अदालतमा नयनराजको सल्लीपिर
समीक्षा
–राम लोहनी
नयनराज पाण्डेको नयाँ उपन्यास ‘सल्लीपिर’ पेमाको जीवनकथा हो । पेमाको जीवनगाथामा बाबु छिरिङ, बालसखा कर्मा, श्रीमान् दावा र छोरा फुर्वा उसका सहयात्री बनेका छन् । कर्मा पेमाको केटाकेटी अवस्थामा खेल्ने साथीमात्र हो । उनीहरूबीच प्रगाढ स्नेह थियो । त्यो स्नेहले निरन्तरता पाएन । तीन पुस्ताका पात्र छिरिङ, दावा र फुर्वा समग्र समुदायकै प्रतिनिधि हुन् । समय बित्यो, पात्र फेरियो तर दुःख उस्तै रह्यो ।
पढाइको तिर्खा
किताबको भूत सवार भएको थियो छिरिङमा । पेमाकी आमा ग्याल्मो चाहन्थी लोग्ने हिमाल चढ्न जाओस्, दुईचार पैसा कमाओस् । तर, छिरिङको ध्यान त्यता थिएन । भरिया भएर र चौंरी डुलाएर उन्नति हुने कुरामा उसलाई पटक्कै विश्वास थिएन । पढ्ने र कविता लेख्ने काममै ऊ व्यस्त हुन्थ्यो । मौका पर्दा छोरीलाई शेर्पाका दुःखका कथा सुनाउँथ्यो ।
ग्याल्मोले छिरिङका सबै किताब जलाइदिएपछि पेमाको जीवनमा नयाँ मोड आयो । छिरिङ घर छोडेर हिँड्यो । ग्याल्मो अमेरिकीसँग बिहे गरेर अमेरिका गई। पेमा लुक्ला छोडेर खुम्बुमा मामाघरमा बस्न पुगी । आमाको कारण पेमाको मनमा किताबप्रति एकदमै नकारात्मक धारणा गढेको थियो । ऊ छोरा फुर्वालाई कुनै पनि हालतमा पढाउने पक्षमा थिइनँ । तर, दावाको मृत्युको कुरा लेखिएको चिठी पढ्न नसकिएको घटनाबाट उसलाई पढाइको महवबोध भयो ।
राजनीतिक कृति र विकृति
२०३१ सालको सोलुखुम्बु काण्ड, जनमतसंग्रह, जसरी पनि चुनाव जित्ने प्रवृत्ति, माओवादी विद्रोह, शाही सेनाको दमनजस्ता घटनालाई लेखकले कथाभित्र समेटेका छन् । कांग्रेस राजनीतिमा लागेको छिरिङको हत्या भएको घटनामार्फत लेखकले एउटा नलेखिएको इतिहासलाई उजागर गरेका छन् ।
प्रचलित इतिहासमा सोलुखुम्बु काण्डमा कुनै शेर्पा सहिद भएको देखिँदैन । सोलुखुम्बु विद्रोहको योजनामा स्थानीय समुदायको सहभागिता हुनु र दमनमा उनीहरूको हत्या हुनु स्वाभाविक थियो । माओवादी विद्रोहको पनि सकारात्मक र नकारात्मक दुवै पाटा छन् ।
फुर्वामा अध्ययनप्रतिको चेतनाको बीउ माओवादी लडाकु हिमालीले सुनाएको कथाबाटै रोपिएको हो । पछि काठमाडौंबाट किताब लिएर आउँदै गरेकी पेमालाई माओवादीहरूले जिरीमा पक्रिएपछि घटनाले थप दुःखद मोड लिन्छ । माओवादी कार्यकर्ताको अबुझपनको कारण सोझी शेर्पिनी नराम्ररी फसेकी देखिन्छे ।
उपन्यासको सबभन्दा ठूलो समस्या भनेको कथावाचक शेर्पा समुदायमा सफलतापूर्वक प्रवेश गर्नै नसक्नु हो । परिधीय अवलोकनबाट देखेको कुराको रिपोर्टमात्र गरेजस्तो लाग्छ ।
कर्मचारी प्रशासनको भ्रष्ट प्रवृत्तिलाई पनि लेखकले उठाएका छन् । खर्कमा जाने क्रममा भीरमौरीको मह निकालेको निहुँमा गाविससचिव समेतले गरेको ज्यादती र काठमाडौंमा दावाको मृत्युबापतको क्षतिपूर्ति लिने क्रममा गरिएको शोषण उल्लेखनीय छन् ।
निजामती कर्मचारीमात्र भ्रष्ट छैनन्, सीमा रक्षा गर्ने दायित्वका सेना नै घूस खाएर राष्ट्रको सीमा यताउता पारिदिन्छन् (पृ. ६९) । मोफसल र दूरदराजका जनताप्रतिको काठमाडांैको उदासीनताले गर्दा पेमाजस्ताले दुःख पाएका छन् ।
थाको उद्देश्य
लेखकले पठन संस्कृतिको महत्वलाई उठाउने मुख्य उद्देश्यसाथ कथालाई अगाडि बढाएको अनुभूति हुन्छ । कथाको प्रधान द्वन्द्व नै पुस्तक र पढाइमाथि खडा गरिएको छ । छिरिङको पुस्तकप्रेम, उसको कविता र उसले पेमालाई सुनाएका कथाका तत्वहरूले उपन्यासको प्रवाहलाई पछ्याइरहेका छन् । छिरिङले शेर्पाको समुदायलाई बुझेको छ ।
निरक्षरता नै दुःखको जड हो भन्नेमा ऊ स्पष्ट छ । पेमाको जीवनका प्रत्येक मोडमा छिरिङले बताएका कथा सत्य साबित भएका छन् । छिरिङका गीत, कविता र कथाले उपन्यासको कथालाई संगठित गरेको छ ।
पात्र स्वयं उपस्थित नभएर उसका भावनाहरूमार्फत अर्को पात्रको मनोदशालाई नियन्त्रण गर्ने शैली आकर्षक छ । शेर्पाहरूको कठिन र दुःखपूर्ण जीवन तथा पेमा र दावाको लोभलाग्दो प्रेम साक्षरताको महत्वलाई उजागर गर्ने क्रममा प्रयोग भएका सहायक उपकरणमात्र लाग्छन् । यद्यपि यी विषयको वर्णनले उपन्यासको ठूलो अंश ओगटेको छ।
अस्पष्टता तथा त्रुटिहरू
उपन्यासमा प्रशस्त त्रुटि देखिनु खेदजनक छ । विविध कुरालाई एकै ठाउँमा समेट्न खोजेका कारण त्यसो भएको हुनसक्छ । वा, हतारोका कारण आवश्यक ध्यान पुर्याउन नसकिएको पनि हुनसक्छ । त्रुटि र अस्पष्टताले समग्र कथालाई धेरै नै कमजोर बनाएको छ ।
भाषाको लालित्यले त्यसलाई छोप्न सकेको छैन । दावाको मृत्युपछि पेमाको काठमाडौं यात्रापछिका कथामा नाटकीयताको मात्रा अत्यधिक बढेको छ । छिरिङले सुनाएका कथा नै पेमाको जीवन भोगाइमा रूपान्तरण भएको देखिनु कलात्मक दृष्टिले आकर्षक त छ तर त्यत्तिकै कृत्रिम पनि बन्न पुगेको छ ।
एघार सय सोह्रवटा किताब, एघार घरको सेछेन गाउँ, एक सय एघारवटा चौंरी, एघारवटा सूर्य आदि कथामा आउँछन् । एघार संख्याको महत्व शेर्पा समुदायको कुनै मिथकसँग जोडिन्छ कि जोडिँदैन स्पष्ट छैन तर त्यसको प्रयोजन कथामा सिद्ध भएको छैन ।
सेछेन गाउँमा एघार घरमा एघारै परिवारको अनुमान गर्नुपर्छ । तर, कतिपय ठाउँमा आएको वर्णनले गाउँको आकार ठूलो भएको अनुमान गर्नुपर्ने हुन्छ । एक सय एघारवटा चौंरीको संख्या पनि भरपर्दो लाग्दैन । दावाको १० वटा, ग्याल्जेनको सातवटा चौंरी बताइएबाट एघार परिवारको एक सय एघार चौंरी कसरी पुग्छ अनुमान गर्न गाह्रो छ । खर्क जानेहरूमा पनि पेमासहित आठजनाको मात्रै नाम आउँछ ।
डोल्माको परिवारमा ऊबाहेक अरू सदस्यको उपस्थिति देखिँदैन । किनभने उसको विवाहमा माइती पक्ष भएर सबै काम पेमाले नै गरिदिन्छे । संख्यामाथिको अर्को अलमल चौंरीलाई चितुवाले आक्रमण गरेको प्रसंगमा पनि देखिन्छ । चितुवा कतिवटा आए र कति चौंरी मारे ? चितुवा बथानमा आयो ? एउटा चितुवाले कतिवटा चौंरी मार्छ ?
अर्को अलमल समयलाई लिएर देखिन्छ । छिरिङको हत्या गरिएको छ वर्षपछि जनमतसंग्रह आउँछ । छिरिङ घर छोडेर हिँड्दा पेमा कम्तीमा पनि नौ÷दस वर्षकी थिई । पेमाको विवाह दलबहादुरले चुनाव जितेको अर्को वर्षमा भएको हो।
दलबहादुरले पञ्चायती चुनाव जितेको होइन, पार्टीगत चुनाव जितेको हो । त्यसको मतलब कम्तीमा पनि २०४८ सालको चुनाव हुनुपर्छ । यो हिसाबले पेमाको विवाह २७÷२८ वर्षमा भएको बुझिन्छ । तर, कथामा त्यस्तो लाग्दैन । अर्को समस्या फुर्वाको उमेर गणनामा छ । दावा बिहे गरेको पहिलो वर्षमै बाउ बनेको हो (पृ. ७९) ।
पेमा र दावाको बिहे भएको बाह्र वर्षपछि (पृ. ९८) गाउँमा हिमालीको नेतृत्वको माओवादीको समूह आएको हो । यस हिसाबले पनि फुर्वाको उमेर त्यो बेला ११ वर्षको हुनुपर्छ, १० वर्ष (पृ. ९९) होइन । दावाले सगरमाथा चढेको त्यसपछि हो (पृ. १२१) । दावाको मृत्युको झन्डै एक वर्षपछि पेमा काठमाडौं गएकी हो ।
६ महिना त ऊ बेहोश भएरै बितेको छ । त्यसपछि फुर्वाको उमेर ११ वर्षमात्र बताउँछे पेमा (पृ. १८९) । हिमालीहरूको समूह सल्लेरी आक्रमणका लागि जाँदै गर्दा सेछेन आइपुगेका हुन् । तर, उनीहरू त्यहाँ आएको र सल्लेरी आक्रमणको समयमा तालमेल मिल्दैन । त्यस्तै, तिब्बतको गुम्बामा लामाले सुनाएको कथामा पद्मसम्भवले चंगेज खाँको आक्रमणबाट बचाउन किताबहरू लगेको प्रसंग आउँछ । पद्मसम्भव र चंगेज खाँको करिब चार सय वर्षको समय अन्तर यहाँ बिलाउँछ ।
सानैमा बाआमा बितेर छिमीकै दूध खाएर हुर्केको दावाले (पृ. २७) पेमालाई ‘तिमीले पनि मेरी आमाले जस्तै मीठो छम्दुर बनाउँदी रहिछौ’ (पृ. ३२) भन्नको लागि आमाको हातले बनाएको छम्दुर खाएको हुनुपथ्र्याे । ग्याल्जेनको सातवटा चौंरी (पृ. ३५) मध्ये चितुवाले पाँचवटा चौंरी मारिदियो (पृ. ५१) । तर, अब तीनवटा चौंरी बाँकी भन्दा (पृ. ५२) गणनामा गडबड भएको छ ।
मरिसकेकी छिमीले दावालाई खाना खुवाएको (पृ. १२४) र तिब्बत पुग्नुअगावै फर्किएको ग्याल्जेन तिब्बतमै देखिनु (पृ. ७१) पनि समस्या हो । ‘ॐ मणि पद्मे हुँ’ मन्त्रको एकेक अक्षरलाई ‘शब्द’ भनेर अर्थ लगाउँदा (पृ. ७३, ७४) सामान्य नेपाली पाठकलाई पच्दैन । पृ. १६३ मा लगातार आएका वाक्यमा ‘जुका’ र ‘जुगा’ आउनुले सम्पादकीय हतारोलाई इंगित गर्छ । मलेवाको जोडीले तेह्र दिनभित्र गुँड बनाउनेदेखि फुल पार्ने र बच्चा कोरल्नेसमेत सकिसक्छन् (पृ. १९१) । नेपाललाई ‘चार वर्ण छत्तीस जात’को फूलबारी भनिन्छ । तर ‘चार जात छत्तीस वर्ण’को फूलबारी भनेर पटकपटक भनिएको छ ।
काठमाडौंमा पेमालाई एक्लै पठाउनु, तिब्बती शरणार्थी निमीसँग भेट हुनु, निमीले सहयोग गर्नु, अन्धाधुन्द प्रकारले किताब किन्नु आदि कतै पनि वस्तुपरक लाग्दैनन् । चौंरीलाई किताबको भारी बोकाएर हिउँ परिरहेको समयमा बिनाबाटो हिँडाउँदै सगरमाथा बेस क्याम्पसम्मै पुर्याइएको छ र चौंरीसहित पेमाको मृत्यु भएको देखिन्छ । अन्तको वर्णनमा तिलस्मी र जादुयी तत्वले महत्व पाएको छ । यी घटनाले संवदेनशील पाठकलाई भावुक बनाउन त सफल हुन्छ तर औचित्य सिद्ध हुँदैन ।
उपन्यासको सबभन्दा ठूलो समस्या भनेको कथावाचक शेर्पा समुदायमा सफलतापूर्वक प्रवेश गर्नै नसक्नु हो । परिधीय अवलोकनबाट देखेको कुराको रिपोर्टमात्र गरेजस्तो लाग्छ । ११ वर्षको फुर्वा बल्ल अलिअलि नेपाली बोल्नसक्ने भएको छ (पृ. ९९) ।
समुदायको चित्र हो यो । यस्तो समुदायमा हुर्केको फुर्वाले हिमालीले बताएको कथा कसरी बुझ्यो स्पष्ट हुँदैन । पहिले पनि पेमा र कर्माको वार्तालापमा कतै शेर्पा संवाद आउँदैन । बरु आउँछ नेपालीभाषी केटाकेटीलाई पनि गाह्रो पर्ने जटिल संवाद । कहाँसम्म भने खर्कमा चितुवाको आक्रमण भएपछि उनीहरू ‘शेरकेन आयो’ (पृ. ५०) भनेर चिच्याउँछन् । न शेर्पा भाषा, न नेपाली ! संवादमै तत्सम शब्दहरूको उपस्थिति बाक्लै छ । ठ्याक्कै भन्नुपर्दा पहाडीया बाहुनक्षेत्रीको कथालाई केही थान शेर्पा शब्द, शेर्पा पात्र र शेर्पा संस्कृतिका केही घटनाको साथ खुम्बुको भूगोलमा आरोपण गरिएको भान पर्छ ।
उपन्यासका पाठक
रोमान्टिक क्षणहरूले अतिरिक्त महत्व पाएका छन् । पेमा जहिल्यै दावाको छातीमा टाउको राखेर सुत्छे । दावाको अनुपस्थितिमा उसको बख्खुलाई अँगालो हालेर सुत्छे । पेमा बिहे गरेर जाँदै गर्दा सहरका जोडीले जस्तो त्यही रात ‘माया गाँस्न’ पाइएला कि नपाइएला भनेर कल्पिन्छे ।
सेछेन आइपुगेको दिन दावाका साथीहरू बाहिर आँगनमा नाचगानमा मस्त हुन्छन् तर दावा र पेमा घरभित्र एकार्कामा ‘शरीर विलय’ गर्ने खेलमा व्यस्त हुन्छन् । उनीहरू रातभर बाहिर निस्कँदैनन् । अर्को कुनै समय ग्याल्जेन रातभर तीनतारेको पाश्र्वसंगीत बजाइरहन्छ, दावा र पेमा घरभित्र मायाप्रीतिको रुमानी खेलमा मस्त हुन्छन् (पृ. ८५) । दावा खर्कको यात्रामा जाँदै गर्दा पेमा गर्भवती भएको कुरालाई आफू पनि आमाको पेटमा आमाबाबु खर्कको यात्रामा रहँदै गर्दा आएको कुरा जोड्छ । सल्लेरी ब्यारेकको सेनाको जवान आफ्नो परिचय दिँदा नाममात्र भन्दैन, ‘भोटेकोसीको पानी खाएको तामाङ’ भनेर परिचय दिन्छ ।
दुःख, अभाव र कष्टका बीच पनि अभिव्यक्ति र भाषामा रुमानी चञ्चलताले प्राथमिकता पाएको छ । अनि प्रयोग भएको छ एकपछि अर्को पीडादायी घटनाहरूको शृंखला । कल्पना र यथार्थको बीच कुनै सम्बन्ध नखोज्ने, स्वैरकल्पनालाई बिनालगाम छाड्दै रोमान्टिक अनुभूतिको स्वाद खोज्ने किशोरकिशोरी र तन्नेरीलाई ध्यानमा राखेर लेखिएजस्तो लाग्छ उपन्यास ।
निष्कर्ष
लेखककै अघिल्ला केही कृतिले बनाएको उचाइको छायामा यो कृति निम्छरो सिद्ध हुन्छ । विषयवस्तु एकदमै महत्वपूर्ण छ, कथानक पनि सुन्दर छ तर त्यसलाई प्रस्तुत गर्ने घटना कमजोर छन् । संयोजन उत्तरोत्तर खुकुलो हुँदै गएको छ । नेपालीभाषी पाठकलाई अप्ठेरो नपरोस् भनेर अतिरिक्त चनाखो बन्न खोज्दा समस्या थपिएका हुन सक्छन् । कतै लेखकले आफूसँग भएको सीप, दक्षता र कल्पनाशीलतालाई उपयोग गर्न कञ्जुस्याइँ वा हतारो गरेका त होइनन् ?