इच्छाशक्तिको अभाव

इच्छाशक्तिको अभाव

प्रधानमन्त्री खड्गप्रसाद ओलीले विकासका केही सपना बाँड्दा हाम्रो देश ओलीमय हुन्छ। डाक्टर बाबुराम भट्टराईले 'अबको निकास आर्थिक विकास' भनेर नयाँ पार्टी खोल्दा देशैभरि मिडियामा करोडौँको विज्ञापन गर्न सकिने आर्थिक स्रोत जुट्छ।

हुन त विगत दसकभित्रको यो इतिहासमा सपना बाँड्ने यस्ता प्रक्रिया चल्तीमा नआएका होइनन्। कतिपय भोट बटुल्न काम लागे, कतिपयको उपादेयता समयक्रमले नष्ट गरिदियो भने कतिपय पूरा हुन सक्ने सपना पनि देशको अस्वस्थ आर्थिक गतिविधिले निस्तेज पारिदियो।

हामी अन्त्यमा फेरि उही कालखण्डमा फर्केका छौँ, हाम्रो लागि विकास भन्ने चीज एकपटक पुनः प्यारो लाग्न थालेको संकेत हामीले हाम्रा प्रधानमन्त्री र डाक्टर भट्टराईका कुरामा हामीले जनाएको प्रतिक्रियाबाट प्रस्ट भएको छ।

२५ वर्षभित्रमा देशलाई पहिलो विश्वको हाराहारीमा पुर्याउने महत्वाकांक्षी सोच र सपना बाँड्नुभन्दा पहिला हाम्रो विकासको मोडेल तय गर्न सक्नु र त्यहीअनुरूपको आर्थिक स्रोतहरूको सञ्चालनको नीति सार्वजनिक गर्नु बढी महत्वपूर्ण थियो।

विडम्बना नीति र योजना सार्वजनिक भएका छैनन्। जनताले विश्वास गर्न सक्ने आधार नबनीकन कसैलाई अन्धभक्त भएर समर्थन गर्नु खराब नियतलाई झूटो सपना तर सही तर्क गरेर छोप्नुजस्तै हो।

विकास भनेको राज्यका स्रोतहरूको प्रभावकारी उपयोग हो। यसका मोडेलहरू हुन्छन्। आजसम्म संसारमा अर्को देशको मोडेल अपनाएर या बाह्य सहयोग मागेर या आन्तरिक पुँजीलाई बाह्य प्रभावमा परिचालन गरेर विकासको शिखर चुमेका पहिलो विश्वका देशहरू छैनन्।

यसबाट प्रस्ट हुन्छ, हामी विकसित बन्नको लागि अरूको विकास मोडेल प्रयोग गर्न सक्दैनौँ। भारत, चीन या अन्य कुनै देशको मोडेलमा देशलाई लैजान्छु अथवा भारत र चीनलाई प्रयोग गरेर विकास गर्छु भन्नु एक किसिमको मूर्खता हो।

एक्काइसौँ शताब्दीका मुलुकहरू सम्बन्ध सापेक्षित तरिकाले बढाउन चाहन्छन् भने विकास निरपेक्ष ढंगले बढाउन चाहिरहेका हुन्छन्। निश्चय नै, आर्थिक विकासमा बाहिरी प्रभाव पर्छ तर त्यो प्रभावलाई सन्तुलनमा राखेर आफ्नै माटोसुहाँउदो आर्थिक विकासको मोडेल छान्नु हाम्रो लागि अपरिहार्यजस्तै छ।

दोस्रो विश्वयुद्धपछि सन् ५०-६० को दसकमा जापानले विकास गरेको आफ्नै आर्थिक मोडेलको कारणले आज विश्वमा जापान यो स्थितिमा छ। उनीहरूले विकास गर्नुभन्दा पहिल्यै धेरै ठूलो तहमा त्यसको सुरक्षाका विभिन्न उपाय अपनाएका थिए। जस्तै निजी फार्महरूलाई 'डि ज्युरे' (कानुनी सहुलियत) 'डि फ्याक्टो' (वस्तुगत सहुलियत) जस्ता विभिन्न छुट प्रदान गरिएको थियो।

यसबाट सरकारले विकासप्रतिको अविश्वसनीयता हटाउन प्रयास गर्दै श्रम बजारको व्यवस्थापनको नीति ल्याएर मात्र जापानिज औद्योगिक विकासको सुरुआत गरेको थियो। जापान आफैँ पनि प्राकृतिक स्रोतसम्पन्न देश होइन, उनीहरूलाई एउटा कुरा के राम्रोसँग थाहा थियो भने कच्चा पदार्थ आयात गर्दा लाग्ने खर्चलाई त्यसबाट उत्पादित सामान बिक्री गरेर मात्र सन्तुलनमा ल्याउन सकिन्छ।

त्यसको लागि दोस्रो विश्वयुद्धपछि आफ्नो गुमेको सामरिक र कूटनीतिक साख फिर्ता ल्याउने र बजार खोज्ने काम सरकारलाई त्यति सहज थिएन। उनीहरूले बाह्य संकटलाई कूटनीतिक ढंगबाट हल गर्दै आन्तरिक आर्थिक विकासमा दत्तचित्त भएर नलागेको भए आज अल्पविकसित देशहरूको सूचीमा नेपालसँगै जापान पनि हुने थियो।

 

जापानको ऐतिहासिक विकासको लागि तीनवटा महत्वपूर्ण कुरा अनुकरणीय छ। पहिलो, उच्च प्रतिस्पर्धात्मक उत्पादन क्षेत्र, दोस्रो, उद्योगहरूको संयमित र नाफामुखी पुनस्र्थापना र तेस्रो आक्रामक आन्तरिक र बाह्य व्यापार रणनीति।

यसको लागि उनीहरूले हरेक क्षेत्रमा हात हालेनन् किनभने उनीहरूलाई थाहा थियो, आफ्नो राष्ट्रिय स्रोतले विकासको सबै पक्ष समेट्न सक्दैन भन्ने कुरा। उदाहरणको रूपमा ६० को दसकमै जापानका फोटोग्राफीसम्बन्धी सामानहरूले विश्वबजार ढाकेको थियो।

भन्दिएर मात्र आर्थिक विकास हुँदैन। आजसम्म हामी राजनीतिक परिवर्तनको लागि लड्यौँ, हाम्रो अर्थतन्त्रलाई सधैँ दोस्रो प्राथमिकतामा राख्यौँ। अब हामी आर्थिक विकासलाई जोड दिँदै छौँ फेरि पनि हाम्रा राजनीतिक संशयहरू यत्रतत्र फैलिएका छन्। संशयहरूको हल गर्दागर्दा हाम्रो युग बित्दैछ। 

सन् ७० को दसकपछि जापान सूचना प्रविधि क्षेत्रमा निरन्तर लागिरहेको छ। कुन कुरा कहिले कहाँ आविष्कार भए भन्ने कुराले जापान कहिल्यै पिरोलिएन, मात्र त्यसको विकासमा अनवरत रूपमा लागिरहेको छ।

कपडा उद्योग, रासायनिक औषधी उद्योग र पानीजहाज उद्योग जस्ता रुग्ण भइसकेका उद्योगहरूलाई जापान सरकारले अभिवृद्धि गर्यो भने कम्प्युटर र रोबोटिक्स उद्योगहरू सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा फस्टाइरहेका छन्।

सन् ८० को दसकसम्म जापान औद्योगिक नीति परीक्षणमै थियो, त्यस क्रममा कैयन् उतारचढाव सरकारी नीति लागू गर्ने सन्दर्भमा नआएका होइनन्। तर त्यसपछि भाग्यवश विश्व बजारमा आएको विकसित रूपले जापानले अंगीकार गरेका औद्योगिक नीतिहरू सफल भए।

त्यसैबीचमा जब जापानिज बजार सुरक्षित बन्यो तत्कालै बाहिरी लगानीकर्ताको लागि खुकुलो नीति बनाइयो। यसको अर्थ जापान आफैँले विकास गरेको आर्थिक विकासको मोडेलअन्तर्गत विदेशी बहुराष्ट्रिय कम्पनीहरू जापान छिरेका थिए।

जापानीहरूले वर्षको औसत २४५० घन्टा काम गर्छन्, जहाँ अमेरिकामा १९५० घन्टा काम हुन्छ भने फ्रान्सेलीहरूले १६८० घन्टा मात्र काम गर्छन्। कुनै एकजना जापानिजले एउटा कार बनाउन नौ दिन लगाउँछ भने फ्रान्स, जर्मनीमा सोही मूल्यको कार बनाउन एकजनाले ४० दिनभन्दा बढी लगाउँछ।

यसको अर्थ विकास जापानको कुनै दल या सरकारको नीति मात्र होइन, त्यहाँको हरेक जनताको मनभित्र विकास बसेको छ। उनीहरू विकासे कुरा गर्नेहरूको पछि लाग्दैनन्, विकासको आफ्नै स्वरूप तयार गर्छन् र प्रतिस्पर्धात्मक रूपमा त्यसलाई उच्च तहबाट लागू गराउँछन्।

कुनै कामलाई टिमवर्कमार्फत गर्नु उनीहरूको संस्कृतिको एउटा हिस्सा हो। यसबाहेक जापानका मेट्रो या सार्वजनिक बसहरूमा यात्रुहरू खाली हात भेटिन मुस्किल पर्छ, पढ्नु उनीहरूको संस्कृतिको अर्को अभिन्न अंग हो।

नेपालको सन्दर्भमा जापानको यो विकासको कथा उपयुक्त लाग्न सक्छ। हामीसँग नीतिगत संरचना छन्, तर इच्छाशक्तिको अभाव छ। हामीले विकासको नाममा सधैँ जादुको छडीको परिकल्पना गर्ने गर्छौं। हामी निश्चय नै, विकासप्रेमी हौँ, तर यसका खुड्किलाहरू पार गर्न हामीसँग टप टु बटम केही योजना छैनन्।

भन्दिएर मात्र आर्थिक विकास हुँदैन। आजसम्म हामी राजनीतिक परिवर्तनको लागि लड्यौँ, हाम्रो अर्थतन्त्रलाई सधैँ दोस्रो प्राथमिकतामा राख्यौँ। अब हामी आर्थिक विकासलाई जोड दिँदै छौँ फेरि पनि हाम्रा राजनीतिक संशयहरू यत्रतत्र फैलिएका छन्। संशयहरूको हल गर्दागर्दा हाम्रो युग बित्दैछ।

विकासको लागि आवश्यक पर्ने ऊर्जाका स्रोतहरू हामीसँग हुँदाहुँदै पनि पारदर्शी नीतिको अभावमा खेर गइरहेको अवस्था छ। उदाहरणको लागि एउटा व्यापारीले २४ प्रतिशत ब्याजमा साहुसँग ऋण लिएर कुनै व्यापार गरेर उसले केही वर्षमा ऋण तिरेर आफ्नो जीवनस्तर उकासेको हामीले हाम्रै समाजमा देखेका छौँ भने एक प्रतिशतभन्दा पनि कम ब्याजमा ऋणको सहुलियत दिने र अन्य आर्थिक सुविधा दिने विश्वव्यापी संस्थाहरूको खोलो बग्दा पनि हामीले हाम्रो आर्थिक स्थिति सुधार्न सकेका छैनौँ।

आर्थिक विकासको लागि चाहिने प्रशस्त जोखिम उठाउन हामीलाई अप्ठ्यारो परिरहेको छ। हामीसँग भएको अहिलेको युवा पुस्ता राष्ट्रियतामा धेरै संवेदनशील भेटिन्छ। आर्थिक विकास यही पुस्ताबाट सम्भव छ तर त्यसको लागि भरपर्दो आधार सिर्जना गरिदिने जिम्मेवारी राज्यको हो।

हामी विकासे नाराको पछि लागेर कसैलाई भोट हाल्ने र फेरि देशलाई उसको बन्धक बनाउन सक्दैनौँ। हामीसँग समयको अभाव छ। हामी आर्थिक विकासको लागि भोट हाल्ने कि भोटको लागि आर्थिक विकास खोज्ने भन्ने बिन्दुमै अड्किइरहेका छौँ।

निश्चय नै, हरेक विकास एउटा सिद्धान्तमा आधारित हुन्छन्। विकासलाई कुनै भद्दा चुट्किलाको रूपमा प्रस्तुत गर्नु या कुनै राजनीतिक नारा बनाएर मान्छे आकर्षित गर्ने युग समाप्त भएको घोषणा गर्नुपर्नेछ। विकास नीतिगत हुन्छ, विकास भनेको आफैँमा एउटा क्रान्ति हो।

आर्थिक विकासका मुद्दाहरू राजनीति गर्न प्रयोग गरिनु हुँदैन। विगतमा जेजस्तो परिस्थितिमा आर्थिक स्थिति खस्केको भए पनि अब अहिलेका सक्षम युवाहरूको प्रयासले राजनीतिलाई दोस्रो प्राथमिकतामा राखेर विकासवादी सिद्धान्तमा अग्रसर हुनु आवश्यक छ।

हुन त विकास राज्यको नीतिमा पनि भर पर्दछ, तर त्यसको पुनर्संरचना छिटोभन्दा छिटो हुन आवश्यक छ। अहिलेको स्थिति शक्ति अन्य कुनै ठाउँमा गएर विस्फोट हुनुअगाडि नै हामीले यसको व्यवस्थापन गर्ने भरपर्दो स्टेटम्यानसिपको जन्म गराउनु आजको आवश्यकता हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.