चालक उत्पादन गर्ने रंगशाला
रंगशाला खेलाडी र खेलकुदकै लागि हो, यसमा कुनै दुविधा छैन। रंगशालाको नियमित र कठिन अभ्यासपछि देशले प्रतिभाशाली खेलाडी पाउछ। यस अर्थमा रंगशाला देशका लागि पदक जित्ने खेलाडी उत्पादन गर्ने पवित्र थलो हो।
तर मोफसलकै खेलकुद 'हब' मानिने कास्कीको पोखरा रंगशालाले भने खेलाडी हैन, अरू नै उत्पादन गर्छ। पोखरेली खेलकमीहरू भन्छन्, 'पोखरा रंगशालाले सवारीचालक उत्पादन गर्छ। खेलाडी भने रंगशाला बाहिरै मेहनत गर्छन्।'
सुन्दा असहज लागे पनि मोफसलकै उत्कृष्ट भौतिक पूर्वाधार भएको पोखरा रंगशाला लामो समयदेखि यसरी नै दुरुपयोग हुँदै आइरहेको छ। जिम्मेवार निकायहरू पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको अनुमतिमै पोखरा रंगशालाभित्र दर्जनौं गाडी र मोटरसाइकल ड्राइभिङ सेन्टर तथा बेलायती सेना भर्ती तयारी केन्द्र्रहरू सञ्चालन भइरहेका छन्।
अघिल्लो साता पोखरा रंगशाला पुगेका अन्नपूर्णकर्मीलाई पनि त्यो दृश्यले आश्चर्यचकित पारेको थियो। रंगशालाको बीच भागमै दर्जनभन्दा बढी ड्राइभिङ सेन्टर सञ्चालित छन्। त्यसको नजिकै उत्तिकै संख्यामा मोटरसाइकल ट्रेनिङ सेन्टर छन्।
रंगशालाभित्र दैनिक बिहानदेखि अबेर रातिसम्म सयभन्दा बढी ट्याक्सी र मोटरसाइकललाई सिकारु चालकहरूले आफ्नै सुरमा चलाइरहन्छन्। रंगशालाको ट्र्याक एन्ड फिल्ड खेलाडीले हैन, खेलभन्दा बाहिरका गतिविधि गतिविधि गर्ने व्यक्तिहरूको गन्तव्य बनेको छ। त्यसअघि रंगशालाभित्र प्रवेश गर्दा वरिपरि टांगिएका खेलकुदसँग असम्बन्धित होर्डिङ बोर्डले नै कुनै ट्रेनिङ सेन्टरतर्फ अघि बढिरहेको अनुभव दिलाएको थियो।
पोखरा खेलकुदका लागि यस्तो उर्वर क्षेत्र हो, जहाँ प्रत्यक परिवार र परिवारको प्रत्येक सदस्यमा खेलकुदप्रतिको मोह छ। पोखरेलीहरूको जत्तिको खेलकुदप्रतिको लगाव अरूमा सायदै होला।
त्यसकै उदाहरण हो, पोखरा रंगशालाभित्र बनेका लनटेनिस, आर्चरीलगायत अन्य खेलकुदका सुन्दर भौतिक पूर्वाधार। पोखरा रंगशालाभित्र लन टेनिसको प्रशासनिक भवन र सुन्दर कोटहरू निर्माण भएका छन्। ती भौतिक पूर्वाधार पोखरेलीहरू आफैंले स्रोत जुटाएर निर्माण गरेका हुन्।
आर्चरीले पनि प्रशासकीय भवनसहित आफ्नो छुट्टै अभ्यास कभर्ड हल निर्माण गरेको छ। आर्चरीले सरकारको थोरै सहयोगबाहेक आफैंले स्रोत जुटाएर ती संरचना निर्माण गरेको हो।
रंगशालाभित्र सञ्चालित ड्राइभिङ सेन्टरले लन टेनिस र आर्चरीलाई नै बढी असर पुर्याएको रहेछ। लन टेनिस र आर्चरीको कोर्टको १० मिटर दायाँबायाँमा सञ्चालित ती ड्राइभिङ सेन्टरबाट हुने ध्वनि प्रदूषण, फोहोर, धूलो र दुर्गन्धले खेलाडीलाई ट्रेनिङ गर्न नै मुस्किल बनाएको छ।
त्योभन्दा ठूलो चिन्ता त खेलाडीहरूको सुरक्षामा थपिएको छ। सिकारु चालकले कयौं पटक वालमा लगेर गाडी ठोक्काउँछन्, त्यही कारण आर्चरी र लन टेनिसले लगाएको वाल ठाउँठाउँमा क्षतिग्रस्त बनेका छन्। उनीहरूले भत्किएका वाललाई नाघेर कत्तिखेर खेलाडी र रंगशालामा धाउने खेलाडी र खेलकर्मीलाई ठक्कर दिने हुन्, पत्तो छैन ?
'दस मिटरभन्दा कम दूरीमा सिक्न आउने ड्राइभरहरू जथाभावी गाडी र मोटरसाइकल चलाउँछन्। नजिकै डराउँदै भए पनि बालबालिका र अन्य खेलाडीलाई सिकाउनुपर्ने बाध्यता छ', जिल्ला लन टेनिस संघ कास्कीका अध्यक्ष विनोद कायस्थ भन्छन्, 'त्यसबाट उत्पन्न हुने ध्वनि प्रदूषण, निस्कने धुवाँ र फोहोरमैलाका कारण मास्क लगाएर खेल्नुपर्ने अवस्था छ।'
उनले सोही कारण पोखरा रंगशालामा लन टेनिसका लागि नियमित अभ्यासमा आउने खेलाडीको संख्या नै घटेको अनुभवसमेत सुनाए। लन टेनिसले जस्तै समस्या आर्चरीले पनि भोग्नु परेको छ। आर्चरीले त ती ड्राइभिङ सेन्टरकै कारण लाखौं रकम बराबरको भौतिक संरचनाको क्षति बेहोर्नु परेको छ।
'हामीले आफ्नै खर्चमा आर्चरी ट्रेनिङ सेन्टरलाई वाल र तार जाली लगाउने काम गरेका थियौं', जिल्ला आर्चरी संघ कास्कीका अध्यक्ष योगेन्द्र शेरचनले भने, 'तर सिकारु चालकहरूले गाडीले हानेर वाल पनि आधा भत्काइदिएका छन्। तार जाली पनि आधा ध्वस्त बनाइसकेका छन्। त्यसले गर्दा पा“च लाखभन्दा बढीको आर्थिक क्षति बेहोर्नुपरेको छ।'
उनीहरूले सम्बन्धित निकाय क्षेत्रीय र जिल्ला खेलकुद विकास समितिलाई बारम्बार गुनासो गर्दासमेत समस्या सुनुवाइ नभएको बताए। शौचालयको अभाव भएको रंगशालामा ड्राइभिङ सिक्न आउनेहरूले लन टेनिस र आर्चरीकै शौचालय प्रयोग गर्ने गरेका छन्। त्यसबाट फैलने दुर्गन्धले खेलाडीमा पारेको असर अझ गम्भीर छ। रंगशालाभित्रै सञ्चालित राहुरे ट्रेनिङ सेन्टरले पनि खेलाडीलाई उत्तिकै दुःख दिने गरेका छन्।
पोखरा रंगशालाको ट्र्याक एन्ड फिल्डमा एथलेटिक्सका खेलाडीभन्दा पनि विभिन्न ट्रेनिङ सेन्टरका ड्रेसमा सजिएका ब्रिटिस आर्मी भर्तीको तयारी गरिरहेका युवाहरू दौडिरहेका देखिन्छन्। ट्र्याकबाट उनीहरू हटेपछिमात्रै खेलाडीले दौडने र अभ्यास गर्ने अवसर पाउछन्।
'ट्र्याकबाट हट्न अनुरोध गर्दा मान्दैनन्। हामी पैसा तिरेर यहाँ आएका हौं भन्छन्', एथलेटिक्सका एक खेलाडी भन्छन्, 'उनीहरूले ट्र्याक छाडेपछि मात्रै हामीले अभ्यास गर्ने अवसर पाउँछौं।'
राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड सदस्य फत्त गुरुङ रंगशालालाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने बताउँछन्। 'रंगशालाको दुरुपयोग भएको छ। हामीले त्यसका लागि क्षेत्रीय र जिल्ला खेलकुद विकास समितिलाई सचेत गराइसकेका छौं', उनी भन्छन्, 'रंगशालालाई व्यवस्थित तरिकाले सञ्चालन गरिनुपर्दछ।
रंगशाला खेलाडीकै लागि प्रयोग हुनुपर्छ।' पोखरा रंगशाला प्रशस्त आम्दानी दिन सक्ने भौतिक पूर्वाधार हो। तर त्यसको व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आइरहेको जिल्ला खेलकुद विकास समिति कास्कीले रंगशालाको उचित सञ्चालन गर्न सकेको छैन। रंगशाला परिसरमा विज्ञापन राख्न चाहनेहरूसँग सम्झौता गर्ने र रकम उठाउने जिम्मेवारी कुनै एक व्यक्तिलाई दिइएको छ।
रंगशालाभित्र रहेको क्यान्टिन र जिम हल पनि लामो समयदेखि एकै व्यक्तिले सञ्चालन गर्दै आइरहेको छ। अझ अचम्मको कुरो जिल्ला खेलकुद विकास समिति कास्कीले ट्रेनिङ सेन्टर, ब्रिटिस आर्मी भर्ती तयारी केन्द्र, क्यान्टिनलगायतबाट उठेका रकम सार्वजनिक नगर्ने गरेको पोखरेली खेलकर्मीहरू नै गुनासो गर्छन्।
त्यसमा सँगै जोडिएर कार्यालय रहेको क्षेत्रीय खेलकुद विकास समिति पश्चिमाञ्चलले समेत आँखा चिम्लने गरेको छ।पश्चिमाञ्चलबाट राखेपको बोर्ड सदस्य नियुक्त भएका फत्त गुरुङ उठेका रकमबारे जानकारी माग्दा जिल्ला विकास समितिले सधैं टार्ने गरेको बताउँछन्।
'पोखरा रंगशालालाई धेरै उद्देश्यका लागि भाडामा लगाइएको छ। रंगशालाभित्र विभिन्न प्रदर्शनी र कार्यक्रमहरू सञ्चालन गर्नेहरूबाट पनि मनग्ये रकम उठ्ने गरेको छ। तर ती रकमबारे हामीलाई नै जानकारी हुँदैन', गुरुङ भन्छन्, 'जानकारी माग्दा जिल्ला खेलकुद विकास समितिले सधैं बहानाबाजी गर्ने गरेको छ।
ती रकमलाई पारदर्शी बनाई रंगशालाकै निर्माण र विस्तारमा खर्च गर्ने हो भने स्टेडियमलाई अझ व्यवस्थित र स्तरीय बनाउन सकिन्छ।'