नेपाली संगीत अब विश्वले सुन्छ
गायक विपुल छेत्रीसँग कवि राजा पुनियानीले गरेको अन्तर्वार्ता प्रस्तुत छ :
‘वाइल्डफायर’ कुनै नेपाली ट्राइबको लोकधुनबाट प्रभावित छ ?
–होइन । यो गीत सुरु गर्नुअघि मसँग मेरो दिमागमा गिटारको एउटा धुनमात्रै थियो । यसरी कुनै कुरासँग नाता नगाँसीकन यो गीत बनेको हो ।
‘नेपथ्य’ ब्यान्ड र विपुलको साउन्डमा तात्विक फरक के छ ?
–‘नेपथ्य’ नेपाली संगीतको लिजेन्ड हो । म उनीहरूको संगीतलाई निकै सम्मान गर्छु । उनीहरूसँग कुनै दिन भेट्नु मेरो लागि गर्वको विषय हुनेछ । र, जस्तो कि मैलै अघि नै भनेँ, मेरो संगीत कसैसँग तुलना गर्नु मेरो अख्तियारमा छैन । यसो गर्नु उचित पनि होइन मेरो पक्षमा । प्रत्येकको आफ्नै छुट्टै शैली र स्पेस छ ।
गिटारमा तपाईंको अन्तर्राष्ट्रिय ख्याति मानिन्छ । कसैकसैले तपाईंलाई ‘जिब्रो टोकेर गाउने’ गायक पनि भन्छन् । के छ स्पष्टीकरण ?
–‘कसैले भन्छन्’ भनेको मैले बुझिनँ । प्रत्येक गायकको आफ्नै प्राकृतिक उच्चारण हुन्छ, जुन उसको हुर्केको स्थानमा निर्भर हुन्छ ।
गीत र विचार एकअर्कासँग कति नजिक वा टाढा छन् ? के गीत विचारबिना सम्भव छ ?
–मेरो लागि गीत विचारबाटै बनिने थोक हो । यो एउटा नांगो सत्य हो ।
के बजारबिना गीत बाँच्न सक्छ ?
–अवश्यै पनि । कसैले पनि बजारको उपस्थितिबिना पनि गीत बनाउन सक्छ । तर, संगीतलाई नै करिअर बनाउने हो भनेचाहिँ बाँच्नलाई आफ्नै बजार बनाउन जरुरी हुन्छ । नत्र भान्साघरको चुला कसरी बालिरहन सकिएला ?
गीतमा न्यारेसनमात्र जरुरी भएकाले हो कि तपाईंको गीतले न्यारेसन गर्छ, कमेन्ट गर्दैन । तर, पिट सिगर, साइमन, डाइलन लिनुहोस् वा रक जेनरका गीत— सबैले चर्को आवाजमा सोसियल कन्सर्नका गीत दिएका छन् । विपुलले किन सरोकारका गीत दिएन जब कि दार्जिलिङको आफ्नै ऐतिहासिक राजनीतिक समस्या थुप्रै छन् ?
–यी महान् कलाकार हुन् जसमध्ये कोहीकोही प्रतिवाद गीतका लागि चिनिन्छन् । तर बब डाइलन आफैंले एकपल्ट भनेका थिए, ‘म अबदेखि जनताका लागि गीत लेख्न चाहँदिनँ । म अब प्रवक्ता हुन चाहन्नँ । अब मभित्रैबाट केही लेख्न चाहन्छु । म यो आन्दोलनको हिस्सा होइन । म कुनै संगठनको अंश पनि होइन ।’ संगीत के राजनीतिक हुनैपर्छ र ? केवल खुसी, दुःख वा यादका गीतमात्र भए चल्दैन र ? त्यो काम त धेरै राम्रा संगीतकारले पहिल्यैदेखि गर्दै आएकै हुन् नि । म कुनै समाज सुधारक वा त्यसमा प्रभाव पार्ने गायक होइन ।
बब डाइलनको गायनबाट प्रभावित देखिनुहुन्छ नि ?
–डाइलन पुस्ता, दरपुस्ताले संगीतकारहरूलाई निक्कै प्रभावित गरेका हुन् । म यसबाट बाहिर छैन ।
तपाईंको गीतमा नेपाली लोकधुनलगायत विश्वका कुनकुन जेनरको धुन लय र ताल परेका छन् ?
– म धेरै किसिमका ध्वनिबाट प्रभावित छु । त्यो लोक, अफ्रिकेली, क्युबेली, ल्याटिन, बोस्सा नोभा, पप, रक, ज्याज र ब्लुज... जेजस्तो होस् । त्यसैले मेरा गीतमा यस्ता संगीतका धेरै थोक पस्न पुगेका होलान् । सुन्नेले फरक धारणा राख्न सक्छन् ।
तपाईंको गीत नेपालमा पनि खुब चल्दो रैछ । भारतका नेपाली संगीतकार र गायकहरू नेपाल पसेरै करिअर बनाउनुपर्ने बाध्यताबाट तपाईं मुक्त देखिनुहुन्छ। के नेपाली संगीतका लागि भारतमा स्पेस बनाउन गाह्रै छ त ? बनाइए पनि कति समय अझ लाग्ला ? के के गर्नुपर्ला यसका लागि ?
–बलिउडमा नगाएसम्म भारतमा ठूलै केही गर्नु गाह्रो छ । नेपालीमात्र नभएर कुनै पनि क्षेत्रीय भाषाको संगीतले आफ्नै स्पेस बनाउनु समस्याको विषय हो । त्यसैले छुट्टै स्पेस बनाउने प्रक्रिया कति लामो हुनसक्छ, भनिहाल्न सकिँदैन । स्वतन्त्र संगीतकारका रूपमा हामी बामे सरिरहेका भए पनि हामीले आफ्नो उपस्थिति दर्ता गराइसकेका चाहिँ हौं ।
नेपाली संगीतलाई विश्व संगीतमा कसरी लोकेट गर्नुहुन्छ ?
–नेपाली संगीत विश्व संगीतमा अरू कुनै पनि संगीतजत्तिकै राम्रो हो । बितेका दिनमा यो आफ्नो समुदाय र सिमानादेखि बाहिर जान उति सकिरहेको छैन। तर मलाई लाग्छ, बिस्तार ट्रेन्ड फेरिँदैछ । नेपालीभाषी संगीतकारहरू विश्वका विभिन्न देशमा गएर विभिन्न संगीत उत्सवहरूमा पर्फर्म गरिरहेका छन् । त्यसैले अब नेपाली संगीतलाई पनि विश्वले सुन्दैछ ।
नेपाली संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा लैजाने कुनै योजना छ कि ?
–नेपाली संगीतलाई कतै लैजान मैले नै काम गर्नुपर्ने कुनै दावा मसँग छैन । मैले गर्नसक्ने भनेको आफूले बनाउनसक्ने संगीत सिर्जना गरिरहनु हो । संगीतलाई आफैं अघि बढ्न दिनुपर्छ ।