स्टेजम रोए कवि
धरान: कवि बम देवान र स्वर्गीय कृष्ण पाख्रिन समकालीन थिए। साहित्यले उनीहरूको मित्रता कसिलो बनाएको थियो। कवि देवान, पाख्रिनको घरमा जान्थे। घरअघि वर, पीपल, शिरीषका थुप्रै रूख थिए। चराचुरुंगीहरू चिरबिरचिरबिर गरिरहन्थे।
अब कवि पाख्रिन छैनन्, उनको घरअघि त्यस्ता रूख पनि छैनन्। आफ्ना कवि मित्रलाई शुक्रबार दिउँसो देवानले यसरी सम्झिँदा हल मौन भयो। उनीपछि कवि सुदीप पाख्रिनको बोल्ने पालो आयो।
सुदीप स्टेजमा चढे। केही नामहरू सम्झँदै थिए, तर बोल्नै सकेनन्। दुवै हातले आँखा छोपेर उनी सुक्सुकाउन थाले। 'म कवितावाचन गर्न चाहन्थेँ, तर बोल्दिनँ' भन्दै दर्शकदीर्घामा आएर बसे।
कवि पाख्रिनको कवितासंग्रह 'दगुरिहिँड्ने चौबाटोको बिसौनीमा' शुक्रबार परिचर्चा हुँदै थियो। वक्ता कवि बम देवानले संग्रहभित्रको कविता वृक्ष–देशबारे चर्चा गर्दै समकालीन कवि मित्र स्वर्गीय पाख्रिन र उनको पारिवारिक प्रसंग खोतलेका थिए।
स्वर्गीय कवि पाख्रिन सशक्त युवा कवि सुदीपका पिता हुन्। बुबाको प्रसंगले कवि मन निक्कै भावुक भइसकेको थियो। बोल्ने क्रममा आँसु थाम्नै सकेनन्। उनी बोल्न नसकेपछि प्रमुख अतिथि कवियित्री कुन्ता शर्माले बोलिन्। त्यसपछि केही सम्हालिएर पाख्रिन स्टेजमा पुगे।
'बम अंकलले जसरी बुबाको प्रसंग ल्याइदिनुभयो, म भावुक भएँ', प्रष्टीकरण दिँदै सुदीपले भने, 'आफूले गुमाएको प्यारो मान्छे या त दुःख पर्दा या ज्यादै सुखमा याद आउँदो रैछ।'
बीपी प्रतिष्ठानका परिक्रमा विद्यार्थी परिवारको आयोजनामा दगुरिहिँड्ने चौबाटोको बिसौनी कार्यक्रम भएको हो। समालोचक रामजी तिम्सिनाले कवि पाख्रिनलाई असल र प्रशस्तै सम्भावना भएका कविको रूपमा उल्लेख गरे।
'कवि सुदीप सरल व्यक्तित्वका कवि हुन्, उनमा इगो अहिलेसम्म पाएको छैन। उनको कविता त्यही व्यक्तित्वको प्रकाशन हो', समालोचक तिम्सिनाले भने, 'संग्रहको नामै काव्यिक छ। जीवन, सौन्दर्य, प्रकृतिले भरिएको छ। देशप्रेम छ, कल्पनाको संयोजन सुन्दर छ, कल्पनाको उच्चतहमा बिम्बको प्रयोग छ।'
परिचर्चाकार कवि बम देवानले पाख्रिनलाई पराभौतिकवादी कवि भने। 'उनी पराभौतिकवादी हुन्, ईश्वरको अस्तित्वमा विश्वास गर्छन, दार्शनिक हुन्, आत्माविश्वास राख्छन्। शोषित पीडित, श्रमजीवीको पक्षमा छन्', कवि देवानले भने, 'राज्यको आँखा नपुगेको ठाउँमा भावुक हुन्छन्, प्रखर व्यंग्यकार पनि छन्, झूटा नेताहरूलाई ब्लाकहोलमा घुयेत्रो हान्न चाहन्छन्।'
कवियित्री कुन्ता शर्माले पाख्रिनलाई इमानदार कविको रूपमा चिनाइन्। विचारलाई कलाले ढाकेर कवितामा सुन्दर भावमा प्रस्तुत गर्ने खुबी भएको व्यक्तित्व भनिन्।
सोही कार्यक्रममा कलरव धरानले भूकम्पपीडित तीनजना कलाकारलाई सहयोगसमेत गरेको थियो। केही समयअघि कलरवले पुनर्निर्माणमा कविता र पुनर्निर्माण क्यानभास कार्यक्रमबाट संकलन गरेको ३० हजार वरिष्ठ कलाकार कर्ण मास्केलाई हस्तान्तरण गरिएको थियो। सो रकम कलाकार भक्तपुरका शर्मिला हांवाजू, सूर्यबहादुर चित्रकार र बौद्धकी लालमाया मोक्तानलाई उपलब्ध गराइनेछ।००