दोरम्बा काण्ड र झूटा आरोप

दोरम्बा काण्ड र झूटा आरोप

कमल चौलागाई
२०६० साल साउन ३२ गते दोरम्बा काण्डमा मारिएका बाबुराम लामाकी छोरीसहित १४ जना पीडितले उक्त घटनाको दोषीलाई कारबाहीको माग गर्दै २०७३ जेठ २७ गते सत्य निरूपण तथा मेलमिलाप आयोगमा किटानी जाहेरी दिएको समाचार सञ्चारमा आयो ।

सरकार र माओवादीबीच शान्तिवार्ता चलिरहेका बेला भएको उक्त हत्याकाण्ड निन्दनीय थियो । राज्य होस् वा माओवादी जोकोहीबाट पनि भएगरेका यस्ताखाले आपराधिक कार्यमा संलग्न अभियुक्त दण्डित हुनुपर्छ नै ।

तर दुःखका साथ भन्नैपर्छ– यस घटनामा पंक्तिकार र तत्कालीन रामेछाप जिविस सभापति रमेश बस्नेतको नाम जोडिनुमा माओवादी पक्षको दुराग्रहबाहेक केही देखिँदैन ।

२०६० जेठ १६ गते नै लोकेन्द्रबहादुर चन्द (जसमा म मन्त्री थिएँ) राजीनामा दिइसकेर जेठ २१ गते सूर्यबहादुर थापाको सरकार गठन भइसकेपछि २०६० साउन ३२ गते दोरम्बा काण्ड हुन पुगेको हो ।

म सत्ताबाहिर रहेको मान्छेलाई तत्कालीन सत्तामा रहेको मान्छेहरूको हुलमा सामेल गरी दोषी देखाउनुको कारण के हो ? तत्कालीन दोरम्बा काण्डपछि माओवादीले दोरम्बाकै स्वास्थ्य कार्यकर्ता रेलीमाई तामाङ र भीमबहादुर श्रेष्ठलाई पक्डेर सोधपुछ गरी हत्या गरेको खबर समाचारमा आइसकेको थियो ।

उनीहरूसँगको सोधपुछ र अनुसन्धानबाट के पत्ता लाग्यो भन्ने कुरा बाहिर ल्याउनुपर्छ कि पर्दैन ? अब त माओवादी खुला राजनीतिमा आइसकेको छ र सरकारको नेतृत्व समेत गरिसकेको छ । जवाफदेही हुनुपर्छ कि पर्दैन ? लुकेर हिँड्दाको अवस्थामा जस्तो अब पनि गैरजिम्मेवार हुन पाइन्छ ?

दोरम्बा काण्डको नेतृत्व गर्ने सेनाका मेजर राममणि पोख्रेलको पीडितले जाहेरी दिएको अघिल्लो दिन अर्थात् २०७३ जेठ २६ गते बुधबार जनआस्था पत्रिकामा लेख छापिएको छ । उक्त लेखमा उनले खुलेआम र चुनौतीपूर्वक सैनिक हेडक्वाटरको निर्देशनअनुसार माओवादी सेल्टर ध्वस्त गर्ने क्रममा भएको घटना हो भनेका छन् ।

राज्य होस् वा माओवादी,जोकोहीबाट भएगरेका भए पनि आपराधिक कार्यमा संलग्न अभियुक्त दण्डित हुनुपर्छ ।

शान्ति–सम्झौतापछिको यस १० वर्षको अवधिमा माओवादीका दुई नेताहरू शक्तिशाली प्रधानमन्त्रीको पदमा विराजमान भइसकेका छन् भने रक्षा र गृह मन्त्रालयसमेत पटकपटक चलाएका छन् ।

अहिले पनि कम्युनिस्ट बाहुल्यको संसद् तथा सरकार छ र माओवादी गृहसमेत वजनदार मन्त्रालय अँठ्याएर बसेका छन् । दोरम्बा काण्डका मेजरले सैनिक मुख्यालयतर्फ औँला तेस्र्याएपछि छानबिन कहाँबाट सुरु गर्ने ?

हामीजस्ता निहत्था र निर्दाेषलाई बदनाम गराई पीडितहरूलाई गुमराहमा राख्ने कि निर्देशन दिने ठाउँतिर अनुसन्धान र कारबाही अघि बढाउने ? विडम्बना तत्कालीन दोरम्बा काण्डका बेलाका प्रधानमन्त्री सूर्यबहादुर थापालाई गृह मन्त्रालयको सिफारिसमा हालै मात्र उच्चस्तरको तक्मा दिएर सम्मानित गरियो ।

माओवादीका गृहमन्त्रीको सिफारिसमा दोरम्बा काण्ड हुँदाका सरकार प्रमुख सूर्यबहादुर थापा राष्ट्रकै ठूलो तक्माले विभूषित गरिन्छन् । पीडितहरूको पीडामाथि योभन्दा ठूलो उपहास अरू के नै हुन सक्छ ? माओवादी चकचकी चलेको बेला यस्ता विडम्बनायुक्त घटना पर्याप्त सुन्न, देख्न पाइन्छ ।

माओवादीका टाउकाको मोल तोक्ने र आतंककारी कानुन बनाएर गोली ठोक्नेहरूसँग गाला जोडेर माओवादी नेताहरूले सत्ताभोग गरिसकेका छन् । तर केन्द्रमा रहेर कमल चौलागाई र जिल्लामा रहेर रमेश बस्नेतले भूमिका खेली माओवादी कार्यकर्ता मारिनबाट जोगाउने र थुनाबाट रिहा गराउने काम गरेवापत लान्छित, दण्डित हुनुपर्ने ?

तत्काल पुलिसमा दुइटा हाकिम थिए अच्युतकृष्ण खरेल, माओवादी डम्पिङ गराउनमा ख्याति कमाएका थिए भने कृष्णमोहन श्रेष्ठ धेरैलाई मारिनबाट बचाउने काम गर्थे ।

रमेश बस्नेतको सूचना र मेरो सिफारिसमा कृष्ण मोहनले रामेछापका कतिपय माओवादीलाई मारिनबाट बचाएका थिए । तर तिनै कृष्णमोहन माओवादीका हातबाट मारिए ।

आफ्नो स्थिति र घटनाक्रमको विश्लेषणको आधारमा भन्दा पनि बाह्य शक्तिको प्रायोजनमा माओवादीमार्फत गराइएका यस्ता रहस्यमय घटनाको फेहरिस्त लामै छ ।

लोकतन्त्रको आगमनपश्चात् कुनै माओवादी केन्द्रीय सदस्यले नै पत्रिकामा लेखेर दोरम्बा काण्डमा मेरो नाम मुछेर बद्नाम गरेपछि तत्कालै यस कुराको छानबिन गरियोस् भनेर माओवादी नेता देव गुरुङमार्फत माओवादी हेडक्वाटरलाई लेखेर दिएको थिए । पछि मलाई जवाफ दिइयो कि ‘स्थानीय अन्तरविरोधका कारण यी सबै भएका हुन् तपाईंमाथि आरोपित गर्ने त्यस्तो केही आधार छैन ।’

माओवादी नेताहरूले त खुलाएनन् तर तिनका स्थानीय कार्यकर्ताबाट जानकारीमा आयो कि मेरै दाजुभाइ पर्ने रेशम चौलागाई मलाई दोरम्बा काण्डको दोषी देखाउन मरिमेटेर लागिपरे ।

घटनाको दिनमा दोरम्बामा माओवादीको बैठक रहेछ र त्यसमा भाग लिन जाँदै गर्दा डेड घन्टा बाटोवर नै गाल्बा बजारमा पुग्दा रेशमले सेना दोरम्बा एक्सन गर्न आउँदै गरेको देखेछन् । उनी दोरम्बातिर अघि बढेर आफ्ना साथीभाइलाई त्यो सूचना दिनुको सट्टा त्यहीँबाट फर्की भागेर हिलेदेवी आएछन् ।

उता माओवादी मारिनु र यता भने त्यही पार्टीका जिल्ला जनसरकार उपप्रमुख उल्टो दिशातिर सुइँकुच्चा ठोक्नु । यस्तो घटनापछि पार्टीभित्रै उनीमाथि आरोप लगाइएछ कि यसको भाइ कमल चौलागाई केन्द्रीय सत्ता नजिक छ र यी दुई भाइको साँठगाँठबाट दोरम्बा घटना भयो । तत्कालको स्थितिमा बाबुराम लामाको टिमसँग रेशमको जनसरकार गठनको बेलादेखि नै विवाद परेको रहेछ ।

केन्द्रीय नेतृत्वले रेशमलाई जनसरकार प्रमुख बनाउन खोज्ने तर स्थानीय कार्यकर्ताले उनको विरोध गरेर बाबुरामलाई अगाडि सारेछन् । उनलाई रोक्ने मूल कारणमा उनी माओवादी युद्ध सुरु भएपछि पनि शिक्षक जागिर खाएर अनि चर्को ब्याजमा पैसा लगाएर बसेका मान्छे हुन् र साथै २०५१ को सांसद चुनावमा माओवादी बहिष्कार गर्दागर्दै पनि उनले कमल चौलागाईलाई भोट हालेका हुन् भन्ने आरोप लगाएर जनसरकार प्रमुख बन्नबाट रोकिएको रहेछ ।

अझ थप प्रमाणको रूपमा उनको छोरालाई जेलबाट रिहा गराउन मैले भूमिका खेलेको केसलाई लिइएको रहेछ । जब कि मैले बचाएका धेरै माओवादीका मान्छेमध्ये एक उनको छोरा पनि थिए । मसँग उनको साँठगाँठ रहेको प्रमाण देखाउन यो कुरा पनि जोडिएर आएछ ।

अनि दोरम्बा घटनामा उता बाबुराम मारिनुयता उनी सेना आएको सूचना दिनुको सट्टा उल्टो दिशातिर भाग्नु । मसँग साँठगाँठ भएको आरोपबाट बच्न नै उनले दोरम्बा घटनामा मेरो नाम उछाल्ने काम गरेका रहेछन् । यो उनको कायरता हो । मसँग साँठगाँठको आरोपबाट उनको निष्ठामाथि नै प्रश्नचिन्ह खडा भइसकेको ठानेर उनले क्रान्तिकारी देखिन कैयन आफन्तलाई दुःख दिए ।

मसँगको दूरी देखाउने नाममा उनले आफ्नै गाउँमा बाटो खन्न पठाएको डोजर नै हस्तक्षेप गरी बाटो खन्ने काममै बाधा हाल्न पुगेकाले गाउँलेमाझमा एक्सपोज भएका थिए । जब कि त्यसैताका नै मैले नै शिलान्यास गरी पठाएको डोजरलाई बाबुराम लामाले मेरो टिमका साथीहरूसँग समझदारी गरि निर्बाध बाटो खन्न दिएकाले बेथान गाउँ हँुदै मोटरबाटो जान सकेको थियो ।

उनकै फुपूको नातिलाई पक्डेर लगि उनकै सामु मारिएको थियो भने त्यही ठाउँमै उनको अर्काे भतिजो उनको उक्साहटका बाबजुत पनि मारिनबाट बाबुराम लामाले नै बचाएका रहेछन् ।

रेशमलाई आरोपित गर्नुको पछाडि अन्य कुरा पनि थिए, जसको कारण पछि गएर उनको सभासद्को टिकट नै खोसिन पुग्यो । तर उनी भने आफन्तहरूलाई सिध्याएपछि मात्रै अरूको नजरमा आफू निष्ठावान् देखिइन्छ भन्ने भ्रम पालेरै बाँचे । विचराको सुझबुझमाथि दया गर्नु सिवाय अरू के नै पो गर्न सकिन्छ र ?

अन्त्यमा, माओवादी नेतृत्वसमक्ष मेरो प्रश्न कति मात्रै छ भने दोरम्बा घटनाका पीडितप्रति तपाईंहरू इमानदार हुनुहुन्छ कि हुनु हुन्न ? गोयबल्स शैलीको प्रचारवादी गर्नु हुन्छ कि मेजर राममणि पोखरेलले औँल्याएको ठाउँबाट अनुसन्धान थाल्नु हुन्छ ? वा कतै गएर सौदाबाजी गर्न यो केस प्रयोग गर्नुहुन्छ ? दोरम्बा घटनामा म र रमेश बस्नेतलगायत तत्कालीन टिमका नाम पृष्ठभूमिका साथीहरू कोही पनि संलग्न छैनौँ ।

कुनै प्रकारको पनि संलग्नता प्रमाणित भयो भने जस्तोसुकै सजाय भोग्न तयार छौँ । माओवादी नेतृत्वले पनि कबुल गरोस् कि दोरम्बा काण्डका पीडितहरूलाई न्याय दिलाएर छोडिनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.