प्रहरीकै संलग्नतामा हिरासत छल्न अभियुक्तलाई अस्पतालमा होटलको सुविधा

प्रहरीकै संलग्नतामा हिरासत छल्न अभियुक्तलाई अस्पतालमा होटलको सुविधा
सुन्नुहोस्

जनकपुरधाम : धनुषामा  एक अभियुक्तलाई अस्पतालमा राखेर होटेलको सुविधा प्रदान गरिएको भेटिएको छ। अनुसन्धान वा अभियोजनमा पक्राउ परेका व्यक्ति बिरामीको बहानामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिलाई गृहले कडाइ गरेका बेला धनुषा प्रहरीले हिरासत छल्न एक अभियुक्तलाई डाइरिया र डिहाइड्रेसनको बहानामा अस्पतालमा राखेर होटेलको सुविधा उपलब्ध गराएको पाइएको हो। 

 
ठगी मुद्दाका प्रतिवादी स्थायी काठमाडौं घर भएका ५६ वर्षीय लेखनाथ वाग्लेलाई हिरासत छल्न स्वास्थ्य समस्या भएको कारण देखाएर बैशाख १६ गते आइतबारदेखि रिहा नहुन्जेलसम्म अस्पतालमा राखिएको छ। हिरासतमा भएकालाई चिकित्सकले गरेका सिफारिससमेत असामान्य र अविश्वसनीय भएको भन्दै विरोध भइरहेका बेला जनकपुरधाम जानकी चोकस्थित रामजानकी हस्पिटल प्रा.लि.को डिलक्स कोठामा वाग्लेलाई होटेलको सुविधा दिएर राखेको पाइएको हो। 

जबकि नेपाल मेडिकल काउन्सिलले गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा शारीरिक एवं मानसिकरूपमा अस्वस्थ भएको र दीर्घरोगीहरू जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्था भएका बिरामीले मात्रै अस्पताल भर्ना हुन पाउने व्यवस्था छ। तर, वाग्लेलाई बिना कुनै सिफारिस प्राइभेट अस्पतालको डिलक्सरूममा भर्ना गराएर हिरासत छल्न बिरामीको नाटक रचिएको प्रहरी स्रोतको भनाइ छ। 

गृह मन्त्रालयले सरकारी अस्पताल वा अस्पताल भर्ना गर्नुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले परीक्षण गरेरमात्र अस्पताल राख्नु पर्ने/नपर्ने सम्बन्धमा निर्णय गर्नुपर्नेमा विना सिफारिस रामजानकी हस्पिटलमा प्रहरी साथ वैशाख १६ गते दाखिला गरेर भर्ना गरी ९ दिन राखेर सरकारी वकिल कार्यालयमा मिलापत्र गरी रिहा गरिएको छ। त्यस्तै अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टा भन्दा बढी राख्नुपरेमा उपयुक्त कारण खुलाउन मन्त्रालयले निर्देशन दिए पनि गृहको निर्देशन अटेर गरी धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले नीजि हस्पिटलमा भर्ना गराउन छुट दिएको भेटिएको छ। 
 
यता रामजानकी हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर प्रकाश चन्द्र गुप्ताले जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी सहितको टोली खटिएर भर्ना गरिदिन मौखिकरूपमा आएकाले आफूहरूले भर्ना गरेको स्वीकार गरे। अस्पतालका सञ्चालक समिति सदस्य तथा डा. ओमशंकर यादवले लिखित रुपमा आफूहरूलाई कुनै पनि रेफर अथवा सरकारी चिकित्सकको सिफारिस नआएको खुलाए। उनले भने, ‘मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालबाट यहाँ ल्याइएको थाहा पाएँ। तर, कुनै पनि ठाउँको रेफर पुर्जा वा चिकित्सकीय सिफारिस आएको छैन। प्रहरीको साथमा बिरामी आएको थियो, त्यसैले विरामीलाई उपचार गर्नुपर्ने सम्झेर उपचार गरी पठाएको छु।’

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले गृह मन्त्रालयको परिपत्र आउनुभन्दा पहिल्यै अभियुक्तलाई सरकारी वकिल कार्यालयबाट मिलापत्र भएर रिहा भइसकेको जानकारी दिए। उनले भने, ‘वादी को थिए? कहाँको मान्छे थिए थप बुझ्न जिल्ला प्रहरी कार्यालय आउनोस् र लैजानुस्।’

हिरासत छल्न बहानाबाजी गरी अस्पताल बस्नुमा धनुषाका प्रहरी उपरिक्षक तिवारीसहित उच्चपदस्थ अधिकारीहरूको मिलोमत्तो देखिएको छ। किनकि १६ गते हिरासतमा हुनुपर्ने व्यक्तिलाई नीजि अस्पतालमा राखेर होटेल सरहको सुविधान उपलब्ध गराउनु नै शंकास्पद रहेको बेलामा जिल्ला प्रहरी कार्यालय धनुषाका मुद्दा फाँटका प्रहरी निरीक्षक उपेन्द्र खरेलसँग जिज्ञासा राख्दा पक्राउ गरेर ल्याएको वा स्वयं उपस्थित भएको बारे खुल्न चाहेनन्। उनले सबै प्रक्रिया नै पुर्‍याएर गर्नुपर्छ भने छैन भन्दै पन्छिए। खरेलले थप्दै भने, ‘बीर अस्पतालमा हुनुपर्ने मान्छे नर्भिकमा कसरी जान्छ, त्यस्तै यहाँ पनि हो।’ 

यता मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रबन्धक (केडी) कृष्णचन्द्र दासले प्रादेशिक अस्पतालमा डाइरिया र डिहाइड्रेशनजस्ता विरामीलाई रेफर गर्नुपर्ने कुनै कारण नभएको स्पष्ट पार्दै नियम विपरीत कुनै विरामी आफ्नो मनमर्जी लगिए आफूहरू पनि केही गर्न नसक्ने बताए। उनले भने, ‘कसैले मनमौजी विरामी ल्याएर लग्छ भने त्यो हाम्रो सरोकारको विषय हैन। तर, डायरियाजस्ता सामान्य विरामीलाई रेफर गरिएको छैन।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.