म माधुरी दीक्षित बन्न चाहन्नँ

म माधुरी दीक्षित बन्न चाहन्नँ

सीमा विश्वाससँग अन्तरर्वार्ता

‘ब्यान्डिट क्विन', ‘वाटर', ‘हजार चौरासीकी माँ'जस्ता चर्चित फिल्म र दर्जनौं नाटकमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी भारतीय कलाकार सीमा विश्वास चिनाइरहनुपर्ने नाम होइन । ‘नेसनल फिल्म अवार्ड', ‘फिल्म फेयर अवार्ड', ‘स्क्रिन नेसनल अवार्ड', ‘संगीत नाटक एकेडेमी अवार्ड'जस्ता अवार्डबाट सम्मानित उनी फरक धारका फिल्म र नाटकमा खेल्छिन् । नाटक लिएर भारतका टाढाटाढाका गाउँदेखि युरोपका ठूला सहरहरूसम्म उनी पुग्छिन् । आरोहण-गुरुकुलको निम्तोमा उनीसहितको एउटा टोली काठमाडौंको शिल्पी थिएटरमा बिहीबार एउटा नाटक प्रस्तुत गर्न आइपुग्यो । सीमाको एकल अभिनयमा रवीन्द्रनाथ टैगोरको ‘जीवन र मृत्यु' मञ्चन भयो । एकल महिलाको मृत्युजस्तो जीवन र जीवनजस्तो मृत्यु देखाइएको सो नाटक प्रस्तुति क्रममा आएकी सीमासँग लक्ष्मण श्रेष्ठले गरेको कुराकानी :

तपाईंहरू नाटक र फिल्ममा लामो समयदेखि सामाजिक विषय उठाउँदै आइरहनुभएको छ । यो यात्रामा नाटकले समाजमा के-कस्तो परिवर्तन गरेको पाउनुभयो ?

- म नेसनल स्कुल अफ ड्रामाबाट आएकी हुँ । मलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरका मञ्चमा सहभागी हुने, काम गर्ने मौका मिलेको छ । तर जब हामी गाउँ जान्छौं, समाज निकै पिछडिएको देख्छौं । त्यहाँका महिलासँग नेसनल स्कुल अफ ड्रामामा जाने सपना हुँदैन । पहुँच, पैसा सबै हिसाबले उनीहरूलाई त्यो सम्भव लाग्दैन । जब हामीलाई देख्छन्, उनीहरूलाई लाग्छ— यो पनि त मजस्तै सामान्य केटी हो ।

यो यदि एक घन्टा स्टेजमा रहनसक्छे भने म १० मिनेट पनि किन यस्तो गर्न सक्दिनँ ? यो पनि समाजमा आएको परिवर्तन हो । हरियाणाजस्ता ठाउँमा (जहाँ महिलालाई निकै संकुचित रूपमा हेरिन्छ) जाँदा साठी वर्षभन्दा माथिका आमाहरू स्टेजमा आएर भन्छन्ः ‘तपार्इंहरूलाई देखेर हामीलाई हिम्मत आएको छ । हामी पनि हाम्रा छोरीहरूलाई यस्तो कार्यक्रममा जा भनेर भन्नेछौं ।'

यो सुन्दा÷देख्दा हामीले थोरै भए पनि योगदान गरिरहेछौं भन्ने लाग्छ । चाहे त्यो थिएटरमा कलाकार बन्ने उद्देश्य राखोस् वा सामाजिक रूपमा कतै घुम्न जानेबारे सोचोस् । यो आफ्नो रुचि हो । हामीलाई देखेर अरूलाई पनि हिम्मत आउँछ । यस्ता साना परिवर्तन हामीले गर्दा आएको हो ।

यसको अर्थ तपार्इं समाजमा परिवर्तन ल्याउन नाटक, फिल्ममा काम गर्नुहुन्छ ?

-हामी यस्तो त भन्दैनौं । हामी राजनीतिज्ञ, समाज सुधारक होइनौं । जसरी मानिसहरूको अरू पेसा छ, त्यसैगरी कलाकर्म हाम्रो पेसा हो । साथै मेरो जिम्मेवारी हुन्छ— मेरो धेरथोर नाम, कामको कारणले म यस्तो उदाहरण बनूँ जसले अरूमा गलत छाप नपरोस् । मबाट सकारात्मक प्रभाव परोस् । उत्साह बढोस् । म केवल समाज परिवर्तनका लागि गरिरहेछु भन्दिनँ । म कलाकार हुँ ।

तपार्इं र बलिउड कलाकारमा केही परिवर्तन त छ नि ?

-मलाई थाहा छैन । म बस् एक कलाकार हुँ । मैले रिजनल फिल्म पनि खेलेकी छु, अन्तर्राष्ट्रिय फिल्म पनि । नाटक र केही सिरियल पनि खेलेकी छु । भूमिका र विषय मन पर्‍यो भने म काम गर्छु । म कहिल्यै पनि तुलना गर्दिनँ । माधुरी दीक्षित वा अरू कोही बन्न चाहन्नँ । म सीमा विश्वास हुँ । म कलाकार बन्न चाहन्छु । राम्रो कलाकार बन्ने मेरो प्रयास अझै जारी छ । म आफूलाई निपुण भन्दिनँ ।

तपाईं कस्तो विषयलाई प्राथमिकता दिनुहुन्छ ?

-हेर्नोस्, मैले लिस्ट बनाएर राखेको छैन; कस्तो विषयलाई ठीक वा गलत भन्छु । मलाई मन परेमा ठूलो, सानो जस्तो पनि भूमिकामा खेल्छु । यसमा मेरो भूमिका राम्रो छ, गलत छ भनेर पनि छुट्याउँदिनँ । पूरै स्क्रिप्ट मलाई मन पर्‍यो भने म खेल्न तयार हुन्छु ।

कहिलेकाहीँ सिंगो विषय मन परेर खेल्छु, कतै भूमिका मन परेर, कहिले निर्देशक मन परेर । जस्तै ‘हजार चौरासीकी माँ'मा मैले सानो भूमिका खेलेकी छु । त्यति बेला म नेसनल स्कुल अफ ड्रामामा थिएँ । मेरो ड्रिम रोल त हजार चौरासीकी आमाको नै थियो (त्यसमा जया बच्चन खेलेकी छन्) । तर, जब मलाई मेरो रोलको प्रस्ताव गरियो, मैले भनेँ— यो भूमिका निकै छोटो छ तर पनि म खेल्नेछु ।

म बस् एक कलाकार हुँ । मलाई भूमिका र विषय मन पर्‍यो भने काम गर्छु । माधुरी दीक्षित वा अरू कोही बन्न चाहन्नँ । म सीमा विश्वास हुँ। म कलाकार बन्न चाहन्छु । राम्रो कलाकार बन्ने मेरो प्रयास अझै जारी छ । तर, म आफूलाई निपुण भन्दिनँ ।

निर्देशक गोविन्द निहलानीले मलाई अझै थप १० दिन लिएर विचार गर्न भन्नुभयो । मैले भनेँ— १० दिनपछि पनि मेरो जवाफ यही हुनेछ । मलाई थाहा छैन, निहलानीसँग काम गर्ने मौका फेरि मिल्छ कि नाइँ ? हुनसक्छ, त्यो रोलमा नखेलेको भए मलाई गोविन्द निहलानीसँग फेरि खेल्ने मौका नै मिल्दैनथ्यो ।

के हामी तपाईंको कलाकर्मलाई वैकल्पिक धार भन्न सक्दैनौं ?

-म एकदम साधारण कलाकार हुँ । म बस् अभिनयमार्फत यथार्थ उद्घाटित गर्न खोज्छु । यथार्थपरक भूमिका मन पर्छ । म कमर्सियल र आर्टस् भनेर छुट्याउँदिनँ । राम्रो र नराम्रो फिल्म भन्छु ।

त्यसो भए तपाईं राम्रो र नराम्रो फिल्म कसरी छुट्याउनुहुन्छ ?

-यो व्यक्तिगत रूपमा निर्भर गर्छ । म उदाहरण दिन चाहन्नँ । सिनेमा वा नाटकका लागि सबैभन्दा महŒवपूर्ण कुरा त्यसको कथाले के भन्न खोज्छ र भन्न सकेको छ वा छैन भन्ने हो ।

समाजप्रति नाटककोे जिम्मेवारी के हुन्छ ?

-पत्रकारका रूपमा समाजप्रति तपाईंको जस्तो जिम्मेवारी छ, नाटकको पनि त्यस्तै हो । हामी अरूभन्दा फरक जिम्मेवारी निर्वाह गर्छौं भन्दैनौं । यत्ति त जिम्मेवारी फेरि पनि रहन्छ— हामी गलत दिशानिर्देश नगरौं, अन्धकारमा नराखौं । नाटक उत्साहवद्र्धक, चिन्तनयोग्य र कलापूर्ण होस् भन्नेमा हाम्रो जोड हुन्छ ।

थोरै प्रसंग बदलौं । भारतमा यति धेरै कलाकार छन् । तपाईको स्तरमा पुग्नका लागि के-कस्ता संघर्ष गर्नुपर्‍यो ?

-म कहिल्यै सोच्दिनँ, म कुन स्थानमा पुगेँ वा पुग्नुपर्छ । मेरो लागि सिक्नु ठूलो कुरा हो । अभिनय नै मेरो जीवनको सबैभन्दा ठूलो ध्येय हो ।

सोच्छु, १० जन्म लिन परे पनि कलाकार नै हुन पाऊँ । त्यसका लागि म गम्भीर र इमानदार रूपमा जस्तोसुकै कठिन मेहनत गर्न पनि तयार छु । मलाई निद्रा एकदमै प्यारो लाग्छ तर आफ्नो कामका निम्ति ४८ घन्टा पनि जागै बस्न तयार छु । मेरो एउटै टिप्स हुन्छ— मेहनत गर । जीवनमा जे बन्न चाहन्छौ त्यसका लागि इमानदार रूपमा मेहनत गर्नुपर्छ । बस्, अरू केही होइन ।

नारी कलाकार हुनाको हिसाबले तपाईंले के-कस्ता चुनौती भोग्नुपर्‍यो ?

-नारी हुनाकै कारण मेरी आमाले धेरै चुनौती सामना गर्नुपर्‍यो । उहाँले धेरै आलोचना खेप्नु पर्‍यो । हामी सानै छँदा आमा हामीलाई सुताएर जानुहुन्थ्यो । मानिसहरू पर्दा पन्छाई पन्छाई हेरेर भन्थे, ‘बिचरी सानी फुच्ची एक्लै छे । आमा नौटंकी गर्न गइछे ।' त्यो हिसाबले म धेरै ‘भाग्यमानी' हुँ । अहिले त मलाई सम्मान गर्छन् । फोटो खिच्न आउँछन् ।

अहिले तपाईंहरूले प्रदर्शन गर्नुभएको नाटक ‘जीवित वा मृत्यु' एकल महिलाको पीडासँग सम्बन्धित छ । ‘वाटर' फिल्ममा पनि तपार्इंले विधवाको भूमिका खेल्नुभएको छ । अहिले भारतमा एकल महिलाको स्थिति कस्तो छ ?

-मलाई थाहा छैन, तपाईंहरूको समाजमा एकल महिलाको स्थान कस्तो छ । म बंगाली हुँ, मैले मेरो समाज देखेकी छु । हाम्री एउटी हजुरआमा साँझ ५ बज्दा नबज्दै खाना खानुहुन्थ्यो । उहाँको सानो माटोको चुल्हो थियो, देख्दा सुन्दर । हामी सानासाना केटाकेटी पटकपटक सोध्थ्यौं, ‘दादी (बज्यै) खाना खानुहुन्न ? ' हाम्रो लागि उसिनेको आलु, उसिनेको घिरौंला हुन्थ्यो । मुंगको दालभन्दा अरू दाल हुन्थेन उहाँका लागि । चिल्लोचाप्लो पनि हुन्थेन । त्यस्तो खाना सानोसानो लड्डु बनाएर खानुहुन्थ्यो । अनि हामी केटाकेटीलाई पनि दिनुहुन्थ्यो ।

अझै पनि त्यो स्वाद जिब्रोबाट हराएको छैन । तर, अहिले सम्झिँदा निकै दुःख लाग्छ । त्यो खानामा कति पीडा लुकेको थियो । एकल महिलाका लागि दुई प्रहरको खाना पनि हुँदैनथ्यो । अझै पनि यो प्रथा धेरै समाजमा जीवित छ । र, हामी कलाकारहरूको कर्म यो यथार्थलाई सबैको सामुन्ने देखाउने हो । ऐनाले जस्तै । थप जिम्मेवारी त समाजको हुन्छ । तपाईं नै सोच्नुस्, के तपार्इं आफ्नो नातेदार वा परिवारमा यस्तो सहन सक्नुहुन्छ ?

हाम्रो समाजमा अझै पनि यस्तो छ । जब कि हामी एकातर्फ कल्पना चावला चन्द्रमामा पुगेकी थिइन् भनेर गर्व गर्छौं । तर, समाजको अर्को भागमा यस्तो प्रथा पनि जीवित छ । ‘वाटर' बनाउने समयमा म वाराणसी, वृन्दावनमा एकल महिलाहरूको आ श्रममा गएकी थिएँ । अझै पनि उनीहरूको अनुहार मेरो आँखामै छ । त्यहाँ तीन पुस्ता थिए— बज्यै, आमा र छोरी । तीनै पुस्ता घरबाट निकालिएका हुन् । मैले उनीहरूको घरबारे सोध्दा उनीहरू भन्थे, ‘घरको नाम नलिनु । मेरो जिन्दगी यहीँ छ । दिनको दुई रुपैयाँ कमाउँछु ।

केही मान्छेहरू कहिलेकाहीा दालचामल दिन्छन् । बीस रुपैयाँ भाडाको घरमा बस्छु । यहाँका घरमा भाँडा माझ्ने काम गर्छु । स्वतन्त्रता छ । शान्ति छ ।' आज पनि तपार्इं त्यहाँ जानुभयो भने देख्नुहुन्छ, हजारौं एकल महिला । सम्पत्तिसँग जोडिनु पनि यसको एक कारण हो । देश (भारत)को उत्तरी भागमा एकल महिलालाई देवरसँग विवाह गरिदिने पनि चलन छ ताकि सम्पत्ति ‘पराई महिला'ले नलैजाओस् । सम्पत्तिकै लागि उनीहरू दुव्र्यवहार गर्छन् ताकि एकल महिलाले घर छोडेर जाऊन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.