ब्रिटेन बाहिरिएपछि

ब्रिटेन बाहिरिएपछि


युरोपेली संघमै रहने कि बाहिरिने प्रश्न या जनमतमा कुन पक्ष भारी होला ? पक्का पूर्वानुमान कठिन देखिए पनि जुन २३ ले विश्वस्तरमै उथलपुथलको भयसहित स्पष्ट नतिजा बाहिर ल्यायो ।

 ब्रिटेनले युरोपेली संघसँगको ४३ वर्ष पुरानो सम्बन्ध-विच्छेद गर्ने निर्णय ल्यायो, ५२ प्रतिशत जनमतसहित । नतिजा कार्यान्वयन गर्न अझ वर्षौं लाग्ने भए पनि केही घन्टामै बेलायती मात्र हैन, विश्वमै सेयर बजारमाथि प्रतिकूल असर पार्‍यो र विश्वमा अहिलेसम्मको सबभन्दा बलियो मुद्रा या पाउन्ड स्टर्लिङको मूल्य विगत ३० वर्षको न्यूनतममा ओर्लियो । संघमा निरन्तरता (रिमेन) का पक्षधर प्रधानमन्त्री डेभिड क्यामरुनले अक्टोबरपछि सरकारको नेतृत्व नगर्ने घोषणा गरे ।

तर बेलायतले पक्कै पनि ऊ संघबाट बाहिरिएको अवस्थामा के-कस्ता तात्कालिक रणनीति अपनाउने भन्ने केही तयारी भएकै होलान्, तर अपेक्षा बाहिरका प्रतिक्रिया जन्मिँदा त्यसले निम्त्याउने दुष्परिणाम त्यहाँको नियति बन्ने खतरा वास्तविक चुनौतीका रूपमा उपस्थित भएको छ ।

स्कटल्यान्ड र उत्तरी आयरल्यान्डले बहुमतका साथ निरन्तरताको पक्षमा मत दिए पनि उनीहरूको पराजयले अब बेलायतमै रहने या अलग हुने, त्यसको लागि जनमतसंग्रह माग्ने, त्यो मनस्थितिमा उनीहरू पुग्न सक्ने अनुमान त्यत्तिकै बढेको छ । के सोभियत संघको सन् ८० को दसकको अन्त्यको भोगाइ अब भौगोलिकरूपमा धेरै सानो ग्रेट ब्रिटेनको नियति बन्ला त ?

२९ सदस्यीय युरोपेली संघ साझा बजार र साझा अर्थतन्त्रसँगै केही उदार मूल्यको पक्षपोषणका नाममा भएको थियो। त्यसको साझा सुरक्षा अवधारणा भने संघभन्दा बाहिरको संयुक्त राज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सँग जोडिएको छ ।

त्यसैले बेलायतको बहिर्गमनको चक्रीय परिणाम युरोप या अमेरिकामा मात्र सीमित रहने छैन । त्यस अर्थमा नेपालले दुई या तीन किसिमले यसको परिणाम या प्रभाव भोग्नेछ । पहिलो, यो नतिजाले बेलायतको अर्थतन्त्रलाई कसरी प्रभावित गर्ला आउँदा केही दिनमा, त्यसबाट उसको वैदेशिक सहयोग नीति प्रभावित हुनेछ ।

दोस्रो, नेपालको वैदेशिक मुद्रा सञ्चिती तथा बाह्य लगानीमा पाउन्ड स्टर्लिङको आयतन या अनुपातले पनि तात्कालिक प्रभाव मापन गरिनेछ । तेस्रो, युरोपेली संघबाट बेलायतको पलायनले अन्य क्षेत्रीय संगठनका आन्तरिक समीकरण या ‘कोहेसिभनेस' मा मनोवैज्ञानिक असर नपार्ला भन्न सकिन्न । यी सबैले नकारात्मक परिणाम ल्याउन सक्छ, नेपालको लागि ।

बेलायतसँग नेपालको सम्बन्धले दुई सय वर्ष पूरा गरे पनि विगत केही वर्षयता उसले नेपालमा जातीयतामा आधारित राजनीतिलाई समेत प्रोत्साहित गरी पहिचान र समावेशिताका नाममा घृणाको राजनीति अनि धर्म किनबेचको राजनीतिको प्रत्यक्ष या परोक्ष वकालत गर्दै आएको छ । बेलायतमा अब ‘अति राष्ट्रवाद' वा ‘अन्ध राष्ट्रवाद' को नारा चर्किने सम्भावनाबारे पनि अड्कलबाजी हुन थालेको छ । अमेरिकामा डोनाल्ड ट्रम्पको अतिवाद र असहिष्णुवादमा आधारित अभियान अनि बेलायतमा त्यस्तै राजनीतिको सम्भावना समग्र विश्वका लागि सकारात्मक सन्देश हैनन्, तर राजनीति सम्बन्धित मुलुकहरूको आन्तरिक नियन्त्रणमा रहेमा बाह्य प्रभावका खतरा न्यून हुनेछन् ।

‘ब्रेक्सिट' को तात्कालिक र दीर्घकालीन प्रभाव खासगरी युरोप, अमेरिका हुँदै भारत, चीन अर्थतन्त्र र विश्वको सुरक्षा स्थितिबाट हेरिनेछ । तर मनोवैज्ञानिक रूपमा खासगरी पश्चिमी मुलुकरूबीचको विरोधको रूपमा लिई खासगरी इस्लामिक अतिवादले यसलाई आतंकवादको लागि थप अनुकूल परिस्थितिको रूपमा आफ्नो गतिविधि बढाउन सक्ने खतरा सम्भवतः सबैको मनमा लुकेको छ । त्यस अर्थमा बाहिरिने क्रममा ब्रिटेनले कसरी वार्ता गर्ला संघसँग एकअर्काको आन्तरिक सुरक्षा र अर्थतन्त्रमा हुने क्षतिलाई न्यूनतम राखेर त्यो नै सकारात्मकतर्फको यात्रा हुनेछ । तर बेलायतले विश्वमा आफ्नो उपस्थिति साँघुरिने यथार्थलाई अब स्विकार्नैपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.