'प्रेम र विवाह मेरो प्राथमिकतामा छैन'

'प्रेम र विवाह मेरो प्राथमिकतामा छैन'

१२ वर्षको उमेरमा बलराम कोइरालाको शब्द एवं बुबा जिवेश राईको संगीतमा पहिलो पटक 'हिमालको काख' बोलको गीत रेकर्ड गर्दा मेलिना राईले जुन जादुगरी स्वर पस्किन् त्यतिखेरै धेरैले उनी सफल गायिका बन्ने लख काटेका थिए।

'विहानले दिनको झल्को दिन्छ' भनेझै संगीत बुझ्नेहरुको त्यो अनुमानलाई मेलिनाले अहिले सत्य सावित गरिदिएकी छन्। उनी चलचित्र 'नाई नभन्नु ल ३' मा समेटिएको 'कम्बरमाथी पटुकी पटुकी माथी घैला' बोलको गीतबाट चम्किएकी हुन्। सो गीत श्रोता दर्शकमाझ आएपछि उनको गायन करियरले नयाँ मोड लिएको छ।

घरको सांगीतिक वातावरण र आफ्नो रुचीका कारण गायनभन्दा अन्य कुरा उनले कहिल्यै कल्पना गरिनन्। भाग्य र समयले साथ दिएकाले उनको मेहनत सार्थक भयो। छोटो समयमै आफुलाई सफल गायिकाका रुपमा उभ्याउन सफल भइन।

'मैले बुबाबाट सांगीतिक ज्ञान हासिल गरेकी हुँ। उहाँको गाइडेन्सका कारण संगीतभन्दा अन्य कुरा सोच्नै परेन', मेलिना भन्छिन, 'राम्रा प्रोजेक्टका गीत गाउन पाएँ। श्रोत दर्शकले मेरो स्वर रुचाएकाले म अहिले यो स्थानसम्म आइपुगेकी हुँ।'

मेलिनाको विचारमा 'संगीत कलाको पनि कला' हो। नेपालमात्रै होइन विश्वमै यसको ठुलो स्कोप छ। 'तर अहिले गीत सुन्नेमात्रै होइन हेर्ने पनि समय आएकाले स्टेज प्रस्तुती, बढी ल्याङग्वेज, एक्स्प्रेसन सबै कुरामा दखल हुन जरुरी छ', उनी भन्छिन।

सांगीतिक कार्यक्रमको शिलशिलामा बेल्जियम, नेदरल्यान्ण्ड, स्विजरल्याण्ड, जमर्नी, बेलायत, दक्षिण कोरिया, हङकङ, इजरायल, मलेसियालगायत विभिन्न मुलुक पुगिसकेकी उनलाई सात समुद्र पारी आफ्ना गीत मन पराउने हजारौं फ्यान पाउँदा अत्यन्तै खुसी लाग्छ। 'यो संगीतको शक्ति हो', उनको भनाई छ।

 

दार्जेलिङमा जन्मेकी मेलिनाको पुख्यौली घर खोटाङ हो। तर उनी काठमाडौंमै हुर्केकी हुन। अरुण ज्योती विद्यामन्दिर जोरबाटीबाट एसएलसी गरेकी उनले मानविकी संकायबाट स्नातक पुरा गरेकी छन्।

लगभग दुई सय गीतमा स्वर दिइसकेकी मेलिनाले नाई नभन्नु ल ३, हाउ फन्नी, नोभेम्बर रेन, पुन्टे परेड, नाइके, क्लासिकलगायत दुई दर्जन बढी चलचित्रमा पाश्र्व गाइसकेकी छन। उनले गाएको कम्बर माथी पटुकी, शिरैमा शिरबन्दी, पलभरमै खुसी, डुब्दै गएँ म, लोभी भमरा, सुनौलो हर दिन, प्रकृतीको सुन्दर सृष्टिजस्ता गीत श्रोता दर्शकले निकै रुचाएका छन।

मेलिना जति सुन्दर छिन त्यतिकै शालिन पनि। गीतसँगै उनको रुपको चर्चा पनि उत्तिकै हुन्छ। तर रुपको चर्चा उनलाई मन पर्दैन। 'रुप बैंस हुन्जेलमात्रै हो। त्यसैले म फ्यानहरुलाई मेरो रुप होइन गायनका बारेमा प्रतिकृया दिन अनुरोध गर्छु। ताकी मेरा कम्जोरीहरु सुधार्न सकुँ', उनी अनुरोध गर्छिन।

मेलिनालाई मन पराउने, माया एवं विवाह गर्न चाहनेको संख्या कम छैन। फ्यानहरुले अनेकन शैलीमा प्रस्ताव गरिरहेका हुन्छन्। तर प्रेम एवं विवाह उनको प्राथमिकतामा छैन।

'अहिलेको मेरो उमेरमा विवाह गर्नुपर्छ भन्ने मान्यता नेपाली समाजबाट हटिसक्यो', विवाह बारे उनी भन्छिन, 'जीवनको कुनै कालखण्डमा विवाह त गर्नै पर्छ तर अहिले हतार छैन। करियरका लागि धेरै काम गर्न बाँकी छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.