पत्थरसामु फेरि उभिन्छ कविता
कविता
- चन्द्रवीर तुम्बापो
यस क्षण
पत्थर जमेर
टक्क अडिएको छ,
नयाँ सालिकमुनि आँधी
टक्क-टक्क अडिँदै गएका छन
घडी-घडीहरूमा समय
हेर्दाहेर्दै खोला, नाला, नदीहरू
हिउँ जमेर कक्रिएका छन् कक्रक्क
र, किसानका खेतबारीमा
फल्न थालेको छ बालुवा
अल्मलिएर उकालीमा
ओरालीमा, समथरमा-बाटाहरू
तीनतिर फर्किएर
अपरिचितजस्तै
टोलाएर बसेका छनहिमाल, पहाड, मधेस
अनेकौं कोपिलामा फक्रन-फक्रन
आँटेकै बेला सपनाहरू
अचानक फक्रन बन्द भएर
बेपत्ता-बेपत्ता छ वसन्त
छेवैमा हाँस्दै आइपुगेको छ शिशिर
रूखले आफ्नो गन्तव्य
खोज्दाखोज्दै जंगल
रूखको टुप्पोबाट
पलाएर उजाड
पातसँगै
बढिरहेछ फेदतिर
हो
यस क्षण
भत्किरहेछ गुण
चराहरूको नंग्रामा
ठ्याक्कै आइपुग्दै गरेको
घामको किरण
टक्क-टक्क टाँसिएर जालोहरूमा
फेरि पनि लागेको छ
युगको प्रारम्भमै
हरेक किनाराको निधारमा ग्रहण
प्रत्येक चुला-चुलाबाट
भड्किगएर हंश
सिकिस्त लडेका छन् आगोहरू
अहिलेसम्म उम्लिसक्नुपथ्र्यो जो
उम्लिएको छैन
हो
यस क्षण
पोखिएर शून्यता
सबैतिर ढाकेको छ चुपचापले
शून्यता, शून्यता तर
शून्यतालाई पन्छाउँदै-पन्छाउँदै
आइपुग्नेछ नयाँ सालिकमुनि कविता
र कविताले कवितामा सुसेल्दै
जोडले फुक्नेछ सिट्ठी
तब एक्कासि पत्थर फुटाउँदै निस्केर
नयाँ सालिक भत्काउँदै दर्गुन थाल्नेछ
यो देशको मूल सडकैसडक आँधी
त्यसपछि आँखा फारेर
त्यसपछि आँखा फारेर एकटकले हेर
विस्तारै-विस्तारै
घुम्न थाल्नेछ हाम्रो पृथ्वी ।