प्रचण्डको दिग्भ्रमित मनोविज्ञान
'जस्तो व्यक्ति छ उस्तै व्यवहार गर, जो व्यक्ति काचको समेत ग्राहक बन्ने लक्षण देखिँदैन, उसको अघि हिराको पोका खोल्नु व्यर्थ हुन्छ', सन्त कविर
सायद मान्छेले भ्रान्तिको तुँवालोमा आफू हिँड्ने बाटो बिराउँछ र आफ्नो सम्पूर्ण जीवन दिग्भ्रमित भएर बिताउँछ।
तुँवालोबाट मुक्त व्यक्तिहरू लक्ष्यमा पुग्छन्, अरू बीच बाटोमै हराउँछन्। महाभारतको युद्धमा अभिमन्युलाई पूर्ण ज्ञान भएको भए त्यसरी मारिने थिएनन् पक्कै। कुनै पनि उद्यम, व्यापार, व्यवसाय, समाज सेवा, धर्म, राजनीति यस सत्यबाट पटक्कै अलग छैन।
अलमल, द्विविधा, संकोच र स्वार्थले व्यक्तिलाई अघि बढ्नबाट रोक्छ, निर्णय लिन बाधा पुर्याउँछ। हाम्रो समाजमा यस्ता धेरै दृष्टान्त छन्। राजा ज्ञानेन्द्रले समयमै निर्णय गरेको भए वा सक्रिय राजनीतिको लालसा नराखेको भए छँदाखाँदाको राजगद्दी गुम्ने नै थिएन।
यतिबेला आएर दलहरूलाई धारे हात लगाएर बस्नुपर्ने थिएन। त्यस्तै अहिले यस आलेखमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको मनोविज्ञान र व्यवहारको चर्चा गर्न खोजिएको हो।
प्रचण्डले अख्तियार गरेको संघर्षको बाटो निःसन्देह अनुचित र सम्पूर्ण मानव जातिका निम्ति अहितकर बाटो हो भन्ने पंक्तिकार ठान्दछ। बलपूर्वक र हिंसाजन्य तवरले सिंगो समाजमाथि आफ्नो हैकम थुपार्ने र सबै मान्छेलाई आफ्नो अनुचर वा आज्ञाकारी बनाउन खोज्ने प्रवृत्ति न लोकतान्त्रिक हुन सक्छ न जनउत्तरदायी नै।
तिनै जनताका नाममा शक्ति एकत्रित गर्ने र तिनै जनतामाथि आधिपत्य लाद्ने तथा तिनै नागरिकको भाग्यविधाता बन्न खोज्ने चरित्र पनि मानवीय हुन सक्दैन। जसले शासनको बागडोरलाई अधिकार र अवसरको अनुचित प्रयोग ठान्छ, त्यो सही अर्थमा समाजको अगुवा ठहरिन लायक पनि हुँदैन। यस्तो चिन्तन र चरित्र अँगाली राख्ने पात्र वा प्रवृत्तिले सिंगो समाज र राष्ट्रलाई अघि बढाउन सक्दैन।
०५२ फागुन १ गतेबाट थालिएको सशस्त्र विद्रोहका मुख्य नेताका रूपमा नेपाली राजनीतिमा उदाएका प्रचण्डले बाह्रबुँदे समझदारी हुँदै बृहत् शान्ति-सम्झौतामार्फत माओवादी विद्रोहलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल गराएका थिए। समयको चाप र युगको मागलाई बुझ्न सक्ने उनको गतिशील कदम र चेतनालाई त्यसबेला सबैले प्रशंसा नै गरेका हुन्।
हजारौँ आफन्त गुमाएर सशस्त्र द्वन्द्वको चपेटामा परेका नेपालीहरूले समेत मुटुमाथि ढुंगा राखेर भए पनि समाजमा स्थापना हुन लागेको शान्तिको अग्रिम स्वागत गरेकै हुन्। समाजमा विद्यमान शदीयौँ पुरानो शोषण, विभेद र अन्याय सदाका लागि अन्त्य गर्ने, यसको कारक शक्तिको रूपमा रहेको सामन्ती राजतन्त्र बिदाइ गर्ने र पूर्ण लोकतन्त्रको स्थापना गर्ने दलहरूको समझदारीका एकजना मुख्य नेताको रूपमा प्रचण्डको व्यक्तित्व उदाएकै हो।
उनको डाइनामिक व्यक्तित्वका पछिल्तिर उभिएका उनकै पार्टीका नेता-कार्यकर्ता र बाँकी समाजले एकै साथ उनीबाट थोरबहुत अपेक्षा पनि गरेकै हो। राजा, राणा र पञ्चायतले रुग्ण बनाएको नेपाली समाज अर्थात् निरन्तरको राजनीतिक प्रहारबाट थलिएको समाजलाई युगसापेक्ष अघि बढाउने यात्रामा उनको कदम सहायक बन्ला भन्ने आशा पलाएकै हो।
राजतन्त्रको उन्मूलनपश्चात् स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रको विकास र नेपाली समाजको उन्नतिमा उनीबाट केही योगदान पुग्ला भन्ने ठानिएकै हो। यस्तो जनअपेक्षा ठम्याउने चेत प्रचण्डमा होला र शान्ति-सम्झौतापछि उनको मनोविज्ञान फेरिएला र विद्रोहकालीन धङधङी उत्रेला भन्ने लागेकै हो।
परिवर्तनका सहयात्री दल र खासगरी नेपाली राजनीतिलाई बारम्बार निर्णायक मोड दिने लोकतान्त्रिक राजनीतिक शक्तिहरूप्रतिको सहिष्णुता देखिएला भन्ने अपेक्षा गरेकै हो। सहमति सहकार्य र एकताको मूल मर्म र सूत्रमा उनको राजनीति चल्ला या अघि बढ्ला भन्ने सोचिएकै हो। तर यी सबै व्यर्थका अपेक्षा रहेछन् भन्ने यथार्थ उनका समय-समयका कदम र अभिव्यक्तिले प्रमाणित गर्दै लगे।
२०६४ चैत २८ गते सम्पन्न भएको प्रथम संविधानसभाको निर्वाचनदेखि आजसम्म झन्डै एक दसकको राजनीतिक यात्रा अध्ययन गर्ने हो भने प्रचण्डको निकै उतारचढावपूर्ण राजनीतिक यात्रा र गतिविधि देखिन्छ। निर्वाचनबाट ठूलो दल हुनेबित्तिकै उनमा पलाएको अहंकारले स्वयं उनैलाई आजको स्थितिमा ल्याइपुर्याएको छ। शान्ति प्रक्रियाका महत्वपूर्ण पात्रको रूपमा रहेका उनले निर्वाचनपश्चात् खेल्नुपर्ने अभिभावकीय भूमिका पटक्कै देखाउन सकेनन्।
२०६३ सालको ऐतिहासिक परिवर्तनका मुख्य नेता, शान्तिप्रक्रियाका सूत्रधार र नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पूर्णरूपले नजरअन्दाज गर्नु र कांग्रेसलाई प्रधान शत्रु घोषणा गर्नु उनको ऐतिहासिक भूल थियो। इतिहासले सुम्पेको अभिभाराको दायित्व र आफ्नो उचाइ ठम्याउन नसक्नु, सहयात्री र आफ्ना पनि संरक्षकका रूपमा रहेका नेताको मानमर्दन गर्नु र मुलुकको राजनीति आफ्नो कब्जामा आयो भन्ने सर्वसत्तावादी सोचाइ राख्नु उनका सच्याउनै नसकिने गल्ती हुन्। त्यसयताका हरेक घटनाक्रममा उनका अभिव्यक्ति र व्यवहार पटक्कै सुझबुझपूर्ण, परिपक्व र दूरदर्शी देखिएनन्।
कांग्रेससँग मात्र हैन, एमालेसँगको सम्बन्ध समेत निकै उतारचढावपूर्ण देखिन्छ। त्यसबारेमा सबै नेपाली विदितै छन्। अहिलेका प्रधानमन्त्री केपी ओलीका बारेमा तत्कालीन एकीकृत माओवादीले गरेको राजनीतिक टिप्पणी निम्न कोटीको थियो। छिमेकी मित्रराष्ट्र भारतसँगको सम्बन्धमा कहिले कटु आलोचक र कहिले याचकको रूपमा उनको भूमिका देखिएको छ।
थोरै पनि राजनीति बुझ्ने सबैलाई थाहा छ, राष्ट्रिय राजनीतिलाई सम्हाल्ने राजनीतिज्ञका अभिव्यक्ति र व्यवहार सन्तुलित हुनुपर्छ, जो प्रचण्डमा पटक्कै देखिएन। २०७० को संविधानसभा निर्वाचनसम्म आइपुग्दा उनी र उनको पार्टीले आर्जन गरेको राजनीतिक साख कति खिइयो, परिणामले नै स्पष्ट पार्यो। निर्वाचन गराउन गठन गरिएको गैरदलीय सरकारको परिकल्पनाकार उनी नभएर केवल प्रचारक मात्र थिए भन्ने बुझ्नसमेत समय लागेन।
दोस्रो संविधानसभा निर्वाचनपश्चात् प्रचण्डले झन्डै डेढ वर्ष तराईकेन्द्रित दलका साथ मोर्चाबन्दी गरेर आफ्नो शक्ति र समयलाई अनुत्पादक काममा खर्च गरे र अन्ततः संविधान जारी गर्ने ठाउँमा फर्कन बाध्य भए। निर्वाचन परिणामले खुम्च्याइदिएको आकारले तिल्मिलाएका उनी अब के गर्ने भन्ने विषयमा निकै अलमलमा परेको प्रस्ट बुझिन्थ्यो।
निर्वाचनअघि आफूबाट अलग्गिएको मोहन वैद्य समूहलगायतका अन्य माओवादी घटकहरूबाट भइआएको प्रहार र राष्ट्रिय राजनीतिको केन्द्रीय भूमिकाबाट किनारामा धकेलिएको यथार्थलाई आत्मसात गर्न उनलाई निकै गाह्रो भयो। निकै गहन आत्मपीडाबाट गुज्रनुपरे पनि संविधान जारी गर्नुपर्ने राष्ट्रिय आवश्यकतालाई बाध्यतापूर्वक स्विकार्न पुगेका उनले तत्पश्चात् बाह्रबुँदे समझदारी, शान्तिप्रक्रिया, त्यसको पृष्ठभूमि र नेपालको राजनीतिक यथार्थभन्दा पर भाग्ने चेष्टा गरेर केपी ओली र एमालेसँग अस्वाभाविक सम्बन्ध स्थापित गरे।
दुनियाँका कुनै पनि मुलुकमा दुइटा मुख्य लोकतान्त्रिक पार्टी सँगसँगै हिँड्न त निकै गाह्रो हुन्छ। तर नेपालमा दुइटा प्रतिस्पर्धी कम्युनिस्ट पार्टी सँगसँगै मिलेर एउटै सरकारमा बस्नु लगभग असम्भव हो। यसबाट समयक्रममा अलिकति बलियो कम्युनिस्ट पार्टीले अलिकति कमजोर कम्युनिस्ट पार्टीलाई निल्ने या त आफ्नो शाखाको व्यवहार गर्ने निश्चितप्राय हुन्छ।
अर्थात् प्रचण्डले सोझै आत्मघाती बाटो रोजे र अहिले जतिसुकै असन्तुष्टि व्यक्त गरे पनि र राजनीतिको केन्द्रमा छु भन्ने ठाने पनि, यतिबेला उनको पहिचान वर्तमान प्रधानमन्त्री ओलीको प्रवक्ताको रूपमा स्थापित हुँदै गएको छ। मुलुकको धरातलीय यथार्थ, अन्तर्राष्ट्रिय परिवेश, बाह्रबुँदेको मर्म र बृहत् शान्तिसम्झौताको भावना सबै भुलेर आफ्नो पार्टीको भविष्यलाई समेत असुरक्षित र जोखिमपूर्ण बाटोतर्फ अग्रसर बनाउने मूर्खता उनीबाहेक सायद अरू कसैले गर्ला।
एमाले र माओवादीका कुनै तप्का या नेताले दुवै कम्युनिस्ट पार्टीलाई एक गराउने जुन सपना देखाइरहेका छन्, त्यो सम्भव भए उनीहरूका लागि राम्रै होला तर यो त्यतिबेला मात्रै सम्भव होला, जब प्रचण्डले आफ्नो अस्तित्व विसर्जन गरेर एमालेसामु लम्पसार पर्नेछन्।
अर्को कुरा, प्रचण्डमा भविष्यमा माओवादी केन्द्रलाई सबैभन्दा ठूलो दल बनाएर मुलुकको बागडोर सम्हालिएला भन्ने आत्मविश्वास पटक्कै देखिँदैन। तथापि मरुभूमिको सुदूर क्षितिजमा पानी देखिएको दृष्टिभ्रम अर्थात् मृगमरीचिका अझै पनि बाँकी छ। एमालेलाई मिलाएर या मिलेर ठूलो पार्टीको नेता बनौँला भन्ने भ्रान्ति पनि उनमा पर्याप्त देखिन्छ। यसको सोझो अर्थ छ, यही तालले अब उनीबाट नेपाली राजनीतिमा सुस्पष्ट भूमिकाको अपेक्षा गर्न सकिन्न।
उनले जतिसुकै लोकतन्त्रको राग अलापेर शान्ति प्रक्रियाको रट लगाए पनि उनमा माओवादी विद्रोहको ह्याङओभर अझै देखिन्छ। यो कुरा उनले केही समयअघि आफूबाहेकका भुरेटाकुरे कम्युनिस्ट समूहहरूलाई एकत्रित गरेर कम्युनिस्ट केन्द्र बनाउनुले प्रमाणित गर्दछ।
तथापि केन्द्र बन्नुअघि ती सबैले प्रचण्डको बारेमा गरेका टिप्पणी र चरित्र चित्रणले यो केन्द्र कसरी अघि बढ्ला र कति दिन टिक्ला ? अहिले उनले प्रयोग गर्ने भाषा र सार्वजनिक अभिव्यक्तिमा मुलुकको साझा नेता बन्नेभन्दा पनि परापूर्वकालको जडसूत्रवादी तर दिगभ्रमित कम्युनिस्ट नेता बन्ने मनोविज्ञान प्रशस्त पाइन्छ।