विपुलको चेंगेचेँगे

विपुलको चेंगेचेँगे

-राजा पुनियानी

पोखरा। सपनाजस्तै सहर। एकल कविताका लागि आइपुगेको छु। रातभरि आफ्नो मोटर हाँकेर आइपुगेका छन् सिलगढीका दावा बम्जन दाइ। निद्राको तुस छैन आँखामा उनको। भने, ‘त्यो मोटरको गीत चलाऊँ।' मोटरको कुन गीत ? मोटरको एक-एक गीत दोहोयाएँ। यो ? भनेर सोध्यो। होइन। यो त ? सोध्यो। होइन नै।

मूलबाटो किनार ठिंग उभिएको होटलको कौसीमा छौं हामी। ढसमस्स बिसाएका। सुरुप सुुरुप चिया-खाजा खाँदै। आयोजक प्रकाश ज्ञवाली र दीपक समीप सुटुक्क भेट्न आएका।

मैले उदेकिएर सोधेँ, ‘कुन मोटरको गीत त हौ ? '

दीपक बोले, ‘विपुल छेत्री क्या त हौ। दार्जिलिङे हुन् नि। उनको गीत छ नि त्यो ‘तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर' भन्ने।' भर्खरै रिलिज भएको विपुलको सिंगल सिन्डिकेटको जिकिर रैछ। ‘एता त खूब चलेको छ नि हौ विपुलको गीत', थप्छन् दीपक दाइ।

एक दिन एक पोलिटिकल दाइले भने, ‘भाइ खतरा गीत आएको छ है साउन्डक्लाउडमा। वाइल्डफायर। सुन त।'

पोलिटिकल मान्छेले दिएको संगीतको रेफेरेन्सलाई बेवास्ता गर्ने मन भएन। घर पुगेर हतारहतार नेट खोतलेँ। वाइल्डफायर सुनेँ। छक्क परेँ। हैट, कस्तो गीत। कसरी गाएको। कसरी बजाएको। कसरी कम्पोज गरेको। यार विपुल ! गिटारको चेंगेचेंगेचेंगेचेंगे।।। ले डँढेलो सल्केको चित्र कोरिदिने। डँढेलोको संगीतस्केच।

डँढेलोको यही गीतसँगै विपुल भर्चुअल संसारमा सल्किए डँडेलोझैं।

बंगला संगीतलाई केस-स्टडी लिएर विपुल छेत्री फेनोमेना बुझ्न मद्दत पाउन सकिन्छ।
एउटा नयाँ क्रान्ति थियो ‘भूमि'। बंगला रक निकै माथिल्लो तहको हो भारतमा। सन् १९६० को दशकमा ‘मोहिनेर घोडागुली'बाट थालिएको रक परम्परा ‘परस पाथर', ‘फोसिल्स', ‘क्याक्टस', ‘चन्द्रबिन्दु'सम्म आएर अड्किन जान्छ। यो थियो बंगला संगीतको संकट। जुन संकट पछिल्लो समयको नेपाली संगीतजगत्मा छाएको सबिन राई, नवीन भट्टराई, सुरेश कुमार, उदय-मनिलाहरूको पप बाढीपछिको सुनसान हो।

पहिलो गीत ‘साउन्डक्लाउड'बाट यात्रा थालेका विपुल छेत्रीको पहुँच अहिले पनि अंग्रेजीमैत्री क्रिमी लेयरको युवा जमातमा मात्रै हो। गाउँबस्तीमा विपुललाई सुन्ने विरलै छन्। अझ पुराना र अधबैंसे कतिपय संगीतकारसम्मले विपुललाई सुनेका छैनन्। विपुल सुन्न इन्टरनेटमैत्री हुन जरुरी छ।


भूमि एउटा नयाँ टेस्ट थियो अब। भूमिको क्रान्ति भनेकै भावाइया, बाउलजस्ता बंगला फोक फर्महरूलाई पश्चिमी रकसँग फ्युज गराउनु थियो।

यो घडी ‘भूमि' सेलाए पनि सुरुसुरुमा ‘भूमि' पुरानै लोक र रकको मिलनबाट जन्मिएको छुट्टै नयाँ खाले ध्वनि थियो। ‘भूमि'ले खनिदिएको बाटो भएर केही नयाँ समूह नयाँ संगीत लिएर आए।

विपुल यस अर्थमा नेपाली-भूमि हुन् नेपाली संगीतको सन्दर्भमा।

आधुनिक गीत, सुगम संगीत र नेपाली-पप न फिल्मी घेरोबाट मुक्त हुन सके, न इन्डी-पपको प्रभावबाट। नातिकाजी, झलकमान गन्धर्वहरूको विरासतलाई पछ्याउँदै लोकगीतको सम्भावनालाई अझ उकास्न उत्खनन् र उन्नति उस्तो भएन। एकरसताको रोगले ग्रस्त गजल र लोकदोहोरीहरू कोकजस्तै खायो, भुल्योको अवस्था। यस्तोमा रक र फोकको ब्लेन्डिङले नेपाली संगीत सुनकहरूलाई राहत दिएको छ।

थुप्रै अर्थ-सामाजिक, सामाजिक-राजनीतिक उथलपुथलले उल्लिबिल्ली भएको मुलुक नेपाल। पुरानोबाट वाक्कदिक्क। सधैं नयाँ चीजको तिर्खामा। नेपालजस्तो मुलुकले कि समात्छ कि फ्याँक्छ। युरोपजस्तै हो लगभग। दुईदुईवटा विश्वयुद्ध र हजारौं खुद्रा युद्धहरू सँगसँगै सामाजिक उभारहरू, औद्योगिक विप्लव, कला विप्लवहरू ठाडै भोगेको युरोपकै हाराहारी हो नेपालको केस। विपुल छेत्री नयाँ टेस्ट थिए। अँगाल्यो नेपालले। दार्जिलिङको यो नौलो फ्लेभरले नेपालको बहुमुखी संगीत बजारमा स्पेस बनाउनु आफैंमा एउटा घटना हो।

विपुल छेत्रीको आवाज रियाजी नभए पनि उनको जेनरका लागि फिट छ भन्छन् दार्जिलिङका प्रतिष्ठित संगीतकार जीवनप्रकाश प्रधान। विपुलको गीतलाई उनी टिम्बुरको अचारसँग पिज्जा खाएझैं हो भन्छन्। नेपाली सुनकलाई नयाँ साउन्डको स्वाद चखाउने चुनौतीलाई फत्ते गरेका विपुल भारत-नेपालबीच पुल नै साबित भएका हुन्।

रामसाइँलीको अधुरो कहानी
सन् १९५० को दशकमा दार्जिलिङमा अम्बर गुरुङ ‘आर्ट एकाडेमी' खोल्छन्। खरसाङमा सन् १९६० को दशकमा ‘बहार एकाडमी' खोल्छन् नीरेन्द्रमोहन छेत्री। नीरेन्द्र निपुण थिए संगीतमा। जीवनको पछिल्लो भाग हङकङमा ‘चेकर्स' ब्यान्ड खोलेर बिताए। उनकै प्रतिभा विरासतमा पाए छोरा विपुलले। नीरेन्द्रले अधुरो छाडेको गीत ‘रामसाइँली' छोरा विपुलले पूरा गरे। रामसाइँलीको लोक फ्लेभरले लट्ठ मताउँछ।

तेस्रो कक्षामा हुँदै बब मार्लेको बफेलो सोल्जर्स गाएर स्कुलमा हिट भएका विपुल छेत्री। सबैसँग मिल्नेजुल्ने मिलनसार स्वभावका। कालेबुङ सेन्ट अगस्टिन्सका छात्र। दसौं कक्षा तरेपछि विज्ञान लिएर पढे। अन्तरविद्यालय रक फेस्टहरू स्कुलका लागि जितिल्याउने। दिल्लीको वसन्त भ्याली स्कुलमा कला निकायमा शिक्षकको जागिर खाएको झन्डै डेढ दशक भएको। स्कुले प्रेमिकासँगै घरजम गरेका।


विपुलको आवाज रियाजी नभए पनि उनको जेनरको लागि फिट छ। उनको गीत टिम्बुरको अचारसँग पिज्जा खाएझैं हो। नेपाली सुनकलाई नयाँ साउन्डको स्वाद चखाउने चुनौतीलाई फत्ते गरेका विपुल भारत-नेपालबीच पुल नै साबित भएका हुन्।

स्कुलमा एक कक्षा जुनियर निशान्त सुब्बा पछि दिल्लीमा पनि एकसाथ थिए। सुब्बा भन्छन्, ‘विपुल सबैसँग घुलमिल भइहाल्छन्। दिल्ली बसाइमा भेट भइरहने।' उतै विपुलको बिहे पनि खाएका थिए उनले। ‘रामलाइँली' विपुलले गाइरहने गीत थियो। उनी थप्छन्, ‘बैठकीतिर रामसाइँली गीत गाउन साथीभाइहरूको फर्माइस भइरहने। उनी गाइदिइहाल्ने। उनको पहिलो एल्बम ‘स्केचेस अफ दार्जिलिङ'का चलेका गीतहरूमध्ये एक। रामसाइँली उनका बाबाको अपूरो गीत। शब्दहरू डल्लै याद नरहेकोले इम्प्रोभाइज गरेर एल्बममा बाबालाई समर्पित गरेको गीत।'

फ्युजनको केमिस्ट्री
लोकलाई फ्युज गरिनुको कुनै खास अर्थ-सामाजिक कारण रहेकै हुन्छ। सोझै काँचो संगीत किन होइन त ?  नेपालमा राणा शासनको अन्त्यपछि गणतान्त्रिक प्रक्रियाकै एउटा हिस्सास्वरूप पश्चिमा संगीत रेडियोको माध्यमबाट घुसेको हो। भारतमा ब्रिटिस शासनको प्रतिफल हो अंग्रेजी धुनको जगजगी।

लोकसंगीतको गुण मान्छेले बुझ्न जरुरी छ। लोकले हाम्रो संस्कृति बुझ्न सघाउँछ। हामी धेरजसो नै पश्चिमको अनुकरण गर्छौं तर लोकसंगीतमा नै हाम्रो जरा छ। विपुलले एउटा अन्तर्वार्तामा भनेका छन्— उनले लहडमा लोक छानेका होइनन्, उनको सामाजिक सरोकारले यसो गराएको हो।

हुँदाहुँदै पनि लोकसंगीतलाई उभिन पश्चिमी अडेसो चाहियो। किनभने बजारमा अब अमेरिका छ। एमटीभी छ। सारंगीमा पहिलेका झलकमान गन्धर्वले लोकलय घन्काए। गिटारमा यसैले अहिलेका विपुलहरू छन्।

विपुल भन्छन्, ‘संगीत आत्मनिष्ठ छ। प्रत्येकसँग यसलाई लिएर आ-आफ्नै अडान हुने गर्छ। तपाईंले जेलाई काँचो भन्नुहुँदैछ त्यो अरू कसैका लागि परिपक्व पनि हुनसक्छ।'

फोक र रकलाई ब्लेन्डिङ गर्नुमा ‘नेपथ्य' जत्तिको काम कमैले मात्र गरेको ठोकुवा गर्छन् संगीत जानिफकार सञ्जय प्रधान। ‘नाइन्टिन सेभेन्टी फोर एडी'ले कोसिस गरेको हो। ‘अभया एन्ड स्टिम इञ्जन्स'को ‘तिम्रै लागि' यस दिशाको गतिलो नमुना हो। अभया सुब्बाको पश्चिमा टेक्स्चरको आवाज र नेपाली लोकबाजा मादलको ठेट प्रयोग आफैंमा अद्भुत सांगीतिक आयोजन लाग्छ। विविध नेपाली जनजातीय धुनहरूलाई लोकबाजामा प्रयोग गर्ने ब्यान्ड हो ‘कुटुम्ब', जसले विश्वमञ्च थर्काएको छ। नेपालको ताजा फेनोमेना ब्यान्ड हो ‘नाइट'। नाइटको लोक-रक फ्युजनले नेपाली भाषा नै नजान्ने सुनकलाई पनि नेपाली संगीतले मोहनी लगाइदिन सक्दो हो। लोकबाजा बाँसुरी, मुर्चुंगा, बिनायो, मादलको ठर्रा प्रयोग जब नाइटको पश्चिमी धुनमा घोलिन्छ तब तयार हुन्छ विश्वस्तरीय उच्चकोटिको संगीत।

फ्युजनको अर्को कारण हुनसक्छ— सुरेश कुमार, सबिन राई, नवीन भट्टराईहरूको पप राजपछिको सुनसान। यो सुनसानलाई ताजा सम्बोधन हो नाइट, कुटुम्ब र विपुलहरूको फ्युजन।

विपुल-क्रेजको तानाबाना
विपुल छेत्रीको पपुलारिटी तर के साँच्चै त्यही लोक जीवनमा पुग्न सकेको छ, जसको जीवनको सांगीतिक बयान उनको गीत हो ?       आफ्नो पहिलो गीत नै साउन्डक्लाउडबाट थाल्ने विपुलको पहुँच अहिले पनि अंग्रेजी-मैत्री क्रिमी लेयरको युवा जमातमा हो। गाउँबस्तीमा विपुललाई सुन्ने विरलै छन्। अझ पुराना र अधबैंसे कतिपय संगीतकारसम्मले विपुललाई सुनेका छैनन्। विपुल सुन्न इन्टरनेटमैत्री हुन जरुरी छ। हुन त जसरी क्यासेट हरायो त्यसरी नै सीडी पनि हराउने हो। तरै पनि गीतले बस्ती, गाउँ, मोफसलमा छाउन सीडी र रेडियोकै खुट्टा टेक्ने युग छ। इन्टरनेट चलाउने जन प्रतिशत विश्वमै ४० प्रतिशतमात्र हो। नेपालमा ४० र भारतमा ३४ प्रतिशत इन्टरनेट युजर छन्। यिनमा पनि सबैले गीत सुन्दैनन्।

अर्थात्, विपुलको क्रेज भनेको एक किसिमले भर्चुअल हल्ला पनि हो। पश्चिमा धुन क्रेजी सहरे युवामा मात्र सीमित विपुल खासमै लोकजीवनमा छाउन अझ केही मेहनत र अझ केही समयको खिप्ती गर्नुपर्ने देखिन्छ।       

विपुलको ‘असारको धुन' बलिउडले चोरेको खबर अहिले भाइरल छ। ‘है अपना दिल तो आवारा'का संगीत निर्देशक अजय सिंहाले विपुलको असारलाई हुबहु हिन्दीमा हालेका छन्। भनिन्छ, भारतको संगीतजगत्को मापक बलिउड हो। विपुलको धुन बलिउडले चोर्नु नै उनको क्षमताको जाँच उनले फत्ते गर्नु।

कपिक्याट दार्जिलिङमाझ मौलिक
सन् १९६० को पछिल्लो भाग। दार्जिलिङमा रस्टिक नेल्स, फर्बिडन फ्रुट्सहरूदेखि सुरु हुन्छ रक परम्परा। समस्या देखियो— उनीहरूको र अहिलेका तमाम रक ब्यान्डहरूको आफ्नो खाँट्टी क्रिएसन कम र पश्चिमी रक ब्यान्डहरूको अनुकरण बढी। यी ब्यान्डहरू केही समय सुनेपछि बोर लाग्नु स्वाभाविक हुने नै भयो। सोझै पश्चिमी अंग्रेजी ब्यान्डहरू सुन्ने रकमैत्री दार्जिलिङे       श्रोता र संगीतार्थीहरूका लागि दार्जिलिङका बर्खे च्याउझैं बिटिटी पलाउने लोकल ब्यान्डहरूले खास र अलग केही दिएको महसुस भएन। यस्तोमा त्यो भ्याकुअम लोकल फ्लेभर र लोकलयका गीतहरूले पनि उस्तो गरी भर्न सकेको देखिएको होइन।

र पनि भ्याकुअम त रही नै रह्यो। यताकै खास टेस्ट जन्मनै सकेन। यताका एड्रियन, उदय-मनिला, कुन्ती मोक्तान, अभयाहरू नेपाल पसे। अहिले बानिका र पुष्पण छन्। भारत लगभग रित्तै। ओरिजिनल दार्जिलिङे नेपाली संगीतको अभाव टड्कारो भइरह्यो।

संगीत कतैको प्योर हुँदैन। लोकल फ्लेभरमा वरिपरि उफ्रँदै गरेका लवज, लय र भाका टिपेर संगीतकारले कतैको संगीत निर्माण गर्ने हो। संगीतको भूगोल भनेको त्यसले भाक्ने कुनै भूगोलविशेषको इतिहास पनि हो। यो काम यताको संगीतले यदाकदा गरे पनि ठोस भएन। गोपाल योञ्जनको काम चहकिलो देखिए पनि त्यो धरोहर थाम्ने धरहरा उभिएन।       

यो भ्याकुममा देखा परेका हुन् विपुल।
कवि लेखनाथ छेत्रीले केही रक श्रोताहरूसँग बातचित गर्दा फेला पारेको थ्योरी पनि यही रैछ। ‘विपुलले दार्जिलिङे वेस्टर्न कपीक्याटहरूबाट वाक्क भएका श्रोताहरूको मनमा ठाउँ पाउनुको कारण उनको ताजा प्रेजेन्टेसन नै हो', लेखनाथ भन्छन्।

विपुलको रचनागर्भ
विपुलको पहिलो गीत वाइल्डफायरले उनको सपनाको पागलपनलाई चित्रित गरेको बताउँछन्। यो गीत दार्जिलिङे पहाडहरूको जंगलमा सुक्खा मौसममा लाग्ने डँढेलोबाट प्रेरित रहेको हो। प्रायः गीतमा विपुल झ्याउरेको मुड तान्छन्। पहाडका युवाहरू एकै शैलीमा हुर्कने गरेको प्रवृत्ति उनको गीतको सामान्यता हो। यिनका गीतसँग समकालीन युवाहरूले आफूलाई जोड्न सकेको कारण पनि यही हो भन्छन् विपुल।

माउन्टेन हाईमा उनको आत्मिक पहाडको तत्व रहेको जनाउँछन्। प्रेमका पहाडहरूको गुम्फनमा यो गीत रचेका छन्। ‘नेपथ्य'बाट विपुल प्रभावित छन्। यिनको माउन्टेन हाई गीत नेपथ्यको रेशम गीतको सुरुको बिट र नोटमा मेल पाइन्छ।

यिनका गीतहरू आफ्नो घरदेखि टाढा रहेका मान्छेको नस्टल्जियाका रचना हुन्। दार्जिलिङ घर भएको हुँदा दार्जिलिङ नै यिनको गीतमा पहाड, असार, रेलगाडी, सिन्डिकेट, डँढेलो भएर घरिघरि देखा पर्छ।

‘रामसाइँली' सहर पसेको मान्छेको आफ्नो छाडिएको गाउँ र मायाको मार्मिक बखान हो। यो संवेदनालाई विपुलले न्याय गरेका छन्। विपुल भन्छन्, ‘म आमकालेबुङे, दार्जिलिङे हुँ। त्यसैले म जुन ठाउँमा हुर्किएँ, त्यही ठाउँको फिलमा मात्र गीत रच्न सक्छु। आफ्नो माटोबाट टाढा कुनै ठूलो सहरमा रहँदाबस्दा पछि छाडिएको सरल जीवनको सम्झना हुने गर्दो रहेछ। घरबाहिर घरलाई मिस गरिँदो रहेछ। यसैले पनि म जस्तो खाले गीत रच्ने गर्छु, त्यो त्यस्तो खाले भएको हो।'

यिनका ‘वाइल्डफायर', ‘असार', ‘माउन्टेन हाई', ‘रामसाइँली' यस अर्थमा आममान्छेका गीत हुन्।


विपुल चुनौती
विश्वमै नेपाली फोक संगीतलाई चिनाउन आफ्नै किसिमले लागिपरेका हुन् कालेबुङका देवाशीष मोथे। उनी रवीन्द्रनाथ ठाकुर स्थापित विश्वभारती पासआउट। ‘द थ्रिसिज' अन्तर्राष्ट्रिय संगीत समूहका सदस्य। देवाशीषले गाएका र देवाशीषले आफैं लोकबाजा बजाएका गीतमा नेपाली फोक ध्वनिको अभूतपूर्व प्रयोग छ।

नेपाल-भारत दुवैतिर नेपाली वर्णमालालाई अडियो-भिजुअल माध्यममा ल्याउने श्रेय मोथेको ‘वर्णमाला परिवार'लाई जान्छ। नेपाली लोक र पश्चिमा संगीतमा यिनको कामलाई विश्वमै सराहना गरिएको हो।

विपुललाई असाध्यै मन पराउने देवाशीष मोथे भन्छन्, ‘दार्जिलिङले अमेरिकी कानले सुन्छ। लोक फ्लेभरमा बाँच्न निकै संघर्ष गर्नुपर्ने हुन्छ। विपुलले समेत यस्तै कठिनाइ भोग्नुपर्ला। लोकसंगीतको आफ्नै विशिष्ट नियम र सीमाहरू छन्।' मुगल राजमा पर्सियाबाट भारत पसेर विश्व हाँक्ने बाजा हो एसराज उर्फ दिलरुबा। यही बाजाका अध्येतासमेत रहेका मोथे थप्छन्, ‘यो विधाको बाजाको अग्र्यानिक साउन्ड बिस्तार विलुप्तिको सम्मुखीन रहेको बेला केवल गिटारजस्तो पश्चिमा बाजा बजाएर लोकसंगीतको संरक्षण गाह्रै छ।'

दार्जिलिङले अमेरिकी कानले सुन्छ। लोक फ्लेभरमा बाँच्न निकै संघर्ष गर्नुपर्ने हुन्छ। विपुलले समेत यस्तै कठिनाइ भोग्नुपर्ला। लोकसंगीतको आफ्नै विशिष्ट नियम र सीमाहरू छन्।


विपुलको त्यो ‘अलग' चैं खासमा के हो ? भाका, लबज, लय यताको। ताल उताको। गीतको शब्दमा लोकल लघुआख्यानहरू। तर, कमेन्टरी बिनाका न्यारेसनहरूले भरिएको उनको गीतले यताको जीवनको खास कन्ट्र्याडिक्सन समात्दैन। यताको जनजीवन भलै उनको थिम हो तर जनजीवनको दुखाइ, पीडा, हर्कबढाइ, कुण्ठा, इच्छा, सौन्दर्यचेत अझ पनि उनका गीतमा एब्सेन्ट छन्। फोक रकका लिजेन्ड बब डाइलनको छाप देखिन्छ विपुलमा। तर, लिरिक्समा होइन। एप्रोचमा मात्र। उनको लिरिक्स सामान्य छ। दैनन्दिन जीवनको सपाट वर्णनमात्र भएका। त्यो वर्णनमा कुनै क्रिएटिभ सौन्दर्य भेटिन्न।

बाजा राम्रो बजाउने तर जिब्रो बटारेर गाउने हुन् विपुल भन्छन् काशी हिन्दु विश्वविद्यालयका डा। दिवाकर प्रधान। भारतीय शास्त्रीय संगीतमा के भइरहेको छ, बनारसमा भएकाले खबर पाउँछन्। आफ्नै बान्कीको उनको गायनशैली पनि सबैले मन पराएका होइनन्।

विपुलको आफ्नै संगीत मोनोटोनस हुने डर छ। फ्युजन संगीतको सीमा आफैंमा चुनौती त हो नै। विपुलअघि नेपाली संगीतमै भटाभट निस्किरहेका फ्युजन संगीतकारहरू पनि चुनौतीमा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.