बेलायतको बहिर्गमन र सेयर बजार

बेलायतको बहिर्गमन र सेयर बजार

बेलायतले जनमत संग्रहमार्फत युरोपियन युनियनबाट बाहिरिने निर्णयसँगै विश्व सेयर बजारमा नकारात्मक प्रभाव र पाउन्डको अवमूल्यन भएको छ भने वैकल्पिक लगानीका क्षेत्रहरू सुन या डलरको मूल्यमा उछाल आएको छ ।

नेपालको सन्दर्भमा अब सेयर बजारमा कस्तो प्रभाव पर्ला, त्यसको वास्तविक उत्तर त अबका सेयर कारोबारसँगै थाहा होला तर मानिसहरूले तर्सिएर आत्मबल केही गुमाएजस्तो भावना व्यक्त गरिरहेका छन् । उनीहरूले अनुमान गरेजस्तो र विश्व बजारमा देखिएजस्तो नकारात्मक असर नेपाली सेयर बजारमा पनि पर्छ त ? त्यसको लागि हाम्रो अर्थतन्त्रबारेमा केही बुझ्नुपर्छ ।

वास्तवमा नेपालको स्वतन्त्र अर्थतन्त्र नै छैन । भन्नुको तात्पर्य हो नेपालको अर्थतन्त्र र त्यसको मापन गर्ने मुद्रालाई व्यावहारिक रूपमा विश्वका अन्य मुद्रा र अर्थतन्त्रले चिन्दैन । त्यसो भए नेपाली मुद्राको अर्थ र नेपालको अर्थतन्त्रको मापन कसरी भइरहेको छ त ? त्यसको लागि सबैभन्दा पहिले नेपाली मुद्राको विनिमय निर्धारण प्रक्रियालाई सतही रूपमा भए पनि बुझ्नुपर्ने हुन्छ । त्यसो भए कसरी विनिमय तोकिन्छ त ?

नेपाली मुद्राको विनिमयको सरकारी सतही दर नेपाल राष्ट्रबैंकले निर्धारण गर्दछ र त्यसैका आधारमा बैंकहरूले कारोबार गर्छन् । तर के साँच्चै नेपाली मुद्राको अमेरिकी डलर र अन्य मुद्रासँग नेपालको अर्थतन्त्रको वास्तविक क्षमताको आधारमा विनिमय तोकिएको हो त ? होइन, राष्ट्र बैंकले पनि भारतीय मुद्राको अमेरिकी मुद्रासँगको विनिमय दरलाई आधार बनाएर त्यसलाई नेपाली मुद्रा र भारतीय मुद्राबीच तोकिएको निश्चित विनिमय दरको आधारमा बल्ल नेपाली मुद्रा र अमेरिकी डलरबीचको विनिमय दर निर्धारण हुन्छ ।

यसको सोझो अर्थ हो, नेपाली मुद्रालाई अमेरिकी डलरले सोझै चिन्दैन, उसले भारतीय रुपैयाँ मात्र चिन्छ । अर्को अर्थमा भारतीय रुपैयाँले नेपाली रुपैयाँलाई अमेरिकी डलरसँग चिनाउँछ । जसरी नेपाली मुद्रालाई भारतीय मुद्रामार्फत चिन्छ, त्यस्तै नेपालको अर्थतन्त्रलाई पनि बाहिरी विश्वले भारतीय अर्थतन्त्रमार्फत मात्रै चिन्छ । यसको सोझो अर्थ हो, नेपालको अर्थतन्त्र र मुद्राको विश्व अर्थतन्त्र र मुद्रासँग प्रत्यक्ष सम्बन्ध छैन ।

 

त्यसो भए नेपाली सेयर बजारको विश्व सेयर बजारसँग कस्तो सम्बन्ध छ त ?

जुन देशको अर्थतन्त्र र मुद्राको विश्व अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्ध छैन, त्यो देशको सेयर बजारको पनि विश्व सेयर बजारसँग प्रत्यक्ष सम्बन्ध हुने कुरै भएन । विश्वका सेयर बजारहरूमा प्रत्यक्ष विदेशी लगानीदेखि अमूक ठाउँमा बसेर सीधै कारोबार गर्न मिल्ने, कुनै कम्पनीको सेयर एक दिन कारोबार गर्न मिल्ने (इन्ट्रा डे ट्रेडिङ), भविष्यको सम्भावित मूल्यका आधारमा आजै कारोबार गर्न मिल्ने (फ्युचर ट्रेडिङ), सहज मार्जिन लेन्डिङ, मार्केट मेकर जस्ता विभिन्न औजार र अवसर उपलब्ध हुन्छन् ।

सेयर बजार घट्दा या बढ्दा या जुनसुकै अवस्थामा सेयर व्यापारी हुन् या लगानीकर्ता हुन्, कसैले पनि अत्तालिएर या मात्तिएर कुनै पनि निर्णय लिँदा त्यो जोखिमपूर्ण र हानिकारक हुनेछ ।

यसका साथै विश्व सेयर बजारमा अर्थतन्त्रको मुटु मानिने उत्पादन, सेवा क्षेत्रका उद्योग र व्यवसायको दबदबा रहन्छ । यसविपरीत नेपालको सेयर बजारमा उत्पादन क्षेत्रका उद्योग-व्यवसायको उपस्थिति र कारोबार नगण्य मात्र रहेको छ । यस्तै नेपालको सेयर बजार भर्खर आधुनिकतातर्फ बामे सर्दै गरेको छ । यहाँ विदेशीको लगानी त कुरै छोडौँ, गैरआवासीय नेपालीले समेत सहज लगानी गर्न विभिन्न समस्या रहेको छ । त्यसैले नेपाली सेयर बजारको विश्व सेयर बजारसँग प्रत्यक्ष त के सायद परोक्ष सम्बन्धसमेत छैन भन्दा हुन्छ ।

विश्व सेयर बजार कति चलायमान छ भने सुन मूल्य, डलरको सटही दर, परिवत्र्य विदेशी मुद्राको सटही, अमेरिकी अर्थतन्त्र वा नेतृत्वदायी अर्थतन्त्रमा हुने सामान्य परिवर्तनले समेत मुख्य सेयर बजारमा उल्लेख्य प्रभाव पार्छ । विगतमा विश्व सेयर बजारमा आएका उतारचढावको अवस्थामा समेत नेपाली सेयर बजार अछूतो रहेको वा निकै कम र ढिलो प्रभाव देखिएबाट पनि अहिले पनि त्यसको आर्थिक सम्बन्धका हिसाबले त्यस्तो उल्लेख्य प्रभाव पर्ने सम्भावना कम छ ।

तर सेयर बजारमा आर्थिक सूचक र सम्बन्धका साथै मनोवैज्ञानिक अवस्थाले उल्लेख्य प्रभाव रहने हुँदा नेपाली सेयर बजारमा कुनै असर पर्दैन भन्ने सुनिश्चित गर्न भने गाह्रो छ । लगानीकर्ताहरूको मनोदशा, भय र त्रासले सामान्य प्रभाव भने पर्न सक्छ । यसले सेयर कारोबारीहरूले अत्तालिएर बेच्न खोजेको अवस्थामा सेयरमूल्यमा सामान्य गिरावट आउनु स्वाभाविक हो । यसको अर्थ सेयर व्यापारी (ट्रेडर) लाई भने उल्लेख्य घाटा हुन सक्छ । यसविपरीत दीर्घकालीन लगानीकर्तालाई यसले लगानीको अवसर सिर्जना गर्छ नै र उसको सेयर धन (वेल्थ) मा सकारात्मक असर पर्ने निश्चित छ ।

के त्यसो भए नेपाली सेयर बजारमा कुनै असर पर्दैन त ? होइन, नेपालको अर्थतन्त्र, मुद्रा वा सेयर बजारको विश्वसँग प्रत्यक्ष सम्बन्ध नभए पनि विश्व सेयर बजारको उतारचढावले भारतीय अर्थतन्त्र र सेयर बजारमा पार्ने नकारात्मक प्रभावको केही असर नेपालमा पनि पर्नेछ । अर्को शब्दमा भारतीय अर्थतन्त्र हुँदै छानिएका प्रभाव मात्र नेपाली अर्थतन्त्र र सेयर बजारमा पर्नेछ ।

अहिलेको अवस्थामा नेपाली सेयर बजार आधुनिकतातर्फ बामे सर्दै नयाँ व्यक्तिगत लगानीकर्ता, केही म्युचुअल फन्ड, केही संस्थागत लगानीकर्तासमेतले लगानी बढाउँदै गएको अवस्था हो । यस्तै अहिले अन्य क्षेत्रमा लगानीका अवसरको कमी वा तुलनात्मक प्रतिफलमा कमी रहेको अवस्था हो ।

यसका साथै भूकम्प र नाकाबन्दीले थिलथिलिएको नेपाली अर्थतन्त्र पुनर्जागरणको अवस्था त हो नै अनि निकै ठूलो चोट सहेको अवस्था पनि हो । यस्तो अवस्थामा लगानीकर्ताहरू विगत केही समयदेखि सेयर बजार र अर्थतन्त्रको सम्बन्धमा आआफ्नै विश्लेषण गर्दै अहिले सेयर बजार अर्थतन्त्रको वास्तविकताअनुरूप रहेको र नरहेको तर्क-वितर्क सुरु भएको अवस्था पनि हो ।

त्यसकारण बेलायतको युरोपेली युनियनबाट बाहिरिएको कारण मात्र त्यस्तो उल्लेख्य असर परे वा नपरे पनि सेयर बजारमा सामान्य करेक्सन आउनुलाई सामान्य रूपमा लिइनुपर्छ ।

यस्तो अवस्थामा सेयर व्यापारीले सचेततापूर्वक लगानीसम्बन्धी निर्णय गर्नु वा मुनाफालाई सुरक्षित गर्नु (प्रोफिट बुक) उपयुक्त हुन सक्छ भने लगानीकर्ताले केही दिन कुरेर वा बजारको उतार–चढावलाई सूक्ष्मरूपमा नियालेर खरिद–बिक्री गर्नु बुद्धिमानी हुन सक्छ । सेयर बजार घट्दा या बढ्दा या जुनसुकै अवस्थामा सेयर व्यापारी हुन् या लगानीकर्ता हुन्, कसैले पनि अत्तालिएर या मात्तिएर कुनै पनि निर्णय लिँदा त्यो जोखिमपूर्ण र हानिकारक हुनेछ ।

धैर्यसाथ बजार बुझेर, विश्लेषण गर्दै लगानीको उद्देश्य, जोखिम वहन क्षमता र लगानीका लागि उपलब्ध पुँजीका आधारमा अल्पकालीन अवसर वा प्रभाव उपयोग गर्नु बुद्धिमानी हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.