कांग्रेसबाट सदनमा अवरोध, बैठक फेरि स्थगित
काठमाडौंः भूकम्पपीडितलाई दुई लाख रुपैयाँ एक मुष्ट दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज पनि व्यवस्थापिका संसद्को बैठक अवरोध गरेको छ ।
कांग्रेसका सांसद् रामशरण महतले भूकम्पपीडितलाई एकमुष्ठ रकम दिन सरकार तयार नभएसम्म संसद् चल्न नदिने बताए ।
कांग्रेसको अवरोधपछि आज पनि भूकम्पपीडितलाई दिइने अनुदान तथा अफगानिस्तान घटनाबारेमा प्रधानमन्त्रीले सरकारकातर्फबाट बोल्न पाएनन् ।
सांसद् महतले भूकम्पपीडितलाई घर पुनर्निर्माणका लागि विश्व बैंकबाट अनुदान प्राप्तिका लागि गत वर्ष साउन २९ मा भएको सहमतिको पुनरावलकोन गरेर भएपनि दुई लाख रुपैयाँ एकमुष्ट दिनुपर्ने अडान राख्दै आएको छ ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा सरकारले विश्व बैंकसँग भूकम्पपीडितको घर पुनर्निर्माणका लागि चार चरणमा ऋण दिने गरी अनुदान सम्झौता गरेको थियो ।
आफ्नै सरकारले गरेको सम्झौताविपरितको माग राख्दै कांग्रेसले केही दिनयता निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।
‘भूकम्पपीडितलाई एक मुष्ट दुई लाख रुपैयाँ दिने गरी विश्व बैंकसँग नयाँ सम्झौता गरेर भएपनि भूकम्पपीडितलाई दुई लाख रुपैयाँ दिनुपर्छ’, सांसद् महतले भने, ‘सरकारबाट एकमुष्ट दुई लाख रुपैयाँ भूकम्पपीडितले पाउने ग्यारेन्टी नभएससम्म हामी सदन चल्न दिँदैनौं ।’
यो पनि पढ्नुस्