प्रभाव पार्न सक्ने खेलाडीः सेस फेब्रिगास
एजेन्सीः स्पेनिस टोलीका नियमित सदस्य हुन्, सेस फेब्रिगास । स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा हात पारेका पछिल्ला सफलतालाई फेब्रिगासले टोलीमै रहेर अनुभव पनि गर्दै आएका छन् ।
सोमबार राति हुने इटालीविरुद्धको खेलमा स्पेनिस टोलीलाई फेब्रिगासको लामो अनुभव महत्वपूर्ण सावित हुन सक्छ । २९ वर्षीय फेब्रिगासले सन् २००६ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । त्यसयता उनले स्पेनिस टोलीका लागि खेलेका एक सय पाँच खेलमा १५ गोल गरेका छन् ।
उनी यू-१६, यू-१७, यू-२०, यू-२१ हुँदै स्पेनको सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका थिए । आठ वर्ष आर्सनलमा बिताएर सन् २०११ मा बार्सिलोनामा आबद्ध भएका फेब्रिगासले उक्त क्लबबाट ९६ खेल खेल्दै २८ गोल गरेका छन् ।
उनी दुई वर्षयता चेल्सीमा आबद्ध छन् । यी सेन्ट्रल मिडफिल्डर डिफेन्स र फर्वाडबीच राम्रो तालमेल मिलाउन खप्पिस छन् ।
प्रशिक्षक भिसेन्ट डेल बोस्कले निकै आशा गरेका खेलाडीमा फेब्रिगासको पनि नाम आउँछ । टोलीका अन्य अनुभवी खेलाडीजस्तै फेब्रिगास पनि स्पेनिस टोलीका लागि ऐतिहासिक सफलता हात पार्न चाहन्छन् ।