एचआइभी सङ्क्रमितबाट स्वस्थ जुम्ल्याहा जन्मिए

एचआइभी सङ्क्रमितबाट स्वस्थ जुम्ल्याहा जन्मिए

नारायण अधिकारी
चितवनः एचआइभी सङ्क्रमित भएकै कारण सम्बन्धविच्छेद भई पुनर्विवाह गरेका एक दम्पतीले जुम्ल्याहा सन्तान जन्माएपछि उनीहरुको जीवनमा खुसी फर्खिएको छ ।

चितवनको माडी घर भएका ती दम्पतीले यही असार ४ गते भरतपुर अस्पतालमा सुरक्षित बच्चा जन्माएका हुन् । उनीहरुबाट जन्मिएका दुई छोराको स्वास्थ्य अवस्था राम्रो छ ।

सुरुमा परीक्षण गर्दा दुवै बच्चामा एचआइभी सङ्क्रमण भेटिएको छैन । जन्मिएको ४२ दिनपछि डिएनए डिसिआर परीक्षण गरेपछि सङ्क्रमण भए÷नभएको पत्ता लाग्ने चिकित्सकहरुले बताएका छन् । प्रारम्भिक परीक्षणमा सङ्क्रमण नदेखिएकाले सङ्क्रमणमुक्त हुने सम्भावना बढी छ ।

एचआइभी सङ्क्रमणका कारण दुवैले जीवनमा निकै ठूलो आरोहअवरोह पार गरेका छन् । श्रीमान् राम (नाम परिवर्तन) र श्रीमती सीता (नाम परिवर्तन) बीच चार वर्षअघि दुवैको दोस्रो विवाह भएको हो ।

पहिलो विवाह गरेका रामको श्रीमतीबाट र सीताको श्रीमानबाट एचआइभी सङ्क्रमण भएको उनीहरु दाबी गर्छन् ।

एचआइभी सङ्क्रमण भएपछि दुवैले सम्बन्धविच्छेद गरे । आफू सङ्क्रमित भएपछि सङ्क्रमित नथपिउन् भनी सङ्क्रमित भएकाहरुको अधिकारका लागि दुवै जुटे ।

रामले भने, ‘यही क्रममा हाम्रो भेट भयो, विवाह बन्धनमा बाँधियौँ ।' परिवारको एकमात्र छोरा रामको परिवारमा सन्तान जन्मिँदा अहिले खुसीको सीमा छैन ।

निकै मार्मिक र पीडादायी जीवन भोग्दै आएका रामले आफ्नो विगत सुनाउँदै भने ‘वैदेशिक रोजगारका लागि टिकट काटेर जानुभन्दा अघिल्लो दिन रगत परीक्षण गर्दा आफूमा सङ्क्रमण भेटियो । त्यो कहालिलाग्दो समय अहिले म व्यक्त गर्न सक्दिनँ ।'

पाँचवर्षको मलेसिया बसाइपछि २०६३ भदौमा राम घर फर्किए, २०६४ फागुनमा विवाह भयो । त्यसको एक महिनापछि पुनः दुवई जानका लागि आवेदन दिए ।

उनले भने, ‘स्वास्थ्य परीक्षण गरियो, पैसा पनि बुझाइयो । शनिबार दिउँसोको उडान थियो, म बिहिबार काठमाडौँ पुगेँ ।' उनले थपे,‘यो बीचमा मलाई जन्डिस भएकाले पुनः स्वास्थ्य परीक्षण गर्न नातेदारसमेत रहेका एजेन्टसँग आग्रह गरेँ ।'

उनकै सहयोगमा शुक्रबार स्वास्थ्य परीक्षण गर्दा शङ्कास्पद देखियो, टेकुमा परीक्षण गर्न भनियो ।

उनी भन्छन्, ‘शुक्रबार टेकुमा परीक्षण गरेँ, टेकुमा पनि एचआइभी सङ्क्रमण देखियो, टिकट रद्द गरेँ, मेरो विदेश जाने सपना चकनाचुर भयो ।' श्रीमतीमा पनि एचआइभी सङ्क्रमण पुष्टि भयो । आफ्नो विगतको कथा सुनाउँदै उनले भने, ‘त्यसपछि मेरो जीवनका सबै सपना चकनाचुर भए ।' उनले अगाडि भने, ‘श्रीमतीसँग कुरा मिलेन, सम्बन्धविच्छेद भयो ।'

त्यस्तै, सीताको पनि आफ्नै कथा छ । नवलपरासीकी सीता बागलुङका एक युवकसँग विवाह बन्धनमा बाँधिइन् । भारतको बनारसमा काम गर्दै आएका ती युवकसँग विवाह भएको एक महिना बित्न नपाउँदै एचआइभी सङ्क्रमण भएको थाहा भयो ।


यससँगै उनले पनि सम्बन्धविच्छेद गरिन् । त्यो पीडाको समयलाई सम्झन पनि उनी चाहन्नन् । तर आज जीवनमा उकाली ओराली गर्दै खुसीको क्षणसम्म उनी आइपुगेकी छिन् । दुई छोराकी आमा बनेकी छन् ।

एएचएफ नेपाल, भरतपुर अस्पतालको सहयोगमा उनीहरुका जस्ता ७१ बालबालिकाले जन्म लिएका छन् । सन् २०११ देखि हालसम्म सङ्क्रमित आमाबाट ती बालबालिका जन्मिएका हुन् ।

एएचएफ नेपाल, भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार, नियमित औषधि सेवन गरेका आमाबाट जन्मिएका बच्चा सुरक्षित छन् ।

अस्पतालमा जन्मिएका ती बच्चामध्ये दुई जनामा सङ्क्रमण देखिएको छ भने तीन जनाको मृत्यु भएको छ । अन्य ६६ बच्चा स्वस्थ छन् । दुईजना गर्भवती आमाले अहिले औषधि खाइरहेका छन् ।

भरतपुर अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोखरेलले एचआइभी सङ्क्रमित आमालाई अस्पतालमा अन्यलाई भन्दा प्राथमिकतामा राखेर उपचार र बच्चा जन्माउँदा शल्यक्रिया गर्ने गरेको बताए ।

नियमित एआरटी प्रयोग गरेका आमाबाट जन्मिएका अधिकांश बच्चा सङ्क्रमणमुक्त रहेको पनि उनले बताए । विगतमा चिकित्सकहरुले एचआइभी सङ्क्रमितलाई नहेर्ने गरेको गुनासो हटेर गएको उनले दाबी गरे । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.