सपनाका सौदागरहरू

 सपनाका सौदागरहरू

दुर्गानाथ शर्मा

अहिले नेपालमा नेताहरू जनतालाई सपना बेच्दैछन् । प्रधानमन्त्री ओलीले हालै जनताका घरघरमा पाइपबाट ग्यास पुर्‍याइदिने, चीनको सिगात्सेबाट केरुङ हुँदै काठमाडौँबाट पोखरा र लुम्बिनी रेल पुर्‍याउने आफ्नै मुलुकमा पेट्रोल खानी अन्वेषण गर्ने, नेपालको राष्ट्रिय झण्डावाहक पानीजहाज हिन्द महासागर, प्रशान्त महासागरतिर कुदाउने हावाबाट बिजुली निकाल्ने आदि-आदि सपना बेचेका छन् ।

उनका यी सपनाको चर्चा अहिले नेपालीका घरघरमा भइरहेको छ । कसैले यसलाई सम्भव भनेका छन् भने विपक्षीहरूले ओलीको सपना भनी आलोचना गरेका छन् र अझै गर्दैछन् । यो राजनीति हो ।

तर जहाँसम्म ओलीका सपनाको प्रश्न छ, यी सपना जस्ता लागे पनि विपना पनि हुन सक्छन् । तर नेपालमा होइन । अहिले नेपालको सरकार, निजामती कर्मचारीको जुन संरचना र मनोविज्ञान छ, त्यसलाई हेर्ने हो भने विपक्षीहरूले भनेजस्तो सम्भव छैन ।

यी सपना साकार पार्न बृहत् प्रयास र इमानदारीको आवश्यकता पर्छ, जुन नेपालमा अहिलेसम्म देखिएको छैन । भुइँचालो गएको वर्ष दिन नाघिसक्दा पनि दुर्गम पहाडतिर पीडितहरूको विचल्ली नै देखिन्छ । भ्रष्टाचार कति व्याप्त छ भने सरकारले गरिब र पीडितलाई दिने अनुदानबाट पनि रकम काटेर भ्रष्टाचार गरेको कयौँ उदाहरण छन् ।

प्रधानमन्त्रीको एउटा भिजन रहेछ, राष्ट्रलाई समृद्ध र विकसित बनाऊँ भन्ने । यसअघिका कुनै सरकारले यति सपना पनि देखेका थिएनन्, तर उनकै दलका सांसद, मन्त्री, भ्रष्टाचार र आफ्नो स्वार्थबाहेक केही हेर्दैनन्, बुझ्दैनन् अनि कसले गरिदिने ?

विदेशीले दिएको खाद्यान्न सहयोग कुहिएर फ्याँक्नुपरेको, गरिब र पीडितले सहयोग नपाएका खबर हरेक दिन अखबारहरूमा पढ्न, टेलिभिजनमा हेर्न र सुन्न पाइन्छ । विदेशीहरूले पीडितहरूलाई सहयोगमा दिएका रकम पनि खर्च नभएर उनीहरूले फिर्ता लाने चेतावनी पनि दिएका छन् ।

हामी सानो एउटा काम त गर्न सक्दैनौँ भने प्रधानमन्त्री ओलीका सपना कसले पूरा गरी दिने ? खोइ त्यो संरचना र इच्छाशक्ति ?प्रधानमन्त्रीज्यू, यहाँलाई थाहा छ, छैन नेपालमा प्रधानमन्त्रीको कार्यालयदेखि सबै कार्यालयमा प्रायः सम्पूर्ण कर्मचारी भ्रष्टाचार गर्छन् कसैले भ्रष्टाचार गरेको छैन भने उसले मौका नपाएरै हो ।

एउटा गरिब र ठूलाबडा नचिनेको नेपालीलाई सरकारी कार्यालय संस्थानहरूमा पैसा नखुवाई आफ्नो कामको फाइल एक इन्च पनि अघि सर्दैन । तर बेरोजगार, कालोबजारी र भ्रष्टाचारमा लिप्त राष्ट्रमा कसले यी बेथितिको अध्ययन गरेर जनतालाई मुक्ति दिने ?

त्यसैले जतिसुकै राम्रा सपना (कार्यक्रम र योजना) बाँडे पनि विदेशीबाहेक हााम्रो आफ्नो संरचनाबाट सम्भव हुँदैन । ओलीका विचार राम्रा हुन् । उनको एउटा भिजन रहेछ, राष्ट्रलाई समृद्ध र विकसित बनाऊँ भन्ने । यसअघिका कुनै सरकारले यति सपना पनि देखेका थिएनन्, तर उनकै दलका सांसदहरू, मन्त्रीहरू, भ्रष्टाचार र आफ्नो स्वार्थबाहेक केही हेर्दैनन्, बुझ्दैनन् अनि कसले गरिदिने ?       

करिब १७ हजार मानिस मारेर सत्तामा आएको तात्कालीन माओवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलबाट आफ्नो उन्नति नहुने देखेर छुट्टै ‘नयाँ शक्ति' नाउँको दलको घोषणा गरे । देश सानो छ । यहाँका जनता धेरै गरिब र थोरै धनी छन् ।

जुन देशमा ठूलाबडाले जे गरे पनि, जति अन्याय गरे पनि न्याय हुँदैन त्यही देशमा राजनीतिक दलहरूको संख्या १८१ पुगेको छ । सबै जनता पार्टीका कार्यकर्ता भएपछि, अब काम गर्ने कसले ? कर्मचारी पनि युनियनमार्फत राजनीति गर्छन्, काम गर्दैनन् । त्यहाँ ‘नयाँ शक्ति' को शक्ति कति बलियो हुन्छ ? तामझामका साथ केही वर्षअघि नयाँ नेपाल बनाउने यस्तै आकर्षक नारा लिएर आएको माओवादी दल, अहिले चोइटिएर टुक्राटुक्रा भइसक्यो । त्यसैको एक टुक्रा हो ‘नयाँ शक्ति' ।

एउटी सिने कलाकारलाई ‘कलश' बोकाएर अघि लागेको यो नयाँ दलले घोषणा समारोहमै करोडौँ रुपैयाँ खर्च गरेको समाचार सुनियो । त्यत्रो रकम कहाँबाट आयो ? जनतालाई हिसाब दिनुपर्दैन ?दलहरूमा पारदर्शिताको कुनै महत्व हुँदैन ? राजनीतिका आदर्श, नीति नियम नमान्ने दलहरू हजारौँ पुगे पनि जनतालाई के फाइदा ?

डा. भट्टराई प्रधानमन्त्री बन्नुअघि उहाँसँग अन्तर्वार्ता गर्ने अवसर पाएको थिएँ । मैले उहाँलाई प्रश्न गरेँ, पढाइमा कहिल्यै दोस्रो हुनुभएन, तपाईंकै जिल्लाका उपेन्द्र देवकोटा कहिल्यै तेस्रो भएनन् ।

तपाईंले २२ हजार नेपालीको हत्या गर्ने खलको नेतृत्व गर्नुभयो, देवकोटाले त्यति नै संख्याभन्दा बढी बिरामी निको पार्ने काम गर्नुभएको छ, तपाईंलाई अलिकति पनि पश्चात्ताप भएन ? उहाँले भन्नुभयो, ‘हेर्नोस्, युद्ध, क्रान्ति र लडाइँमा मानिस मर्छन्, त्यो स्वाभाविक मानिन्छ ।' उहाँले त्यति धेरै मान्छे मार्नुपरेकोमा दुःख व्यक्त गर्नुभएन र तिनका परिवारजनसँग माफी पनि माग्नुभएन ।

यो उहाँलाई राम्रो अवसर पनि थियो – आफ्नो गल्ती स्वीकार गर्ने । अर्को एउटा प्रश्न थियो, ‘तपाईंहरूले ल्याएको यो राजनीतिक प्रणालीमा योग्य, सक्षम र पढेलेखेका व्यक्तिले जागिर पाउँदैनन् तर तपाईंको राजनीतिक भागबन्डाको नीतिअन्तर्गत अयोग्य, असमर्थ र नपढेको सामान्य राजनीतिक कार्यकर्ताले पनि माथिल्लो पद तथा कूटनीतिज्ञको जागिर पाउँछन् । तपाईं प्रधानमन्त्री भएपछि यो प्रणालीबारे केही परिवर्तन गर्ने सोच राख्नु हुन्छ ?यो प्रणालीले देश बिग्रिँदैन ? जनता यो अवस्थामा काम खोज्न विदेश जानुपर्ने स्थिति आउँदैन ?       

उहाँको जवाफ थियो, ‘यो भागबन्डाको म विरोधी हुँ । यस्तो हुनु हँदैन । म प्रधानमन्त्री भएँ भने निश्चित रूपमा यसलाई हटाउँछु ।'

त्यसपछि उहाँ नौ महिना नेपालको प्रधानमन्त्री हुनुभयो । त्यसबेला उहाँ कुनै भ्रष्टाचारमा संलग्न भने हुनुभएको सुनिएन । उहाँले एउटा राम्रो काम गर्नुभयो, राजधानीका साँघुरा सडकको विस्तार गर्नुभयो ।

राजाहरूले पनि योजना बनाएर गर्न नसकेको काम उहाँले गर्नुभयो । तर त्यही बाटो बन्दा आधा पारिएका पेटीहरूमा मोटरसाइकल मर्मतका कारखाना र सोरुम अनि पार्किङ खडा गरिएको छ । पेटीको आधा भाग ओगटेर चिया, तरकारी, फलफूल र फूलका पसल खोलिएका छन्, जसले गर्दा यात्रुलाई हिँड्न कठिन हुन्छ । यसको व्यवस्थापन कसले गर्छ ?       

सडक चौडा गरे पनि सडकमा धेरै सवारी साधन गुड्ने नै भए । काठमाडौँमा यति धेरै मोटर र मोटरसाइकल छन्, त्यो हेर्दा नेपाललाई कसैले गरिब राष्ट्र भन्न मिल्दैन । तर मोटर र मोटरसाइकल हाँक्नेहरूलाई बाटामा हिँड्ने यात्रु त केही होइनन् भन्ने लाग्छ ।

‘जेब्राक्रस' आउनु अलि अगावैदेखि आफ्नो गति घटाएर यात्रीलाई बाटो काट्न दिनुपर्नेमा यति वेगमा आउँछन् कि बाटो काटिरहेका यात्री नै भाग्नुपर्ने अवस्था छ । ट्राफिक प्रहरी धेरै देखिँदैनन्, जापानले बनाइदिएका ट्राफिक लाइट पनि देखिँदैनन् । सौर्य शक्तिबाट बिजुली दिने कुरा गर्ने प्रधानमन्त्रीले यी साना काम मात्र गरे हुँदैन ? ट्राफिक प्रहरी एकदुईजना हुन्छन् नेपालीको प्रवृत्ति नियम कानुन मान्नुभन्दा आँखा छलेर नियम मिच्दा ठूलो भएको ठान्छन् । प्रहरीले केही गरी कारबाही ग¥यो भने एकै दिनमा कुनै नेता वा सांसदको फोन आउँछ । प्रहरी त्यसबेला निरिह बन्छ।

काठमाडौँ सहर विश्वको गन्तव्यस्थलको यति स्थानमा पुग्यो, उति स्थानमा पुग्यो जस्ता हावादारी गफ समाचार हुन्छन् तर काठमाडौँको यो ट्राफिक र ठूलाबडाको सवारीको समयमा बज्ने साइरन र गाडीको लर्कोले सहरै प्रदूषित बनाइरहेको देख्दा लाग्छ यो देशमा ‘ल एन्ड र्अडर' नै छैन ।

यस्ता विकृति थुप्रै छन्, थपिँदैछन् । जनतालाई ठूलाठूला ‘सपना' बाँड्नुभन्दा पहिले महानगरपालिकालाई सक्रिय बनाएर यी विकृतिको व्यवस्था मात्र गर्न सके पाइपबाट ग्यास, रेल चलाउनेजस्ता ठूला काम गर्न अलि सजिलो हुने थियो कि ?

नयाँ शक्तिका नेता डा. भट्टराईले वचन पूरा गरेनन् । नेताहरूमा आफूले जनतासमक्ष सार्वजनिक रूपमा बोलेका कुरा पूरा गर्दैनन् भने २५ वर्षमा आर्थिक समृद्धिको सपना पूरा हुन्छ भन्ने के ग्यारेन्टी ?

जनतामा नेताप्रतिको घट्दो विश्वसनीयताको यो एउटा सानो उदाहरण हो, गर्न सकिँदैन भने बरु नबोल्नु, नि ! तर बोलेका कुरा पूरा गर्नु नेताको गुणभित्र पर्छ । तर हाम्रा नेताहरूमा त्यो गुण छैन, त्यसैले तिनलाई सपनाका सौदागर भन्दा फरक पर्दैन ।

पैसा कमाउने मात्र तिनको धन्दा भएको देखिन्छ । पहिले यो प्रवृत्ति र मनोविज्ञानमा परिवर्तन ल्याउनुपर्छ, अनि मात्र प्रधानमन्त्री ओलीका सपना साकार हुनसक्छ र नेपाल एउटा बस्नलायक र गर्व गर्नलायक हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.