मनसुन अनुमान गर्न समुद्रमा रोबोट

 मनसुन अनुमान गर्न समुद्रमा रोबोट

काठमाडौं: नेपालसहित दक्षिण एसियाली मनसुन अनियमित र अस्तव्यस्त बनेपछि मनसुन अनुमानका लागि मनसुन सुरु हुने समुद्रमा रोबोट (ग्लिर्डस) छाडिएको छ।

दक्षिण एसियामा मनसुन सुरु हुने बंगालको खाडीमा भारतीय र ब्रिटिस वैज्ञानिकहरूले शनिबारदेखि सातवटा रोबोट छाडेका हुन्। रोबोटले समुद्रभित्र पानीको अवस्था र मनसुनका लागि चाहिने उपयुक्त तापक्रम, नुनको मात्रा, हावा तथा पानीको बहाव अध्ययन गर्नेछ।

रोबटले उपलब्ध गराउने तथ्यांकका आधारमा मनसुन अनुमान बढी विश्वसनीय बनाउन सकिने वैज्ञानिक दाबी छ। काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका पूर्वप्रमुख मणिरत्न शाक्यले भारतीय वैज्ञानिकहरूले गर्ने मनसुन अनुमानको प्रत्यक्ष र बढी फाइदा नेपालले समेत लिन सक्ने बताए।

'बंगालको खाडीबाट उत्पन्न हुने मनसुन प्रणाली नेपाल हुँदै पाकिस्तानतिर जान्छ, यसले नेपालमा समेत मौसम अनुमान सहज हुन्छ,' शाक्यले भने। मौसम अनुमान थप विश्वासिलो बनाउन हेलिकोप्टरमार्फत वायुमण्डलको तापक्रमसमेत नाप्ने योजना रहेको भारतीय मौसमविज्ञान विभागले जनाएको छ।

समुद्रमुनीबाट रोबोटले दिने सूचना हेलिकोप्टरमा राखिएका प्रविधिमा रेकर्ड हुन्छ। नेपाली मौसमविद्लाई मनसुन अनुमानका लागि भारतीय अनुसन्धान र अनुमानलाई नै स्रोतका रूपमा प्रयोग गर्नुपर्ने बाध्यता छ। नेपालको मनसुन अनुमान र वर्षाको प्रकृति बंगालको खाडीमा देखिएको गतिविधिका आधारमा गरिन्छ।

सम्पूर्ण विवरण प्राप्त गरेपछि कुन ठाउँमा कति र कहिले वर्षा हुने सम्भावना छ भन्ने प्रश्नको उत्तरसमेत सहजै उपलब्ध हुनेछ। भारतसहित, नेपाल, पाकिस्तान, बंगलादेश तथा भुटानलगायतका देशको मनसुन अनुमानलाई यसले विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

नेपालजस्तै आकाशे पानीमा निर्भर कृषि प्रणाली भएका स्थानमा यसले बढी सहयोग पुग्नेछ। अनुसन्धानमा संलग्न बेलायती वैज्ञानिक एड्रिन म्याथ्थुले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'कृषिमा आधारित दक्षिण एसियाली अर्थतन्त्र बलियो बनाउन विश्वासिलो मौसम अनुमानले सहयोग गर्छ।'

उनीहरूले एसियाली मनसुन अनुमान गर्नै कठिन हुने प्रतिक्रियासमेत दिएका छन्। नेपालको कृषि प्रणाली मनसुनमा निर्भर छ।नेपाल तथा भारतमा गरिने कतिपय मौसम पूर्वानुमान नमिल्दा आलोचना हुने गरेको छ। यसपटक मनसुनकै समयमा हुने यो अध्ययनले आउँदा वर्षमा ठूलो सहयोग पुग्ने अपेक्षा नेपाली मौसमविद्को छ।

दक्षिण एसियाको मनसुन यो वर्ष पनि औसत समयभन्दा नौ दिन ढिलो गरी सुरु भएको थियो। नेपालमा एक साता ढिलो गरी मनसुन प्रवेश गरेको थियो। मनसुन सुरु भएको केही दिन वर्षा भए पनि पछिल्ला दिनमा भने वर्षा भएको छैन।

जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन प्रणाली भारत र नेपालमा उस्तैउस्तै भएका कारण नेपाललाई पनि सहयोग हुन्छ। यो अध्ययनले मनसुनका समयमा हुने अतिवृष्टि र अनावृष्टिका कारण हुने ठूलो प्रकोपको अनुकूलन तथा न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा वैज्ञानिकहरूको छ।

 

ब्रेक भयो मनसुन
मनसुन प्रवेश गरेको दुई साता नबित्दै मनसुनी वर्षा टुटेको छ। मनसुनमा वर्षा गराउन सहयोग गर्ने न्यूनचापीय क्षेत्र तल झरेका कारण मनसुनी वर्षा रोकिएको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पूर्व र मध्यनेपालमा मनसुन ब्रेक भएको छ। 'मध्य र पूर्वमा केही दिन सुख्खा हुने देखिन्छ,' मौसमविद् मीनकुमार अर्यालले भने।

पश्चिम नेपालमा भने वर्षाको सम्भावना छ। न्यूनचापीय रेखा पश्चिममा भने माथि छ। स्थानीय रूपमा विकास भएको बादलका कारण हुने वर्षा भने रोकिँदैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.