किताबमा ‘वैकल्पिक शक्ति’

किताबमा ‘वैकल्पिक शक्ति’

अन्नपूर्णः पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका रूपमा घोषणा गरेको ‘नयाँ शक्ति'को चर्चा जारी छ । उसो त हरेक पल हरेक चिज नयाँ हुन्छ संसारमा । जन्म नयाँ हुन्छ । विचार नयाँ फुर्छ ।

मृत्यु नयाँ हुन्छ । बिहान नयाँ उदाउँछ । पहल नयाँ हुन्छ । विवाद नयाँ र समाधान पनि नयाँ हुन्छ । आफ्ना अनुभवमा केन्द्रित भएर लेखक डा. राजेन्द्र केसीले ‘वैकल्पिक शक्ति' नामक नयाँ किताव बजारमा ल्याएका छन् ।

मान्छेले स्वयंलाई कसरी बदल्न सक्छ ? उसभित्र कति सम्भावना छन् ? र त्यो गर्न कसरी शक्ति आर्जन गर्न सकिन्छ? यिनै विषयलाई लेखक केसीले मिहिन ढंगले किताबमा केलाएका छन् ।

प्रकाशक संस्था घोस्ट राइटिङका अध्यक्ष कमल ढकाल त पुस्तकलाई मानिसले आफूमा भएको वैकल्पिक शक्ति उजागर गर्नसक्ने साँचो हो भन्न पछि पर्दैनन् । किताब स्वैरकल्पनाभन्दा अलि पर यथार्थमा लेखिएको छ । मानिसको व्यावहारिक जीवनमा आवश्यक पर्ने विषयवस्तुलाई सूत्रका रूपमा लेखकले राम्ररी केलाएका छन् ।

तीन अध्यायमा विभाजन गरिएको किताबको सुरुमा आफ्ना अनुभवपछि लेखकले पहिलो अध्यायलाई विचार भनेर विभाजन गरेका छन्; जहाँ नयाँ के हो ?

शक्तिको परिभाषा, आर्थिक समृद्धि, शक्तिका स्रोतहरू के हुन् भनेर केलाएका छन् । अध्याय दुईमा उनले व्यवहारको बयान विभिन्न शीर्षकमा गरेका छन् । असल व्यवहार, बानी परिवर्तनका विभिन्न सूत्रदेखि सम्बन्धको अर्थ र महत्वलाई सविस्तार गरेका छन् ।

जीवनमा सफलता चुम्न चाहनेका लागि ‘वैकल्पिक शक्ति' एक मार्गदर्शन बन्नसक्ने सजिलै अनुमान गर्न सकिन्छ । उनले सफलताका सूत्रमात्रै नपस्केर त्यसका लागि सकारात्मक सोच, स्वाभिमान, सफल मानिसका बानी र सोचहरूलाई पनि प्रेरक रूपमा पस्केका छन् ।

सोच, सपना र योजनाले मात्रै कहीँ पुगिँदैन भन्ने कुरा उनको किताबले राम्ररी पुष्टि गर्दै लगेको लाग्छ । यसका लागि उनले अध्याय तीनमा व्यवस्थापनको बयान गरेका छन् ।

मानिसले समयदेखि, सम्बन्ध, पैसादेखि पुँजीको व्यवस्थापन गर्न सकेन भने सफल भइँदैन भन्ने कुरा उनले पुष्टि गरेका छन् ।

विश्वग्राम बन्दै गएको अहिलेको अवस्थामा व्यवस्थापकीय नेतृत्व सबल र सफल नभएकै कारण २००७ साल, २०१६, ०३६, ०४६, २०५२ र २०६३ मा नयाँ विचार र नयाँ परिवर्तन भएको उल्लेख गरेका छन् ।

आफैं पनि बाबुरामको नयाँ शक्ति नजिक भएकाले पनि उनले अहिलेको नयाँ शक्ति पनि समयको उपज भएको पुष्टि गर्न खोजेका छन् ।

राजनीतिक प्रसंगइतर उनले व्यक्ति, संस्था र टिमवर्कमा नयाँ ऊर्जा कसरी हासिल गर्न सकिन्छ भन्ने एउटा गतिलो खुराक पस्कन सकेको मान्नुपर्छ ।

४८ शीर्षकमा बाँडिएका हरेक लेख पढिरहँदा समय बर्बाद गरेझैं लाग्दैन । १९६ पृष्ठको ‘वैकल्पिक शक्ति' घोस्ट राईटिङ नेपालले प्रकाशन गरेको हो । पुस्तकको मूल्य तीन सय रुपैयाँ कायम गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.