डिग्री मात्र शिक्षा होइन
२०७३ सालको एसएलसी परीक्षाको नतिजा ग्रेडको आधारमा निकालेर धेरै संख्यामा विद्यार्थीलाई उच्च शिक्षाको अवसर दिइएको छ, जुन सराहनीय मान्नुपर्छ । यसले गर्दा विद्यार्थीलाई एसएलसीमै फेल भएर जीवनप्रति नै दिक्दार मान्नुपर्ने स्थिति हटेको छ । त्यसो त सजिलै नतिजा हात परिने पनि होइन ।
पहिले मार्कसिटमा प्राप्त अंक र प्रतिशत हुन्थ्यो भने अहिलेको ग्रेडिङ पद्धतिमा ए प्लसदेखि लिएर डीसम्म दिइएको हुन्छ । ए प्लस ल्याउनेले रोजेको विषय पढ्न पाउने मौका पाउँछ भने कम ग्रेड ल्याउनेले त्यसै आधारमा विषय र विद्यालयको छनोट गर्न पाउनेछन् ।
त्यसैले अझै पनि ए प्लसको लागि मेहनत गर्नैपर्ने र त्यसको लागि मुख्य तोकिएका पाँच विषयमा ९० प्रतिशत ल्याउनैपर्ने हुन्छ । यसले गर्दा अझै पनि विद्यार्थीदेखि विद्यालयसम्म सबैमा प्रतिस्पर्धाको भावना कायमै रहनेछ । अझै पनि विद्यालय र विद्यार्थीमा राम्रो परिणाम ल्याउन मेहनत गर्नुपर्ने बाध्यता र परिपाटी दुवै कायम रहनेछ । सकारात्मक रूपमा लिने हो भने यसबाट समग्र शिक्षाको गुणस्तरमा वृद्धि हुने आशा गर्न सकिन्छ ।
यसपटकको एसएलसीले कुनै पनि परीक्षार्थीको ग्रेडिङको आधारमा मूल्यांकन गर्ने आधुनिक पद्धति अपनाएको हो । अब यही ग्रेडिङकै आधारमा विद्यार्थीले प्राविधिक एवं व्यावसायिक शिक्षा रोजेर र आफ्नो क्षमताको र एसएलसी नतिजाको आधारमा अध्ययन गर्न पाउनेछन् ।
अहिलेको ग्रेडिङ पद्धतिले कोही पनि असफल नहुने पद्धतिको विकास गरेको छ, जुन सकारात्मक छ तर सबै खालका क्षमता भएका विद्यार्थी समेटिने गरी आगामी शिक्षाको लागि भौतिक पूर्वाधारदेखि शैक्षिक वातावरणको विकास गर्नुपर्ने अर्को चुनौती र जिम्मेवारी भने शैक्षिक संस्थालाई थपिएको छ । उता २०७४ मा एसएलसी हुन्छ या हुँदैन भन्ने अहिलेका १० कक्षाका विद्यार्थीलाई चिन्ता र चासोको विषय बनेको छ ।
२०७४ को एसएलसीको लागि तयारी गरिरहेका विद्यालय र विद्यार्थी अन्योलमै देखिन्छन् । यसले अर्कोतिर अभिभावक, विद्यालय र विद्यार्थीमै उच्च माध्यमिक शिक्षा परिषद्ले तोकेको मापदण्डका आधारमा कुल र विषयगत ग्रेड अंकका आधारमा गणित, विज्ञान र प्राविधिक विषयको लागि विज्ञान र गणितमा उच्च ग्रेड ल्याउनेले विज्ञान विषय नै पढ्नुपर्ने भन्ने मान्यताको पनि विकास गरिदिएको हुन सक्छ ।
विद्यार्थीले चाहना गरेको, उसलाई सजिलो लाग्ने र रुचिअनुसारको विषय पढ्न पाउने कुरामा, पढ्न दिनुपर्ने कुरामा अझै अभिभावक सचेत नभइसकेको देखिन आउँछ ।
कुनै डिग्री हासिल गर्नुभन्दा पनि शान्त, समृद्ध, सकारात्मक, नैतिक र अनुशासित सन्तानको खाँचो छ हामीलाई । यसको द्वार माध्यमिक शिक्षा भएकाले यी सबै पक्षलाई ध्यानमा राखेर शिक्षा प्रणाली अगाडि बढ्न सकेमा मात्र यसले सार्थकता पाउनेछ ।
एसएलसी परीक्षा नतिजालाई ग्रेडिङ पद्धतिमा लग्नु मात्र शैक्षिक सुधार होइन, अबको अध्यापन प्रणाली, प्रश्नपत्र तयार पार्नेदेखि उत्तरपुस्तिका जाँच्नेसम्मको प्रक्रियामा पनि त्यसैअनुसार सुधार गर्नु जरुरी हुन्छ ।
माध्यमिक शिक्षापछिको उच्च शिक्षामा विद्यार्थीको चाहना र क्षमताको आधारमा कुन विषय र कुन संकाय उपयुक्त हुन्छ भन्नेमा परामर्श दिनेदेखि लिएर शिक्षकको अबको भूमिकामा समेत परिवर्तन आउनु जरुरी छ । अबको नयाँ ग्रेडिङ प्रणालीमा पनि परम्परागत अध्यापन प्रणाली हुने हो भने खासै प्रभावकारी हुन् सक्दैन ।
विदेशी छात्रवृत्तिको अवसरदेखि लिएर भविष्यको रोजगार एवं राम्रा अवसरको खोजीमा हाम्रो समाज अझै सचेत छ, जसले गर्दा आफ्ना सन्तानले कठिन विषय लिएर उच्च ग्रेड प्राप्त गरेमा सबै सुखसुविधा प्राप्त गर्नेछन् भन्ने मान्यतासहित सन्तानलाई इच्छाविपरीत बोझ थप्ने परिपाटी अझै गइसकेको छैन।
सन्तानले सक्छन् र उनीहरूको इच्छा छ भने ठीक छ अन्यथा बोझ थप्ने र प्रेसर दिने शिक्षा प्रणाली हँदासम्म नयाँ शिक्षा प्रणालीको प्रभावकारिता देखिने छैन । अर्कोतिर कम क्षमता भएका विद्यार्थीलाई हेर्ने, मूल्यांकन गर्ने तरिका, कुन विषय लिएर पढेको छ, त्यसका आधारमा प्राथमिकता दिने र समाजको हेराइ, शिक्षकको हेराइमा समेत परिवर्तन आउनु जरुरी छ ।
विज्ञान, व्यवसाय, मानविकी, कम्प्युटर आदि जेमा दख्खल भए पनि हुन्छ तर विद्यार्थीले खुसी र रुचिपूर्वक आफ्नो विषय र क्षेत्रमा दख्खल राख्न सक्ने हुनुपयो, त्यस्तो व्यावहारिक शिक्षाको खाँचो छ । विषय र ग्रेडको आधारमा भेदभाव हुनु हुँदैन । विद्यार्थीको फरक–फरक क्षमता र भूमिकाको कदर गर्दै उनीहरूले पाएको शिक्षाबाट घर, परिवार, समाज र राष्ट्रमा प्रभाव पर्ने खालको हुनुपर्छ ।
स्वच्छ, स्वतन्त्र, नैतिक, जिम्मेवारी र अनुशासित विद्यार्थी उत्पादन गर्ने लक्ष्य हुनुपर्छ । यसको लागि सरकारी पहल, सरकारी र गैरसरकारी शैक्षिक संस्था, शिक्षक सबैको भूमिका आवश्यक छ । शैक्षिक वातावरण, अध्यापनको व्यावहारिक तरिका, सही सिकाइ र बुझाइ अनि जिम्मेवारीपनको बोध हुने शिक्षाको जरुरी छ ।
पाठ्यक्रममा मात्र सीमित रहेर होइन, पत्रपत्रिका, सञ्चारमाध्यम, फिल्ड भिजिट, अनुसन्धान, प्रयोगात्मक शिक्षा सबै तरिका अपनाएर अब्बल दर्जाका युवा समुदाय उत्पादन गर्नु जरुरी छ । अहिले राष्ट्रले भोगिरहेको अनैतिकता, अपराध, भ्रष्टाचार, बेरोजगार, विदेश पलायन जस्ता समस्याको समाधान पनि सही र गुणस्तरीय शिक्षा र असल वातावरण नै हुन सक्छ ।
त्यसैले एसएलसी नहुनु वा एसएलसी फेल नहुनु मात्र शैक्षिक सुधार र गुणस्तरीय शिक्षा प्रणाली मान्न सकिन्न । शान्त र समृद्ध समाज र राष्ट्रको विकासको लागि व्यावहारिक शिक्षा, नैतिक शिक्षा र अनुशासनको धेरै जरुरी छ । अबको शिक्षा, अध्यापन र शैक्षिक प्रणालीमा मनोविज्ञान, अध्यात्म, सकारात्मक सोचजस्ता विषयसमेत समेटिने गरी समग्र रूपमा विकास हुने गुणस्तरीय हुनुपर्छ ।
एसएलसी उत्तीर्ण गर्ने विद्यार्थीको उमेर भनेको न सानो न परिपक्व उमेर हो । यसमा उनीहरूको इच्छा र रुचिको ख्याल गर्दै उनीहरूको मनोभावनाको कदर गरी उचित परामर्शका साथ सही व्यवहारको खाँचो पर्दछ, जसमा अध्यापन गराउने शिक्षकको र विद्यालय वातावरणको ठूलो र सकारात्मक भूमिका रहन्छ ।
कुनै डिग्री हासिल गर्नुभन्दा पनि शान्त, समृद्ध, सकारात्मक, नैतिक र अनुशासित सन्तानको खाँचो छ हामीलाई । यसको द्वार माध्यमिक शिक्षा भएकाले यी सबै पक्षलाई ध्यानमा राखेर शिक्षा प्रणाली अगाडि बढ्न सकेमा मात्र यसले सार्थकता पाउनेछ ।