त्यो भनेको यो मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउन आम राजनीतिक दल, त्यसको नेतृत्व र कार्यकर्ताबीच एकाकार हुनैपर्छ।

संघीयता जति छिटो स्वीकार गर्यो त्यति चाँडो मुलुक विभाजन हुन्छ। यो बाह्य शक्तिको आडमा केही नेताको लोभ र लालचमा भएको राष्ट्रघाती षड्यन्त्रबाहेक केही पनि होइन। हाम्रोजस्तो बहुभाषिक, जातजातीय, धर्म, संस्कृति र संस्कार भएको मलुकले संघीयता धान्न र थेग्नै सक्दैन।

हिन्दु धर्मकै बीचमा क्रिश्चियन, बौद्ध, मुस्लिमलगायतका धर्मले पनि उच्च स्थान पाएकै थिए। गणतन्त्रका नाममा हिन्दुविरुद्ध धर्म निरपेक्षता र संघीयता जसरी आयो, त्यसको उद्देश्य यो राष्ट्रको विभाजनभन्दा अरू केही होइन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.